कोरोना महामारीमा यसरी म ‘नोटको बोट’ खोजिरहेको छु, परदेशमा

 असार १७, २०७८ बिहिबार १७:१३:४१ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

छत्र खड्का / मोरङ, हाल मलेसिया

मलेसियाको केलाङ्ग, कोता पान्डामारम । यही क्षेत्रमा मैले लामो समय सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गरेँ । अहिले विगत ९/१० महिना देखि मलेसियाकै पोर्ट केलाङ्ग भन्ने ठाउँमा समुद्रको छेउमा रहेको एक पानीजहाज बनाउने तथा मर्मत गर्ने कम्पनीमा म सुरक्षा गार्डकै रुपमा कार्यरत छु । 

म मलेसियामा आएको २०२० को सुरुमा हो । जब म मलेसियामा आएँ तब यहाँ विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोनाले मलेसियालाई पनि अछुतो राखेको थिएन । म यहाँ आएको एक महिनापछि मार्च  १८ देखि मलेसिया सरकारले लकडाउन घोषणा गर्यो । त्यो बेला म क्वालालम्पुरको एक ठूलो अपार्टमेन्टमा सुरक्षा गार्डको रुपमा कार्यरत थिएँ । म काम गरिरहेको क्षेत्रमा विदेशी नागरिकको धेरै बसोबास रहेकाले कतिपयलाई कोरोना संक्रमण भइरहन्थ्यो । अस्पतालबाट दिनहुँजसो एम्बुलेन्सहरु साइरन बजाउँदै आउने गर्थे । मैले उनीहरुलाई स्कर्टिङ गरेर कोरोना बिरामी भएको ठाउँमा जानुपर्थ्याे । स्वास्थ्य सुरक्षाका उपाय अपनाइन्थ्यो । मनमा डर लाग्थ्यो तर आफ्नो जिम्मेवारीबाट पछि हट्ने कुरै भएन । यो मेरो बाध्यता पनि थियो । 

गएको सेप्टेम्बरमा कम्पनीले मलाई नयाँ ठाउँमा पठायो । क्वालालम्पुरबाट १ घण्टाको बसको यात्रापछि पुगिन्छ केलाङ्ग, कोता पान्डामारम । यही ठाउँमा मेरो ‘ट्रान्सफर’ भयो । अहिले म यहीँ छु । आफूले सावधानी अपनाउँदा अपनाउँदै पनि गएको डिसेम्बरमा म काम गर्ने कम्पनीको केही साथीहरू सहित मलाई  पनि कोरोना पोजेटिभ देखियो । सायद हामीलाई पहिलोपल्ट भएर होला निकै त्रासमा थियौँ । एकदुई दिनको होस्टलको बसाइपछि कम्पनीले एम्बुलेन्स मगाएर हामीलाई मलेसियाको सुङ्गाइपुलु भन्ने ठाउँमा रहेको हस्पिटलमा भर्ना गरिदियो । हामी सबैजना हस्पिटलको क्वरेण्टीनमा थियौं । मलाई स्वास फेर्न गाह्रो भएको महसुस हुन्थ्यो । रक्तचापमा केही समस्या पनि देखियो ।  दिनमा ३/४ पटक रक्तचाप र ज्वरो नाप्ने र एकपटक रगत जाँच हुन्थ्यो । कहिलेकाहीँ त छातीको एक्सरे गर्थे । अस्पतालमा एकदमै राम्रोसँग उपचार भएको थियो । तर अस्पतालले थोरै खाना दिन्थ्यो । त्यसमा पनि फलफूल, अण्डा, कहिले माछा उसिनेर त कहिले कुखुराको मासु उसिनेर मात्रै दिन्थ्यो । 

पेट डम्म हुनेगरी दालभात खाएको बानी । त्यो अस्पतालको खाने कुराले चित्त के बुझ्थ्यो र । साथीहरु त कोठामा फर्केपछि टन्न दालभात खानुपर्छ भन्दै रमाइलो गर्थे । केही दिनपछि इमर्जेन्सी वार्डबाट मलाई नर्मल वार्डमा सारिएको थियो । इमर्जेन्सी वार्डमा जम्मा चार जना थियौं । तीनजना मलाया तथा तामिल थिए । उनीहरुसँग मेरो कहिल्यै कुरा मिलेन । उनीहरुले नेपाली भनेर एकदमै नराम्ररी हेर्ने गर्थे ।  मैले मत्लब गरिनँ । नर्मल वार्डमा आएपछि ढुक्क भयो ।

आफूलाई कोरोना भएको कुरा मैले घरमा बताएको थिइनँ । घरमा ८५ वर्षकी बुढी आमा, श्रीमती छोराछोरीहरु कसैलाई पनि यो कुरा सुनाएको थिइन । म्यासेन्जरमा अडियो कलमा मात्रै कुरा गर्थें । ८/९ दिनपछि अस्पतालले कोरोना नेगेटिभ रिपोर्ट देखायो । हामी सबैजना निकै खुसी भयौँ । त्यसपछि मैले घरमा पनि कुरा गरेँ । तर पनि घरमा चिन्ता लिन्छन् भनेर मैले यो कुरा लुकाइराखेँ ।

अस्पतालबाट हामी कम्पनीको होस्टलमा फर्कियौं । अस्पतालको खानाले वाक्क भएका हामीलाई लोकल कुखुरा ल्याएर कुखुराको तातो सुप पकाएर खाँदा पो अलि तागत लागेजस्तो भयो । केही दिनसम्म जिब्रोले कुनै स्वाद पनि बिर्सेको थियो । बिस्तारै जिब्रोले स्वाद पाउन थाल्यो । १०/१५ दिनपछि शरीरको कमजोरीपन पनि कम हुँदै गयो । 

त्यसपछि का दिनहरूमा पनि मलेसियामा कोरोना संक्रमण दर घटेको छैन । यहाँ सुरक्षा गार्डको रुपमा कार्यरत हजारौँ नेपालीहरु को ड्युटी निरन्तर चलि नै रहेको छ । प्रायः छुट्टी हुँदैन । मनमा फेरि कोरोना लागिहाल्छ कि भन्ने डर त हुन्छ तर के गर्ने, यो त परदेश हो भनेर चित्त बुझाउनुपर्छ । यहाँ अरुको खटनमा चल्नुपर्ने हुन्छ । यसै गरी दिनहरू बितिरहेका छन् यहाँ । बेलुका पकाएर राखेको भातदाल, तरकारी बिहान लिएर गयो कहिलेकाहीँ त गर्मीले गर्दा दालमा फिँज आएको हुन्छ । अनि नुनको धुलो छर्केर पनि भात खाइन्छ । यसरी १२/१५ घण्टाको काममा खटिनुपर्छ ।

त्यसैमाथि कहिलेकाहीँ साथीभाइ त कहिले कार्यालयकै कर्मचारीबीच हुने मनमुटाव । तनावका अनेक अनुहार । कहिलेकाहीँ घरपरिवारको पिरलो । देशको राजनीतिले पनि परदेशसम्म पोल्दो रैछ । यी सबै कुरा सम्झिँदा त टाउको तातेर १०५ डिग्रीको ज्वरो आउला झैं हुन्छ । तर पनि काम गर्न छाडेको छैन । नेपाल फर्केर नि के गर्ने जस्तो लाग्छ । यसरी नै कोरोना महामारीमा म मलेसियामा ‘नोटको बोट’ खोजिरहेको छु ।
 

अन्तिम अपडेट: भदौ ९, २०७८

तपाईको प्रतिक्रिया