वैदेशिक रोजगारी : दशैँकाे मुखैमा कोही परदेश जाँदै, कोही घरदेश फर्किँदै

 असोज २५, २०७८ सोमबार १५:१५:५४ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौ – उसो त परदेशीको बिदाको टुंगो हुँदैन । भनेकै बेला कसैले बिदा पाउँछन् कसैले पाउँदैनन् । धेरैको सोच हुन्छ, दशैंको मौका पारेर बिदा लिने, तर दशैंकै बेला बिदा पाइने निश्चित भने हुँदैन । त्यसैले होला परदेशी बेलाबखत घर आए पनि दशैंकै मौकामा आउन नपाएको लामो समय बित्ने गर्छ । त्यसैमाथि अहिले कोरोनाको महामारीले चाहेको बेला घर आउन र काममा फर्किन पनि त्यति सजिलो छैन । यस्तै कठीनाइ भोग्दै स्वदेश फर्किने गर्छन् परदेशीहरु । 

काभ्रेका शंकर अधिकारी पनि साढे दुई वर्षपछि यूएईबाट घर फर्किनुभयो । दशैँको बेला घर फर्किन पाउँदा शंकर निकै खुसी हुनुहुन्छ । भन्नुहुन्छ, ‘दशैँको बेला आफ्नै देशमा पाइला टेक्न पाइयो निकै खुसी लागेको छ, नत्र त परदेशीलाई भनेकै बेला कहाँ घर आउँन पाइन्छ र ?’

यूएईमा हस्पिटालिटी क्षेत्रमा काम गर्नुहुन्छ शंकर । होटलमा काम गर्दा दशैँ आए–गएको पत्तै हुँदैन । कम्पनीबाट पनि बिदा पाइँदैन । विमानस्थलमा पुगेपछि आफूलाई लिन आएकी आफ्नी श्रीमतीसँगै घर फर्किन ट्याक्सीमा चढ्दै गर्दा उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘यसपालिको दशैँ घरपरिवारसँगै मनाउन पाइने भो खुसी लागेको छ ।’

शंकरजस्तै यूएईबाटै फर्किनुभएका अर्घाखाँचीका तीलक भुसाल पनि निकै खुसी हुनुहुन्छ । तीन वर्षपछि नेपाल फर्किनुभएका उहाँलाई विमानस्थलबाट सिधै बानेश्वरमा रहेको छोराछोरीको डेरामा पुग्न हतार छ । वैदेशिक रोजगारीको कमाइले नै तीलकले छोराछोरीलाई काठमाण्डौमा पढाउनुभएको हो । यसपालि दशैँकै बेला घर आउन पाउनुभएका उहाँलाई छोराछोरीको नियास्रोले निकै सताएको छ । 

उहाँले ट्रली अलि पर सार्दै भन्नुभयो, ‘अब सिधै केटाकेटीलाई भेट्छु, आज उतै बसेर भोलि मात्र घर जान्छु ।’

परदेशको बसाइ कसैलाई राम्रै भए पनि कसैलाई भने दुःखदायी हुन्छ । झन् पछिल्लो समय विश्वव्यापी फैलिएको कोरोनाको शिकार परदेशमा रहेका नेपाली श्रमिक पनि भए । कसैको रोजगारी गुम्यो, कसैले तलब पाएनन् । दशैँको मुखमा ज्यान मात्रै जोगाएर रित्तो हात घर फर्किनेहरु पनि धेरै छन् । नेपाल फर्किन नपाउँदै अस्पताल पुग्नुपर्ने बाध्यता छ कतिको । यस्तै बाध्यता र कठीनाइको चपेटामा परेर घर फर्किनुभएको छ काभ्रेका दिपेन्द्र लामा पनि । तीन वर्षदेखि मलेसियामा काम गर्दै आउनुभएका दिपेन्द्रलाई कोरोनाले दुःख दियो । उहाँलाई कोरोना संक्रमण नै त भएन तर कोरोना विरुद्धको खोप लगाएपछि उहाँलाई सन्चो भएन । सिकिस्तै पर्नुभयो । काममा जानसक्ने सम्म ताकत भएन । दुई महिना अगाडि यस्तो हुँदा दिपेन्द्रले त्यतिबेलै घर फर्किन्छु भनेर कम्पनीमा कुरा राख्नुभयो । तर कम्पनीले आनाकानी गर्दै लामो समय कुरायो । अहिले पनि दिपेन्द्रका आँखा राता देखिन्छन् । अनुहार थाकेको छ । 
‘अहिले पनि राम्रोसँग सञ्चो भएको छैन’, उहाँले भन्नुभयो, ‘एक पटक नेपालको अस्पतालमा पनि देखाउँ भन्ने लागेको छ ।’

दिपेन्द्रलाई अब परदेश फर्किनु छैन । आफ्नो लागि परदेश फापेन भन्नुहुन्छ उहाँ । सञ्चो हुन पाए उहाँलाई श्रम आफ्नै देशमै पोख्न मन छ । देशमै भए चाँडपर्वमा, दुःख सुखमा घरपरिवारसँगै हुन पाइने, विदेशमा त बिरामी पर्दा तातो पानी तताएर दिने पनि कोही नहुने । यही कुरा चित्त बुझ्दैन दिपेन्द्रलाई । दशैँतिहारको बेला घरमा आउन पाउँदा उहाँको आधाउधी बिमार ठीक भएको छ । विदेशको दशैँ, दशैँ जस्तै नलाग्ने बताउँदै उहाँ भन्नुहुन्छ, ‘नेपालमा घरपरिवारसँगै बसेर दशैँ मनाउनुको रमाइलो पो रमाइलो, उता बसेर, घरपरिवारले के खाए होलान्, छोराछोरीले के लाए होलान् भन्दै चिन्ता मानेर पनि के दशैँ मनाइयो भन्नु ।’

दशैँतिहारको आसपासमा शंकर, तीलक, दिपेन्द्र जस्तै दैनिक सयौँको संख्यामा नेपाली वैदेशिक रोजगारीबाट फर्किदैछन् । तर यही बेला मन गह्रुंगो पारेर वैदेशिक रोजगारीमा जानेहरुको दृष्य पनि देख्न पाइन्छ विमानस्थलमा ।

दशैँकै बेला विदेश जानेहरु

यसपालि मनसुन अलि लामै समय टिक्यो । शरद ऋतुको आगमन भइसक्दा पनि निरन्तरको झरी अहिले रोकिएको छ ।  पहिराले बाटो अबरुद्ध भए भन्ने खबर अचेल खासै सुनिँदैनन् । घरआँगन र बाटो छेउछाउमा फुलेका सयपत्री र मखमलीका घारीमा पुतलीहरु नाच्न थालिसके । परदेशबाट घरदेश र सहरबजारबाट गाउँघर फर्किनेको चहलपहलले दशैँको रमझममा झन् खुसुयाली थपिएको छ । तर यही बेला घरदेश छाडेर परदेश जानेहरुको दृष्यले विमानस्थलको प्रस्थान कक्षमा अँध्यारो छाएको जस्तै भान हुन्छ ।

कसैको मात्र रहर होला नत्र त बाध्यताले नै हो विदेश डोर्याउने । गाउँघरमा रोजगारी नपाउनु । ऋणको भार थपिदै जानु । आफ्नो आर्थिक अवस्था र हुर्किदै गरेका छोराछोरीको भविष्य हेरेर चिन्तित हुनु । यस्तै यस्तै कुराले, जिम्मेवारीले धकेल्छ परदेश । यस्तै बाध्यताले मनमा गाँठो पार्दै दशैँको मुखैमा साउदी जान विमानस्थल पुग्नुभएको छ मोरङ्गका जगनारायण मेहता पनि ।

सन् २०१३ मा साउदी गएर २०१६ मा फर्किनुभएका जगनारायणले परदेश नजाने र गाउँघरमै केही गर्ने सोच्नुभएको थियो । तर बीचमा कोरोनाको महामारीले छोप्यो । त्यसैमाथि गाउँघरमै आफूले सुरु गरेको सानोतिनो पसल पनि चलेन । घरमा ऋण थपिँदै गयो । त्यसपछि उहाँ पनि परदेश जान बाध्य हुनुभयो । दशैँ मनाएरै जाने मन त थियो उहाँको पनि तर म्यानपावरले अहिले नै जाने भनेपछि उहाँले मनको सुन्नुभएन ? बसमा हुइँकिदै काठमाण्डौ पुग्नुभयो ।
‘दशैँको टीका लगाएर जान्छु सोचेको थिएँ, तर म्यानपावरले पछि भिसा क्यान्सिल हुन्छ अहिले नै आइहाल भनेर फोन गर्यो, अनि म तयार भएर आएको’, उहाँले मन गह्रुँगो पादै भन्नुभयो, ‘अब के गर्ने, बाध्यता नै यस्तै आइलाग्यो, दशैँको माया मानेर नि के गर्ने ?’

जगनारायण जस्तै काठमाण्डौ रामपुरकी सपना तिमिल्सिना पनि काममा फर्किन विमानस्थल पुग्नुभएको छ । उहाँ ६ महिना पहिले दुई महिनाको बिदामा घर आउनुभएको थियो । तर बीचमा कोरोनाका कारण फर्किन पाउनुभएन । अहिले नफर्कि नहुने भयो । भिसाको म्याद छदै काममा नफर्के जागिर गुम्ने डर छ । एकतर्फ जागिर गुम्ने डर अर्कोतर्फ मुखैमा आएको दशैँतिहार । जागिर भए त पछिका दशैँमा रमाइहालिन्छ नि भन्नुहुन्छ उहाँ ।

‘अहिले नगए भिसाको म्याद सकिन्छ, त्यसैले पनि गइहाल्नुपर्छ, नत्र बुवाआमाको हातको टीका लगाउन कसलाई मन लाग्दैन र ?’

वैदेशिक रोजगारीमा जानेहरुका अनेक समस्या हुन्छन् । बाध्यता हुन्छन् । कम्पनीले भनेकै बेला नपुगे जागिर गुम्ने डर । भिसाको अवधि छँदै नगए पछि भिसा नपाइने चिन्ता । यी सबै कुरालाई मिलाउन लाग्दा परदेशीका कहिले दशैँ तिहार छुट्छन् कहिले आफ्नै भाइबहिनीका बिहेबारी ।

एकातिर घरपरिवार र चाडपर्वको झल्को, अर्कोतर्फ काममा फर्किनै पर्ने बाध्यता । देशमै भनेको जस्तो सजिलै काम पाए त यसरी दशैँ तिहारको मुखैमा परदेश जानुपर्थेन । दाङका मानबहादुर तामाङ्लाई पनि यस्तै लाग्छ । यूएई जान विमानस्थल पुग्नुभएका मानबहादुरको पिठ्युँमा सानो झोला छ । हातमा राहदानीसहित कागजात । प्रस्थान कक्षबाट भित्र छिर्दै गर्दा उहाँले भन्नुभयो, ‘यस्तै हो हजुर, परदेश नगइ सुख छैन । सरकारले हामी जस्तालाई रोजगारी दिए त दशैँको मुखैमा घरपरिवारको आँखामा आँसु ल्याएर जान पर्थेन होला, तर के गर्ने, यस्तै छ ।’
 

अन्तिम अपडेट: असोज २७, २०७८

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया