सरकार, दल र भाइरसको भर नपरौँ : आफ्नो सुरक्षा आफैँ गरौँ

 बैशाख २९, २०७८ बुधबार १७:४८:१२ | मिलन तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै – महिना दिन अघिसम्म नेपालीलाई लागेको थियो, कोरोनाकाल सकियो । तर वर्ष दिन नपुग्दै अर्को डरलाग्दो रूपमा कोरोना दोस्रो लहर भएर फर्कियो । छिमेकी देश भारतभन्दा डरलाग्दो भएर नेपालमा कोरोना फैलिएको छ । अस्पतालमा बेड र अक्सिजनको चरम अभाव छ । सङ्क्रमित र परिवारको रुवाबासीले अस्पतालमा कोलाहल छ । असहाय स्वास्थ्यकर्मीको अनुहारमा चरम निराशा छ । कोरोनाबाहेक अरू खालका स्वास्थ्य समस्याले थला परियो भने पनि उपचार नै नपाइ ज्यान गुमाउनुपर्ने कहालीलाग्दो अवस्था आएको छ । कहिले र कसरी नियन्त्रण हुन्छ भन्ने अनुमान नै गर्न नसकिने गरी अहिले कोरोनाको ग्राफ दिनदिनै उकालो चढ्दैछ ।

जताततै कोरोनाले हायलकायल बनाएको अवस्थामा सरकार र दलहरू कुर्सीको लडाइँमा दत्तचित्त भएर लागेका छन् । देश महामारीका कारण असामान्य अवस्थामा छ तर महामारी छँदै छैन जसरी राजनीतिक खेलहरू पनि असामान्य छन् । नागरिकलाई सरकार चाहिने बेला केन्द्र र प्रदेशमा सरकार गिराउने र बनाउने रमिता चलेको छ । सरकार र जिम्मेवार दलहरूको ध्यान कोरोना नियन्त्रण र रोकथाममा भन्दा सत्ता राजनीतिमा केन्द्रित छ । गाउँको सिंहदरबारको रूपमा काम गरिरहेका पालिकाले आफ्नो बलबुतामा केही काम गर्न खोजे पनि पर्याप्त छैन । महामारीको बेला स्वतःस्फूर्त उठेका सहयोगी हातहरूमा होस्टे हैँसे गर्नेहरू नगण्य छन् ।  

कोरोनाकालको यो कहालीलाग्दो अवस्थामा व्यक्ति आफैँ सचेत हुने तथा वडा र टोलटोलमै पालिकाका प्रतिनिधि र स्वयंसेवी अझै सक्रिय भएर नलाग्ने हो भने अवस्था अझै भयावह हुने निश्चित छ । कोरोनाबाट आफू बच्न र आफ्ना मान्छेलाई बचाउन आफैँ अग्रसर हुनु नै पहिलो काम हो । विज्ञहरूले अझै केही हप्ता कोरोनाको जोखिम कायमै रहने बताएका छन् । कोरोनाको जोखिमबाट बच्न अत्यावश्यक काममाबाहेक घरबाहिर ननिस्कने, मास्क लगाउने, भौतिक दुरीको ख्याल गर्ने, बेलाबेला साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न त सबै अभ्यस्त भइसकेका छन् तर आफू र आफ्ना मान्छेलाई नपर्दासम्म कोरोनालाई भुसुनो जति पनि नठान्ने जमात अझै ठूलो छ । विज्ञहरूको भनाइमा कोरोना जसलाई पनि र जहाँ पनि हुन सक्छ । आफ्नै परिवारका सदस्य, नातागोता, आफन्त र साथीभाइलाई पनि कोरोना छ कि भनेर सतर्क हुनुपर्छ । घरबाहिरको दोबाटो, चौबाटो, चोक, चौतारो, खेलमैदान, चौर जताततै कोरोना आइसक्यो भन्ने ठान्नुपर्छ । विना काम लखरलखर हिँड्नु हुँदैन । स्वास्थ्य मापदण्ड र सरकारी आदेशको पालना गर्नुपर्छ । केही हप्ता यति अनुशासनमा बस्दै कष्ट सह्यौँ भने कोरोनाबाट बच्न सकिन्छ ।

तर सावधानी अपनाउँदा अपनाउँदै पनि आफू र आफ्ना परिवारका सदस्यलाई जुनसुकै बेला कोरोना हुन सक्छ भन्ने सत्यलाई पनि स्वीकार्नुपर्छ । त्यसैअनुसार तयारीमा बस्नुपर्छ । मनोबल उच्च बनाउनुपर्छ । अवस्था भयावह भए पनि एउटा सत्य के पनि हो भने कोरोना लाग्नेबित्तिकै सबैलाई अस्पताल भर्ना गर्नु पर्दैन । सबैलाई अक्सिजन आवश्यक पर्दैन । एक सय जनामध्ये १५/२० जनालाई मात्र अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउँछ । त्यति नै सङ्ख्याका बिरामीलाई मात्र अक्सिजन चाहिने हो । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म कोरोना भएकामध्ये सयमा ७५ जना निको भइसकेका छन् । अहिले पनि धेरै सङ्क्रमित घरमै छन् । घरमै स्वास्थ्यकर्मीको परामर्शमा उपचार गरेर धेरै निको भएका छन् ।  

डाक्टरहरूकाअनुसार होम आइसोलेशनमा बसेका सङ्क्रमितको मनोबल बढाउन परिवार र समाजको भूमिका महत्त्वपूर्ण हुन्छ । पालिकाहरूले त पहिले पनि उदाहरणीय काम गरेकै हुन्, अहिले पनि आफ्नो बलबुताले भ्याएको गरिरहेका छन् । 

अक्सिजन नपाएर ज्यान गुमाउनेहरूको सङ्ख्या थपिँदो छ । अक्सिजनको अभावमा धेरै अस्पतालले नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाउ दिएका छन् । अक्सिजन उपलब्ध भएका अस्पतालले शय्या नहुँदा बेञ्च र भुइँमै राखेर पनि अक्सिजन दिने र बिरामीको ज्यान जोगाउने काम गरिरहेका छन् ।   

डाक्टरहरूकाअनुसार घरमै ठिक हुने बिरामी पनि अस्पताल आउने क्रम बढेको छ । सिकिस्त भएर जानुपर्दा उपचार पाइँदैन भन्ने लागेरै यस्तो भएको हुनुपर्छ । त्यसैले कसलाई आईसीयू र अक्सिजन चाहिन्छ र कसैलाई सामान्य उपचार तथा हेरचाहबाटै ठिक हुन्छ भन्ने आधारमा सङ्क्रमितको वर्गीकरण गरेर त्यसैअनुसार व्यवस्थापन र सहजीकरण गर्ने काममा पालिका अग्रसर हुनुपर्ने देखिन्छ । होम आइसोलेशनमा बसेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे घरघरमै पुगेर बुझ्ने, सामान्य अवस्थालाई स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा औषधि र परामर्शको व्यवस्था गर्ने तथा गम्भीर अवस्था हुनेबित्तिकै ठूला अस्पतालसँग समन्वय गरेर तुरुन्तै अक्सिजन बेडमा पुर्‍याउने काम हरेक पालिकाले गर्न सक्छन् । केही पालिकाले यस्तो अभ्यास सुरु पनि गरेका छन् । हरेक वडा र टोलस्तरमै यो काम हुन जरुरी छ । यसो भएमा गम्भीर बिरामीले उपचार नपाएर मर्नुपर्ने र सामान्य बिरामीले अनावश्यक चिन्ता लिएर थलिने क्रम रोकिने थियो ।

सँगसँगै पालिकाहरूले वडास्तरमै शङ्कास्पद व्यक्तिको परीक्षण गर्ने र सङ्क्रमण देखिनेबित्तिकै आइसोलेशनमा राख्ने काम गर्न पनि अनिवार्य भइसकेको छ । कोरोनाबाट बच्न चेतनामूलक अभियानसँगै मनोपरामर्शको व्यवस्था गर्ने काममा पनि पालिकाहरू लाग्नुपर्छ । यसका लागि वडा र टोलका अगुवा, शिक्षक, स्वयंसेवी संस्थालगायतको सहयोग लिन सकिन्छ । महामारीका बेला सङ्घ र प्रदेश सरकारले आवश्यक पूर्वाधार र औषधि तथा अक्सिजनको जोहो गर्न सक्लान् तर सङ्क्रमितलाई सरसल्लाह र मनोपरामर्शसँगै अस्पतालसम्मको बाटो देखाउन सक्दैनन् । पालिका र स्थानीय सहयोगीकै भूमिका महत्त्वपूर्ण हुन्छ । 

अझ यति सहयोग पनि लिनु र दिनुपर्ने अवस्था आउन नदिन हामी आफैँ सजग बनौँ । मलाई त के गर्ला र भनेर भाइरससित खेलाँची नगरौँ । भाइरसले समातेपछि सरकारले गर्ला भन्ने आश पनि नगरौँ । चुनाव र आमसभामा घरघरमा खोज्दै आउने दलका नेता, कार्यकर्ता समस्या परेको बेला सान्त्वना दिन पनि आउँदैनन् भन्ने कुरा धेरै पल्ट प्रमाणित भइसक्यो । यो बेला गर्न सक्ने पालिकाहरूले हो तर पालिकाहरूसँग पर्याप्त पूर्वाधार र क्षमता छैन । त्यसैले महामारीका बेला आफू बचौँ, परिवारलाई बचाऔँ । विज्ञहरूको सुझाव छ : केही दिन दुःख, कष्ट सहेर घरभित्र नै बसौँ, जीवनको तुलनामा दुःख सानो हो ।  

अन्तिम अपडेट: असार ८, २०७८

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया