'विदेशको खटाई भोगेपछि लाग्यो मेहनत गर्नेलाई अवसर त देशमै पनि रहेछ'

 असोज १३, २०७८ बुधबार १३:५०:३७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – मानिसका कतिपय सपना समय, पैसा र परिस्थितिले अधुरा हुन्छन् । अधुरा सपना पूरा गर्न गर्न वैकल्पिक बाटो रोज्छन्  ।

इलामकी तीर्थ कुमारी राई पनि कमाउने सपना बोकेर २०६९ मा मलेसिया पुग्नुभयो । पाँच वर्ष मलेसिया मै बिताउनुभयो । अलिअलि कमाउनुभयो । पाँच वर्षे मलेसिया बसाइँले उहाँलाई समयको महत्त्व सिकायो । 

उहाँ भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीमा जाँदा नेपालमै केही गर्छु भन्ने थिएन, तर विदेशबाट फर्कँदा देशमै केही गर्छु भन्ने अठोट लिएर फर्किएँ ।’ 

घर परिवार र बालबच्चा छाडेर परदेशिन एउटी आमालाई सजिलो छैन । देश छाड्न जस्तै परदेशमा काम गर्न पनि सहज कहाँ छ र । भोक निद्रा भन्न पाइँदैन । महिनाभरि खटेपछि हातमा तलब पर्छ । परदेशको भूमि टेकेको पहिलो महिना ३० हजार रुपैयाँ तलब पाउनुभयो तीर्थकुमारीले । 

काम गर्दै जाँदा परदेशी भूमिमा पनि राम्रै भयो । मेहनत अनुसार तलब पनि पाउनुभयो । 

‘काम गर्दै जाँदा तलब पनि बढ्दै गयो, फर्कने बेलामा त मेरो तलब ६० हजार भएको थियो,’ तीर्थ कुमारी भन्नुहुन्छ,‘यताउता खर्च गर्दा पनि महिनाको ४० हजार रुपैयाँ त चोखो बच्थ्यो ।’

परदेशमा दुःख गरेर कमाएको पैसाले छोराछोरीलाई राम्रो स्कुलमा पढाउनुभयो । उनीहरूका हरेक आवश्यकता पूरा गरिदिनुभयो । उहाँको मेहनतको फल अहिले राम्रो भएको छ । छोराछोरी एक जना स्नातक तहको दोस्रो वर्ष र एक जना कक्षा सातमा पढ्दै छन् । पारिवारिक खर्च गरेर दुःखले बचेको केही रकमले झापाको दुर्गापुरमा जग्गा पनि किन्नुभएको छ । 

बाँकी रकमले भने तीर्थकुमारीले घरैमा ‘आटकारी बोइलर फाम’ खोल्नुभयो । विदेशी भूमिमा मेहनत गरेर प्राप्त गरेको यो उहाँको अर्को उपलब्धि हो । 

२०७७ भदौमा सुरु गर्नु भएको फाममा दुई लाख ५० हजार रुपैयाँ लगानी लागेको छ । फाम सुरु गर्दा ऋण लिनु परेन । दुई सय वटा बोइलर कुखुराको चल्लाबाट सुरु भएको फाममा निरन्तर तीन सय वटा चल्ला पालिन्थे । व्यवसाय राम्रो हुँदै थियो । महामारीले अलिअलि असर भने गर्‍यो ।  त्यसमाथि कमाउन मलेसिया गएका उहाँका श्रीमान् देउधन राई बिरामी हुनुभयो । त्यसपछि भने उहाँको दैनिकी फेरिएको छ ।

उपचारमै बित्दै छ समय 

तीर्थकुमारीको हिजो आज श्रीमान् देउधन राईलाई अस्पताल लैजाने र ल्याउनेमा नै अधिक समय बित्छ ।

देउधनको एउटा खुट्टा चल्दैन । डाक्टरका अनुसार उहाँलाई प्यारालाईस भएको हो । खेतीपाती र श्रीमान्को उपचारमा समय दिनु पर्ने भएकाले अहिले भने उहाँले आफ्नो व्यवसायमा समय दिन सक्नु भएको छैन । तर उहाँको व्यवसाय गर्ने रहर भने अझै जीवितै छ । 

हामी समयलाई उपलब्धी बिना नै खेर फाल्दा रहेछौँ । विदेशमा झैँ समयलाई सदुपयोग गर्ने हो भने कोहि कसैले विदेशिनु पर्दैन । विदेश पुगेर दुःख गरेपछि मात्रै तीर्थकुमारीलाई यस्तो लागेको हो ।

‘हामी नेपाली सिकाइमा धेरै पछाडि छौँ, न कुनै काम गर्ने सीप हुन्छ ? न विदेशमा झैँ सही तरिकाले समयको सदुपयोग गर्न नै जानेका हुन्छौँ,’ विगत सम्झँदै उहाँ भन्नुहुन्छ, ‘जति मेहनत विदेशमा गर्छौँ त्यति नै मेहनत नेपालमा गर्ने हो भने कसैले पनि केही रकम कमाउनलाई विदेश जान नपर्ने रहेछ ।’

मन रुन्छ परदेशमा 

न विदेश न आफ्नै देश । जहाँ पनि बाँच्नका लागि सबैले दुःख गर्नै पर्छ । तर आफ्नै ठाउँमा दुःख गरेर कमाई गर्दाको आनन्द अन्त कतै नपाइँदो रहेछ । तीर्थकुमारीको भोगाइले यसै भन्छ ।

नेपालमै दुःख गरेर कमाउँदाका आनन्दलाई अरू केहीले पनि जित्न सक्दैन । उहाँ भन्नुहुन्छ, ‘म कहाँ बिर्सन सक्छु र ? बिना गल्ती परदेशको भूमिमा कम्पनी मालिकले गाली गरेको, ‘त्यो समयमा जत्तिको मन कहिल्यै रोएको थिएन, कसको मन रुँदैन र परदेशको भूमिमा गाली पाउँदा ।’  गुनासो गर्नुहुन्छ तीर्थ कुमारी ।

तीर्थकुमारीको लक्ष्य समाजसेवी बन्ने छ । यो लक्ष्य पूरा गर्न अहिले स्थगित रहेको बोइलर फामलाई पुनः सञ्चालनमा ल्याउने योजनामा हुनुहुन्छ उहाँ । भन्नुहुन्छ, ‘म मेरो सपनाहरु जसरी पनि पूरा गर्छु भन्ने अठोट बोकेर बसेको छु, अहिले समय खराब छ, सायद यो समय पनि बितेर जानेछ ।’

अन्तिम अपडेट: मंसिर ४, २०७८

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया