खोजेकै अस्पतालमा बेड नपाए पनि अर्कोमा पाइन्छ, आत्तिनु पर्दैन

 बैशाख २६, २०७८ आइतबार १०:५४:४० | डा. जागेश्वर गौतम
unn.prixa.net

देशभरका अस्पतालमा  रहेका आईसीयू र भेन्टिलेटरहरुलाई  दुई तरिकाले बाँडिएको छ । एकथरी कोरोना भाइरस संक्रमण भएका बिरामीका लागि र अर्को कोरोना संक्रमण नभएका बिरामीका लागि । कोरोना बाहेकका अन्य खालका बिरामीको संख्या घट्दै गएकाले ननकोभिडका बिरामीका लागि प्रयोग गर्ने गरिएका आईसीयू तथा भेन्टिलेटरहरु कोरोनाका बिरामीलाई प्रयोग गर्दै लगिनेछ । 

पछिल्लो समय केही समय ढिला गरे पनि हुने खालका अप्रेशनहरु रोकिएका छन् । कोरोना बाहेकका अप्रेशन गरेका  तथा जटिल अवस्थाका बिरामीहरुलाई पनि आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ । केही ढिला गरे पनि हुने खालका अप्रेशन पछिका लागि सारिएकाले त्यस्ता बिरामीका  लागि प्रयोग हुने आईसीयू र भेन्टिलेटरहरु अहिले कोरोनाका बिरामीलाई प्रयोग गर्न थालिएको हो ।  अस्पतालहरुमा कोरोनाका बिरामीको चाप बढेको छ । अक्सिजन चाहिने  बिरामीको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा राख्ने बिरामीको  चाप  पनि बढेको छ । 

बिरामीलाई सकेसम्म भेन्टिलेटरमा राख्न नपरे राम्रो हुन्छ । किनभने कोरोनाका बिरामी भेन्टिलेटरमा पुगिसकेपछि फर्केर आउने सम्भावना एकदमै कम हुन्छ । तर अरु खालका बिरामीको हकमा भने त्यस्तो हुँदैन । भेन्टिलेटरमा पुगेका कोरोना बाहेकका धेरै बिरामी  निको भएर सामान्य जीवनमा फर्कने सम्भावना धेरै नै रहन्छ ।

कोरोनाको लागि नै भनेर  छुट्टै उपचार नभएकाले अक्सिजन दिएर निको पार्ने कोसिस गर्ने हो  । भेन्टिलेटरमा जानुभन्दा अगाडि अक्सिजन दिएर जुन खालको उपचार गरिन्छ त्यही  उपचार गर्न धेरै जोड दिनुपर्छ  । 

पछिल्लो समय कोरोना संक्रमण भएर सामान्य ज्वरो आएको अवस्थामा पनि  फोन गरेर आईसीयू र भेन्टिलेटर खोज्ने र सोध्ने गरेका भेटिन्छन् । सामान्य ज्वरो, खोकी  लाग्दैमा आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्दैन । सामान्य अवस्थामा पनि आईसीयू र भेन्टिलेटर सोध्नु गलत हो । 

अस्पतालमा गइसकेपछि इमर्जेन्सीका बिरामीलाई जाँच गरिसकेपछि, बिरामीलाई वार्डमा मात्र भर्ना गरे पुग्ने अथवा आईसीयू चाहिने हो भन्ने कुरा डाक्टरले भन्ने हो । भेन्टिलेटर त त्यो भन्दा धेरै पछाडिको कुरा हो । तर मानिसहरुले घरबाटै आईसीयू र भेन्टिलेटर सोधिरहेका हुन्छन् । त्यो तरिका गलत हो । 

कोही बिरामी भएपछि अस्पताल जानु पर्ने भएमा अस्पतालको इमर्जेन्सीमा जानुपर्छ ।   संक्रमित भएका सबै  मानिसलाई भर्ना गर्नुपर्ने हुँदैन । कतिपयलाई भर्ना गर्न परे  पनि साधारण उपचारले ठीक हुन्छ । गाह्रो भएकालाई मात्र आईसीयू चाहिने हो । 

कतिपय मानिसहरु कोरोना संक्रमण हुने बित्तिक्कै घरबाटै अत्तालिँदै, आइसियु र भेन्टिलेटर चाहियो  भनिरहेका  हुन्छन् । आईसीयू र भेन्टिलेटर चाहियो भनेर बिरामीले भन्ने होइन ।  आईसीयू वा भेन्टिलेटर चाहिने वा नचाहिनेबारे डाक्टरले भन्छन् । 

आवश्यकता भएका कुनै पनि बिरामीले आईसीयू र भेन्टिलेटर नपाएको भन्ने छैन । तर सबै अस्पतालमा पर्याप्त अक्सिजनसहितको आइसोलेशन छ भन्ने हुँदैन । जस्तै काठमाण्डौको महाराजगञ्जमा बस्ने मानिस शिक्षण अस्पताल जाँदा नपाएको हुन सक्छ । 

आफूलाई पायक पर्ने र जान चाहेको ठाउँमा नपाइन सक्छ । किनभने अहिलेको समय सामान्य अवस्थाको समय होइन । यो महामारीको अवस्था हो । अस्पतालमा बस्नै नपर्नेहरु पनि अस्पतालमा बस्न खोजेका  हुन सक्छन् । कतिपय आफूलाई पायक पर्ने अस्पतालमा बस्न खोजेका हुन सक्छन् । आईसीयू भएका अस्पतालमा मात्र भर्ना हुन्छु भन्नेहरु पनि छन् । अहिलेको विषम परिस्थितीमा त्यस्ता कुरा गरेर हुँदैन । आफूले भनेकै अस्पतालमा शय्या नपाइए पनि  अर्को अस्पतालमा पाइन्छ ।  

अस्पतालका डाक्टरलाई कहाँ बेड खाली छ भन्ने कुरा प्रायः थाहा हुन्छ । थाहा भएन भने स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले सार्वजनिक गरेका नम्बरहरुमा सम्पर्क गर्नुपर्छ । अहिलेसम्म त्यसरी नै बिरामीहरुले बेड पाइराख्नुभएको छ । 

कोरोना नभएका बिरामीका बेड अहिले खाली छ ।  कोरोना नभएका बिरामीका लागि प्रयोग गरिने बेड पनि  आवश्यकता अनुसार कोरोना भएका बिरामीको उपचारका लागि प्रयोग हुने गरेका छन् । 

कोरोना नभएका अन्य खालका बिरामीहरु अस्पताल जाने क्रम एकदमै कम भएको छ । ननकोभिडका लागि छुट्याइएका २० प्रतिशत बेडहरु पनि पूरा छैनन् । ६० प्रतिशत बेड खाली छन् । ती खाली बेडहरुमा कोरोनाका बिरामीहरु बिस्तारै राख्दै जाने हो  । काठमाण्डौमा बेडको अभाव छैन । केही समय अगाडि नेपालगञ्जमा अभाव भएको थियो । नेपालगञ्जमा अभाव भएका बेला त्यहाँका बिरामी अरु ठाउँमा रेफर गरिएको थियो ।  

काठमाण्डौमा त बेड नपाउने अवस्था छँदै छैन । प्रयोग भएका जम्मा बेडमध्ये ३५ प्रतिशतमा मात्र कोरोनाका बिरामी छन् । अहिले जति संक्रमित छन् त्यसको तीन गुणा संक्रमण बढुञ्जेल काठमाण्डौमा बेडको समस्या पर्दैन । 

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित ।) 

अन्तिम अपडेट: असार ५, २०७८

डा. जागेश्वर गौतम

डा. जागेश्वर गौतम स्वास्थ्य मन्त्रालयका प्रवक्ता हुनुहुन्छ

तपाईको प्रतिक्रिया