श्रीमान् मलेसियामा हराएपछि कहिल्यै सञ्चो भएन सञ्चमायालाई

 साउन १४, २०७८ बिहिबार १४:२८:३२
unn.prixa.net

वर्षाैँ भयो श्रीमान् आउने आशामा बाटो कुरेर बसेको । वैदेशिक रोजगारीमा मलेसिया जानुभएका श्रीमान् यसरी एकाएक सम्पर्कविहीन होलान् भनेर सोच्नुभएकै थिएन मकवानपुरकी सञ्चमाया मोक्तानले । 

तर सात वर्ष बित्दा पनि श्रीमानको खबर नआउँदा भने उहाँलाई छटपटी हुन्छ । श्रीमानको यादले निकै पिरोल्छ । कतै श्रीमानको फोन आइहाल्छ कि भनेर फोन आफूभन्दा टाढा राख्नुहुन्न । तर अहिलेसम्म न श्रीमानको फोन आयो न त कहाँ छन् भन्ने खबर नै ।

सञ्चमाया मोक्तान सुस्केरा हाल्दै भन्नुहुन्छ, ‘अब त केही खबर आउला भन्ने आशामै सात वर्ष बिते, तर कसैले केही खबर ल्याउँदैन ।’

रोजगारीको लागि परदेशिनुका सबैका आ–आफ्नै कारण हुन्छन् । कसैलाई ऋणको भारले थिचेको होला, ऋण तिर्नुपर्ने होला । कसैलाई कमाएर घर बनाउने सोच होला त कसैको कमाएपछि बिहे गर्ने । कोही भने विदेशबाट कमाएर गाउँघरमै व्यवसाय गर्ने सोचमा हुन्छन् । तर कारण जसको जे भए पनि उद्देश्य एउटै हो, पैसा कमाउनु ।

मकवानपुरगढी–१ का आयुष मोक्तान (सञ्चमायाका श्रीमान्) को पनि यस्तै एक कारण थियो परदेश जानुमा । घरमा दुई छोरा, दुई छोरी, श्रीमती र बुवाआमा । सुखी परिवार । तर कान्छी छोरी सानैमा बिरामी भइन् । छोरीको पेटको शल्यक्रिया गर्दा लागेको ऋणको भार र परिवारको खर्च धान्नुपर्ने बाध्यता । घरमा आम्दानीको स्रोत केही थिएन । गाउँघरमै कहिले कतै कहिले कतै गरेर उहाँ काममा जानुहुन्थ्यो । मजदुरी गरेर पनि साध्य भएन । 

जति मेहनत गरे पनि कमाइ खासै नदेखेपछि आयुषको मनमा विदेश जाने रहर पलाएर आयो । त्यसपछि उहाँले मलेसिया जाने सोच्नुभयो । मलेसियाको लागि काठमाण्डौको महाराजगञ्जमा रहेको म्यानपावर कम्पनी एस भी एसोसियट्समार्फत् उहाँ मलेसिया उड्नुभयो । २०१५ को अप्रिलम महिना । आयुष विदेश जाँदा कान्छी छोरी मात्र सात महिनाकी थिइन् ।

मलेसिया पनि सित्तैमा जान कहाँ पाउनु । घरको ऋणले थिचिनुभएका आयुषले फेरि विदेश जानको लागि ऋण लिनुभयो । एक लाख बढी खर्च गरेर उहाँ मलेसिया पुग्नुभएको हो । आयुष कम्पनी कामदारको रुपमा लोकल बेसिक एसडीएन कम्पनीमा जानुभएको थियो । नौ सय मलेसियन रिंगिट तलबमा तीन वर्षको करार अवधि थियो ।

गएको एक वर्ष सम्म आयुषले लाबेला घरमा फोन गरिरहनुहुन्थ्यो । त्याेबीचमा घरपरिवारलाई पैसा पनि पठाउनुभयो । तर एक वर्षपछि, २०१६ देखि भने परिवारसँग आयुषको सम्पर्क हुन छाड्यो । हप्ता दश दिनमा भइराख्ने फोन सम्पर्क महिनौँ सम्म पनि भएन । सञ्चमायाले फोन गर्नुहुन्थ्यो तर सम्पर्क हुन सक्थेन । कुनै दिन त फोन लाग्ला या उतैबाट फोन आउला भन्ने प्रतिक्षा गर्नुभयो । त्यो प्रतिक्षा महिना, ऋतु हुँदै वर्ष बित्यो । हेर्दौ हेर्दै सात वर्ष बिते तर कहिँबाट पनि कुनै जानकारी मिलेको छैन ।

‘म्यानपावरमा फोन गरेर बुझ्दा पनि केही जानकारी आएको छैन भन्छ’, सञ्चमायाले दुखेसो पोख्नुभयो, ‘उहाँ काम गर्ने पहिलेको कम्पनीमा पनि काम छोडेर हिँडिसक्नुभयो रे पहिले नै, तर कहाँ गयो भन्ने थाहा छैन रे ।’

वृद्ध बाआमाकाे आशा

आयुष, घरका एक्ला छोरा । उहाँका बुवाआमा अहिले बुढा भइसक्नुभएको छ । राम्रोसँग बोल्न पनि सक्नुहुन्न । बुढेशकालको सहारा ठानेको छोरा परदेशमा हराउँदा कसलाई पीडा नहोला ? हरेक दिन आयुषका बुवाआमा छोराको फर्किने कामना गर्दै सुत्नुहुन्छ, बिहान छोराको सुखद खब सुन्न पाउँ भन्दै । घरमा आउने जोकोहीलाई आफ्नो छोरालाई खोजी ल्याउन आग्रह गर्नुहुन्छ ।

कहिलेकाहीँ त छोराले आफ्ना बुढा बाआमा, श्रीमती छोराछोरीलाई किन बिर्स्योहोला भनेर उहाँहरुको मनमा तर्कना उठ्छ । 

सञ्चमाया भन्नुहुन्छ, ‘मेरो एउटा भएको छोराले किन आफ्नो परिवार बिर्सेको होला भनेर सासु ससुराले मसँग दुखेसो गर्नुहुन्छ’ । 

अहिले जेठी छोरी १३ वर्षकी भइन् । दुई छोरा ११ र ९ वर्षका छन् । छोराछोरीको भविष्य सम्झिँदै सञ्चमाया भन्नुहुन्छ, ‘यिनीहरुकै भविष्य बनाउने भन्दै परदेश जानुभएको हो, यिनीहरुको माया त लागिराख्दो हो, तर फोन किन गर्दैनन्, केही भएको भए खबर किन आउँदैन ?’

सञ्चमायाका मनमा यस्ता अनेक प्रश्नहरु छन् । कुनै दिन श्रीमान्को फोन आए, मनको गाँठो फुक्ने गरि सुनाउन मन छ उहाँलाई । मलेसियामा कसैले देखेको भए फाेन नम्बर ९८६९२०४६५४ मा सम्पर्क गर्न उहाँ सबैमा आग्रह गर्नुहुन्छ ।

 

अन्तिम अपडेट: असोज १९, २०७८

1 Comments

  • P.P tamu

    July 29, 2021, 3:05 p.m.

    सायद, कुनै दुर्घटना मा परेको होकि ! नत्र त, तेसरी निस्ठुरे त किन हुन्थे र ! बिचरा, उनी पनि एक जम्मेवारी ब्यक्ती भयरै त बाध्यता ले बिदेशियका हुन नि त ! तेस्तो ताल ले परिवार लाई चट्टैै बिर्सेर किन बस्न सक्थे होला र ! अनर्थ नलागोस, कुनि दुर्घटना मा परे जस्तो लाग्यो । जेहोस, यदि जिउदै भय, जत्ती सक्दो छिटो परिवार लाई सम्पर्क गरि, घर मा तुरुन्तै फर्किनु होला र परिवार लाई शोक बाट खुशी मा बदल्न सफल हुनु होला । शुभकामना छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया