विदेशमा छु, देशको स्थिति र परिवार सम्झेर चिन्तित भएकाे छु

 बैशाख ३०, २०७८ बिहिबार १२:३२:२ | मेरो कथा मेरो भोगाई

सागर घोरसाइने, बारा/ हाल यूएई ।

कलिलो उमेरमै परदेशिन पर्‍यो । बाध्यताले धकेल्यो । देशमा रोजगारी पाइएन । खाडी आइयो । कामको खोजीमा आमाको न्यानो काख छोडेर खाडीको तातो बालुवामा पसिना बगाउँदा छटपटी भयो । तर बिस्तारै बानी पर्दै थियो । किनकि ज्यानलाई दुःख भए पनि मनमा मेरो सुन्दर भविष्य यसमै छ भन्ने कल्पना थियो । तर अहिले मेरो देशको अवस्थाले मजस्ता परदेशीको मन फेरि पोल्न थालेको छ ।

मलाई जन्म दिने बुवा आमाको मात्र होइन मेरो देशका हर बुवा आमाको मायाले मलाई भतभती पोल्छ । ती दाजुभाइ दिदीबहिनी जो अक्सिजनको अभावमा यति बेला छट्पटिएको देख्छु उनीहरूको छटपटाहटले मलाई पनि उत्तिकै गाह्रो हुन्छ । 

सबैभन्दा दुःख त त्यति बेला लाग्छ जब कुर्सीका लागि लडिरहेका नेताहरू र उनीहरूका भनाइहरू छापिएका समाचारहरू पढ्छु । 

धिक्कार्न मन लाग्छ । सञ्चारमाध्यमदेखि सामाजिक सञ्जाल  अस्पतालमा बेड छैन ,अक्सिजन छैन,अक्सिजन नभएकै कारणले अस्पतालले बिरामीको भनाए लिन छाडेको, अक्सिजनकै अभावमा ज्यान गुमाएका समाचारले भरिभराउ छ । 

यहाँ दिनभरि कामको तनाव र थकानबाट साँझ यसो देशको खबर हेर्‍यो, झन् तनाव हुन्छ । मनमा डर लाग्छ । सोच्छु सहरको त यो हालत छ ।

मेरो विकट गाउँमा मेरो परिवारको कुनै सदस्यलाई कोरोना पोजेटिभ देखिएर गाह्रो भयो भने के होला हाल ? कसरी अक्सिजनको जोहो गर्लान्, उपचारको लागि कहाँ जालान् ? कल्पना गर्दा मात्रै पनि मुटु हल्लिन्छ । निदाएको समय बाहेक हरेक समय यही कुरा मनमा खेलिरहन्छ ।

चुनावको बेला ठुला ठुला भाषण गरेर मत लिन आश्वासन पनि ठुलो नै देखाउनुभएको थियो नेताज्यूहरूले । उनीहरूको अनुहार झलझली सम्झन्छु । अनि समाचार हेर्छु कोही उम्मेदवारी दिन हेलिकप्टर चढेर गएको, कोहीको अस्पतालमा बेड नपाएर एम्बुलेन्समै ज्यान गएको । अनि भन्न मन लाग्छ कठै मेरो देश । यो महामारीमा त बरु रहेछ देशमा भन्दा परदेशमै बेस ।

खाडीका देशमा कति सावधानी अपनाइएको छ । यहाँको व्यवस्थापन, सचेत नागरिक देखेर डाहा लाग्छ । मेरो देशमा पनि यस्तै भइदिए हुन्थ्यो नि जस्तो लाग्छ । फेरि मेरो देश बिगार्नेहरू सम्झेर असाध्यै रिस उठ्छ । 

केही दिनअघि घरमा फोन गर्दा रुघाखोकी लागेको छ भन्नुभयो । मन त्यसै त्यसै आत्तियो । के गर्ने, कोरोना पो हो कि, हो रहेछ भने के होला ? मनमा शङ्का उप शङ्का उब्जियो । मेरो ठाउँमा कोरोना सङ्क्रमितको लागि के व्यवस्था रहेछ भनेर बुझेँ पनि । तर मेरो गाउँ अपवाद किन हुन सक्यो र । अवस्था त सबैतिरको उस्तै त हो । 

तर धन्न मौसमी रुघाखोकी रहेछ । घरेलु औषधीले नै निको भयो । हिजो आज मोबाइल खोल्नुअघि भगवानलाई सम्झन्छु । कामना गर्छु कुनै नराम्रो खबर देख्न र सुन्न नपरोस् ।

कहिले काहीँ घरबाट नियमित फोन आउनेभन्दा फरक समय फोन आउँदा मुटु ढुकढुक हुन्छ । काँप्छ । डराइ डराइ फोन उठाउँछु । 

फेसबुक खोल्नुअघि कामना गर्छु मैले चिने जानेका मानिस कसैको पनि फोटोमा श्रद्धाञ्जली देख्न नपरोस् । 

यति बेला देशमा अवस्था भयावह छ । हामी परदेशीको ज्यान विदेशमा भए पनि मन हरदम देशमै छ । हामीले परदेशमा रगत पसिना बगाएर रेमिटेन्स पठाएका छौँ । कम्तीमा हाम्रो परिवारको सुरक्षा सरकारले गर्नुपथ्र्यो ।

हामीले देशका लागि जति गरे पनि हामी फर्कँदा परिवार नै रहेनन् भने हामीले यहाँ दुःख गर्नुको अर्थ के ? यही प्रश्नले घोचिरहन्छ ।

यति बेला सत्ता, रिस र अन्य तिरभन्दा नागरिकको ज्यान कसरी जोगाउने भनेर सोचिदिनुहोस् । हाम्रो आमा बुवा, दाजुभाइ र दिदीबहिनीलाई बचाइ दिनुहोस् । तपाईँहरूले हाम्रो लागि काम गर्नुहुन्छ भनेर भोट दिएको थियौँ, त्यो भोटको कसम हाम्रो परिवारको रक्षा गरिदिनुहोस् ।

अन्तिम अपडेट: साउन ३२, २०७८

तपाईको प्रतिक्रिया