आमा, मलाई ऐँठन भएछ !

 जेठ ९, २०७८ आइतबार १७:७:३८ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

सिताराम भट्टराई, झापा / हाल द. कोरिया

सधैँ झैं त्यो दिन पनि काम गर्न म बिहानै कम्पनीमा पुगेँ । त्यहाँ मभन्दा पनि पहिले अरु साथीहरु आएर काम गर्न सुरु गरिसकेका थिए । मैले हतार हतार बुट कसेँ । हातमा पञ्जा लगाएँ । अनि काम गर्न थालेँ । एक जना साथीसँग मिलेर मेसिनमा सामान लोड गरेँ ।

म कामसँग कहिल्यै डराइँन । त्यो दिन झन् किन डराउँथें र ? साथी मेसिन चलाउन गयो । म भने लोड गरेको सामान अलि नमिलेजस्तो लागेर मेसिनमा सामान मिलाउन थालेँ । साथीले मेसिन चलायो । मेसिनको कानै खाने आवाज । नमिठो गन्ध । आँखै पोल्ने तातो । मैले आँखा चिम्म पार्दा त मेसिनले मेरो ज्याकेट च्यापिसकेछ । मेसिनले ज्याकेटलाई आफूतर्फ तान्दै गयो । ज्याकेटसँगै म पनि मेसिनतर्फ हुत्तिएँ । ज्याकेट मेसिनबाट उम्किन खोज्यो, म ज्याकेटबाट । तर प्रयास असफल भयो । मेरो केही लागेन । आमा, मैले त्यो बेला हजुरलाई सम्झेको थिएँ ।

मेसिनले मलाई आफूभित्र निगल्यो । केहीबेर मेसिन सुस्तरी चल्यो । फेरि उसैगरि रफ्तार बढायो । साथी मेसिनको पल्लो छेउबाट निरीह भएर हेर्दै थियो । उसले गर्न सक्ने पनि त केही थिएन । मान्छेले मेसिनलाई चलाए पनि आखिर शक्तिशाली त मेसिन नै हुँदो रहेछ नि है आमा ? 

मैले केही देख्न छोडिसकेको थिएँ । साथी यो सब देखेर बेहोस भयो या मलाई हेर्दै आँसु झार्यो, मलाई थाहा भएन । तर पछि मलाई मेसिनबाट निकालेर भुइँमा लडाएको सम्म थाहा छ । त्यहाँको भुइँ रगताम्य हुन्छ । मेरो रगताम्य शरीर लास झैं लडेको छ । यो अचेत शरीरमा प्राण फर्काउन मलाई अस्पताल लगिन्छ । तर मेरो शरीर मात्र अस्पताल जान मान्छ, आत्मा मान्दैन ।

शरीरबाट आत्मा बीचबाटोमै अलग हुन्छ र यसरी मेरो प्राण सकिन्छ । मेरो शरीर अस्पताल पुग्ने बित्तिकै सेतो लुगा लगाएका डाक्टरले नाडी छाम्दै ममाथि कात्रो ओढाउने अनुमति दिन्छन् ।

होलीको भोलिपल्ट आँगन भरि छरिएको अबिरलाई अघिल्लो दिनको रमाइलो सम्झँदै पानीले पखाले जस्तै गरी मेसिनको छेउमा जमेर बसेको मेरो रगत पानीले पखालिन्छ । उता उसैगरी प्यारीको सिउँदो पखालिन्छ सधैँको लागि । सबै रातो रङ्ग प्रेमको प्रतिक नहुँदोरहेछ आमा ।

मलाई त्यहाँबाट ओढाएर लैजाने तयारी हुँदैछ । डाक्टरहरु कानेखुसी गर्दै छन् । म फेरि लडेको शरीरमा पस्ने प्रयास गर्दै छु । म सकेजति बल गरेर आत्मा र शरीर एक गर्ने प्रयास गर्दैछु । बेस्सरी आफ्नो भएभरको तागत लगाएर  शरीरतर्फ बढ्दैछु ।

ओइ केभो ? जुन साथीलाई मैले अन्तिम पटक मेसिनको छेउमा उभिएको देखेको थिएँ, उसैले ब्युँझायो । म अत्तालिदै जुरुक्क उठेँ । धत ! कस्तो नराम्रो सपना देखेछु । उफ ! लामो स्वास तानेँ । सपना पो रहेछ भन्दै आँखा चिम्म पारेँ । भगवानलाई धन्यवाद दिएँ ।

हो आमा, मलाई ऐँठन भएछ । परदेश भन्नुमात्र रहेछ आमा । यहाँ जति समृद्धि छ त्यति त्रास पनि त छ । यो त्रास हामी काम गर्न आएकाहरुलाई झन् बढी हुँदो रहेछ । राति सपनामा पनि घुमीफिरी आउँदाे रहेछ ।
 

अन्तिम अपडेट: भदौ ९, २०७८

1 Comments

  • टंक प्र.भट्टराई

    May 23, 2021, 7:08 p.m.

    हामी प्रदेसि काे हालत यस्तै छ हामी बिदेशिन बाद्य्य छाै याे लेख पढे यकदम राम्रो लागाे अनि दुख पनि ❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦

  •  0 Reply

तपाईको प्रतिक्रिया