‘झोला र झण्डा नबोक्ने म परदेशीले देशमा काम पाउँछु त प्रधानमन्त्रीज्यू ?’

 साउन १, २०७८ शुक्रबार १६:३७:४९ | नारायण कोइराला
unn.prixa.net

नयाँ प्रधानमन्त्री पाएको छ देशले । प्रधानमन्त्रीलाई बधाई । नागरिकले के पाउँछन् त्यो पछिको कुरो हो । यस अघि के भयो भनेर बताइरहनु पर्दैन ।

यो पालि पनि हामी परदेशी श्रमिकका लागि केही होला भनेर आस गर्दिन । पहिलो पटक जोस र जाँगरका साथ प्रधानमन्त्री भएको भए पो केही नयाँ पन आउला भनेर आस गर्नु ।  उही पुरानो अनुहार, उही पुरानो बाटो , उही लक्ष्य । देशको अवस्था देख्दा परदेशमा बसेर मनमा अनेक प्रश्नहरू खेलिरहन्छ । 

कस्तो अवस्था प्रत्येक पल्ट कुनै परिवर्तन नहुने, सरकार बदलिने अनुहार नबदलिने, आलोपालो घुमीफिरी कुर्ची उही अनुहारले पाउने, नागरिकमा न कुनै आस रहने न निराशा, आस गर्नलाई केही आधार हुुनुपर्‍यो नि । हामी नागरिक त शून्यमा छौँ ।

अर्को पक्ष जो आफैंलाई युवाको ट्याग झुन्ड्याएर वर्षौँदेखि अधिकार खोज्दै आएको छ । जुन समयमा अगाडि बढ्नु पर्ने हो, बोल्नु पर्ने हो त्यो समयमा मौन बसेको देख्छु । 

यी सबै कुरा सोध्न मन लाग्छ । तर हामी परदेशीको त्यत्रो हैसियत कहाँ र । हाम्रो कुरा कसले सुन्छ र । दुई तिहाइको मतको त कुनै अर्थ रहेन भने हामी जस्ताको आवाज त हावामै हराउँछ । तर पनि आफ्नो मनको कुरा राख्न त पाउनु पर्‍यो नि । हामीले गणतन्त्रमा पाएको भनेकै यही त हो । 

पसिना खलखलती बग्दा जति सक्यो चाँडो देश फर्कन मन लाग्छ । जुन गन्जागोल,जालझेलको राजनीतिले देशमा अन्यौलता ल्याएको छ, यस्तो अवस्थामा देश  गएर के गर्ने? परदेशी हामी सोच्न सक्दैनौँ । किनकि हामी त्यसको उत्तर नै भेट्दैनौँ । 

न त कुनै पार्टीको झोला बोकेको छु, न त झण्डा । आजभोलि झण्डा र झोला नबोकी काम पाइँदैन । बिदामा घर गएर दुई महिना बस्दाको अनुभवले मलाई तर्साउँछ । सानो कामका लागि पनि कति दुःख गर्नुपर्छ । म यहाँ बसेर त्यो क्षणको कल्पना समेत गर्न सक्दिन । 

म पनि देशको नागरिक हुँ । पार्टी भन्दा देशको उन्नति प्रगतिको कामना गर्छु । 

जो देशमा अवसर नपाएर, देश छाडेर कमाउन खाडीमा पसिना बगाउँदै छु । देशमा भएको भए झण्डा बोक्थेँ होला, जिन्दाबाद र मुर्दावादका नारा लगाउँथे होला । तर अहिलेको अवस्थामा न त त्यसको कुनै अर्थ रहन्थ्यो, न कुनै परिणामको आस । सरकार बदलिनु कुनै ठुलो कुरो होइन । गणतन्त्रले दिएको गणितीय आधार पनि होला, यस्तो भइरहन्छ । तर अहिलेको यस्तो गणितीय आधार हुँदा पनि यस्तो अवस्था आउनु दुर्भाग्य नै हो । म गणतन्त्रको राम्रो पक्ष हेर्न चाहन्थेँ । तर यहाँ राम्रोभन्दा नराम्रो पक्ष बढी क्रियाशील भएको देखियो ।

म शब्द मात्र बुनेर पत्र लामो गर्न तिर लागिन । आशा थियो ,“घाम अस्ताउँदा चन्द्रमा आएर उज्यालो दिने छ, तर त्यो भएन, चन्द्रमामा पनि ग्रहण लाग्यो, ग्रहणको अगाडि ताराहरुको के अर्थ?“

अन्तमा,

मेरो आशा दिनभरि घाम लागोस्, घाम अस्ताउँदा चन्द्रमाको उज्यालो छाओस्, हामी दिनरात अँध्यारोमा बाँच्न नपरोस् ।

अन्तिम अपडेट: साउन २९, २०७८

नारायण कोइराला

पाल्पाका नारायण कोइराला अहिले खाडीको देश यूएईमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया