खाडीको चर्को घाममा काम चलिरहन्छ, पसिना बगिरहन्छ, कहिलेकाहीँ त लाग्छ यतै मरिन्छ

 जेठ १३, २०७८ बिहिबार १०:४२:७ | नारायण कोइराला
unn.prixa.net

अब त बर्खा लाग्यो, पानी आउन थाल्यो होला नि ? यो प्रश्नले मलाइ प्रत्येक वर्ष झस्काउने गर्छ । 

यो प्रश्न कानमा परेपछि एक छिन टोलाउँछु । यो पालि पनि बर्खा लाग्दै गएपछि म यही प्रश्नको उत्तरको खोजीमा छु । यता बर्खा होइन गर्मी लागेको छ । अनि आकाशबाट पानी होइन गर्मीले पसिना खलखलती बगेको छ । 

परदेशमा छु । आफ्नो आमालाई त सन्तानको पिर भइहाल्छ । अझ मलाई त गाउँका अरू बुढी आमाहरूसँग पनि कुरा गर्न, आफ्नो कुरा सुनाउन र उनीहरूको कुरा सुन्न खूब मज्जा लाग्छ । फोनमा आमाहरूले पानी परेको छ, फलानो ठाउँमा पानीले यस्तो भयो भनेर सुनाउँदा म पनि नबुझ्ने गरी भन्छु आमा यहाँ पानी त खासै आउँदैन । तर काम गर्दा भने झरीमा रुझे जस्तै हो । आमाहरू हाँस्दै भन्नुहुन्छ पानी नै नआउने ठाउँमा के काम हुन्छ बाबु ?

आमालाई यहाँ हुने काम र बग्ने पसिना म कसरी कुन शब्दमा बुझाऊ । जे होस् टालटुले जवाफ दिन्छु । 

हुन त गर्मीको मौसममा ठाउँ अनुसार खाडीमा मात्र होइन धेरै थोरै गर्मी त नेपालमा पनि हुन्छ । तराईका विभिन्न सहरमा दिउँसो समयमा गर्मी खाडी बिर्साउने हुन्छ पनि भन्छन् । 

तर खाडीको गर्मी कल्पनाभन्दा परको हुन्छ । तर आफूलाई बचाएर काम गर्नु बाहेक अर्को विकल्प पनि त हुँदैन ।

गर्मी सुरु भएपछि खाडीका देशले बाहिर खुल्ला ठाउँमा काम गर्ने समय कटौती गर्छन् । यो नियमले पनि हामीजस्ता कामदारलाई केही भए पनि राहत हुन्छ । तर सबैले यो नियम मान्दैनन् । ठुला कम्पनीले यस्ता नियम माने पनि साना कम्पनीहरूले यस्ता कुरामा वास्ता गर्दैनन् ।

भनाइ र गराइमा निकै फरक हुन्छ । त्यो त बस भोग्नेलाई मात्र थाहा हुन्छ ।

यहाँ यस्ता काम पनि छन् जुन कम्पनीले सुविधा दिन खोज्दा खोज्दै पनि सुविधा दिन मिल्दैन । काम नै त्यस्तो किसिमको हुने गर्छ । फलाम कम्पनीमा काम गर्ने कामदारको अवस्था नै हेरौँ । यो पनि त इनडोर काम हो नि तर फलाम गलाई आकार दिने ठाउँमा कामदारलाई सुविधा दिन्छु भन्दा पनि दिन सकिँदैन । यो त एउटा सानो उदाहरण मात्र हो । दन्किरहेको गर्मीमा खलखलती पसिना बगाउँदै काम गर्नु बाहेक अरू कुनै उपाय नै हुँदैन ।

यस्तै अनेक उदाहरण छन् जुन ठाउँमा काम गर्दा दिनभर पानी पिएको पिएकै, पसिना बगाएको बगाइ गर्नुपर्ने हुन्छ । इनडोर काम भनेर के गर्नु गर्मी नै बढी भएपछि त कसले रोक्न सक्छ र मजदुरको यो अवस्थालाई । एकातिर कामको दबाब अर्कोतिर गर्मीको समस्या दुवैतिरबाट पीडा भोग्नुपर्ने अवस्था छ । इनडोर भनेपछि गर्मी पनि काम गर्ने समयमा कुनै कटौती पनि हुँदैन । काम चलिरहन्छ ,पसिना बगिरहन्छ ।

हाम्रो सोच आउटडोर कामदारलाई बढी गर्मी हुन्छ भन्ने छ । यो ठिक पनि हो । खुल्ला आकाशमुनि बालुवा तातेको बेलाको गर्मी सहन अति कठिन छ । एकातिर आँखा तिरमिराउने गर्मी अर्कोतर्फ जमिनको बालुवाको पोलाई । हाम्रो शरीरलाई गलाइरहेको हुन्छ ।

 यो अवस्थामा बिहान डिउटी जाँदा साँझ ज्यान फर्किन्छ कि फर्किन् भन्नुपर्ने अवस्था छ । खाडीका मजदुरको यो अवस्था देख्दा मन धुरुधुरु रुन्छ । पसिनासँग पैसा साट्न आइपुगेकाको अवस्थाले मन गह्राै हुन्छ ।

जस्तो होस् यहाँ आइपुगेको एक मजदुरलाई पैसा कमाउन पर्छ । गाउँमा साहुको ऋण हुन्छ । बुवा आमाको आस हुन्छ । भविष्य पनि बनाउन पर्छ । यो अवस्थामा दिनभरि बगेको पसिना, लागेको थकान कहाँ देखाउन सकिन्छ । हर कोसिस यी दुःख लुकाउने हुन्छ । 

दिनभरि तातो  घाम र पसिनामा डुबेर आए पनि साँझ मलाई एकदम ठिक छ भनेर हाँस्नुपर्छ ।

कमाउन गएको एउटा छोराले आफ्नो बुढी आमालाई यस्तो हाल कसरी देखाउने, कसरी सुनाउने । आफ्नो सुखद खबर सुन्दा मुस्कुराएकी आमाको एक मुस्कान नै हामी परदेशीका लागि दुःख भुलाउने ओखती बन्छ । 

खाडीमा गर्मी आउँछ जान्छ । काम निरन्तर चलिरहन्छ । मजदुरको शरीरबाट पसिना बगिरहन्छ । यस्तो प्रचण्ड गर्मीमा कहिले काहीँ त यतै मरिन्छ कि झैँ लाग्छ । 

अन्तिम अपडेट: कात्तिक २८, २०७८

नारायण कोइराला

पाल्पाका नारायण कोइराला अहिले खाडीको देश यूएईमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • खाडीबाट फर्केको युवा

    May 27, 2021, 11:58 a.m.

    खाडीको चर्को घाममा काम गर्नेको अनुहार यस्तो गोरो, सुकिलो मुकिलो हुन्छ ? आफूचै एसिवाला कम्पनीमा काम गर्दो हो अनि मरिमरि बिल्डिङमा झुण्डिएर, डण्डि कस्ने अनि ब्रेकमा खुल्लै ठाउँमा खाना खानुपर्ने अरुको अवस्थालाई आफ्नै बनाएर लेखिटोपलेको रहेछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया