राजकुमार शाक्यले यसरी भुटानमा भीमकाय पद्मसंभवको मूर्ति ठड्याउनु भयो

 जेठ २५, २०७८ मंगलबार १३:१५:३४ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

राजकुमार शाक्यले लुम्बिनीको भियतनामकाे पार्कमा ५० फिटको बुद्धको मूर्ति बनाउनु भयो । उहाँले सन् २००० मा जर्मनमा भएको वर्ल्ड एक्स्पोमा १२ फिट अग्लो श्वेत भैरवको मुकुट र स्वयम्भू चैत्य बनाउनु भएको थियो। त्यस्तै कपन गुम्बाको लागि ४० फिट अग्लो तिबेटन स्तुपा बनाउनु भयो । त्यस्तै सन् २०१० मा चीनको साङ्घाइमा भएको वर्ल्ड एक्स्पोमा नेपाली पेभिलियनमा राख्नको लागि १०० फिट अग्लो स्वयम्भू चैत्य बनाउनु भयो । उहाँले बनाउनु भएका सानाठूला धातुका मूर्तिहरुको विवरण अनगिन्ती छन् । तर भुटानमा बनाएको भिमकाय पद्म संभवको मूर्तिले उहाँलाई २१ औं शताब्दीको अरनिकोको नाम जनमानसबाट दिलायो।  

उहाँको विशेषता हथौडाले धातुको पातामा हानेर सुन्दर कला बनाउनु थियो । अङ्ग्रेजीमा रिपाेसे भनिने हस्तकलाको यो विधालाई नेपाल भाषामा थ्वज्याःमाज्या भनिन्छ । उहाँको निपुणता यसैमा नै थियो।  

गुम्बामा छाना छाउने गजुर हाल्ने, सजाउने सामान बनाउने, भाँडाकुँडा बनाउने, पूजाका सामान बनाउने जस्ता धातु कलाका काम भुटान हुने गरे पनि मूर्ति बनाउने कलाकार छन् । तर भुटानमा माटोको देवता बनाउने काष्ठकला, ढुङ्गाबाट मूर्ति बनाउने कलाकार भए पनि  धातु कलामा कलाकार नभएकाले धेरै अघिदेखि भुटानका कलाप्रेमी धातुकला किन्नको लागि नेपाल आउने गर्दछन्।

पहिले पहिले माटोको देवता बनाउने चलन भए पनि माटो मूर्ति फुट्ने, बिग्रिने, चर्कने भएको भुटानमा धातुको मूर्ति राख्ने अभियान नै चलेको छ। त्यसैले नेपालमा बनेका हस्तकला धातु मूर्तिहरु भुटान लैजाने  चलन जस्तै भइसकेको छ । तर सन् २००४ तिरा भुटानका लामा गुरु खेन्पो कार्पो नेतृत्वमा एक भुटानी टोली नेपाल आयो, मूर्ति लैजानका लागि नभएर कलाकारलाई नै भुटान लैजान ।

नेपाली कलाकारले ठूलो प्रोजेक्ट पूरा गर्न सक्छ जस्तो नलागेर नेपाल आउनु अघि त्यस टोली पहिले थाइल्याण्ड गएछ, त्यहाँ चित्त बुझेनछ । त्यसपछि टोली बर्मामा पुगेछ । त्यहाँ पनि टोलीलाई चित्त बुझेनछ। भारत गएछ, त्यहाँको कलाले पनि उनीहरुको मन जित्न सकेनछ । पहिले देखि नै काठमाण्डौबाट मूर्ति लैजाने बानी लागि सकेकाले त्यहाँको कला नेपालको जस्तो नभएकोले मन जित्न सकेन ।

पछि अब त भएन नेपालमा नै जानु पर्यो भनेर नेपालमा आएर टोलीले ललितपुर थैनाका राजकुमार शाक्यलाई भेटेछ। उनीहरुले शाक्यले बनाएका १५ फिटसम्मको मूर्ति मात्र देखेका थिए । त्यसैले मेशिनले नभएर हातबाट नै विशाल मूर्ति राजकुमारले बनाउन सक्नुहुन्छ भन्नेमा उनीहरुमा शङ्का थियो। त्यसैले राजकुमारले अहिले बनाउँछु भनेर पनि पछि बिगार्छ भन्ने उनीहरुको मनमा लागेको थियो। उहाँबाट त्यो काम सम्भव हुँदैन भन्ने उनीहरुलाई लागेको थियो। खाली लामा गुरुलाई मात्र उहाँप्रति विश्वास थियो । लामा गुरुलाई नाइँ भन्न नसकेर त्यस टोलीले राजकुमारलाई उक्त प्रोजेक्ट जिम्मा दियो ।

असम्भव काम थियो  थिम्पूबाट ५०० किलोमीटर पूर्वको दुर्गम ठाउँ ताकिल्ला पहाडको ल्हुन्ट्चेडोङ्गमा  १५५ फिट अग्लो झण्डै ३०० टनको गुरु पद्म सम्भव (गुरु रिम्पोछे)को मूर्ति बनाउने।

अमेरिकाको लिबर्टीको मूर्तिसँग दाँजिएको पद्म संभवको मूर्ति बनाउने काम त्यति सजिलो थिएन। मूर्ति बनाउनुभन्दा पनि राजकुमारलाई भुटानीहरुको मन जित्न नै पहिले गाह्रो भयो।

काम सुरु गर्नुअघि राजकुमारले सन् २००५ मा ११ फिटको पद्म संभवको मूर्तिको मोडेल बनाएर  लामा गुरुलाई देखाउनु भयो । ठीक छ भन्ने प्रतिक्रिया आएपछि काम थाल्ने तयारी गर्नु भयो । मोडेल बनाएको मूर्तिलाई १० गुणाले बढायो भने विशाल मूर्तिको स्वरुप राम्ररी नै बनाउन सक्छु भन्नेमा उहाँ विश्वस्त हुनु हुन्थ्यो । तर उहाँको चिन्ताको विषय थियो कसरी भीमकाय मूर्तिलाई उठाउने भनेर । विशाल मूर्तिलाई कसरी उठाउने, हावाहुरी , भुकम्पबाट कसरी सुरक्षित राख्ने भनेर भुटानी स्टक्चरल इन्जिनियरहरुसँग ६ महिनासम्म छलफल गर्नुभयो । काठमाण्डौमा बसेर भुटानमा मूर्तिलाई कसरी भूकम्प प्रतिरोधी बनाएर उठाउन सकिन्छ भन्ने योजना बन्न थाल्यो ।

उहाँले सन् २०१० को जुन १० तारिखदेखि भुटानमा काम थाल्नुभयो । उहाँसहित नेपालका १९ जना कलाकार, भुटानका १० जना र बङ्गाली ३० जना कलाकारले निरन्तर ३  वर्ष ९ महिनासम्म पदम संभवको मूर्ति बनाउने काम गर्यो। गुरु पद्म संभवले फपिङ्गको गुफामा ज्ञान पाएपछि ८ औं शताब्दीमा भुटानमा बुद्ध धर्मको प्रादुर्भाव भएको भनिन्छ । भुटानमा पद्म संभवलाई दोश्रो बुद्धको रुपमा लिइन्छ ।

फलस्वरुप सन् २०१४ मार्च २० मा असम्भव भनिएको काम सम्भव भयो। निर्धारित ५ वर्षको अवधिभन्दा १ वर्षअघि नै काम पूरा भयो । कङ्क्रिटको ४० फिटको आशनमाथि विशाल पद्म संभवको मूर्तिलाई उठाउने काम सम्भव भयो। पद्म संभवको अनुहार मात्र १५ फिटको छ भने  कमलको आसन २० फिटको छ । मूर्ति बनाउन प्रयोग गरिएका तामाको पाता २ मिलीमिटर मोटो छ भने सबैभन्दा लामो पाता १० फिटको छ जसकाे चौडाइ ४ फिटको छ ।

त्यस मूर्तिलाई अमेरिकाको लिबर्टीको मूर्तिसँग दाँजिने गरिन्छ। लिबर्टीको मूर्ति उभिरहेकाे छ , अझ हातमाथि लगिरहेको र फेरि हातमा पनि टर्च भएकोले उचाइको हिसाबमा लिबर्टीको मूर्ति नै अग्लो छ। तर चौडाइ , घनत्व हेर्ने हो भने राजकुमार शाक्यले बनाएको गुरु पदम संभवको मूर्ति ठूलो छ।

भुटानको प्रोजेक्ट समय अगावै सम्पन्न हुन सक्नु राजकुमार शाक्यको कुशल जनशक्ति व्यवस्थापन पनि हो । विशाल मूर्ति बनाउनु मात्र नभएर विभिन्न देशका ३ समूह कलाकारलाई लामो समयसम्म एकै ठाउँमा मिलाएर राख्नु राजकुमार शाक्य आफैँले पनि ठूलो  उपलब्धि भएको मान्नु हुन्थ्यो। त्यस्तै उहाँको अर्को उपलब्धि भुटानीहरुको मन जित्नु पनि थियो । 

मूर्ति शिलान्यासको दिन - भुटानका गृह मन्त्रीले त्यस दिन मूर्ति बनाउने प्रविधिको बारेमा एकएक गरेर उहाँसँग जानकारी लिनु भएको थियो । उहाँले आफ्नो योजनाको बारेमा सबै नै बताउनु भयो  तर मन्त्रीलाई उहाँको कामप्रति शङ्का लागेको थियो। शिलान्यासपछि उहाँले काम सुरु गर्नु भयो । काम गर्दै जाँदा कमलको फूल राख्ने आसनको काम गर्दा ताका उनै गृह मन्त्री भुटानको प्रधानमन्त्री भइसक्नु भएको थियो । एकदिन प्रधानमन्त्री अवलोकनका लागि आउनु भएछ । राजकुमारले बनाएको कलमको फूल देखेपछि मात्र उहाँको कामप्रति  प्रधानमन्त्रीले अब त काम सम्पन्न हुन्छ भनेर विश्वास गर्न थाल्नु भयो । राजकुमार शाक्यकै शब्दमा "प्रधानमन्त्रीले त्यस बेला थाम्नै सक्नु भएनछ अनि भन्नु भयो कि शिलान्यास गर्दा मलाई लागेकै थिएन कि हातबाट मात्रै त्यत्रो ठूलो मूर्ति बनाउने काम सम्भव हुन्छ भनेर खाली गुरुको प्रयासमा नाइँ भन्न नसकेर मात्र यो काम तपाईँलाई दिएको तर अहिले मलाई विश्वास लाग्यो कि असम्भव काम अब सम्भव हुन्छ भनेर।" 

राजकुमार शाक्यले जमिनमा बसेर सुरुमा एक जोर जुत्ता बनाउनु भयो । उहाँको सोचाइ थियो जमिनमा बसेर जुत्ता बनाउँछु पछि क्रेनको सहयोगमा ६० फिटमाथि लगेर जोड्छु  । उहाँ भुटान पुग्नुभन्दा अघि क्रेनले नै फलामको मूर्तिको करङ्ग जस्तो संरचना फिट गरेको थियो । तर पछि जुत्ता फिट गर्नको लागि त्यही क्रेनको सहयोग लिन सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो । तर विभिन्न कारणले त्यो क्रेनलाई त्यहाँ ल्याउन सकिएन । अर्को क्रेनको खोजी भयो । थिम्पूबाट ५०० किलोमिटर पूर्वको दुर्गम ठाउँ । धेरै प्रयासपछि बल्लबल्ल एक ठाउँमा क्रेन त भेटियो तर काम नदिने बिग्रिएको रहेछ । पछि अर्को क्रेनको खोजी भयो । भुटानमा पुल बनाउन क्रेन ल्याउने भारतको गुहाटीको एक समूह भेटियो । प्राविधिकलाई बोलाएर जुत्ता माथि लैजानको लागि सल्लाह लिइयो । ६० फिटमाथि राख्नको लागि क्रेनलाई जुत्ता झण्डै ८० फिट माथि लैजान पर्ने भयो । प्राविधिकहरुले त्यस्तो काम १० पाङ्ग्रे क्रेनले मात्र गर्न सक्छ भन्न थाले ।

१० पाङ्ग्रे क्रेन भारतबाट ल्याउनु पर्ने भयो तर भारतबाट त्यो विकट ठाउँमा  ल्याउनको लागि बाटो नै थिएन । पहाडको बाटो,  धेरै नै घुम्ती हुने नै स्वाभाविक नै भयो । घुम्तीमा त्यो क्रेनलाई मोड्न ठाउँ नै नपुग्ने भयो । बाटोमा पर्ने पुलले पनि क्रेनको भार थाम्न नसक्ने भएकोले १० पाङ्ग्रे क्रेन त्यहाँ ल्याउन सम्भव नै भएन । प्राविधिकहरुले त्यसपछि हाइड्रो पावरको प्रोजेक्टमा प्रयोग गरिने पुरानो प्रविधि तारतारबाट मात्र तानेर माथि लगे मात्र सम्भव हुन्छ भनेर सुझाए।  त्यसपछि  हाइड्रो पावरका प्राविधिकको सहयोगमा मूर्तिको माथिल्लो भाग र रुखमा तार बाँधेर केवल कार जस्तो बनाएर जुत्तालाई ६० फिट माथिको आशनमा लगियो। यो घटना पनि राजकुमारले पहिले सोचेको योजनालाई परिवर्तन गर्नुभयो। 

पहिले क्रेनले सजिलै माथि लैजान्छ र फिट गर्दछु भनेर सोचेको उहाँको सबै योजना भताभुङ्ग भयो । त्यो त जुत्ता राख्नको लागि मात्र आएको समस्या थियो । जुत्ताभन्दा पनि माथि हात राख्न त बाँकी नै थियो, पात्र राख्नु नै थियो । झनै माथि राख्नु पर्ने भागहरु त बाँकी नै थिए । त्यसपछि उहाँले पहिले नै बनाएको योजनामा केही हेरफेर गर्न थाल्नु भयो । सानासाना टुक्रा गरेर शरीरका भागहरु बनाएर नटबोल्टले जोड्ने जस्ता उपाय अपनाउनु भयो र अन्ततः भीमकाय पद्म संभवको मूर्ति ठडियो। असम्भव भनिएको कामले मूर्त रुप थियो।  तर विश्वको सबैभन्दा ठूलो भैरवको मुकुण्डो (७२ फिट) बनाएर ठड्याउने भन्ने उहाँको सपना भने अधुरै भयो। 

कोरोना सङ्क्रमणका कारण उनै दोस्राे अरनिको, कलाकार राजकुमार शाक्यको गएको जेठ २२ गते निधन हुनुपुग्यो। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली। 

अन्तिम अपडेट: असार १०, २०७८

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया