गणतन्त्र र पलासको फूल

 जेठ १५, २०७८ शनिबार १५:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

ई. नारायण ज्ञवाली

एक भारी दुःख बोकेर 
जिन्दगीको खरबारीबाट
दैनिक दौडिरहन्छिन् आमा
र पालिरहन्छिन् थारा भैंसी जस्ता सपनाहरु ।

घुटुक्क पिएर एक सर्को पीडा
झर्छन् बा जवानीको खेततिर 
बोकेर एक थान जिम्मेवारीको हलो
जोत्छन् दिनभरि बाँझो जिन्दगी 
र फलाइरहन्छन् छोराछोरीका अक्षरहरु ।

म एक गाँस उत्साह खाएर
एक थान कलम सर्टको खल्तीमा च्यापी
दौडिरहन्छु खोल्सा र खोँचहरुको स्कुल
र मारिरहन्छु किताबका माछाहरु ।

यसै गरि अनवरत बगिरहेछन् 
कालिगण्डकी जस्ता जिन्दगीहरु 
बगाउँदै बगाउँदै आशाका शालिग्रामहरुलाई ।

न आमाको थारो सपनाले दियो एक सर्को दुध, 
न बाको बाँझो खेतमा फल्यो पसिनाको मूल्य,
न मेरो कलमले मार्न सिकायो किताबका माछा,
अझ बेवारिसे जिन्दगीका शालिग्राम 
के पुजिन्थे किनारबाट उठाएर ? 
र पनि एउटा आशाको दियो बलिरह्यो निरन्तर !

किन छिर्दैन जुन मुस्काउँदै आमाको मुहारमा ?
किन लाग्दैन सिर्सिर हावा बाको निधारमा ? 
किन छिर्दैन घामको उज्यालो
प्वाल परेको मेरो जिन्दगीको छानाबाट ?
किन पुजिन्न मैले बनाएका आशाका शालिग्राम ? 

र पनि संघर्षको तेल थप्दै 
आशाको त्यान्द्रोमा झुण्डिरहन मन लाग्छ 
देख्दा देख्दै पनि उनीहरुलाई 
जसले रोपेका थिए 
असंख्य सपनाहरु हाम्रो उर्बर मस्तिष्कमा 
तर बदलामा पाइरह्यौँ 
मनका मन्दिरहरुमा एक थान पलासको फूल
केबल पलासको फुल !! 

बा भन्नुहुन्छ – कति सुन्दर तर बास्ना आउँदैन 
आमा भन्नुहुन्छ – कति राम्रो तर मन्दिरमा चढ्दैन 
गणतन्त्रको लागि लड्दा लड्दै 
घाइते भएको मस्तिष्कबाट म कसरी भनुँ 
बा ! पलासको फूल र गणतन्त्र उस्तै हुन् हाम्रो लागि ।
आमा ! समृद्धिको सपना र थारो भैंसी उस्तै हुन् हाम्रो लागि ।।

अन्तिम अपडेट: असार १, २०७८

तपाईको प्रतिक्रिया