पूर्व तयारी नभएकैले बाढी पहिरोबाट क्षति धेरै

 असार ४, २०७८ शुक्रबार १०:१:३९ | डा. सुबोध ढकाल
unn.prixa.net

भौगोलिक संरचनासँगै मानवीय क्रियाकलापका कारण एकपछि अर्को विपद्का घटनाहरु हुने गरेका छन् । सिन्धुपाल्चोकको भौगोलिक संरचना एकदमै कमजोर छ ।  धेरै पुराना पहिरोहरु छन् । भूकम्पका कारण पनि  पहिरोहरु गएका छन् ।  

पुराना पहिरोहरुमा मानव बस्ती छन् । सात, आठ वर्ष अगाडि एकातिर साइडबाट खोला बग्थ्यो भने अहिले बिस्तारै  परिवर्तन भएर अर्कोतिरबाट बगेको छ । पहिला खोला बगेकै ठाउँहरुमा समेत मानिसहरुले संरचना बनाएर बसेका छन् । 

कतिपय मानिसले अरु ठाउँ नभएका कारण बाध्यताले गर्दा त्यस्ता ठाउँमा गएर व्यापार व्यवसाय सञ्चालन गर्ने गरेका छन् । जसका कारण प्राकृतिक विपत्तिका कारण जनधनको नोक्सानी हुने गरेको छ । एकातिर खोलाको नजिकै बस्ती छ भने अर्कोतर्फ सतही तरिकाले एकै ठाउँमा बसोबास भएकाले  धेरै जनधनको नोक्सानी भएको हो । सिन्धुपाल्चोकको माथिल्लो तट र तल्लो तटबीचको  कमजोर समन्वयका कारण जोखिम निम्तिरहेको छ । 

माथिल्लो तटमा पहिरो गएर केही समय खोलालाई थुन्यो । बर्खाको समयमा एकैछिन थुनिँदा पानीको सतह एकदमै बढ्छ । त्यसपछि पहिरोले थुनेको ठाउँ खुलेपछि तल्लो तटीय क्षेत्रमा कटान गर्ने सम्भावना रहन्छ । फेरि खोलाको वरपर बस्ती भएपछि त्यसलाई कटान गर्न पनि सजिलो हुन्छ । जसका कारण बाढी आयो र ठूलो जनधनको नोक्सानी हुन पुग्यो । अहिलेको घटना पनि यस्तै भएको देखिन्छ ।  

२०७२ सालको भूकम्पले सिन्धुपाल्चोकको जमिन एकदमै धेरै हल्लाएको थियो । धेरै हल्लिएका कारण जमिन कमजोर भयो । जसका कारण आकाशबाट परेको पानी जमिनमुनि छिर्न सजिलो भयो । भित्र छिरेको पानीले जमिन गलाइदिन्छ । 

भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बन्यो । प्राधिकरणलाई भूकम्पले बढी क्षति गरेको ठाउँको जोखिम पहिचान गर्नुपर्ने, बढी जोखिममा भएका बस्ती स्थानान्तरण गर्नुपर्ने, भएकाले प्राधिकरणले त्यतिबेला एक तहको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा केही विज्ञहरुले पनि  सुझावहरु दिएका थिए । तर  अनुसन्धानमा आएका सुझाव  र निष्कर्षहरु प्रभावकारी हुन सकेनन् ।

विपद्सँग सम्बन्धित भएर काम गर्ने निकायहरुबीच समन्वय हुन नसक्दा सुझावहरु कार्यान्वयन हुन नसकेको हो । कसले कार्यान्वयन गर्ने भन्नेमा नै अलमल छ  । पालिकालाई अधिकार त  दिइएको छ, तर आवश्यक पर्ने जनशक्ति र स्रोत साधनको अभाव छ । त्यसैले छिटो निर्णय गर्नसक्ने अवस्थामा पालिकाहरु छैनन् । आफूले हेरेर गर्न सक्ने सामान्य  जोखिम न्यूनीकरणबाहेक पालिकाहरुले गर्न सक्ने अवस्था नै छैन । 

मनसुन सुरु हुनुभन्दा अगाडि जोखिम भनेर पहिचान गरेको ठाउँमा केन्द्रले पालिकासँगको समन्वयमा काम गर्नुपर्ने थियो । तर त्यसो हुन सकेन । धेरै जोखिम भएका ठाउँका मानिसलाई स्थायी रुपमा नसके पनि अस्थायी रुपमा भए पनि स्थानान्तरण गर्नुपर्थ्यो। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई विज्ञहरुले दिएको सुझावहरुमध्ये जोखिम क्षेत्रको पहिचान गरी नक्साङ्कन गर्ने काम भयो । त्यसमा विज्ञहरुको सुझाव समावेश भएको छ । त्यसपछि  भने विज्ञहरुसँग छलफल नै भएको छैन । एउटा सरकारी निकाय र अर्को सरकारी निकायबीच नै राम्रोसँग समन्वय पनि हुन नसक्दा  विपद्का घटना न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको देखिँदैन ।

जोखिम न्यूनीकरणका लागि विपद्का विभिन्न क्षेत्रमा रहेर अनुसन्धान गरिरहेका मानिसहरुसँग परामर्श गर्नुपर्छ । बाहिर रहेर  अध्ययन अनुसन्धान गरिरहेका विज्ञहरुले सरकारलाई सहयोग गर्छन् । अप्ठ्यारो पार्दैनन् ।सिन्धुपाल्चोकमा मात्र नभइ मनाङ, लमजुङ लगायतका जिल्लाहरुमा पनि  विपद्जन्य घटनाहरु भएका छन् । स्थिति उस्तै, उस्तै खालको देखिएको छ । सरकार सफ्टवेयरको पाटोमा बढी तर हार्डवेयरको पाटोमा खासै नलागेको पाइन्छ ।  जसका कारण सिन्धुपाल्चोकको जस्तो विपत्तिका घटना दोहोरिन्छन् ।  

सफ्टवेयर भनेको प्रचारप्रसार, खोज उद्धार भन्ने हो ।  हार्डवेयर भनेको पहिचानदेखि नीतिगत कुराहरु त्यसमा जोखिएर आउँछन् । खोलामा बस्ती बसाउन नदिने । जोखिमयुक्त ठाउँमा रहेका बस्ती स्थानान्तरण गर्ने लगायतका कुराहरु यसमा  पर्छन् । खेतीयोग्य जमिनमा खेती नै गर्नुपर्छ । खानीहरु खोल्नका लागि छुट्टै ठाउँ तोकिदिने काम हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । सिन्धुपाल्चोकको जस्ता घटना अरु ठाउँमा पनि नदोहोरिएलान् भन्न सकिँदैन। 

मनाङ, लमजुङ र बाग्लुङलगायतका खोला नजिक बस्ती भएका ठाउँमा पनि माथिल्लो तटमा पहिरो जाने र तल्लो तटमा बाढी आउने सम्भावना धेरै भएको पाइन्छ । नेपालमा यो वर्ष मनसुन सुरु हुने बित्तिक्कै बाढी  तथा पहिरोका घटना भए । अहिले नेपालमा १० दिनदेखि २ हप्तासम्मको मौसमको पूर्वानुमान गर्न सक्ने क्षमता छ । केही दिन अगाडि नै कुन खोलामा पानीको बहाव बढ्छ भन्ने जानकारी पनि भइसक्छ ।  मनसुन पूर्व नै गर्नुपर्ने काम गर्न नसकिए पनि अब धेरै नोक्सानी हुन नदिनका लागि जोखिम भएका ठाउँका मानिसहरुलाई अस्थायी रुपमा भए पनि अन्यत्र सार्नुपर्ने हुन्छ।

बाढी, पहिरो गइसकेपछि उद्धार राहतमा लाग्ने तर मनसुनजन्य घटनाबाट जोगाउन पूर्वतयारी पर्याप्त नगर्ने परिपाटीका कारण  प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको नोक्सानी हुने गरेको छ ।यसरी जोखिम न्यूनीकरण हुँदैन। विपद् गइसकेपछि गर्ने काम अर्को पाटो हो । गर्नुपर्ने भनेको मनसुन अगाडिकै समयमा  सबै काम गर्नुपर्ने हो । अहिले विपद् जानुपूर्व गर्नुपर्ने तयारीमा  हामी चुकिसकेका छौँ । 

अर्को वर्षदेखि बेलैमा सचेत भएर यस्ता घटना फेरि दोहोरिन दिनु हुँदैन । मनसुनबाहेकका आठ महिनामा पूर्वतयारीका सबै काम सक्नुपर्छ । पहिचानदेखि स्थानान्तरणको सबै काम त्यही अवधिसम्ममा गरिसक्नुपर्छ । भूकम्पपछि धेरै ठाउँहरुमा ठूलाठूला भ्वाङहरु परेका छन् । जमिन चिरिएको छ । सानो-सानो भ्याङहरु ठूलो हुँदै जाने र साना-साना चिराहरु ठूला  हुँदै जाने समस्याहरु देखिएका छन् । 

ती भ्याङ तथा चिराहरु बिस्तारै पुर्नुपर्छ । जमिन पानी छिर्न नदिने उपायहरु अपनाउनुपर्छ । यस्ता कुराहरुमा हामी आफैँ पनि सतर्क बन्नुपर्छ । सरकारले मात्र गरिदिन्छ भनेर बस्दा ज्यान नै जाने जोखिम हुन्छ । समुदायका मानिसहरु मिलेरै भए पनि यस्ता कामहरु गर्नुपर्छ ।  

(विपद् विज्ञ डा. ढकालसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)     

अन्तिम अपडेट: असार २१, २०७८

डा. सुबोध ढकाल

डा. सुबोध ढकाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभागका सह–प्राध्यापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया