खोप लाइयो, अब काममा जान कुनै डर छैन

 साउन २१, २०७८ बिहिबार १६:३७:३७ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

छत्र खड्का / मोरङ, हाल मलेसिया

मलै खोप लगाएँ नि ! मलाई आफ्नो मनमा लागेका कुरा सबैलाई सुनाइहालौँ जस्तो लाग्छ । 

यो मेरो बच्चैदेखिको बानी हो । सानोमा पनि रेडियोमा सुनेको कुरा गाउँमा भन्दै जान्थेँ । मान्छेले मलाई पछि गएर यो त पत्रकार बन्छ भन्थे । तर खासमा म पत्रकार त भइनँ तर पत्रिकामा फाट्टफुट्ट भने लेख्ने गर्छु । 

म वैदेशिक रोजगारीमा छु । मलेसिया मेरो लागि कार्यस्थल बनेको छ अहिले । लामो समय भयो, यहाँ आफ्नो श्रम बेचिरहेको छु । आखिर श्रम गर्ने त हो नि, होइन र ? यहाँ श्रम गरेर मैले नेपालमा रहेको मेरो परिवारको खर्च धानिरहेको छु, देशलाई रेमिट्यान्स पठाइरहेको छु यसैमा खुसी छु । अरु भन्नेले जे सुकै भनुन् ।

म मलेसियामा आएको लगभग १८ महिना हुँदैछ । म यहाँ आए सँगसँगै कोरोना महामारीले पनि मलेसियामा आफ्नो प्रभाव बढाउँदै गयो । पहिलो लकडाउनको सुरुमा यहाँ सबै क्षेत्र बन्द भए । विद्यालय, पसल, सुपरमार्केट, होटल, यातायात लगाएत सञ्चालनमा रोक लगाइयो । तर जुनसुकै क्षेत्र बन्द भए पनि मेरो काम भने कहिल्यै बन्द भएन । महामारीको त्रासमा पनि बुट कसेर बिहान बिहानै कार्यक्षेत्रमा पुग्थेँ म ।

म अपार्टमेन्टमा सुरक्षा गार्डको सुपरभाइजरको रुपमा काम गर्छु । जस्तोसुकै परिस्थितिमा पनि मैले ११ जना सुरक्षा गार्ड साथीहरूको रेखदेख गर्नुपर्छ । त्योबेला पनि यही काम थियो । झट्ट हेर्दा सुपरभाइजरको काम सजिलो होला भन्ने लाग्ला । तर त्यस्तो हुँदैन । जति ठूलो जिम्मेवारी त्यति धेरै कामको दाबाब । कहिले गार्ड कम्पनी त अपार्टमेन्ट म्यानेज्मेन्टको दबाब । यस्तै अपार्टमेन्टमा बस्ने फ्ल्याट धनीहरुका अनेक कुराहरु सुन्नुपर्ने । आफ्नै टीमभित्र पनि अनेक लफडा ।

त्यसैमाथि कोरोना महामारीको त्रासले अवस्था झन् डरलाग्दो बनेको थियो । चारैतिर एम्बुलेन्सको साइरन बजेको मात्र सुनिन्थ्यो । आफू कार्यरत अपार्टमेन्टमै पनि दिनदिनै एम्बुलेन्स आउने जाने गरिरहन्थे । कहिले कोही मरेको खबर बाहिर आउँथ्यो । त्यस्तो अवस्थामा पनि मनमा हौसला राखेर सामान्य स्वास्थ्य मापदण्ड अपनाएर मात्रै पनि कामलाई निरन्तरता दिइयो । 

मन खिन्न हुन्थ्यो । कहिलेसम्म यसरी जोखिम मोलेर काम गर्ने भनेर दिक्क लाग्थ्यो । जे भए पनि अर्काको देशमा काम नगरेर घरमै बसौँ भन्न नि नसकिने । घरपरिवार, छोराछोरीको अनुहार सम्झेर जसोतसो काम गरियो ।

सामान्य स्वास्थ्य मापदण्ड मास्क र सेनिटाइजर लाएरै लामो समय काम गरियो । कतै कोरोना सरिहाल्छ कि भन्ने डर लाग्थ्यो । कोरोनाको खोप लाउन पाइनेबारे त सोचेकै थिएनौँ ।

यूएई, कतार लगायत आदि देशमा म जस्तै वैदेशिक रोजगारीमा रहेका साथीभाइसँग कुरा हुँदा उनीहरुले खोप लगाएको सुन्दा आफूले कहिले लाउन पाइने भन्ने लाग्थ्यो । मलेसियाको सरकारले यहाँका स्थानीयलाई खोप सुरुवात गरेको छ रे भन्ने समाचारहरु सुनिन्थे । त्यतिबेला आफू साँच्चिकै अरुको देशमा रहेछौँ जस्तो लाग्थ्यो । 

जे होस् लामो समयको पर्खाइपछि मैले पनि अघिल्लो महिना खोप लाउन पाएँ । मलगायत अरु साथीहरुले पनि सबैले लगाए । ढिलै भए पनि कोरोना विरुद्धको खोपको पूर्ण डोज लाइयो । खोप लाएपछि आत्मविश्वास बढ्दो रहेछ । काममा खटिँदा वा कसैसँग लसपस हुँदा पहिले जति डर लाग्थ्यो अहिले केही लाग्दैन । खोप लगाएको छ भनेर ढुक्क भइँदाे रहेछ ।
 

अन्तिम अपडेट: साउन ३२, २०७८

तपाईको प्रतिक्रिया