यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्न सकिन्छ

 भदौ २१, २०७८ सोमबार १२:१:९ | दीपक शर्मा
unn.prixa.net

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले स्मार्ट लकडाउनको अवधारणा ल्याएको छ । त्यसै अनुसार देशैभर एकै किसिमको लकडाउन नभएर ठाउँ र परिवेश अनुसार फरक-फरक प्रकृतिको लकडाउन हुन सक्छ । हामीले फरक-फरक प्रकृतिको लकडाउन भएको अवस्थामा विद्यालयको गतिविधि कसरी सञ्चालन गर्ने भन्ने विषयमा एउटा कार्ययोजना बनाएका छौँ । यसलाई गृह मन्त्रालयमार्फत सबै जिल्लामा पठाइसकेका छौं ।

योजनाअनुसार एकदमै कडा लकडाउन भएमा भौतिक उपस्थितिमा विद्यालयमा पठनपाठन हुन सक्दैन । तर खुकुलो किसिमको र कम असर भएका ठाउँहरुमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालनमा आउन सक्छन् । लकडाउन न्यूनतम भन्दा अलिकति बढी भएका ठाउँहरुमा एक तिहाई विद्यार्थीहरु आलोपालो गरेर विद्यालय सञ्चालन गर्नेे कार्यविधि बनाएका छौँ । सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्ने/नगर्ने निर्णय गर्न सकिन्छ । 

विद्यालयहरु सञ्चालन हुने/नहुने सीसीएमसीको परामर्शमै भर पर्छ । सूूचकहरुको आधारमा संक्रमण दर मापन गरेपछि मात्र सुरक्षित छ/छैन भनेर मूल्याङ्कन गरिन्छ । सीसीएमसीले रातो, पहेँलो र हरियो क्षेत्र भनेर तोकेअनुसार कुन ठाउँको विद्यालय सञ्चालन हुन्छ र कुन ठाउँको हुँदैन, त्यसपछि मात्र निर्णय हुन सक्छ । रातो अर्थात रेड जोनलाई सङ्क्रमणदर उच्च रहेको मानिन्छ । पहेँलोमा सामान्य र हरियोमा सङ्क्रमणको अवस्था निक्कै कम भएको मानिन्छ । जोखिमको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिन्छ ।

देशभर एकै प्रकृतिको सङ्क्रमणको अवस्था छैन । सङ्क्रमण नभएको ठाउँमा पनि अब वैकल्पिक विधिबाट मात्रै पठनपाठन गर्नुपर्छ भन्ने छैन, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा पठनपाठन गर्न सकिन्छ । विद्यार्थीको स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिनु पर्छ । सङ्क्रमणको अवस्था फरक भएको हुनाले परिस्थितिलाई हेरेर फरक फरक निर्णय गर्नु पर्छ । सङ्क्रमणको दर हेरेर सञ्चालन गर्न सक्ने ठाउँमा सञ्चालन गर्न सकिने र जहाँ सकिँदैन ती ठाउँहरुमा केही समय कुरेर वैकल्पिक विधिबाट नै पठनपाठनलाई निरन्तरता दिनुपर्छ । पठनपाठनको सबैभन्दा प्रभावकारी विधि भौतिक उपस्थिति नै भएकाले जोखिम कम भएका ठाउँमा बिस्तारै विद्यालय खुलाउन सकिन्छ।

विद्यालय सञ्चालन गर्दा भने मार्गनिर्देशन र मापदण्ड अनिवार्य पालना गर्नुपर्छ । गएको वर्ष जारी भएको विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिकामा धेरै मार्गदर्शनहरु छन् । अरु मार्गदर्शन पालिकामा या विद्यालय तहमा बन्न सक्छन् । त्यसैको आधारमा पठनपाठन सञ्चालन हुन्छ ।

विद्यालय खोल्ने कि नखोल्ने भन्ने निर्णय पालिकाले गर्ने हो । सीसीएमसीको परामर्श अनुसार विद्यालय पूरा या आंशिक हिसाबले खोल्ने भन्ने कुराको निर्णय हुन्छ । विद्यालय खुलाउन सक्ने अवस्थामा विद्यार्थीलाई समयमै जानकारी दिनुपर्छ । कक्षाकोठामा सरसफाइको ख्याल राख्नुपर्छ । मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, शौचालय, बसाइकाे व्यवस्थामा दूरीको अवस्था, खानेपानीको व्यवस्था लगायतका कुरामा ध्यान दिनु पर्छ। 

कुनै विद्यालयमा हजारभन्दा बढी विद्यार्थी छन् । कुनैमा एकसय मात्र छन् । जहाँ राम्रो पूर्वाधार छ भौतिक दूरी कायम हुन्छ, त्यहाँ मज्जाले कक्षा सञ्चालन गर्दा हुन्छ । विद्यालयको प्रकृति कस्तो छ, सञ्चालन गर्न कसरी सकिन्छ, नसके सिफ्ट कसरी मिलाउने लगायत विषयमा विद्यालयको प्रकृति अनुसार कार्ययोजना बनाएर पालिकाबाट स्वीकृत गराउनु पर्यो ।

विद्यालयहरुमा भौतिक दूरी पालना कसरी गर्ने, दिवा खाजा खादा कसरी खाने, शौचालय कसरी प्रयोग गर्ने, मास्क कसरी प्रयोग गर्ने भन्ने कुराहरु आउँछन् । विद्यार्थीहरुलाई जानकारी हुने गरी विद्यालयले आफ्नाे नीति नियम बनाउनु पर्छ । विद्यार्थीहरुलाई पनि स्कुल आउँदा यसरी आउनु पर्छ भन्ने र अभिभावकहरूलाई पनि बालबालिकाहरूलाई स्कुल पठाउँदा यसरी पठाइदिनु भन्नुपर्छ। 

भोलि विद्यार्थीलाई लक्षण देखियो भने कसरी आइसोलेट गर्ने, कसरी स्वास्थ्य चौकीसँग सम्पर्क गर्ने भन्ने जस्ता कुरामा ध्यान दिनुपर्छ । जोखिम बढेसँगै विद्यालय तत्काल बन्द हुन सक्छ । यी सबै विधि प्रक्रियाहरु विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचामा आधारभूत कुराहरु दिइएका छन् । यी कुराको प्रतिकूल नहुने गरी जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरु पालना गर्दै चाहिएको खण्डमा विद्यालयले अरु नीति नियमहरु पालिकामा यसको तर्जुमा गर्न सकिन्छ । यसको समय समयमा विश्लेषण गर्नु पर्छ। 

विद्यालय सञ्चालन गर्दा केन्द्रको कार्यढाँचालाई अनुसरण गर्नु पर्छ । यसको पालना गर्दा विद्यार्थीहरु केन्द्रबिन्दुमा रहन्छन् । त्यसको पहिलो घेरामा कक्षा शिक्षक हुन्छन् । त्यसपछि प्रधानाध्यापकले त्यसको नेतृत्व गर्छन् । प्रधानाध्यापकलाई दैनिक परामर्श दिन व्यवस्थापन समिति क्रियाशील हुन्छ । त्यसमा अरु समस्या पर्यो भने पालिकाले समन्वय, निर्देशन र सहजीकरण गर्नु पर्छ। 

हामीले अहिलेसम्म गरेको भर्चुअल माध्यमकोे पठनपाठन र विद्यालयमै उपस्थिति भएर सुरु हुन थालेको पठनपाठनको तालमेल मिलाउने काम विषय शिक्षकले गर्ने हो । आफ्ना विद्यार्थीहरुले यो समयसम्म कति सिके भन्ने कुरा विषयगत मूल्याङ्कनमा आउँछ । यसको मुख्य जिम्मेवारीे विषय शिक्षकको हुन्छ । कुनै विद्यार्थी कमजोर छ भने त्यसलाई कसरी सपोर्ट गर्ने भन्ने उपचारात्मक शिक्षण र अरु विधिहरु पनि हुन्छन। विषय शिक्षकलाई समस्या परे कक्षा शिक्षक वा प्रधानाध्यापकसँग सरसल्लाह गर्न सकिन्छ । त्यसबाट पनि हल गर्न सकिएन भने विद्यालयका साझा समस्याहरुलाई पालिकासँग छलफल गरेर समाधान निकाल्नु पर्छ।

प्रारम्भिक कक्षाहरुमा पठन सीपको विकास जरुरी छ । यसको लागि विद्यार्थीले घरमा सिकेका व्यवहारजन्य अनुभवका आधारमा शिक्षकहरुले विद्यार्थीहरुलाई पढ्ने सीपमा कसरी लैजाने भन्ने योजना बनाउनु पर्छ। यस्ता विद्यार्थीहरुको व्यक्तिगत आवश्यकता, उनीहरुको रुचि, चाहनालाई  सम्भव भएअनुसार उनीहरुकै मातृभाषा प्रयोगबाट सिकाइ गर्न शिक्षकले योजना बनाउनु पर्छ। 

विद्यार्थीको पठनपाठन रोकिनु हुँदैन र स्वास्थ्य सुरक्षा पनि हुनु पर्छ । अभिभावकले शिक्षक र प्रधानाध्यापकसँग आफ्ना बालबालिकाको पढाइको अवस्था कस्तो छ भनेर सोधपुछ गर्नु पर्छ । विद्यालयले तोकेका आधारभूत कुराहरुको पालना गर्ने, घरमा अध्ययन गर्ने वातावरणको सहजीकरण गर्नु पर्छ । विद्यालयले पनि विद्यार्थीको घरायसी अवस्था कस्तो छ, समस्या के छ, कसरी सहजीकरण गर्न सकिन्छ भन्ने कुराहरुमा परामर्श दिने गर्नुपर्छ ।

हरेक विद्यालयमा विद्यालय व्यवस्थापन समिति हुन्छ, जसमा अभिभावकको सहभागिता हुन्छ । यसमा विद्यालय र घर बीचको सम्बन्धलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेर राम्रो बनाउने विचार तथा परामर्श लिने दिने गर्नुपर्छ । विद्यार्थीहरुको स्वास्थ्यसँगै  सिकाइ पनि महत्त्वपूर्ण कुरा हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता शर्मासँगको कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस् । 

अन्तिम अपडेट: असोज २७, २०७८

दीपक शर्मा

शर्मा शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्र अर्थात् शिक्षा विभागका प्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया