मौसम भविष्यवाणीलाई बेवास्ता गर्दा धेरै क्षति भयो

 कात्तिक ७, २०७८ आइतबार १३:४५:१८ | डा. ऋषिराम शर्मा
unn.prixa.net

नेपालमा मनसुन सकिएको घोषणा भएको एक हप्ता नबित्दै मनसुनमा झैँ देशभर वर्षा भयो । नेपालमा असोज २५ गते नै मनसुन बाहिरिएको अवस्था थियो । त्यसपछि केही मौसमी उतार चढाव देखापर्यो । नेपालको उत्तरी सिमाना र दक्षिणतर्फ न्यून चापीय र क्षेत्रहरुको विकास भयो । पश्चिम बङ्गाल र अरब सागरबाट जलवाष्पयुक्त हावा न्यून चापीय हावालाई परिपूर्ति गर्नको लागि नेपालको क्षेत्रमा आयो । त्यसैले गर्दा नेपालमा पानी पार्यो । 

नेपालमा अहिले पोष्ट मनसुनको अवस्था हुनु पर्दथ्याे । यो घाम लाग्ने, बढी चिसो नहुने, पानी नपर्ने बेला हो । यस्तो मौसमी प्रणाली विकास भएको हुनाले ठूलै पानी पर्यो । फलस्वरुप यसले धेरै धनजनको क्षति गर्यो । यस्ता मौसमी घटनाहरुलाई स्वाभाविक मान्न सकिँदैन । यस्ता घटनाहरु बेला बेला पुनरावृत्ति भइरहेको हुन्छ । 

मौसमी रेखाहरु सधैँ एकैनासको हुँदैन । यसमा फेरबदल र उतार चढाव भइरहेको हुन्छ । तर अहिलेको फेरबदल र उतारचढाव अस्वाभाविक हो । जलवायु परिवर्तनका कारण विश्वमा विभिन्न मौसमी घटना परिघटनाहरु विकास भइरहेका छन् । 

यसको आवृत्तिमा बढोत्तरी भइरहेको छ । तथ्याङ्कअनुसार नेपालमा अतिजन्य घटनाको सङ्ख्यामा वृद्धि भएको छ । नेपालमा भएको पछिल्लो घटना पनि जलवायु अतिजन्य घटनाकै एउटा अङ्ग हो । यी घटनाहरुलाई जलवायु परिवर्तनकै एउटा अंशको रुपमा लिनु पर्दछ ।

दुईवटै प्रणाली सक्रिय 

बादलमा पर्याप्त रुपमा जलवाष्पयुक्त बादल भयो भने त्यसबाट वर्षा हुने गर्दछ । नेपालमा वर्षा गराउने मुख्य दुई वटा स्रोतहरु छन् । एउटा बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावा हो ।  यसले नेपालमा मनसुनी वर्षा पार्ने गर्दछ । 

मनसुन सकिएपछि पश्चिमी वायु सक्रिय हुने गर्दछ । त्यो अवस्थामा अरेबियन सागरदेखि युरोप अफ्रिकाको सागरबाट आउने पश्चिमी वायुले ल्याएको जलवाष्पयुक्त हावाले पानी पार्दछ । अहिले नेपालमा दुईवटै प्रणाली सक्रिय भएर पानी परेको हो । बङ्गालको खाडीबाट आएको हावा र पश्चिमी वायुको प्रभावका कारण अहिले यो अवस्था सृजना भएको हो। 

विश्वको मौसमी प्रणालीमा वायुको चापमा फेरबदल हुने गर्दछ । यदि कुनै ठाउँमा न्यूनचापीय क्षेत्र विकास भयो अथवा त्यो ठाउँको वायुको चाप अरु क्षेत्रको चाप भन्दा कम भयो भने त्यो क्षेत्रको बादल वा हावाले त्यो ठाउँको न्यून चापीयलाई परिपूर्ति गर्दछ । 

जस्तै कुनै पोखरीबाट एक बोतल पानी निकाल्दा त्यो पोखरीको पानी आफैँ भरिँदै आउँछ । त्यसैगरी जहाँ जहाँ न्यून चापीय क्षेत्र विकास भएको हुन्छ त्यो ठाउँको हावाले न्यूनचापीय क्षेत्रको परिपूर्ति गर्ने गर्दछ । नेपालको सन्दर्भमा कुरा गर्दा नेपालको दक्षिण र पश्चिम दुवै तिरबाट न्यूनचापीय क्षेत्रको विकास भयो । न्यूनचापीय क्षेत्रको परिपूर्ति गर्न वातावरणमा भएका हावा चारैतिरबाट आयो । 

बङ्गालको खाडीबाट आएको हावा जसमा प्रशस्त मात्रामा पानी हुन्छ । त्यो पानी भएको बादलले नै पानी पर्ने गर्दछ । अरब सागरबाट आएको हावाले पनि प्रशस्त मात्रामा पानी बोकेको हुन्छ । त्यो हावाले पनि पानी पारेको हो । यी दुई वटा प्रणाली नेपालमा जुध्यो, जसले गर्दा नेपालको पूर्वी क्षेत्रमा बङ्गालको खाडीबाट आएको हावाले र अरेबियन सागरबाट आएको हावाले पानी पार्यो ।

वायुमण्डलको कुनै ठाउँमा सूर्यको प्रशस्त ताप पर्यो, त्यहाँको जमिन तात्यो भने त्यहाँको हावा तातेर आकाशतर्फ जाने गर्दछ । त्यो तातो हावा आकाशमा गएपछि त्यहाँ न्यूनचापीय क्षेत्र विकास हुने गर्दछ । वायुमण्डलमा पनि कुनै न्यूनचापीय क्षेत्र विकास हुने बित्तिकै वातावरणको हावाले त्यो ठाउँको न्यूनचापीय क्षेत्र परिपूर्ति गर्न सक्रिय हुने गर्दछ । त्यो क्रममा आएको हावामा पानी भरिएको हुने गर्दछ जसले गर्दा पानी पर्ने सम्भावना बढी हुने गर्दछ । 

अघिल्ला वर्षहरुमा मनसुनमा पर्ने पानी यो वर्ष मनसुन सकिसकेपछि परेको छ । मौसमी रेखाहरु एउटै रेखामा जाने भन्ने कुरा हुँदैन । यस्ता उतारचढाव भइरहेका हुन्छन । यसलाई स्वाभाविक रुपमा लिन सकिन्छ । मौसम सधैँ एकै प्रकारको हुने गर्दैन ।  तर पनि कात्तिकमा परेको यो पानीलाई अस्वाभाविक भन्नु पर्दछ । यस्ता घटनाहरु बिरलै हुने गर्दछन् । 

मौसम पूर्वानुमानमा सुधार

मौसम पूर्वानुमान गर्न चाहिने पूर्वाधारहरु सबैको विकास भइरहेको छ । नेपालको विभिन्न ठाउँहरुबाट हुने गरेका मौसमी जानकारीले गर्दा पनि यो प्रभावकारी हुन सकेको छ । त्यसै कारणले गर्दा मौसमी पूर्वानुमान पहिलेका वर्षहरुमा भन्दा राम्रो भएको छ । 

हामीसँग भएको कम्प्युटर प्रणालीको सहयोगले गर्दा मौसम पूर्वानुमान गर्ने गरेका छौँ । विश्वमा त्यस्ता उपकरण र प्रविधिहरुको विश्वसनीयता बढ्दै गएको छ । मौसम पूर्वानुमान गर्न सत्य तथ्याङ्क चाहिने गर्दछ । त्यसको लागि हामीले जति धेरै मौसमी तथ्याङ्क दिन सक्छौँ त्यति नै राम्रो । त्यो हिसाबले मौसम पूर्वानुमान पनि राम्रो हुँदै आएको छ । 

मौसम पूर्वानुमान दुई किसिमले गर्ने गरिन्छ । पुरानो चलन अनुसार नेपालका विभिन्न ठाउँहरुको मौसमी तथ्याङ्कको कागजमा नक्सा बनाउँछौँ । त्यसपछि त्यसको विश्लेषण गर्ने गरिन्छ । त्यसबाट हावाको प्रणाली, हावाको रफ्तारकाे मापन गरिन्छ । त्यसै अनुसार अबको २४ घण्टामा हावाको प्रणाली कहाँ आइपुग्ला भन्ने हिसाबले पूर्वानुमान गर्ने गरिन्छ । 

तर, अहिले कम्प्युटरमा आधारित रहेर मौसम पूर्वानुमान गर्ने गरिन्छ । यसको लागि हामी विश्वभरिकै तथ्याङ्कहरु कम्प्युटरमा राखेपछि हरेक घण्टामा हुने मौसमी जानकारी लिने गर्दछौँ । त्यसमा हामीले हावाको गति मापन गरेर त्यसको दिशा अनुसार कुन ठाउँमा पानी पर्छ भन्ने कुराको अनुमान गर्ने गर्दछौँ । वायुको गति र दिशाले मात्र पानी पार्छ भन्न सकिँदैन । वायुमा हुने पानीको मात्रा र त्यसको ताप कति छ भन्ने कुरामा पनि ध्यान दिनु पर्ने हुन्छ ।  

वायुमण्डलमा हावा जति चिसो हुन्छ पानी पर्ने सम्भावना पनि उति नै धेरै हुने गर्दछ । त्यसकारण हरेक कुराको मौसमी तथ्याङ्क राखि सकेपछि अबको एक मिनेटमा के हुन्छ, वायुको दिशा कता जाँदै छ, त्यसले कस्तो असर गर्दछ भन्ने कुरा पत्ता लगाउने गरिन्छ । 

यसमा भौतिक विज्ञानका नियमहरु पूरै लागू हुने गर्दछ । हरेक समयको तथ्याङ्कलाई केलाएर अब आउने समयमा कुन ठाउँमा मौसमको प्रणाली कस्तो हुन्छ भन्ने कुरा पत्ता लगाउन सक्छौँ । यो प्रणाली विज्ञानमा आधारित भएकाले नमिल्ने सम्भावना कमै हुने गर्दछ । त्यसै कारण हिजोआज मौसमविद्हरुले भनेका कुरा मिल्ने गरेको छ । 

मौसमी सूचनाको महत्त्व

अहिलेको वर्षामा मौसमविद्हरुले, मौसम पूर्वानुमान महाशाखाले पानी पर्छ भन्ने अनुमान गरेका थिए । पूर्वानुमान गरेपछि महाशाखाले आफ्नाे वेबसाइटमा राख्ने गर्दछ । हामीले ११५५ को टोल फ्री नम्बरबाट वर्षाबाट प्रभावित भएकाहरुलाई एसएमएस मार्फत निःशुल्क मौसमी सूचनाहरु प्रसारण गर्ने गरेका छौँ । अत्याधुनिक प्रविधिको प्रयोग गरेर मौसम पूर्वानुमान हुने गरेको छ । पहिलाको अनुमान भन्दा मिल्दै गएको पनि छ । पछि हुने कुरा पनि पहिले नै थाहा पाउन सकिन्छ । 

मौसमविद्हरुले जानकारी गराउँदा किसानले विश्वास गर्नु भएन र सचेतनाको कमीका कारण यस्तो भएको हो । कृषि विकास मन्त्रालयले मौसमी सूचना प्रणाली भनेर दिनकै मौसम सम्बन्धी सूचना प्रवाह गर्दछ । यसमा गएकाे हप्ताको मौसमी गतिविधिको आधारमा आउने हप्ताको अनुमान गरिन्छ । त्यो अनुसार किसानले के गर्नु पर्दछ भन्ने सूचनाहरु प्रवाह गर्ने गरिन्छ । यसपटक पनि कृषि विकास मन्त्रालयको सूचना प्रणालीले जानकारी गराएको थियो । तर सबै किसानमा यो सूचना पुग्न सकेन । 

हामी अझै पनि मौसममा आधारित कृषि प्रणाली अपनाउने गर्दछौँ । यस्ता महत्त्वपूर्ण सूचनाहरु हामीले पालना गरेको भए हाम्रो ठूलो क्षति हुने थिएन । हामीले मौसमी सूचना पढ्ने, सुन्ने र हेर्ने बानी बसाल्नु पर्दछ । यदि हामी व्यवसायमा लागेका छौँ भने हामीहरुले अझ बढी यस्ता सूचनाहरु हेर्नु पर्ने हुन्छ । सूचना हेरेर मात्र हुँदैन यसको विश्वास गर्नु पर्ने पनि हुन्छ ।

कुनै बेला समस्या पर्न सक्छ । समस्या पर्दा कसलाई सम्पर्क गर्ने भन्ने कुराको पनि ज्ञान हुनु पर्दछ । महत्त्वपूर्ण सम्पर्क नम्बर पनि राख्नु पर्ने हुन्छ । ताकि यस्तो समस्या पर्दा यस्ता नम्बरमा सम्पर्क गर्दा जानकारी पाउन सकिन्छ भन्ने कुरा थाहा पाउन सकिन्छ । 

दमकल र प्रहरीको जस्तै मौसमी सूचना पाउनको लागि हामीले ११५५ मा सम्पर्क गर्न सकिन्छ । यसमा सम्पर्क गरेर मौसमी जानकारी लिन सकिन्छ र त्यसै अनुसार आफ्नाे पेसा व्यवसाय गर्न सकिन्छ । कृषि विकास मन्त्रालय र मौसम विज्ञान विभागको सहकार्यमा कृषि सूचनाहरु प्रवाह हुने गरेका छन । यस्ता कृषि सूचनाहरु जिल्लामा रहेका कृषि कार्यालयहरुमा पुगेका हुन्छन् । त्यस्ता सूचनाहरुलाई इन्टरनेटको माध्यमबाट हेर्न सकिन्छ । 

किसान पनि आफैँ सजग हुनु पर्दछ । भोलिको मौसम के छ भनेर हेर्ने बानी गर्नु पर्दछ । यसले गर्दा मौसम विज्ञान विभागमा आउने गुनासो र सुधार्नुपर्ने कमजोरीहरुबारे थाहा पाउन सकिन्छ । किसानले पनि यस्ता सूचनाहरुको बेवास्ता गर्दा हुने जुन क्षति छ त्यो क्षति कम गर्न सकिन्छ ।

मौसमको प्रणाली सधैँ एकैनासको हुँदैन । सधैँभरि राम्रै मौसम हुन्छ भन्ने हुँदैन । पानी पनि पर्न सक्छ । नेपालमा पनि अहिले त्यस्तै घटना भएको छ । यस्ता घटनाहरुको हामीले आत्मसात गर्नु पर्ने हुन्छ । मौसम पूर्वानुमानबाट आउने सूचनाको विश्वास गर्नु पर्दछ । जसले गर्दा हुन सक्ने नोक्सान रोक्न सकिन्छ । 

बर्सेनि हुने बाढी पहिरोबाट बच्न खोलाको किनारमा बसोबास नगरौँ । खोलाको छेउछाउमा बस्ती नबसाउँ । यसले गर्दा बाढीबाट हुन सक्ने क्षतिबाट हामी जोगिन सक्छौँ । पहाडी क्षेत्रमा घर बनाउँदा भिरालो जग्गामा नबनाउने र पहिरोको जोखिमबारे बुझेर मात्र घर बनाउनु पर्दछ ।

मौसमको बारेमा हुने सबै गतिविधिहरूका बारेमा हामी जानकार हुनु पर्दछ । जल तथा मौसम विज्ञान विभागको सूचनाहरु हेर्नु पर्दछ । टोल फ्रि नं.११५५ मा पनि फोन गरेर सूचना लिनु पर्यो र त्यो सूचनालाई विश्वास गरेर काम गर्दा अहिले जस्तो क्षति भविष्यमा हुँदैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ। 

अहिले मौसमको भविष्यवाणी धेरै मिल्न थालेको छ । केही समय छुट्ट्याएर मौसमी सूचना हेर्ने बानी गरौँ । जसले गर्दा भविष्यमा बदलिँदो मौसमका कारण हुन सक्ने बाढी पहिरो लगायतका घटनाबाट बच्न र बचाउन सक्छौँ।

डा. ऋषिराम शर्मासँगको थप कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस् ।

अन्तिम अपडेट: मंसिर ५, २०७८

डा. ऋषिराम शर्मा

डा. ऋषिराम शर्मा जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वातावरणविद् हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया