भाइ नेपालमा कोरोना सङ्क्रमित, म विदेशमा, चिन्ता आफ्नोभन्दा भाइकै छ

 जेठ १४, २०७८ शुक्रबार १६:४:३८ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

सञ्जीव महतो/सिराहा, हाल यूएई ।

म अरबको खाडीमा काम गर्ने मान्छे । यहाँ जे छ म त्यसमा खुसी छु । यहाँ सबै कुरा निर्धारित समयमा हुन्छ । एक एक पलको पनि महत्त्व हुन्छ । बिहानै उठ्नु मेरो दैनिकी हो । तर एक दिन उठ्दा अलिक कमजोरी महसुस भयो । मलाई अचानक बान्ता होला जस्तो भयो । आत्तिँदै बाथरुममा पुगेँ । 

शरीर झन् कमजोर भएको अनुभव गरेँ । उल्टी हुँदाहुँदै मलाई पखाला पनि लाग्न सुरु भयो ।

मलाई आफ्नो शरीर धान्न कठिन भइसकेको थियो । साथीभाइले मलाई नजिकको हस्पिटलमा पुर्‍याउनु भयो । अस्पतालसम्म पुग्दा मेरो आँखा तिरमिराइरहेका थिए । 

म बेहोस भएछु । आँखा खुल्दा अस्पतालको बेडमा गुलकोज चढाइँदै रहेछ । इन्जेक्सन, दवाई, अनि गुलकोज पानी पछि मलाई केही निको महसुस भयो । 

डाक्टरले डिस्चार्ज गरिदिए । साथीहरू मलाई लिन कार लिएर आउनु भएको थियो । हामी रुममा गयौँ ।

अर्को दिन मलाई सामान्य कमजोरी भए पनि ठीकठाक थियो । अर्को दिन बिहान पनि  आराम गर्छु भन्ने सोच बनाएर डिउटी गइन । फेरि १० बजेतिर कम्पनीमा फोन गरेँ ।

हुन त म नियमित दुई हप्ताको एकपल्ट कोरोना टेस्ट गर्छु । हाम्रो क्षेत्रमा कोरोना टेस्ट निःशुल्क छ । यसपालि केही समय बाँकी थियो । फेरि पनि पीसीआर टेस्ट गराएँ । म डिउटी जाने बाटोमै पीसीआर टेस्ट गर्ने ठाउँ छ । त्यही जाँच गराएको थिए । 

रिपोर्ट भोलिपल्ट मात्र आउँछ । त्यो दिन अफिस गएर अति जरुरी काम मात्र गरेँ । शरीर एकदमै कमजोर भइरहेको थियो । थकाइ लागेको अनुभव गर्दै थिए ।

मोबाइलमा एसएमएस आयो  । हेरेँ कोरोना जाँचको रिपोर्ट पोजेटिभ रहेछ । अनि आफ्नो अवस्थाबारे कम्पनीलाई बताएँ ।

अब मलाई क्वरेण्टीनमा बस्नु थियो । त्यसको तयारी गरेँ । गाडी आयो उतै गएँ । कमजोरी बाहेक अरू त समस्या थिएन ।

 क्वरेण्टीनमा इन्टरनेटको सुविधा थियो । त्यही भएर पनि देश विदेशमा भएका आफन्त र साथीभाइसँग जोडिन सहज भयो । 

तर संयोग कस्तो पर्यो भने म परदेशमा कोरोना पोजेटिभ हुँदा मेरो भाइलाई पनि नेपालमा कोरोना पोजेटिभ देखियो । 

समस्या एकैपल्ट आयो । त्यसपछि त आफ्नो भन्दा पनि परिवारको चिन्ताले सताउन थाल्यो । म त यहाँ सुरक्षित नै महसुस गरिरहेको थिए । तर मनमा घरमा पो के होला भन्ने मात्र थियो ।

भाइ आफैँ हस्पिटलमा काम गर्ने मान्छे । हस्पिटलमा काम गर्दागर्दै उसलाई पनि कोरोना पोजेटिभ भएको थियो । हुन त हस्पिटलमा काम गर्नेहरूको नाम डाक्टर र नर्सको मात्र आउँछ । हस्पिटलमा काम गर्ने कर्मचारीको अवस्था नेपालमा कस्तो छ भनेर मेरो भाइको अवस्थाले मलाई राम्रो गरी जानकारी गरायो । जब उसलाई कोरोना भयो । सहयोग भन्दा पनि अपहेलित भावनाले हेरियो ।

त्यही समाज, त्यही गाउँ, उसको लागि बिरानो भयो । हस्पिटलमा काम गर्दा हाई, हाई जब आफैँलाई पर्छ अनि बाईबाई जस्तो भयो । कस्तो समाज हाम्रो । उसलाई पनि त माया, सहानुभूति चाहिने बेला हो नि । यो अवस्थामा जुन परिस्थिति उत्पन्न भयो । यसले मलाई असाध्यै दुखी बनाएको छ ।

उ आफ्नै घरमा अलग बसेको छ । उसलाई पनि त थाहा छ आफू बचौँ अरूलाई पनि बचाऊ । कोरोना लाग्दैमा यसरी सामाजिक सञ्जालदेखि गाउँमा उसको ध्यान बिगार्ने वातावरण बनाउन त भएन । सुनेको थिए यस्तो हुन्छ भनेर आज अनुभव पनि गरे । भाइ र मेरो चिन्ताले आमालाई सताई रहेको छ । म पनि यहाँ आफू कोरोना पोजेटिभ भएकोमा भन्दा पनि घरको चिन्ताले गलेको छु ।  

यहाँ मेरो अवस्था भने सबै ठिक छ । त्यस्ता गम्भीर अवस्था आएको छैन । यहाँ खाने, बस्ने सबै कुरा राम्रो छ । डाक्टरको सुझाव सल्लाह अनुसार आफ्नो ख्याल चाहिँ राखेको छु । केही छैन भनेर लापरबाही त गर्नु भएन । कम्पनीका साथीभाइहरूले नियमित फोनमा गर्नुहुन्छ । मलाई आत्मबल दिनुहुन्छ । असाध्यै खुसी लाग्छ । कम्पनीबाट पनि नियमित सोधपुछ हुन्छ ।

यसको लागि म कम्पनी र साथीभाइलाई धन्यवाद दिन चाहन्छु । अब अहिलेसम्मको अवस्था हेर्दा यसपालि कोरोना कहरबाट मुक्त भइन्छ भन्ने कुरामा विश्वास छ । हामी दुवै भाइलाई । आशा छ हामी निराश हुनेछैनौँ । यो कोरोनालाई जितेर छाड्नेछौँ ।

प्रस्तुति : नारायण कोइराला, यूएई ।

अन्तिम अपडेट: भदौ २१, २०७८

तपाईको प्रतिक्रिया