देशलाई पर्दा हामीले गाँस कटाएर सहयोग गर्याैं, हामीलाई पर्दा सरकार हेरेर बस्यो

 असार १, २०७८ मंगलबार १६:११:४४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

शिरीष तिम्सिना, कतार ।

नेपालमा कोरोनाको दोस्रो लहरले सतायो । धेरै नेपालीले अक्सिजनको अभावमा ज्यान गुमाउन पर्यो । त्यो बेला हामी टुलुटुलु हेरेर बस्न सकेनौँ ।

आफ्नो गाँस कटाएर भए पनि देशलाई पर्दा अक्सिजन सिलिन्डर पठायौँ । तर अहिले हामी घर फर्कने दिन कुरेर बसिरहेका छौँ । सरकार भने हाम्रो दुःख हेरेर बसेको छ । हामीलाई समस्या भयो होला भनेर कति पनि सोचेको छैन ।

पछिल्लो समय कतार र टर्कीबाट उडान त खुलेको छ । तर त्यो उडानमा हामीजस्तो सामान्य श्रमिकले टिकट काटेर घर फर्कन सक्ने अवस्था छैन । टिकट यति महँगो छ कि कल्पना पनि गर्न सकिन्न । ट्राभल एजेन्सी र एयरलाइन्सका कर्मचारीले सकेसम्म टिकट छैन भन्छन् ।

यदि पाइयो भने पनि एक लाखभन्दा माथि छ एकतर्फी उडानको । यत्तिको महँगो टिकट कसरी काट्नु ? खाडीमा श्रम गर्न आएको एउटा श्रमिकको लागि एक लाखको महत्त्व हाम्रै पसिनाले देश चलाउनेहरूले कसरी पो बुझ्थेँ र खै । 

सामान्य अवस्थामा काठमाण्डौ – अमेरिका दुईतर्फी उडानको एक लाख रुपैयाँ हुन्थ्यो भन्छन् । तर अहिले त चार घण्टाको उडान अवधिको एक लाख रुपैयाँ त्यो पनि खाडीमा श्रम गर्नेले कसरी बुझाउनु ।

कतिपय अवस्थामा त एक लाख ८० हजार रुपैयाँसम्म पनि छ टिकटको मूल्य । यो त हाम्रो लागि एक वर्षको तलब हो । के यो अवस्थाबारे नेपाल सरकार जानकार छैन र । हामी पीसीआर परीक्षण गरेर, सरकारले तोकेका मापदण्ड पूरा गरेर नै आउने हौ । सङ्क्रमितहरु आउने हैनन् भनेर किन बुझ्न नसकेको नेपाल सरकारका कर्मचारीहरूले ।

एयरलाइन्स र ट्राभल एजेन्सीहरूले यसमा हामी केही गर्न सक्दैनौँ भन्छन् । सरकार अब त हाम्रो लागि पनि केही गरिदेऊ ।

अन्तिम अपडेट: भदौ २, २०७८

तपाईको प्रतिक्रिया