चार वर्ष बित्यो खाडीमा : अहिले भविष्य खोज्दै आफ्नै पखेरीमा !

 भदौ २१, २०७८ सोमबार १३:२७:४० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – परिवारको गर्जो टार्नकै लागि मुटु गाँठो पारी घरदेश छोडी परदेशतर्फको यात्रा गर्ने धेरै छन् । रहर कम, बाध्यता ज्यादा । त्यही बाध्यता र विवशताले परदेश पुर्याउँछ, धेरै नेपाली युवालाई ।

हातमा सीप र साथमा पैसा नहुँदा देशमा केही सम्भावना नदेखेर विदेशिनेहरुको हुलमा मिसिनुभएको थियो, लमजुङ दोर्दी गाउँपालिका–३, केराबारीका केशवलाल श्रेष्ठ पनि ।

‘धन कमाउन, परिवारको मुहारमा खुशी ल्याउन’ उहाँ कलिलै उमेरमा खाडी पुग्नुभयो । चार वर्षसम्म उहाँले आफ्नो उर्जा, समय र श्रम खाडीको तातो बालुवामा पोख्नुभयो । परदेशमै वर्षौसम्म श्रम पसिना त बग्यो तर सोचेजस्तो कमाइ भएन । उहाँको दुःख जहाँको त्यहीँ रह्यो ।

त्यसपछि, परदेशको जागिरबाट धन कमाइ आफूसँगै परिवारको मुहारमा खुशी ल्याउने सपना देख्न छाड्नुभयो, उहाँले । यहाँ गर्ने दुःख बरु गाउँमै गर्छु भन्ने सोच र आँट पलायो उहाँको मनमा ।

त्यही सोच र आँटले उहाँ परदेश छोडी दुई वर्ष पहिले गाउँ फर्किनुभयाे । ‘दुई दुई वर्ष गरी कतार र साउदीमा चार वर्ष बिताइयो । जाने आउने मात्रै भयो । कमाइ भएन । जसातसो गएको ऋण तिरियो । अरु खासै केही उपलब्धी भएन,’ उहाँले विदेश बसाइको अनुभव सुनाउनुभयो ।

गाउँ फर्की बाख्रापालन

‘गाउँकै पाखापखेरीमा केही उद्यम गर्छु’ भन्ने सोचेर खाडीबाट आउनुभएका उहाँले अहिले गाउँमै व्यावसायिक बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ ।

बाउ–बाजेले जीवन निर्वाहमुखी ढंगले गर्दै आउनुभएको बाख्रापालनलाई उहाँले व्यवसायमा बदल्नुभएको छ । सुधारिएको बाख्राको खोर बनाई उहाँले फर्म नै दर्ता गरी व्यावसायिक रुपमा बाख्रापालन सुरु गर्नुभएको हो ।

बाख्राका लागि उहाँले आफ्नै ५० रोपनी जग्गामा समेत विभिन्न जातका घाँस लगाउनुभएको छ । गाउँमा प्रशस्त चरन क्षेत्र भएको, आफ्ना पनि धेरै बाँझो जग्गा रहेकाले त्यसको पनि उपयोग हुने र राम्रो कमाइ हुने सम्भावना देखेर आफूले बाख्रापालन व्यवसाय रोजेको उहाँले बताउनुभयो ।

उहाँको ‘केके बाख्रा फर्म’मा सुरुवातकै चरणमा सानाठूला गरी ३५ वटा बाख्रा पालिएका छन् । खरी र बोयर जातका बाख्रा पनि छन् ।

‘भर्खर बाख्रापालन व्यवसाय सुरु गरेको, दुई वर्ष भित्रमा फर्ममा एक सय बाख्रा पुर्‍याउने लक्ष्य छ,’ उहाँले भन्नुभयो ।

विदेशको दुःखले उद्यमी बन्ने बाटो देखायो

घाम उदाएदेखि अस्ताएसम्म उहाँ बाख्राकै स्याहारमा जुट्नुहुन्छ । ‘बाख्रा चराउने, बाख्रालाई घाँसपात, कुँडोपानी गर्दैमा समय बित्छ । बाख्रापालनबाटै राम्रो कमाइ हुने आशा र विश्वास छ,’ बाख्रालाई डालेघाँस हाल्दै उहाँले भन्नुभयो ।

समय र सपनाले विदेश पुर्‍याए पनि विदेश खासै नफापे पनि विदेश बसाइप्रति उहाँको गुनासो छैन । विदेशमा भोगेको दुःख र हण्डरले नै गाउँ फर्केर उद्यम गर्ने बाटो देखायो, पाठ सिकायो उहाँलाई ।

अहिले परिवारको साथमा आफ्नै पाखापखेरीमा आफ्नै उद्यममा उहाँको मन रमेको छ । दुःख गर्न सके, श्रम पसिना देशकै माटोमा बगाउन सके घरगाउँमै स्वरोजगार बनेर जीवन चलाउन सकिने उहाँ बताउनुहुन्छ ।

‘विदेशमा अरुको नोकरी गर्नुभन्दा यहीँ दुःख गर्नु बेस । कृषि उद्यमबाटै राम्रो कमाउन सकिन्छ । सजिलै गुजारा चलाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: असोज २८, २०७८

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया