बाढी पहिरोकै बीचमा नदी खोलाको आकस्मिक बैठक !

 असार ५, २०७८ शनिबार ९:५३:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

मानव बस्तीमा बाढी पहिरोले तहसनहस पारेपछि नदी र खोलाहरुमा पनि खैलाबैला मच्चियो । मानव बस्तीमा बसेर नदी खोलाले दुःख दिए भन्ने गुनासो सुनेपछि नदीको मुखियाले आकस्मिक बैठक बोलाए । बैठकमा सधैं एकनासले बगिरहने नदी, खोला तथा कहिलेकाहीँ मात्रै आफ्नो रुप देखाउने खोल्सा, खहरे, भेल, कुलोका प्रतिनिधि पनि उपस्थित भए ।

मुखियाले सबैभन्दा पहिले नदीलाई सोधे : मान्छेहरुको बस्तीमा पसेर किन दुःख दिएको ? असार नलाग्दै नदी खोला बहुलायो भनेर हामीलाई गाली गरिरहेका छन् मान्छेले ।

बस्ती नै सुसाउँदै आएको नदीका प्रतिनिधिले जवाफ दिए : हामी मान्छेको बस्तीमा पसेको हैन मुखियाज्यू, मान्छे चाहिँ हाम्रो बाटोमा बसेका हुन् । हिउँदमा हामी सानो हुन्छौँ । सानो भएको बेला हामीलाई सानै ठाउँ भए पुग्छ । बालुवा र गिट्टीको चिनो छोडेर वर्षा कुर्दै सानो भएर बहन्छौँ । वर्षामा फेरि ठूलो भएर फर्कँदा पहिले छोडेको बालुवा र गिट्टी केही पनि हुँदैन । कतै घर हुन्छ, कतै क्रसर मेसिन । आफ्नो भइरहेको खेतबारीले नपुगेर मान्छेले बगरमा पनि खेती गर्छन् । हामी हिँड्ने बाटोमा खेती र बस्ती भएपछि हामी के गरौंँ? बस्ती र खेती छलेर बहन सकिँदैन । आफ्नो पावर भएको बेला केही साथीहरुले धार बदलेर बाटो बिराउनुबाहेक हामी नदीहरुले पहिले हिँड्ने गरेको बाटो छोडेका छैनौँ । आफ्नै बाटो हिँड्दा बाटोमा परेका बस्ती र खेती मासिएको मात्र हो ।

नदीपछि खोलाका प्रतिनिधि अघि सरे । माथिबाट डाँडाबस्ती नै थर्काउँदै आइपुगेको खोलाले अलि सानो स्वरमा जवाफ दियो : हामी हिँड्ने पहाडतिर पनि उस्तै समस्या छ मुखियाज्यू । हामी कमजोर भएको मौका पारेर मान्छेले हिउँदमा हाम्रो बाटो मासिदिएका छन् । खोलामा कतै घर बनेको छ, कतै खेतबारी । हामी हिँड्ने बाटोमा जग्गा दलालहरुले घडेरी बनाएका छन् । सस्तोमा पाइयो भनेर कतिपय मान्छे हाम्रो वास्तै नगरी घडेरी किन्छन् । हामी फर्केर आउँदैनौँ भनेझैँ गरी हाम्रै बाटोमा घर बनाउँछन् । खोला छ, भेलबाढी आउँछ भन्ने बिर्सन्छन् । हिउँदमा हामी कमजोर भएको बेला हामीलाई हेप्छन्, चेप्छन् । वर्षा लागेपछि हामी बलियो हुन्छौँ, त्यसपछि हेप्ने चेप्ने पालो हाम्रो आउँछ। मान्छेले निहुँ खोजेकै कारण यस्तो भएको हो । यसमा हाम्रो दोष छैन ।

खोलाले पोल खोलेपछि आकलझुक्कल उर्लने खहरे बोल्न अघि सर्यो । उसले भन्यो : मुखियाज्यू त पहाड र डाँडाकाँडामा पुग्नुभएको छैन । हामी तिनै अग्ला डाँडाकाँडा, पहाड र चुरे हुँदै नदी खोलामा भेट हुन आइपुग्छौँ। हिजोआज चुरे र पहाडका बस्ती हेरिसक्नु छैन । जताततै डोजरले बाटो खन्छन् । डाँडाकाँडा उजाड भइसके । मान्छेले अहिलेको सुख हेर्छन्, भोलि आउन सक्ने दुःख देख्दैनन् । जानै नसक्ने, नमिल्ने ठाउँमा पनि मोटरबाटो पु्याउन खोज्छन् । जथाभाबी डोजरले बाटो खन्दा हामी हिँड्ने बाटो नै मेटिएको छ । हिउँदमा हामी नभएको मौकामा मान्छेले डोजर चलाउँछन् । अनि वर्षामा हामी आउँदा बाटो हुँदैन । बाटो नभएपछि जता सजिलो हुन्छ उतैबाट बग्दै नदी खोलामा मिसिनुपर्छ । अनि बाटै नभएर हिँड्नुपर्दा पहिरोले पनि हामीलाई साथ दिन्छ । हामी र पहिरो सँगसँगै हिँड्न थालेपछि मान्छेको बस्ती, खेतबारी र वनजङ्गल त मासिने नै भयो ।

सबैको कुरा सुनेपछि मुखियाले सोधे : नदी खोला हिँड्ने बाटोमा घरखेत बनाउन हुँदैन, बगरका ढुङ्गा गिट्टी र माटो झिक्न हुँदैन, जथाभाबी डोजरले बाटो खन्न हुँदैन भन्ने मान्छेलाई थाहा छैन र ?

नदी, खोला र खहरले एकसाथ जवाफ दिए : सबै थाहा छ मुखियाज्यू, किन थाहा नहुनु । त्यसमाथि मान्छेले आफूलाई सबैभन्दा बुद्धिमान सम्झन्छ । आजको मात्र होइन, भोलिको कुरा पनि थाहा पाउँछ । बाढी, पहिरोको भविष्यवाणी पनि गर्छ । तर सबै थाहा पाएर पनि नगर्नुपर्ने काम गर्न छाड्दैन । त्यसमाथि नेपालका ढुङ्गा, गिट्टी, बालुवा र माटोका तस्कर तथा कतिपय जग्गा दलाल र ठेकेदारलाई त कसैले पनि सक्दैन । सरकार पनि उनीहरुले भनेकै मान्छ । उनीहरुले जथाभाबी डोजर चलाउँदा, ढुङ्गा गिट्टी बालुवा झिक्दा, प्लटिङ गरेर घडेरी बनाउँदा यस्तो समस्या आएको हो । उनीहरुका कारण सोझासिधा मान्छेले दुःख पाइरहेका छन् । सरकारले हामी नदी खोला हिँड्ने बाटोमा घर बनाउन, जथाभाबी ढुङ्गा गिटी र बालुवा निकाल्न तथा गाउँ बस्तीमा जथाभाबी डोजर चलाउन नदिएमा यस्तो समस्या आउने नै थिएन । 

सबैको कुरा सुनेपछि नदीका मुखियाले लामो सास ताने । अनि बैठक सकाउँदै भने : नेपालको भूबनोटको बारेमा मलाई राम्रैसँग जानकारी छ । अघि खहरेका प्रतिनिधिले भनेजस्तो मैले पहाड र डाँडाकाँडा नदेखेको हैन, देखेको छु। मात्र भेल र खहरेले जस्तो त्यहाँबाट हिँड्न सक्दिनँ, तर सबै थाहा छ । यहाँको भूबनोट नै यस्तै भएकाले मान्छे र हामी मिलेरै हिँड्नुपर्छ, रहनुपर्छ । मान्छेको बस्तीमा हामी पस्नु हुँदैन, हाम्रो बाटोमा मान्छे बस्नु हुँदैन । मान्छेहरुले वर्षाको बेला मात्रै बाढीपहिरो आउँछ भनेर झल्याँस्स हुने अरु बेला कानमा तेल हालेर बस्ने प्रवृत्ति सुधार्न आवश्यक छ । सबैभन्दा ठूलो कुरा त हामी नदी, खोला, खहरे, भेल हिँड्ने बाटो मान्छेले नै जोगाएर राख्न सक्नुपर्छ । हामी हिँड्ने बाटो मान्छेले जोगाए भने मात्रै हामीले पनि मान्छेलाई जोगाउन सक्छौँ । 

अन्तिम अपडेट: साउन ३, २०७८

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • धीरेन्द्र बहादुर बिष्ट

    June 19, 2021, 11:32 a.m.

    हामी नेपालीहरुको जनसंख्या मोटामोटी कतिछ ? कति स्वदेशमाछौ ? कति बिदेशियेकाछौ ? बिश्व आर्थिक मानचित्रमा प्रतिव्यक्ति आय कति छ र कुन स्थानमा छ ? शिक्षाको कति जनसंख्यामा पहुँच छ? सरकार कतिको स्थिर छ्?इत्यादि सबै अध्ययन गरीयो भने बिद्वान लेखकको ' खोलाको मिटीङ' समयानुकुल देखिन्छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया