अब कसैले स्वास्थ्यकर्मी नकुटोस् !

 जेठ १५, २०७८ शनिबार १४:२६:४९ | दामोदर न्याैपाने
unn.prixa.net

कविता

आफूलाई बहादुर देखाउन 
मेरो पहुँच कहाँसम्म छ भनेर देखाउन 
केही व्यक्तिले स्वास्थ्यकर्मी कुटेछन्
डाक्टर, नर्स कसैलाई पनि छोडेनछन्
लखेटी लखेटी 
अनि खोजी खोजी
घाँटी थिची थिची हातपात गरेछन् 
देवी र देवतालाई 'दानव' ले आक्रमण गरेछन्
मनभित्रको मानवता हरेछन्
भगवानको घरमा गएर
कालरात्रि मनाएछन् ।।

के उनीहरू कहिल्यै बिरामी नहोलान्
कहिल्यै डाक्टरलाई नभेट्लान्
के अस्पतालको बेडमा थलिनु नपर्ला
जिन्दगी सधैँ यत्तिकै टर्ला 
कि उनीहरू अमर छन्
कि कहिल्यै केही नहुने वरदान पाएका छन् 
कि अमृत नै खाएका छन्
के उनीहरू चिरञ्जीवी हुन्
के उनीहरूले मर्नु नपर्ला
पटक–पटक कति पटक 
अस्पताल चहार्न नपर्ला
कि औषधिको नाम सुन्नै नपर्ला
कठै ! दरिद्र मानसिकता
कहिले घैँटोमा घाम लाग्ला ।।

देवी र देवता दिनहुँ कुटिन्छन्
कारबाहीका लागि मात्र कारबाही हुन्छ
ताल परे उनीहरूकै वाहावाही हुन्छ
ज्यान नै बाजी राखेर 
सबै बिर्सिएर
बिरामीको अघि उभिन्छन् 
एक दिन उसैले उसको उपचार गर्छ
उसको घाउमा मलम र पट्टी गर्छ
मान्छे यतिसम्म 'दानव' 
यतिसम्म दुष्ट कसरी बन्न सक्छ
तिमी बेडमा छटपटाइ रहँदा
भगवानलाई गुहार मागी रहँदा
उसले उपचार गर्दिनँ भन्यो भने
अस्ति कुट्ने तिमी नै होइन भन्यो भने
एक पटक मनैदेखि सोच
अनि कहिल्यै कुट्ने आँट नगर ।।

अन्तिम अपडेट: असार ३, २०७८

दामोदर न्याैपाने

उज्यालाेमा कार्यरत दामोदर न्याैपाने समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया