बाँदरलाई अलमल्याउन वनमै फलफूल खेती, विज्ञ भन्छन्, ‘यसरी बाँदर नियन्त्रण हुँदैन’

 कात्तिक ८, २०७८ सोमबार १९:५०:३३ | किरण लोहनी
unn.prixa.net

गोरखा – बाँदर नियन्त्रणका लागि गोरखाका सामुदायिक वनले जङ्गलमा वनजन्य फलफूल खेती गरेका छन् । डिभिजन वन कार्यालयको सहयोगमा पाँच वटा सामुदायिक वनले फलफूलका बिरुवा रोपेका हुन् । 

प्रदेश सरकारको ‘फ्रुट फरेस्ट्री मोडल’ कार्यक्रमअन्तर्गत अन्र्तगत गोरखाका पाँच वटा सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो ।

धार्चे गाउँपालिका ५ को गुम्गाङ सामुदायिक वन, बारपाक सुलिकोट गाउँपालिका ६ को सिर्जना सामुदायिक वन, पालुङटार नगरपालिका ९ को दरौँदीडाँडा सामुदायिक वन, गोरखा नगरपालिका १० विरेञ्चोकको टक्सारटारी सामुदायिक वन र सिरानचोक गाउँपालिका ३ को बयापानी सामुदायिक वन समूहले बाँदर अलमल्याउन विभिन्न जातका वनजन्य फलफूल लगाएका हुन् । 

‘हामीले जङ्गलमा फलफूल खेतीका लागि सामुदायिक वनसँग प्रस्ताव आह्वान गरेका थियौँ, बस्तीमा बाँदरले धेरै दुःख दिएका ठाउँ नजिकका सामुदायिक वनलाई प्राथमिकता दिएर छनोट गरिएको हो’, श्रेष्ठले भन्नुभयाे ।  

डिभिजन वन कार्यालयको ८० प्रतिशत र सामुदायिक वन समूहको २० प्रतिशत लगानीमा पाँच वटा सामुदायिक वनले चार हेक्टरभन्दा बढी वन क्षेत्रमा फलफूल खेती गरेका हुन् । वनमा हर्रो, बर्रो, अमला, चिउरी, लप्सी, किम्बु जातका वनजन्य फलफूल लगाइएको सहायक वन अधिकृत महेश पौडेलले बताउनुभयो । 

त्यसका लागि प्रदेश सरकारको वन, वातावरण तथा भू संरक्षण मन्त्रालयले गएको  वर्ष १० लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । फलफूल खेती गरेका वन समूहका लागि ६ लाख ७० हजार रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । ‘जङ्गलमा आहारा नभएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेको बुझियो’, पौडेलले भन्नुभयो, ‘जङ्गलमा फलफूल खेती गरेपछि बाँदर जङ्गलमै अलमलिने विश्वास गरिएको छ ।’ 

यद्यपि अहिले लगाइएको फलफूल हुर्किएर उत्पादन दिन पाँच वर्ष जति समय लाग्नेछ । 

गोरखाका धेरैजसो ठाउँमा बाँदरले बाली खाएर हैरान पार्ने गरेको छ । बाँदर आतङ्क बढी भएका ठाउँका पालिकाले किसानलाई बाँदर धपाउने यन्त्र पनि वितरण गरेका छन् । तर हचुवाका भरमा कार्यान्वयन गरिएकाले यस्ता उपाय प्रभावकारी नहुने विज्ञहरूको भनाइ छ ।

बाँदर नियन्त्रणका लागि विभिन्न तहका सरकारले गरिरहेका यी प्रयासलाई बजेट सक्ने मेसो मात्रै भएको बताउनुहुन्छ, बाँदरबारे अध्ययन गर्नुभएका प्राणी विज्ञ डाक्टर मुकेश चालिसे । ‘बाँदरमात्रै होइन ठाउँअनुसार हरेक वन्यजन्तुको आ–आफ्नो आनीबानी र स्वभाव हुन्छ, पहिले कुन ठाउँका बाँदरले कस्ता खेती खान्छ या नष्ट गर्छ भन्ने अध्ययन हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘विदेशतिरका बाँदर आवाज सुनेर भागे भन्दैमा यहाँ त्यही नक्कल गर्दा पैसा मात्रै खर्च हुन्छ, उपलब्धि हुँदैन ।’ 

चालिसेका अनुसार नेपालमा ठाउँपिच्छे बाँदरको आनीबानी र स्वभाव फरक छ । एउटा हुलमा १०/१२ वटा बाँदर मात्रै दुःख दिने खालको हुने भएकाले त्यस्ता बाँदरलाई नियन्त्रण गरेर चिडियाखानामा राख्ने वा विभिन्न औषधिको परीक्षणमा प्रयोग गर्ने वा उपद्रो गर्ने बाँदरको बन्ध्याकरण गरेर पनि नियन्त्रण गर्न सकिन्छ ।

‘बाँदर बिहान झिसमिसेमै उठ्छ र साँझ अबेरसम्म हिँड्छ, गर्मीयाममा दिउँसो सुत्छ’, चालिसे भन्नुहुन्छ, ‘किसानले साँझ–बिहान बालीनाली लगाइएको ठाउँमा पहरा दिएर पनि बाँदरले गर्ने हानी कम गर्न सक्छन् ।’ त्यस्तै लेकाली काउलो नामको वनस्पति राति बाँदर बास बसेको ठाउँमा लगेर धुँवाउन सकेमा पनि बाँदरले ठाउँ छाडेर जान सक्ने उहाँको भनाइ छ । 

देशैभरका बाँदरको आनीबानीको अध्ययन गरी त्यही अनुसारको नीति बनाइ कार्यान्वयन गर्न पनि प्राणी विज्ञ चालिसेको सुझाव छ ।  

अन्तिम अपडेट: मंसिर ७, २०७८

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया