‘महामारीमा मर्छु भन्ने सोच आयो, फोनमार्फत मनोपरामर्श लिएपछि बाच्ने रहर पलायो’

 असार ३, २०७८ बिहिबार १७:३७:५ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

यशोदा (नाम परिवर्तन)

हरेक व्यक्तिहरू परिवारको खुसीका लागि परदेशीन्छन् । तर कहिलेकाहीँ खुसी खोज्दा खोज्दै झन् दुःखी हुन पर्दो रहेछ । 

मेरो श्रीमान् पनि लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा हुनुहुन्छ । उहाँ परदेश गएपछि मैले दुई छोरा र घर व्यवहार धान्दै आएको छु । हरेक दुःख मानिसले सजिलै यस कारण सहन ताकी एक दिन त हाम्रो पनि सुखका दिन आउँछन् भन्ने आस हुन्छ । तर परिवार टाढा हुनुपर्दा सोचेजस्तो हुँदो रहेनछ । 

श्रीमान् परदेशमा हुँदा मलाई घरमा निकै अप्ठेरो भयो । घर व्यवहार दुई बालबच्चा । व्यवहार जति सबै आफ्नो थाप्लोमा भयो । सहयोग गर्ने सम्झाउने कोही भएनन् । श्रीमान् पनि टाढा भएकाले उहाँलाई सधैँ तनाव के दिनु जस्तो लाग्दो रहेछ ।

सबै तनाव आफैँ उठाउँदा कति बेला मलाई मानसिक समस्या भयो पत्तो नै पाइनँ । मलाई के भइरहेको छ मैले नै थाहा पाउन छाडे । बेला बेलामा त यो जीवनमा बाँचेर केही अर्थ छैन झैँ लाग्न थाल्यो । जति बेला पनि मर्ने मात्र सोच आउन थाल्यो । तर बिस्तारै मलाई यो समस्याले एकदमै च्याप्दै लग्यो । 

बिहान बेलुका त घरको काम हुन्छ मन झुल्छ । तर खाली समयमा झन् दिमागमा कुरा खेलेर मलाई समस्या हुन थाल्यो । तर मैले आफ्नो समस्या कतै कसैसँग पनि भन्न सकिरहेको थिइनँ ।

केही समयपछि हाम्रो गाउँमा परदेशीका परिवारका लागि वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । कक्षामा म पनि बस्न थालेँ । जब कक्षामा बसेर कुराहरू बुझ्न थाले तब मलाई जे भइरहेको थियो त्यसको कारण पत्ता लगाए । कक्षामा कक्षामा मनोसामाजिक परामर्शका कुरा पनि हुन्थ्यो । डर, चिन्ताहरू कम गर्ने उपायहरू पनि सिकाइन्थ्यो । त्यसपछि मैले पनि आफ्नो समस्या मनोपरामर्शकर्ता सरसँग राख्ने निधो गरेँ । 

उहाँलाई मलाई धेरै कुराहरू सिकाउनुभयो । जीवन र बाँच्नु पर्ने आधारहरू बुझाउनुभयो । मनको डर, पिर र तनाव कम गर्ने उपायहरू सिकाउनुभयो । उहाँले भने अनुसार नै मैले पनि गर्दै गएँ । त्यसपछि मेरो समस्या र सोचहरू फेरिन थाल्यो ।

तर यो महामारीको समयमा एक महिना अघि पुनः मलाई यस्तै समस्या भयो । यो महामारीको कारण मनोपरामर्शकर्ता सरसँग भेट्न सक्ने अवस्था पनि थिएन । मैले फोनमार्फत नै आफ्नो समस्या सुनाएँ । मनोपरामर्शकर्ता सरले फेरि पनि मलाई आफ्नो मनलाई शान्त पार्ने विभिन्न उपायहरू सिकाउनुभयो ।

उहाँले भनेका उपायहरू अपनाए । मैले बालबच्चाका लागि भए पनि बाच्न पर्छ भन्ने लाग्न थाल्यो । 

आजकाल म ठिक छु । मर्छु भन्ने सोच पनि आउन छाडेको छ । घर व्यवहार सबै कुरा सोचेर ल्याउँदा तनाव नहुने त हैन । तर अब त म तनावमा पनि आफूलाई बलियो बनाएर अघि बढ्न सक्छु । घरको काम गर्छु । बालबच्चाको ख्याल राख्छु दिन त्यसै गरी बिताइरहेको छ । अब श्रीमान् पनि घर आउने तयारीमा हुनुहुन्छ । उहाँ पनि आउनुभयो भने मलाई यो समस्या फेरि हुने छैन भन्ने आशा छ ।

अन्तिम अपडेट: असार १७, २०७८

तपाईको प्रतिक्रिया