धनकुटामा आजदेखि १५ दिन निषेधाज्ञा : अहिलेसम्म ६९ जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा

 जेठ १, २०७८ शनिबार १२:४१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

धनकुटा - धनकुटामा आजदेखि १५ दिन निषेधाज्ञा लागू गरिएको छ । यसअघि धनकुटा नगरपालिका क्षेत्रमा मात्रै  निषेधाज्ञा लागू गरिएकोमा आज राति १२ बजेदेखि लागू हुने गरी जेठ १५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा लागू गरिएको हो । 

गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा लागू भएका ७३ जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।  

धनकुटा नगरक्षेत्रमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गएको वैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा गरिएको थियो । तर सङक्रमण नरोकिएपछि डिसिसिएमसी र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार १५ दिन निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताउनुभयो ।

जिल्लामा कोरोनाका सङक्रमित बढेपछि थप कडाई गरिएको छ । हप्ताभरी सञ्चालन हुदै आएका बैंक तथा वित्तीय संस्थाहरु आजदेखि हप्ताको तीन दिन सोमबार, बुधवार र शुक्रवार बिहान ८ बजेदेखि ११ बजेसम्म सीमित कर्मचारी राखेर मात्र सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै दैनिक उपभोग्य वस्तुहरु बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म मात्र खरिद गर्न र पसल खोल्न पाइनेछ । पास बाहेकका निजी तथा सार्वजनिक गाडी चलाउन रोक लगाएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

धनकुटा हुँदै कोशी लोकमार्गमा सञ्चालन हुने गाडी, एम्बुलेन्स, सुरक्षा निकायका गाडी, दुध, सागसब्जी बोकेका, फोहोर मैला व्यवस्थापनका गाडि भने चल्नेछन् । धनकुटामा अहिलेसम्म एक सय ३५ जनामा सङक्रमण देखिएको छ । जिल्लामा दुई जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: असार १, २०७८

तपाईको प्रतिक्रिया