तामाकोशी नदीमा पानीको बहाव स्थिर, यी नदीमा आउन सक्छ बाढी (सूचीसहित)

 असार ५, २०७८ शनिबार ९:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - तामाकोशी नदीमा पानीको बहाव स्थिर रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनियाँ क्षेत्रमा पहिरो गएकाले बाढी आउन सक्ने सूचना निकालिए पनि नदीमा पानीको बहाव बढ्ने र घट्ने नभएको महाशाखाले जनाएको हो । 

अहिलेसम्म बाढी नआए पनि जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन नदी आसपासका स्थानीय बासिन्दालाई आग्रह गरिएको छ । यस्तै, आज नारायणी र यसका सहायक नदीमा पानीको बहाव घटबढ हुन सक्ने अनुमान गरिएको छ । पानीको बहाव जोखिमको अवस्थाभन्दा तलै रहने पूर्वानुमान गरिएको छ । कोशी, कर्णाली र महाकाली नदीसँग जोडिएको केही साना नदी तथा खोलामा भने बाढी आउन सक्ने अनुमान छ । आज कन्काई, पश्चिम राप्ती, बबई नदीसँगै यी नदीका सहायक नदीमा पानीको  बहाव बढ्ने सम्भावना छ । 

यसैगरी, प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, सङ्खुवासभाका नदी तथा खोलामा पनि बाढीको जोखिम छ । यस्तै, प्रदेश-२ को बारा, पर्सा, रौतहट, सर्लाही, वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाण्डौ, चितवन, मकवानपुर, सिन्धुलीका नदीमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ । 

त्यसैगरी, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर तथा लुम्बिनी प्रदेशको परासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, पाल्पाका नदी तथा खोलामा बाढीको जोखिम छ ।

यस्तै, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला र सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलाका नदी तथा खोलामा बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

सूची हेर्न यहाँ क्लिक गर्नुहाेस् । 

अन्तिम अपडेट: असार २३, २०७८

तपाईको प्रतिक्रिया