घुम्ने भिसामा काम गर्न विदेश नजाऔँ, ठगीमा पर्नबाट आफूले आफैँलाई बचाऔँ

 मंसिर २, २०७८ बिहिबार १६:२३:१७ | सुदीप देवकोटा
unn.prixa.net

सामान्यतया भिजिट भिसा भनेको आफ्नो देशबाट अर्को देशमा घुम्न जाने भिसा हो । यो निश्चित समयका लागि हुन्छ । त्यो निश्चित समय पुरा भएपछि घुमेर फर्कने हो । 

तर पछिल्लो समय युवाहरू भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने क्रम एकदमै बढेको छ । भिजिट भिसामा वैदेशिक रोजगारीमा गएर समस्यामा परेर नेपाल फर्किएपछि पिपल फोरममा न्यायका लागि आउनु भएकाहरुको आधारमा भन्नुपर्दा कोरोना महामारीपछि भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउने र समस्यामा पर्ने क्रम बढेको छ ।

कोरोना महामारीको असर गन्तव्य देशमा पर्दा कामको माग पनि कम आउनु र विभिन्न कारण यहाँ पनि श्रम स्वीकृति जारी नभएको अवस्थामा भिजिट भिसामा पठाउने क्रम बढेको देखिन्छ ।

युवाहरू वैदेशिक रोजगारीमा जान चाहने तर माग कम हुँदा उनीहरूलाई भिजिट भिसामा पठाएको देखिन्छ । 

अहिले कोरोनाले कामको माग ल्याउन मिलेको छैन तर उता काम छ, सरकारले पनि श्रम स्वीकृति दिएको छैन भन्ने रहेछन् । म्यानपावर कम्पनीले नै यस्ता कुरा गरेर भिजिट भिसामा पठाएको पनि पायौँ हामीले । 

देशमा रोजगारी नपाउँदा अहिले धेरैजसो युवाहरू रोजगारीका लागि विदेश जान चाहन्छन् । अर्को कुरा चाहिँ देशमा सानोतिनो काम नगर्ने तर विदेश गएर चाहिँ जे पनि गर्छु भन्ने सोचले पनि अहिले युवाहरू विदेश उड्न चाहिँ रहेको देखिन्छ ।

जे गरे पनि विदेश नै गएर गरौँला भन्नेहरू बढेका छन् आजकाल । वरपर, वल्लो पल्लो घरका मानिसको देखासिकी गरेर त्यही अनुसार आफूलाई पनि ढाल्न खोज्नेहरूबाट फाइदा भने एजेण्टहरुले लिइरहेको देखिन्छ ।

उनीहरूलाई राम्रो कुराहरू भन्ने, काम यस्तो छ उस्तो भनेर प्रलोभन देखाउने र भिजिट भिसामा पठाएर उनीहरूलाई समस्यामा परिरहेका छन् । 

कतिपय त हामीकोमा यस्तोसम्म केश आउँछ कि हामी एजेण्टले ठग्छन् भनेर म्यानपावर कम्पनी मै गएका थियौँ तर म्यानपावरले पनि उता गएपछि काम निश्चित हो भनेर पठायो । विश्वास गरियो पनि भन्नुहुन्छ कतिपयले । 

अहिले कोरोनाले कामको माग ल्याउन मिलेको छैन तर उता काम छ, सरकारले पनि श्रम स्वीकृति दिएको छैन भन्ने रहेछन् । म्यानपावर कम्पनीले नै यस्ता कुरा गरेर भिजिट भिसामा पठाएको पनि पायौँ हामीले । 

श्रमिकमा जानकारीको अभाव

युवाहरूले पनि म्यानपावर र एजेण्टको यस्तो जाली कुरामा सजिलै विश्वास गरेको पाइन्छ । हामी कहाँ त यस्तो मान्छे पनि आउनुहुन्छ कि नेपाल प्रहरी, नेपाल आर्मीबाट अवकाशप्राप्त व्यक्तिहरू पनि ठगीमा परेर आउनुभएको हुन्छ । उहाँहरूलाई हामी प्रश्न पनि गर्छौँ । तपाईँहरूलाई शङ्का लागेन भन्दा कहीँ पनि शङ्का गर्ने ठाउँ नै दिएन भन्नुहुन्छ । ठगिएपछि मात्र थाहा भयो भन्नुहुन्छ ।

पैसा पनि छ अलिअलि । उहाँहरूलाई समेत एजेण्ट भनौँ अथवा ठग्ने मनसायका व्यक्तिहरूले यसरी काउन्सिलिङ गरेको हुन्छ कि उनीहरूले कतैबाट पनि शङ्का गर्ने ठाउँ हुँदैन । 

त्यसैले मैले भन्ने गर्छु कसैको पनि कुरामा विश्वास गर्नुअघि हजार पटक सोध्नुहोस् । भिजिट भिसामा अर्काको देशमा गएर समस्यामा परियो भने त परिहाल्यो नि ।

हो यो महामारीले देशमा रोजगारी छैन । समस्या छ । सबैलाई कमाउन छ । घर व्यवहार चलाउन परेको छ । तर यहाँ त यस्तो व्यक्तिहरू नि ठगीमा पर्नुहुन्छ कि पढेलेखेको हुनुहुन्छ ।

पैसा पनि छ अलिअलि । उहाँहरूलाई समेत एजेण्ट भनौँ अथवा ठग्ने मनसायका व्यक्तिहरूले यसरी काउन्सिलिङ गरेको हुन्छ कि उनीहरूले कतैबाट पनि शङ्का गर्ने ठाउँ हुँदैन । 

पछिल्लो समय त युरोपका देशको प्रलोभनमा विभिन्न देशमा पठाउने र त्यो देशमा पुगेपछि युरोप छिर्न नसकी फर्केर आउनेहरू पनि पढेका छन् । अर्को भनेको कोरोना महामारी सुरु भएपछि खाडीकै देशमा पनि भिजिट भिसामा पठाउने र अलपत्र पारिदिने बढिरहेको हामीले पाएको छौँ । 

भिजिट भिसामा न्याय पाउन समस्या

भिजिट भिसामा जानुभयो । उता पुगेपछि काम पनि पाउनुभएन । खान बस्न पनि पाउनुभएन । अब गर्ने के त । तपाईँहरू अलपत्र पर्दा पठाउने एजेण्ट त लगभग सम्पर्क विहीन भइसकेको अवस्था हुन्छ । अब समस्या थप तपाईँलाई नै पर्छ । श्रम स्वीकृति नगरी जानुभएको छ । जिम्मेवार कोही पनि हुँदैन । 

त्यस्तो अवस्थामा उद्धार गर्न पनि गाह्रो समस्या हुन्छ । जसोतसो नेपाल त फर्कनुभयो । तर अब यहाँ आएर उजुरी दिन र न्याय पाउन समेत समस्या हुन्छ । 

कतिपयले पैसा पनि हातमा दिनुभएको हुन्छ । त्यो अवस्थामा कुनै प्रमाण हुँदैन । यदि बैङ्कमार्फत नै पठाउनुभएको छ भने पनि त्यसमा वैदेशिक रोजगारीको लागि भनेर नलेख्दा केका लागि पैसा दिएको हो भनेर खुल्दैन ।

यस्तो अवस्थामा श्रमिकको कुरा सुन्दा हो उहाँहरू ठगीमा पर्नुभएको हुन्छ । तर कानुन अनुसार लिङ्क गर्नै गाह्रो हुन्छ । कुनै प्रमाण हुँदैन । कुन आधारमा हामीले जोड्ने, कुन ऐनमा टेक्ने भन्ने समस्या हुन्छ । त्यसैले यदि पैसा हातमा दिँदै हुनुहुन्छ भने पनि वैदेशिक रोजगारीका लागि दिएको हो भन्ने प्रमाण साथमा हुन आवश्यक छ । प्रमाण भएमा मुद्दा लड्दा पनि न्याय पाउने सम्भावना हुन्छ ।

कहिले कहीँ त यस्तोसम्म हुन्छ कि मुद्दा गर्न नै गाह्रो छ । अदालतमै गएर मुद्दा लड्दा पनि उहाँहरूले न्याय पाउने सम्भावना चाहिँ एकदम कम हुन्छ । 

भिजिट भिसालाई नै लिएर हुने ठगीको बारेमा चाहिँ कतै पनि व्यवस्था छैन । भिजिट भिसामार्फत जति ठगी भएको भए पनि सामान्य ठगीको मुद्दामा चलाउने हो विभागले । अर्को विकल्प छैन । पठाउने मानिस यस्ता चतुर छन् कि उनीहरूले एउटा पनि प्रमाण राखेका हुँदैनन् । 

विभागले हेर्ने भनेको वैदेशिक रोजगारी र श्रम स्वीकृति लिएर गएका श्रमिकको हकमा हो । जसमा म्यानपावरलाई उत्तरदायी बनाइन्छ । विभागले वैदेशिक रोजगार बोर्ड र कन्सुलर सेवा विभागसँग पनि समन्वय गरेर न्याय दिलाउने काम गरिरहेको हुन्छ । 

भिजिटमा पठाएर वैदेशिक रोजगारीको ठगी नै रहेछ भने पनि न्याय पाउन समस्या छ । किनकि व्यक्तिले गरेको रहेछ भने मुद्दा जित्दा पनि न्याय नपाउने सम्भावना हुन्छ । 

संस्थागत ठगीमा न्याय दिलाउन पनि अलिक सहज हुन्छ । म्यानपावरको धरौटी  हुन्छ । त्यही धरौटीबाट पनि रकम फिर्ता गर्ने व्यवस्था छ । तर भिजिटमा पठाएर वैदेशिक रोजगारीको ठगी नै रहेछ भने पनि न्याय पाउन समस्या छ । किनकि व्यक्तिले गरेको रहेछ भने मुद्दा जित्दा पनि न्याय नपाउने सम्भावना हुन्छ । 

संस्थागत मुद्दामा विभागले नै मुद्दा लिन्छ र थप प्रक्रिया गर्छ भने व्यक्तिसँग जोडिएका छ भने विभागले अनुसन्धान मात्र गर्छ । थप प्रक्रियाका लागि वैदेशिक रोजगार न्यायाधिकरणमा पठाउँछ । त्यहाँबाट फैसला भएपछि  ठग्ने मानिसको सम्पत्ति देखाएर अदालतबाट भएको फैसला कार्यान्वयनका लागि पीडकको सम्बन्धित जिल्लामा गएर जिल्ला अदालतमा यो सम्पत्तिबाट दिलाइ पाऊ भनेर निवेदन दिनपर्छ ।

उदाहरणको लागि बैतडीको मानिस ठगिएको रहेछ तर उसलाई ठग्ने मानिस चाहिँ पाँचथरको रहेछ भने बैतडीको मानिस कसरी पाँचथर गएर मुद्दा मामिला गर्न सक्छ । यो प्रक्रिया  एकदमै जटिल छ । मुद्दा जिते भन्नको लागि जिते भन्ने हुन्छ । तर पैसा फिर्ता पाउने सम्भावना एकदमै कम हुन्छ ।

श्रमिक आफैँ सचेत हुन जरुरी छ

वैदेशिक रोजगारीमा जाने सही तरिकाबारे अहिले त विभिन्न मिडिया लगायत विभिन्न माध्यममार्फत सूचना प्रवाह भइरहेको हुन्छ । सामी परियोजना अन्तर्गत देशका ३९ जिल्लमा त आप्रवासी स्रोत केन्द्रहरू पनि छन् । यी केन्द्रमार्फत पनि पासपोर्ट बनाउन जाँदाको बखतमा पनि सूचना प्रवाह हुन्छ । तर युवा वर्गले नै ध्यान नदिँदा, लापरबाही गर्दा पनि समस्या हुनसक्छ । 

वैदेशिक रोजगारीमा जानुहुन्छ भने म्यानपावरमा जान जानुहोस् । बुझ्नुहोस् । त्यो सही हो कि हैन, कालो सूचीमा पो परेको छ कि ? आफूले गर्ने काम के हो ? कुन देशमा कुन कम्पनीमा जाने हो भनेर बुझ्न पर्छ । 

 खाडी र मलेसिया जानका लागि १० हजारभन्दा पैसा नदिनुहोस् भन्न चाहन्छु । यदि तपाईँको इच्छाले त्योभन्दा बढी रकम तिरेर जानुहुन्छ भने पनि दिएको रकमको प्रमाण राख्नुहोस् त्यसमा वैदेशिक रोजगारीको लागि दिइएको हो भनेर खुलाउनुहोस् । 

सकेसम्म बैङ्कमार्फत कारोबार गर्नुहोस् । भिजिट भिसामा कामका लागि नजानुहोस् । सरकारी निकायले पनि भिजिट भिसामा हिँडेकाहरूको निगरानी गरोस् ।  

भिजिट भिसामा अर्काको देशमा गएर काम नै पाउनुभयो भने पनि त्यो सुरक्षित हुँदैन । श्रम स्वीकृति लिएर जाँदा तपाईँ कहाँ कुन काममा कुन कम्पनीमा जानुभएको हो भन्ने तथ्याङ्क सरकारसँग हुन्छ । तपाईँलाई केही भइहाले उद्धार समयमा सही तरिकाले हुन्छ । अङ्गभङ्ग भइहालेमा राहत र मृत्यु नै भएमा पनि परिवारले समेत आर्थिक सहायता पाउँछन् । 

बोर्डले निःशुल्क उद्धार गर्छ । म्यानपावरलाई पनि सरकारले उत्तरदायी बनाउँछ । 

रै कमाउने आसमा भन्दा पनि सही सूचना लिएर आफ्नो सीप र दक्षता अनुसारको काममा श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जाऔँ ।

तर भिजिटमा गएर समस्यामा पर्दा नेपाल सरकारले होस् या हामीजस्तो गैर सरकारी संस्थाले होस् न्याय दिलाउन समस्या हुन्छ । 

सरकारले एउटा नागरिक भएका हिसाबले उद्धार नगर्ने भन्ने त होइन तर तपाईँलाई जति सजिलो श्रम स्वीकृति लिएर जाँदा हुन्छ त्यति सजिलो भिजिट भिसामा गएर अलपत्र पर्दा हुँदैन । भिजिटमा गएर अलपत्र पर्नेलाई यो ऐनमा टेकेर उद्धार गरौँ भन्न चाहिँ गाह्रो छ । 

श्रम स्वीकृति लिएर जाँदा पनि कतिपयले त सेल्फ श्रम स्वीकृति गरेर जाने चलन पनि छ । सकेसम्म सेल्फ श्रम स्वीकृति लिएर नजाऔँ । व्यक्तिगत श्रम स्वीकृति गर्दा पनि कुनै अप्ठेरो पर्‍यो भने नेपाल झिकाउन समस्या हुनसक्छ ।  त्यहाँ भने अनुसारको काम र तलब भएन भने को कसलाई भन्ने को जिम्मेवार हुने । त्यसैले यदि म्यानपावर कम्पनीमार्फत गइयो भने म्यानपावर त्यसका लागि जिम्मेवार हुन्छ । उसलाई भन्न मिल्छ ।

कसैको पनि बहकाउमा नलागौँ । छिट्टै अरूको कुरामा विश्वास नगरौँ । अरूसँग तुलना गर्ने, अरू जस्तै बन्न खोज्ने गरेर बहकाउमा विदेश नजाऔँ । धेरै कमाउने आसमा भन्दा पनि सही सूचना लिएर आफ्नो सीप र दक्षता अनुसारको काममा श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जाऔँ ।

अन्तिम अपडेट: मंसिर ६, २०७८

सुदीप देवकोटा

सुदीप देवकोटा पिपल फोरममा आबद्ध अधिवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया