वैदेशिक रोजगारी : कोरोना कालमा श्रमिकको ज्यालामा कैँची चलाउनेहरू बढे

 भदौ १६, २०७८ बुधबार १५:५०:३२ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको समयमा श्रमिकको ज्यालामा कैँची चलाउनेहरू बढेको पाइएको छ । अर्थात् कोरोनाको बहानामा श्रमिकलाई काममा लगाउने तर तलब नदिने, श्रमिकले पाउनु पर्ने तलब चोरी गर्ने प्रवृत्ति ह्वात्तै बढेको एक अध्ययनले समेत देखाएको छ ।  कोरोना महामारीको समयमा अध्ययनमा समेटिएका ७३० जना श्रमिकको ज्यालाबाट ३ करोड ९८ लाख ३५ हजार ६३२ हजार रुपैयाँ चोरी भएको अध्ययनले देखाएको छ । कतार श्रमिकको ज्याला चोरी गर्ने देशमा सबैभन्दा माथि देखिएको छ । 

घटना : १

इलामका होमनाथ चापागाईँ रोजगारीका लागि पाँच वर्षअघि मलेसिया पुग्नुभयो । मासिक १९ सय मलेसियन रिंगिट तलब हुने करार सम्झौता म्यानपावरले गराएको थियो । त्यही आस बोकेर उहाँ मलेसिया पुग्नुभयो र काम गर्नुभयो । तर काम गरेको महिना मर्दा हातमा १६ सय मलेसियन रिंगिट मात्र हातमा पर्‍यो । कम्पनीले भन्यो ‘तिमीहरूको तलब १७ सय मात्रै हो त्यसमा पनि मासिक एक सय रिंगिट इमर्जेन्सी फन्डमा जान्छ ।’ 

होमनाथ भन्नुहुन्छ,‘कोरोना महामारी सुरु हुनु अघिसम्म त १६ सय भए पनि दिन्थ्यो तर कोरोना सुरु भएपछि त कम्पनीले तलब हैन तनाव दिन थाल्यो  ।’

करार अवधि सकिएपछि होमनाथ घर फर्कन चाहनुहुन्थ्यो । तर कम्पनीले दुई वर्षको भिसा लगाएर बिदामा जाऊ भन्यो । कम्पनीले भने झैँ उहाँले २ वर्षको भिसा लगाउनुभयो । तर पासपोर्टमा भिसा लाग्नासाथ संसार भरी कोरोना महामारी फैलियो । कम्पनीले कोरोना कालको मौका छोप्यो । 

‘काम त गरिरह्यौ, कम्पनीले कोरोना महामारी छ भन्दै तलब नै दिन छाड्यो,’ होमनाथ गुनासो गर्दै भन्नुहुन्छ,‘बिरामी छु, सकिनँ भन्दा पनि नमान्ने, घर पटाइदेऊ भन्दा पनि चुप लागेर बस्, तँलाई मर्न मन छ  भन्ने, परिवारसँग बोल्न पनि नदिने गरेर उल्टो तनाव दिन थाल्यो।’

काम लगाएर कम्पनीले तलब भने आफैँ खाइदियो । ५१ महिनासम्म मासिक १ सय रिंगिट उहाँको तलबबाट कम्पनीले काट्यो अर्थात् चोरी गर्‍यो ।

‘न करार अनुसारको तलब दियो, १७ सय रिंगिट दिन्छु भन्यो, तर त्यो १७ सय रिंगिटमा पनि १ सय रिंगिट त कम्पनीले काट्यो, कम्पनीले नै पैसा खाइदिन थालेपछि मैले घर फर्कन कोसिस गरेको थिएँ, ’ होमनाथ भन्नुहुन्छ ।

कम्पनीले गरेको व्यवहार बारेमा दूतावासमा पनि सुनाउनुभयो । तर महामारीको समयमा उहाँले कतैबाट पनि राम्रो प्रतिक्रिया पाउनुभएन । कुनै उपाय नभेटेपछि उहाँ आफूले काम गरे बापत पाउने रकमसमेत माया मारेर स्वदेश फर्कनुभयो ।

घटना २ :

कास्कीका हरिशचन्द्र ओझा मलेसियामा एक रेस्टुरेन्टमा काम गर्नुहुन्छ । केही समय सम्म त परदेशी भूमिमा दुःख सुख जीवन चल्यो । काम गरेबापत कम्पनीले जति पैसा दिए पनि चित्त बुझाउनुभयो । पारिवारिक समस्याको कारण घर नफर्की नहुने समस्या आइ पर्‍यो । कम्पनीसँग आफूले काम गरे बापतको तलब र बिदा माग्नुभयो । तर कम्पनीले न तलब दियो न त घर फर्कन्न । कमाएर जीवनका दुःख पार लगाउने सपना बोकेर परदेश पुग्नुभएका हरिशचन्द्र अर्को दुःखको भुमरीमा फस्नुभयो । 

‘कहिले काम लगाउने, कहिले रुममै बस्न लगाउने गर्न थाल्यो कम्पनीले,’ हरिशचन्द्र भन्नुहुन्छ,‘कोरोना बहानामा काम मात्र लगाउँछ, पैसा दिँदैन, दिए पनि एकदमै थोरै दिने, काम पूरा लगाएपछि त तलब पनि पूरा दिन पर्‍यो नि ।’

कम्पनीले खान र बस्न दिएको छ । काम पनि लगाउँछ । तर तलब चाहिँ दिँदैन । उहाँ मात्र होइन कम्पनीमा यस्तो समस्यामा फस्ने अरू साथीहरू पनि छन् । साथमा फोन नम्बर राख्न दिँदैन । राखेको थाहा पाएमा मोबाइल नै फुटाइदिने, गाली गर्ने गर्छ । कोरोना महामारी सुरु हुनुभन्दा अघिको ९ महिनाको र महामारी पछि काम गरेको पारिश्रमिक गरेर उहाँले कम्पनीसँग १५ हजार रिंगिटभन्दा बढी रकम लिन छ ।

‘अहिले त कम्पनीले अर्को चलाखी गरेछ, भाषा बुझिएन, कम्पनीले यसमा सही गर भन्यो गरियो, उसले तलब पाएको कागजमा पो सही गर्न लगाएको रहेछ,’ हरिशचन्द्र भन्नुहुन्छ,‘अहिले तलब माग्दा, हामीले दिइसक्यौँ भन्न थालेको छ, अब के गरौँ, अलमलमा परेको छु ?’

मलेसिया पठाउने काठमाण्डौको सनराइज म्यानपावरसँग पनि उहाँले आफ्नो समस्या राख्नुभयो । तर म्यानपावर कम्पनीले पनि सहयोग गरेन । परदेशमा नेपाली श्रमिकको अभिभावक दूतावास हो । दूतावासले सेप्टेम्बरको अन्तिमसम्म घर पठाइदिने वातावरण मिलाउने आश्वासन दिएको छ भन्नुहुन्छ उहाँ । तर काम गरेको तलब र न्याय पाइन्छ कि पाइँदैन भन्ने चाहिँ अन्योल छ । 

घटना ३ :

खोटाङका लीलाबहादुर राईले पनि साउदीमा यही समस्या भोग्नुभएको छ । उहाँ मिनरल वाटरको कम्पनीमा काम गर्नुहुन्थ्यो । कमाइ राम्रै थियो ।

लीलाबहादुरका अनुसार दुई वर्षअघि सन् २०१९ को अन्त्यतिर कम्पनीको पानीमा समस्या देखिएपछि त्यहाँको सरकारले कम्पनी नै सिल गर्‍यो । केही समयपछि कोरोनाका कारण साउदीमा पनि लकडाउन सुरु भयो । त्यसपछि कम्पनीले तलब रोकिदियो । खान बस्न त दिएको छ । तर काम गरे बापत पाउनु पर्ने तलब भने दिएको छैन ।

तलब पाऊँ भन्दै उहाँ साउदीको लेबर कोर्टसम्म पुग्नुभएको छ । मुद्दा उच्च अदालतमा पुगिसकेको छ । अदालतमा मुद्दा दर्ता गरेपछि भने कम्पनीले उहाँलाई तलब दिन्छु, मुद्दा फिर्ती लिनु भनिरहेको छ । तर उहाँ अदालतको फैसला कुर्ने बताउनुहुन्छ । 

साउदी मै रहेका पाँचथरका सन्दीप सुनारको पनि अघिल्लो वर्षको डिसेम्बरदेखि गएको मार्चसम्मको तलब हातमा परेन । 

सुरुमा काम गर्ने कम्पनीमा तलब कम थियो । कमाएको रकम विदेशमै खान बस्न मै सकिन थालेपछि उहाँले नयाँ ठाउँमा काम गर्ने योजना बनाउनुभयो । उहाँलाई नेपालकै राजेश लिम्बुले साथ दिए । राम्रो कम्पनीमा काम लगाइदिने भन्दै एक खाल रुपैयाँ मागे । गैर कानुनी रूपमा काम गर्नका लागि उहाँले एजेण्टले मागे जति रकम बुझाउनुभयो ।

‘नेपाली नै, त्यो पनि चिनेको दाइ, काम त लगाइदिनुहोला नि भन्ने विश्वास भयो नि,’ सन्दीप भन्नुहुन्छ,‘ तर धोका दिने आफ्नैले रहेछन् ।’

राजेशले भनेकै कम्पनीमा काम थाल्नुभयो । तर काम गरेको चार महिना बित्दासम्म पनि हातमा तलब आएन । 

‘मेरो तलब खोइ भन्दा, कम्पनीले राजेशले पैसा लगिसक्यो भन्छ, राजेश दाइ मसँग सम्पर्कमै आउन चाहनुहुन्न,’ सन्दीप भन्नुहुन्छ,‘म काम गर्छु तलब चाहिँ उहाँले लाने कुरा त कल्पना गरेभन्दा बाहिरको भयो, यस्तो हुन्छ भन्ने थाहा पाएको भए पहिलो कम्पनी छाड्ने नै थिइनँ ।’

अबको बाटो के हुन्छ भन्ने थाहा छैन उहाँलाई । तर कम्पनीले पैसा दिए घर फर्किन्छु भन्दै पर्खी रहनुभएको छ सन्दीप । काम गरेबापत उहाँले  ८ हजार साउदी रियालभन्दा धेरै रकम कम्पनीसँग लिन बाँकी छ । 

महामारीमा श्रमिकको ज्यालामा चोरी बढ्यो

काम गरेपछि पाउनुपर्ने ज्याला आधा अधुरा दिने र बीचको मानिसले खाइदिने घटनालाई ज्याला चोरी भनिन्छ । कोरोना महामारीको समयमा यस्तो प्रवृत्ति ह्वात्तै बढेको छ ।

अहिले त यो आम प्रवृत्ति भएको छ । महामारीको नाममा श्रमिकले महिना भरी काम गरेको तलबमा कैँची चलाउनेहरू बढेका छन् । काम गरे बापत श्रमिकले पाउनुपर्ने तलब र सुविधा नदिने र दिए पनि आधा मात्रै दिने जस्ता ज्यादती बढेको एक अध्ययनले देखाएको छ । यस अवधिमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ७३० जना श्रमिकसित ज्याला चोरीका विषयमा अध्ययन गरेको थियो । 

अध्ययनमा समेटिएका यी श्रमिकहरू ज्याला चोरीको सिकार भएका पाइएको छ । कोरोना महामारीको समयमा उनीहरूको ज्यालाबाट ३ करोड ९८ लाख ३५ हजार ६३२ हजार रुपैयाँ चोरी भएको अध्ययनले देखाएको छ । कतार श्रमिकको ज्याला चोरी गर्ने देशमा सबैभन्दा माथि देखिएको छ । कतारबाट फर्किएका ३६२ जना नेपाली श्रमिकले आफ्नो ज्याला चोरी भएको बताएका छन् । 

खाडीकै अर्को देश साउदीबाट फर्किएका १५७, बहराइनबाट फर्किएका १३४, यूएईबाट फर्किएका १७ र मलेसियाबाट फर्किएका ५८ जनाले आफ्नो ज्यालामा चोरी भएको बताएका छन् । 

यूएईबाट फर्किएका १७ जनाले र मलेसियाबाट फर्किएका ५८ जनाले आफूहरूले पाउनु पर्ने ज्याला नपाएको पीएनसीसीले जनाएको छ । सबैभन्दा धेरै ज्याला चोरीको मारमा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरू परेका छन् भने त्यसपछि सेवा क्षेत्रमा काम गरेर फर्किएकाहरू छन् । कतिपय यो समस्या भोग्दै विदेशमै काम गरिरहेका छन् ।

आफ्नो ज्यालामा चोरी भए पनि उजुरी गर्ने श्रमिकको सङ्ख्या भने एकदमै काम रहेको अध्ययनले देखाएको छ । अझ गैर कानुनी रूपमा काम गरेका श्रमिकलाई त न्याय माग्न झन् समस्या छ । 

आफूले पाउनु पर्ने ज्यालामा चोरी भए पनि परदेशी भूमिमा श्रमिकहरूका लागि न्याय माग्न जाने ठाउँ छैन । उनीहरू चुपचाप घर फर्कन्छन् । तर उजुरी गर्न विभिन्न निकाय धाउँदैनन् । 

श्रमिकको ज्यालामा चोरी हुँदा यसले श्रमिकलाई मात्र नभएर राज्यलाई पनि असर गर्ने भन्दै यसको सम्बोधनका लागि सरकारले तत्काल सोच्न पर्ने बताउनुहुन्छ यस विषयमा अनुसन्धान गरेका संस्था प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुल प्रसाद कार्की ।

‘कोरोना कालमा श्रमिकप्रति उत्तरदायी नभएका रोजगारदातालाई कस्तो कारबाही गर्ने त भनेर सरकारले ज्याला चोरीको विषयको एउटा व्याख्या र कारबाहीको प्रक्रियासमेत तोक्न जरुरी छ,’ अध्यक्ष कार्कीले भन्नुभयो ।

ज्याला चोरीमा परेका कामदारको आवाज उच्च तहसम्म नपुग्ने भएकाले नेपाल सरकारले नै अब अन्तर्राष्ट्रिय विभिन्न मञ्चहरूमा पनि यो विषय उठान गर्नु पर्ने र कूटनीतिक नियोगले पनि सम्बन्धित देशमा यस समस्याको समाधान खोज्नु पर्ने उहाँको भनाइ छ । 

श्रमिकले महिना भरी काम गरेको तलब नदिने, चोरी गर्ने जस्ता विषयलाई सरकारले अब हुने श्रम सम्झौतामा समेत सम्बोधन गर्नु पर्ने अध्ययनले समेत औंल्याएको छ ।  

अन्तिम अपडेट: कात्तिक १, २०७८

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया