मेलम्चीको लेदो सामान्य बाढीभन्दा फरक छ

 असार ८, २०७८ मंगलबार ९:५६:० | श्रीकमल द्विवेदी
unn.prixa.net

यसपालि मनसुन सुरु हुनेबित्तिकै ठूलो पानी परेको छ । अहिले ठूलो पानीकै कारण बाढी पहिरो पनि आयो । यसरी मनसुनको सुरुमै बाढी पहिरो आउने गरी पानी पर्नु अस्वाभाविक हो । पहिले मनसुन बिस्तारै सुरु हुन्थ्यो । कहिलेकाहीँ ढिलो मनसुन आउँदा रोपाइँ गर्नै पाइएन भन्ने पनि चिन्ता हुन्थ्यो । 

अहिले मेलम्चीमा जुन लेदो प्रकारको बाढी आएको छ, त्यो सामान्य बाढीभन्दा एकदमै फरक छ । मेलम्चीको अहिलेको अवस्था फरक छ । मेलम्चीको माथिल्लो जलाधार क्षेत्र भनेको हिमाली क्षेत्र हो । त्यहाँ हिउँ पर्दा जम्मा भएका, थिग्रिएका वस्तुहरु एकैपटक ठूलो पानी पर्दा पानीसँगै बगेर आउँछन् । यस्तै दोस्रोमा हिमाली क्षेत्रमा भएका हिमताल फुटेर बाढी आउँछ । यस्तो अवस्थामा पनि लेदो तथा थिग्रिने किसिमले बाढी आउँछ । यस्तै पहिरो आएर नदी थुन्दा त्यो फुटेर आउने बाढीको प्रकृति पनि त्यस्तै हुन्छ । 

तेस्रो, हिउँ परिरहने क्षेत्रमा हिउँ बिस्तारै पग्लिन्छ । त्यस्तो ठाउँमा एकैपटक ठूलो पानी पर्दा पनि बाढी आउने हुनसक्छ । जस्तो भारतको केदारनाथमा आएको बाढी पनि यस्तै प्रकारको हो । मेलम्चीको माथिल्लो क्षेत्र जस्तै भौगोलिक अवस्थिति भएको ठाउँ हो केदारनाथ पनि ।

चौथो, अहिले नेपालमा नयाँ खालको बाढी आउने गरेको छ । जस्तो पोखरामा आएको सेती बाढी । भिरालो भागमा भएको हिउँ वा बरफ बिस्तारै पग्लिँदै जाँदा त्यसको पहिरो गएर त्यसबाट नदी जाम हुँदा पनि त्यसले बाढी ल्याउँछ । पानी नपरेको अवस्थामा पनि यस्तो हुन जान्छ । यसमा पनि ६०, ७० प्रतिशत लेदो मिसिएको हुन्छ ।

खोला भिरालो हुन्छ । तर जब समथल भागमा आइपुग्छ, तब त्यो बगाएर ल्याएको लेदो थिग्रिन जान्छ र खोलाको सतहभन्दा माथि उठ्छ र पानीले निकास खोज्ने क्रममा यताउता जान खोज्छ । अहिलेको मेलम्चीको बाढीको घटना पनि यस्तै हो । रुखपात काठहरु लिएर आएको छ । यसरी बगाएर ल्याएको लेदो हेर्दा यो धेरै माथिल्लो क्षेत्रबाटै उत्पत्ति भएको बाढी हो भन्ने अनुमान गर्न सकिन्छ । 

सानो पहिरोले मात्र थुनेर यति धेरै काठ तथा लेदो लिएर आएको भन्ने कुरालाई पत्याउन सकिँदैन । विगत पाँच, सात वर्षमा यस्ता खालका बाढीहरु धेरै नै आएका छन् । दोर्दी नदीमा पनि यस्तै बाढी आएको थियो । तर हाम्रोमा धेरै क्षति भएपछि मात्र चर्चा बढी हुन्छ । हिमाली क्षेत्रमा नयाँ खालको प्रकोपको सङ्केत गरिरहेको धेरै वर्ष भइसक्यो । तर अध्ययनको लागि संस्था नै छैनन् ।

पानी नपर्दा पनि यसरी बाढी आउनुमा माथि उल्लेख गरेझैँ हिमाली नदीमा ग्लासियर (हिमनदी) पग्लेर यसरी बाढी आउन सक्छ । म आफैँ त्यहाँ गएर हेरेको छैन, तर प्रक्रियाको आधारमा, अध्ययनको हिसाबमा त्यस्तो हो कि भनेर अनुमान गर्न सकिन्छ । अब सिन्धुपाल्चोकमै ठूलो पहिरो किन जान्छ भन्ने प्रश्न छ । यसका विभिन्न कारण छन्, प्राकृतिक र मानवीय ।

प्राकृतिक कारण

सिन्धुपाल्चोक वास्तवमा भिरालो क्षेत्रमा छ । सुनकोशी अथवा तिब्बतबाट बगेर आएको भोटेकोशी, हिमालय क्षेत्रको उत्पत्ति हुनुभन्दा अगाडि नै बगेको नदी हो । अथवा हिमालय उचालिँदै गयो र सुनकोशी वा भोटेकोशीले काट्दै गयो । यसरी काट्दै जाँदा ठूलाठूला गल्छीहरु बने । ७ सय ८ सय मिटर गहिरा गल्छीहरु छन् । त्यहाँ वरिपरि तीन चार हजार मिटर अग्ला पहाडहरु छन् ।

नजिकैको दूरीमा एकातिर गहिरा गल्छी छन् भने अर्कोतिर अग्ला पहाड छन् । त्यसैले स्वभावतः त्यहाँ पहाडको भिरालोपन बढी हुने भयो । यसकारणले पनि यहाँ पहिरोको जोखिम बढी हुने भयो । यस्तै सिन्धुपाल्चोक पोखरापछिको सबैभन्दा बढी पानी पर्ने क्षेत्र पनि हो । यी कारणहरुले गर्दा सिन्धुपाल्चोकमा औसतभन्दा बढी पानी पर्ने देखिन्छ । यस्तै भुइँचालोले हल्लाउँदा जमिन फाटेर चिरा बनेका ठाउँमा पानी छिर्दा त्यसले झन् पहिरो निम्त्याउने गर्छ । 

मानवीय कारण

पहिरो निम्त्याउनमा मानवीय कारणहरु पनि कारक हुन्छन् । हामीले जसरी विकास निर्माणका कामहरु गरिरहेका छौँ, ती सुरक्षित ढङ्गले गरिएका छैनन् । भिरालो ठाउँ कटानी गर्दा त्यहाँको माटो अन्त नफालेर त्यहीँ तल झारिदिन्छौँ । बर्खायाममा त्यही फालेको माटोलाई पानीले बगाउँदा त्यसले बाढीको रुप लिन्छ । एकैपटक ठूलो पानी पर्दा त्यो माटोसँगै वरपरबाट झारपात सोहोरेर भेलबाढी आउँछ । 

हाम्रो आर्थिक तथा सामाजिक अवस्था यस्तो छ कि, हामीले अहिले पनि ती भिरालो जमिनमा खेतीबारी गर्न छाडेका छैनौँ । तर कस्तो खालको बाली लाउने भन्ने थाहा नहुँदा त्यसले जोखिम निम्तिन्छ । जस्तै तल बस्ती र माथि भिरालो जमिनमा धान बाली लगाएको हुन्छ । धान, बढी पानी चाहिने बाली हो । बढी पानीका कारण जमिन भासिएर पहिरो जानसक्छ । त्यसैले त्यहाँ जोखिम हुन्छ । त्यसरी पहिरो जाने ठाउँमा धान नरोप्नुभन्दा पनि भात के खाने भन्ने प्रश्न आउँछ । त्यसको लागि सरकारले व्यवस्थित तथा योजनाबद्ध रुपमा जानुपर्छ । आज पहिरोबाट सुरक्षित भए पनि भोलि के खाने भन्ने कुरामा ध्यान दिनुपर्छ । 

जलवायु परिवर्तनको कारण

पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि पहिरोको जोखिम बढ्दै गएको छ । विश्व तापमान (ग्लोबल वार्मिङ)मा वृद्धि हुँदा, हिमरेखा माथि माथि सर्दै गयो । पहिले जहाँ हिउँ जमिरहन्थ्यो त्यहाँको हिउँ पग्लियो र त्यहाँ ठूलो पानी पर्न थाल्यो । हिउँको भन्दा पानीको कटान क्षमता बढी हुन्छ । त्यसले गर्दा हिउँले चिरा पारेको ठाउँमा सिधै ठूलो पानी पर्दा जमिन फुटेर पहिरो जान्छ । प्रायः हिमाली क्षेत्रबाट उत्पन्न हुने खोला तल भएको बस्तीमा यस्तै जोखिम हुन्छ ।

जस्तो मनाङ यति सुख्खा ठाउँ हो कि, पहिला त्यहाँ वर्षभरि दुईसय मिलीमिटर जति पानी पर्थ्यो । यति सुख्खा ठाउँमा चाैबीस घण्टामा ८२ मिलीमिटर पानी पर्यो । यसरी ठूलो पानी पर्नु हिमाली बस्तीको लागि निकै चुनौतीको कुरा हो । अहिले मेलम्चीमा रहेका घरहरुको दोस्रो तेस्रो तला भएर खोला बगिरहेको छ । पहिलेभन्दा खोलाको पानी बग्ने क्षेत्रको भूबनोट नै परिवर्तन भएको छ । यो फेरि खेतबारी तिर, बस्तीतिर छिरिदिन्छ र झन् जोखिम निम्त्याउँछ ।

सावधानी जरुरी

मनसुनमा सावधानी त अपनाउनै पर्छ । मनसुन सुरु भएपछि जमिन भिज्दै भिज्दै जाँदा पहिरो जान्छ । तर मेलम्ची र मनाङमा आएको बाढी पहिला हिमनदी रहेको क्षेत्र, जहाँ मसिनो माटोदेखि लिएर चट्टानसम्म थिग्रिएर आएको हो। तर मनसुन भर्खर मात्रै सुरु भएकाले अझै बाढी आउन बाँकी नै छ । मनसुन सुरु भएपछि बिस्तारै जमिन भिज्दैभिज्दै जाँदा बाढी आउँछ । 

यस्तै हामीले निर्माण गरेका बस्तीमा पनि हाम्रो ध्यान जान जरुरी छ ।  हाम्रा प्रायः बस्तीहरु योजनाबद्ध रुपमा बनेका छैनन् । सडक पुगेसँगै सडक छेउछाउमा बनेका बस्तीहरु धेरै छन् । यस्तै सदरमुकाम अथवा सहर क्षेत्रनजिक नदी तथा खोलाकै छेउछाउमा पनि नयाँ नयाँ बस्तहरु जन्मिँदैछन् । यसले जोखिम बढाएको छ ।

यस्तै विभिन्न कुरामा ध्यान दिनुपर्छ । जस्तो, बर्खाको बेलामा खोलाको बहाव घट्दैन । तर पहिरोले थुनेको बेला बहाव घट्ने हुन्छ । यस्तो सङ्केत थाहा पाएपछि सावधानी अपनाउनुपर्छ । पानी परेको बेलामा खोला नतर्ने । हिजो तरेको त हो आज नि केही हुँदैन भनेर खोला नतर्ने । नदीले कटान गरेको ठाउँमा नजाने । चिरा पारेको क्षेत्र छ भने, पहिरो जाने पूर्वसङ्केत हो त्यो, त्यहाँ नजाने । अहिले प्रविधिको विकास भएको छ । पहिरो बाढीबारे पूर्वअनुमानको सूचना आउँछ । त्यसको पालना गर्ने । धेरै ठूलो पानी आउनेबित्तिकै सतर्कता अपनाउने । 

यस्तै माथिल्लो क्षेत्रमा ठूलो पानी परेकाले बाढीको जोखिम बढ्दैछ भने त्यहाँबाट तल्लो भेगका मानिसलाई सूचना दिएर पनि बिपत्तिबाट बच्न सकिन्छ । यस्तै प्रकोपका चिह्नहरु के-के हुन् भनेर सबैले बुझ्ने गरी जनचेतना फैलाउन आवश्यक छ । 

यस्तै एउटा बट्टालाई लगेर बाहिर पानी पर्ने ठाउँमा राख्ने र कति मिलीमिटर पानी पर्यो भनेर थाहा पाउन सक्छौँ । जमिन भिरालो ठाउँमा छ भने, पानी परेपछि सुरक्षित ठाउँमा जान सकिन्छ । धेरै लामो समयसम्म बसोबास गरेको ठाउँको मानिसलाई कहाँ सुरक्षित ठाउँ छ भन्ने कुरा थाहा हुन्छ । अकस्मात जमिन थर्किने लगायतका पूर्वसङ्केत बुझेर पनि केही जीवन जोगाउन सकिन्छ ।

दीर्घकालीन समाधान के त ?

कतिपय कुरा अप्रत्यासित हुन्छन् । हाम्रो क्षमताले नभ्याउने गरी आउने भन्नेलाई नै प्रकोप भनिन्छ । सिन्धुपाल्चोक तथा हेलम्बुतिर जुन कटान भइरहेको छ, त्यसको के गर्ने भन्दा पनि यसबाट के सिक्ने भन्ने महत्त्वपूर्ण कुरा हो । 

दीर्घकालीन समाधान खोज्नुपर्छ । आर्थिक तथा व्यावसायिक क्रियाकलाप बढेसँगै बस्ती विस्तार हुने हो । तर त्यसरी सुरक्षित बस्ती निर्माण हुँदैन । त्यहाँ हुने सम्भावित प्रकोप के हुन् र त्यसलाई कसरी बचाउ गर्ने भनेर योजनाबद्ध रुपमा अघि बढ्नुपर्छ । हामी पहाडमा बस्छौँ, त्यहाँ प्रकोपबाट सुरक्षित बस्ती निर्माणको लागि महँगो पर्न जान्छ । 

हाम्रोमा धेरै ठाउँमा गल्ती भएको देखिन्छ । जस्तो, पालिकाहरुले घर बनाउने नक्सा पास गरेको हुन्छ । घरको डिजाइन पास हुन्छ । तर घर बनाउने जमिन कस्तो छ भन्ने अध्ययन गरिँदैन । बाढी, पहिरो तथा डुबानको जोखिमको बारेमा कसैले हेर्दैन । आफ्नो क्षेत्रभित्रका नागरिकको बासस्थानको सुरक्षाको दायित्व पालिकाको पनि हो । 

यदि सुरक्षित बस्ती निर्माण गर्ने हो भने, यी सबै कुरा हेरेर कहाँ बस्ती बसाउन दिने र कहाँ घर बनाउन दिने भन्ने महत्त्वपूर्ण कुरा हो । कसैको जग्गा खोलाको किनारमा भएकै कारण त्यही घर बनाउन दिनुपर्छ भन्ने होइन । सहरै बसाल्ने हो भने पनि प्रकोपको दृष्टिकोणबाट ती ठाउँलाई कसरी सुरक्षित बनाउने भन्नेमा ध्यान दिनुपर्छ ।  नदीको कटान रोक्न के गर्ने, पहिरो कसरी रोक्ने भन्नेमा सोच्नुपर्छ । यी सबै कुरा विचार नगरिकन हामी बस्ती बसाउन सक्दैनौँ। 

यस्तै कतिपय ठाउँमा आफ्नो बाजेको पालादेखि बसिआएको भन्दै त्यो ठाउँलाई एकदमै सुरक्षित ठान्ने गरेको पनि पाइन्छ । त्यो एकदमै गलत हो । विज्ञान अथवा प्राकृतिक प्रक्रिया नबुझेको मान्छे र बुझेको मान्छेबीच फरक हुन्छ । विज्ञान वा प्राकृतिक प्रक्रिया बुझेको मानिसलाई पनि विश्वास नगर्ने चलन छ स्थानीय रुपमै ।

जोखिम नक्साहरु बनाएको ठाउँमा घर बनाउँदा पनि पालिकाले चासो नदिएको देखिन्छ । हाम्रो आर्थिक सामाजिक अवस्था जस्तो छ, त्यो अनुसार हिउँदमा साधारण घर बनाएर बस्न दिने र बर्खाको बेला त्यहाँ नबस भन्यो भने पनि यस्तो विपद्को सामना गर्नु पर्दैन थियो । 

बस्ती विकास भनेको सुरक्षित ठाउँमै गर्नुपर्ने हो । तर हाम्रोमा कानुनी, सामाजिक आर्थिक अवस्थाका कारण त्यो गाह्रो छ । कुनै व्यक्तिले आफ्नो जग्गामा घर लगायो भन्दैमा सरकारले नै यसरी बस्ती विस्तार गर्न दिने र त्यसमै संरचना निर्माण गर्दै लैजानु ठीक होइन । 

(भौगर्भिक प्रकोप विज्ञ द्विवेदीसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: साउन १९, २०७८

श्रीकमल द्विवेदी

श्रीकमल द्विवेदी भौगर्भिक प्रकोप विज्ञ हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया