परदेशी अभिभावकले आफ्नो छोराछोरीलाई अर्ति नदिनुहोस्, बरु उनीहरूको मनको कुरा सुन्नुहोस्

 मंसिर ७, २०७८ मंगलबार १५:९:३३ | डा. मिनाक्षी दाहाल
unn.prixa.net

बाध्यताले मानिसलाई अहिले स–साना बालबालिका छाडेर कमाउन परदेशीन परेको छ ।

पछिल्लो समय त पुरुष मात्र होइन महिला पनि बालबच्चा घरमा छोराछोरी कमाउन विभिन्न देशमा पुगिरहनुभएको हुन्छ । तर देशै छाडेर रोजगारीका लागि जाँदा घरमा आफूले छाडेका छोराछोरीको बारेमा पनि ध्यान दिन आवश्यक छ ।

यदि तपाईँ आफ्नो बालबालिका छाडेर जाँदै हुनुहुन्छ भने जानु अघिदेखि नै विभिन्न कुराहरू ख्याल गर्नुपर्छ ।

पूर्व तयारी

बुवा आमाले चटक्कै छोडेर जाँदा बालबालिकाको सोचाइ नै परिवर्तन हुन्छ । त्यसैले हामीले पूर्व तयारी गर्नुपर्छ । जसरी आफू विदेश जानेबारे पहिलेदेखि नै घरका अरू सदस्यसँग कुराकानी गरिन्छ त्यसरी नै आफ्ना छोराछोरीलाई नि यसबारे जानकारी दिनुपर्छ । यदि हामीले यो कुरा छोराछोरीलाई भनेनौँ भने उसले चित्त दुखाउँछ ।

आफूलाई भन्दै नभनी गएपछि दुःख मान्छ । आफूलाई वास्ता नै गरेन भन्ने सोच्छ । ढाँटेर जाँदा बालबालिकाको अभिभावकप्रति विश्वास घट्ने सम्भावना हुन्छ । त्यसैले तपाईँ किन विदेश जान लाग्नुभएको हो, कहिले जानुहुन्छ, कति समय बस्नुहुन्छ प्रस्ट रूपमा उनीहरूलाई पनि बुझाएर जानुहोस् ।  

तपाईँले पहिलेदेखि नै बालबालिकालाई आफू विदेश जानु पर्ने कारण बताउँदै जाँदा बच्चा पनि मानसिक रूपमा तयार हुँदै जान्छ । मेरो आमा या बुवा विदेश जानुहुन्छ म आमा या हजुरआमासँग बस्ने हो भनेर बच्चा आफैँ त्यसका लागि तयार हुन्छ ।

अर्को कुरा तपाईँले आफ्नो बच्चा कसको साथमा छोड्दै हुनुहुन्छ उनीहरूलाई आफ्नो बच्चाको बानी व्यवहार, आचरण, मन पर्ने कुरा, मन नपर्ने कुरा सबैको जानकारी गराउनुहोस् । 

र आमाबुवा दुवै विदेशमा भए पनि भनेर जाँदा कहिलेकाहीँ आमा बुवाको न्यास्रो लागे पनि आफूले आफैलाई बुझाउन सक्छ । नत्र ढाँटेर जाँदा आमाबुबाको न्यास्रो लागेको बेला बच्चाले झन् मन दुखाउँछ । मुखले नभने पनि उसको मनमा मेरो आमा बुवाले मलाई नभनी जानुभयो भनेर मनमा परिरहेका हुन्छ । र त्यसपछि चाहिँ व्यवहारमा फरक पर्न थाल्छ ।

त्यसैले बालबालिकालाई आफूले छाडेर जानुभन्दा अघि नै अब मेरो आमा या बुवा अथवा आमाबुवा मेरो साथमा हुँदैनन् है भनेर तयारी गराउन एकदमै जरुरी हुन्छ ।

अर्को कुरा तपाईँले आफ्नो बच्चा कसको साथमा छोड्दै हुनुहुन्छ उनीहरूलाई आफ्नो बच्चाको बानी व्यवहार, आचरण, मन पर्ने कुरा, मन नपर्ने कुरा सबैको जानकारी गराउनुहोस् । 

प्रत्येक बच्चा फरक हुन्छन् । तपाईँका बालबालिका आफूले चाहेको कुरा मुखले व्यक्त गर्न सक्ने भएको छ भने त ठिकै हो । यदि छैन भने पनि बालबालिकाले आफूलाई आवश्यक परेका कुराहरू विभिन्न माध्यमबाट व्यक्त गरिरहेका हुन्छन् ।

भोक लाग्दा, तिर्खा लाग्दा, पिसाब गर्दा हरेक कुराको उनीहरूले कुनै न कुनै सङ्केत गर्न सक्छन्  । हो त्यस्तो कुराको बारेमा चाहिँ यदि बच्चा बुवासँग बस्दै छ भने बुवाले पनि थाहा पाउनु पर्‍यो । या घरका अन्य सदस्यसँग छ भने उनीहरूले पनि जानकारी पाउन पर्‍यो ।

अर्को कुरा चाहिँ के पाइन्छ भने अभिभावक छैनन् भने बालबालिकालाई बिचरा यसको त बुवा आमा छैनन् भनेर धेरै माया गर्ने, कतिपय कुरामा बेवास्ता गर्ने, बढी ध्यान दिने गरिन्छ । हो ध्यान दिन एकदमै जरुरी छ ।

तर उनीहरूले गल्ती गर्दा, उनीहरूले गरेको गल्तीबाट जोगाउनका लागि  उनीहरू लड्लान्, चोट लाग्ला कि बिरामी होला कि भनेर अति संवेदनशील भएर लाग्दा त्यस्तो बालबालिका विकास चाहिँ प्राकृतिक रूपमा हुँदैन । बालबालिकालाई प्राकृतिक रूपमा बढ्न, लड्न, सिक्न दिनुपर्छ । त्यसबाट नै बालबालिकाले सिक्दै बढ्दै जाने हो । त्यसैले बालबालिका जोसँग छोड्दै हुनुहुन्छ उहाँहरूले यस्तो कुरा एकदमै ख्याल गर्नुपर्छ ।

बालबालिकालाई धेरै माया गर्ने या धेरै बेवास्ता गर्ने काम चाहिँ गर्न भएन ।

परदेश गएपछि के गर्ने ?

बालबालिकाको मनमा मेरो आमाले या बुवाले मलाई माया गर्नुहुन्न भन्ने मनमा पर्‍यो भने ठुलो भएपछि पनि अविश्वासी भन्ने सम्भावना हुन्छ । टाढा हुँदा मात्र हैन साथैमा हुँदा पनि उनीहरूसँग प्रस्ट कुरा गरेनौँ र उनीहरूले भनेको कुराहरू पुर्‍याएनौं भने अविश्वासी हुन्छन् । त्यसैले बच्चासँग कुराकानी गर्न एकदमै जरुरी छ । विदेश पुगेपछि पनि कुराकानी गर्न चाहिँ नछाड्नुहोस् ।

हजुरबुवा हजुरआमालाई किचकिच नगर है भन्दा उसले आफूलाई गाह्रो भएको कुरा हजुरबुवा हजुरआमालाई भन्दैन । बच्चा मन मनै दुःखी हुन्छ तर मुखले भन्न सक्दैन ।

आमा बुवा भएपछि आफ्नो बालबालिकाको बारेमा चिन्ता हुन्छ । राम्रो पढुन्, राम्रो गरुन् भन्ने चाहना हरेक बुवाआमाको हुन्छ । तर यहाँको वातावरण थाहा हुँदैन । बच्चा कुन अवस्थामा छ भन्ने थाहा हुँदैन । त्यस्तो अवस्थामा छोराछोरीलाई फोनमा बोल्दा घरमा भनेको मान है, राम्रोसँग पढ, होमवर्क गर है भनेर सम्झाउँछौँ । 

उनीहरूलाई कस्तो छ, के सोचिरहेका छन्, होमवर्क गर्न मन किन लाग्दैन भन्ने सोध्दैनौँ । अर्थात् हामी अर्ती दिन्छौँ, मनको कुरा बुझ्न चाहँदैनौँ ।  अभिभावकले कहिले पनि यसो गर्नुहुँदैन ।

बरु सोध्नुहोस् । उसलाई के भएको छ । किन खान मन लागेन ? किन होमवर्क गर्न मन लागेन, उसले के चाहिरहेको छ भनेर सोध्ने गर्नुहोस् ।

हजुरबुवा हजुरआमालाई किचकिच नगर है भन्दा उसले आफूलाई गाह्रो भएको कुरा हजुरबुवा हजुरआमालाई भन्दैन । बच्चा मन मनै दुःखी हुन्छ तर मुखले भन्न सक्दैन ।

यस्तो बच्चाहरूमा नकारात्मक धारणाहरू धेरै आउने, आफैंप्रति कमजोर हुने, म केही गर्न सक्दिन भन्ने आत्मबल कमजोर हुने हुन्छ । त्यसैले तपाईँ यदि परदेशी अभिभावक हुनुहुन्छ भने आफ्नो बालबालिकालाई अर्ति नदिनुहोस् । आफू टाढा बसे पनि आफ्ना छोराछोरीको कुरा सुनिदिए मात्रै पनि उनीहरूले एक्लो महसुस गर्दैनन् ।

जहाँ भए पनि आत्मीय तरिकाले कुराकानी गर्नुहोस् । तिमीहरूको लागि विदेशमा दुःख गरिरहेको छु भनेर परदेशको दुःख पनि बुझाइदिनुहोस् । यसो गर्दा बालबालिकाले मेरो बुवा आमा टाढा छन् भनेर महसुस नै गर्न पाउँदैन । 

स्याहारकर्ताले गर्न नहुने कुरा 

बुवा आमा दुवै जना विदेशमा हुँदा बालबालिकाको लागि सबै थोक स्याहारकर्ता हुन्छन् । यसमा हजुरबा हजुरआमा, काकाकाकी, मामा माइजू जो पनि हुन सक्छन् । 

उहाँहरूले यस्तो नगर है तेरो बुवा आमालाई भन्दिन्छु, तेरो बुवा आमाले ठिक पर्छन्, उता कति दुःख गरिरहेका छन् तैँले यसो गर्ने भन्ने गर्छौँ ।

बच्चाले किन त्यसो गरेको छ । उसलाई के पिर परेको छ भन्ने कुरा हामीले बुझ्ने कोसिस नै गर्दैनौँ । त्यसैले जोसँग बालबालिका छ उनीहरूले पनि र अभिभावकले पनि बालबालिकासँग खुलेर कुरा गरौँ । उनीहरूलाई प्रोत्साहन गर्ने खालका कुरा गरौँ । कहिलेकाहीँ उनका बुवा आमाका उदाहरण दिएर हौस्याउने गर्नुपर्छ । 

केही गल्ती गरेमा तिम्रो बाबाले पनि यस्तै गर्नुहुन्थ्यो, तर यसरी सुधार भयो भनेर उदाहरण दिँदा उनीहरू खुसी हुन सक्छन् र त्यो गल्ती फेरि नगर्न सक्छन् । तिमी त कस्तो तिम्रो बुवाजस्तै अथवा आमाजस्तै भनेर उनीहरूलाई दङ्ग पारिदिन पर्छ । 

बच्चाले आफूतिर ध्यान खिच्नका लागि भिन्न बदमासी गर्ने पनि गर्छन् । त्यस कारण उनीहरूजस्तै बनेर, उनीहरुकै लेभलमा बसेर व्यवहार गर्नपर्छ । जस्तै तिमीजस्तै बच्चा हुँदा मलाई पनि यसै गर्न मन लाग्थ्यो भन्यो भने त कुरो मिलिहाल्छ ।

तर डराउने, धम्क्याउने, तिमीले यस्तो बदमासी गर्‍यौँ, पख तिम्रो बुवा आमालाई भनिदिन्छु भनेर डराउने, अर्ति उपदेश दिने गर्न थाल्यो भने बालबालिका बुवा आमा र स्याहारकर्तासँग पनि टाढिन थाल्छ । उनीहरूलाई जतिसक्दो बुझ्ने कोसिस गर्नुपर्छ ।

तिम्रो आमा यस्तो कारणले पो जानु परेको हो त विदेश । तिमी पनि भोलि पर्सी पढेर लेखेर यस्तो हुन्छौ भनिदिने । उनीहरूलाई हौसला प्रदान गर्ने, उदाहरण दिने । उनीहरूको चाहनाहरू बुझिदिने गर्नुपर्छ । 

बाबाजस्तै बोल त भनेर बोल्न लगाउने, आमाजस्तै हिँड त भनेर अभिनय गर्न लगाउने, आमाको लुगा लगाएर आउन न त भन्ने, बुवाको लुगा लगाऊ भन्यो भने यसले उनीहरूलाई आमा बुवाको न्यास्रो पनि मेटिन सक्छ ।

आजकाल त भिडियोमा कुराकानी हुन्छ नि जहाँ भए पनि आमाबुवासँग । कहिले काहीँ भिडियोमा कुरा गर्दा पनि बच्चा बोल्न सक्दैन । हेर्छ तर बोल्दैन । त्यस्तो बेलामा जोसँग बच्चा छ उसले सहजीकरण गरिदिने । उसको बारेमा राम्रो राम्रो कुरा सुनाइदिने । नराम्रो कुरा बुवा आमालाई नसुनाइदिने गर्नुपर्छ ।

बुवा आमाप्रति आफ्नो नराम्रो कुरा पुगोस् भन्ने बच्चाले चाहँदैन र ठुलो मानिसले पनि त्यसो गरिदिनु हुँदैन ।

आमा बुवाको याद आयो भने कहिलेकाहीँ बच्चा रुने, ठुस्स परेर बस्ने वा जिद्दी गर्ने गर्न सक्छन् । कतिपयले बुवाआमाको लुगाहरू समात्छन् । किनभने बुवाआमाको एउटा बास्ना हुन्छ के बच्चामा । जस्तै आमाको एउटा बास्ना बच्चाले ठुलो हुँदासम्म पनि पाउँछ । त्यस कारण यस्तो अवस्थामा बच्चालाई गीत गाउन लगाउने, कथा भन्न, चित्र बनाउन, खेल खेल्न अथवा उसले के मा रुचि राख्छ, आफ्नो कुराहरू कसरी व्यक्त गर्छ त्यो कुराहरूलाई गर्न लगाउन सकिन्छ ।

बाबाजस्तै बोल त भनेर बोल्न लगाउने, आमाजस्तै हिँड त भनेर अभिनय गर्न लगाउने, आमाको लुगा लगाएर आउन न त भन्ने, बुवाको लुगा लगाऊ भन्यो भने यसले उनीहरूलाई आमा बुवाको न्यास्रो पनि मेटिन सक्छ ।

तर खालि यो त रोई मात्र रहन्छ, बुवाआमाको कुरै गर्न नदिने गर्नु हुँदैन । जति कुरा गर्न नदिए पनि भित्र मनमा त भइहाल्छ नि । त्यस कारण यस्तो कुरा त व्यक्त गर्न लगाउनै पर्छ ।  केही खान मन छ भनेर सोध्ने गर्नुपर्छ । आज आमाको वा बुवाको याद आयो ? भनेर सोध्ने गर्नुपर्छ ।

बच्चाले यसो गरेमा चिन्ता लिनुहोस्

बालबच्चा छाडेर परदेश जाँदा साना साना कुरामा पनि ख्याल त गर्नुपर्छ । तर बच्चाले एकदमै सुत्न गाह्रो मान्ने, खाने कुरा पनि धेरै खाने या थोरै खाने, टोलाएर बस्ने, एक्लै बस्ने, लगातार नखाने, खाने बेलामा अरू खालको हाउभाउ देखाउने, बाटो हेरेर टोलायो भने तपाईँले चिन्ता लिन पर्छ । यस्तो बेलामा परामर्शको आवश्यकता पनि पर्न सक्छ ।

आमाबुवाको क्षतिपूर्ति त के ले पूरा गर्छ र । तर उनीहरूलाई सम्झाउने, परामर्श गर्ने गरियो भने पनि यस्तो समस्याको समाधान चाहिँ हुन्छ ।

सधैँ फोन गर्न भ्याउनुभएन भने पनि कुन समयमा कहिले भ्याउनुहुन्छ त्यो समय भन्नुहोस् र त्यही समयमा कुरा गर्ने गर्नुहोस् । यसो गर्दा बालबच्चा ढुक्क हुनसक्छ ।

किशोरावस्थाका बालबालिका छन् भने 

किशोरावस्थाका बालबालिका छन् भने त अभिभावक अझ सजग सचेत हुनुपर्छ । त्यति बेला उनीहरूको शारीरिक परिवर्तन भएसँगै, सोचाइमा पनि परिवर्तन भइरहेको हुन्छ । यस्तोमा उनीहरूले आफूमा फरक देखिएका कुराहरू सुनाउने मान्छे खोजिरहेका हुन्छन् । यस्तो अवस्थामा घरपरिवारको सदस्यले उनीहरूको कुरा बुझिदिनुपर्छ । थाहा नभएको कुराको बारेमा बनाइदिनुपर्छ । 

कमाउन गाह्रो छ भनेर भन्दिने । माग्नासाथ पैसा उपलब्ध नगराउने । उनीहरूसँग आवश्यकता के हो भनेर बुझ्न पर्छ । यसो गर्दा बच्चा बिग्रनेभन्दा पनि सही बाटोमा लाग्न सक्छ ।

यो उमेरमा बालबालिकाले घरबाट पैसा माग्ने, डुल्न जाने गर्न थाल्छन् । अभिभावकले पनि आफू टाढा भए पनि छोराछोरीलाई अभाव नहोस् भनेर मागे जति पैसा पठाइदिने वा दिन लगाउने गर्नुहुन्छ । 

तर पैसाले अभिभावको स्थान लिँदैन, त्यसले झन् बिगारिदिन्छ । विशेष गरेर किशोरावस्थामा छोराछोरीले पैसा मागेमा किन माग्यो, त्यो पैसाले के गर्छ, कसको सङ्गत गरिरहेको छ भन्ने कुरा बुझ्नु अभिभावकको दायित्व हुन आउँछ । यो कुरा बाहिरबाट भन्दा पनि आफ्नो छोराछोरी स्वयंबाट बुझ्नुपर्छ । अरूसँग सोध्ने भन्दा पनि छोराछोरीसँगै सोध्न पर्छ । 

पैसा लगायत अरू केही माग गरेमा के चाहिएको हो, किन चाहियो भनेर पनि बुझ्नुपर्छ । 

उनीहरूलाई सम्झाउनका लागि आफू रहेको देशमा त बालबालिकाहरूले यसरी पैसाको बचत गर्दा रहेछन्, यस्तो यस्तो काममा मात्र खर्च गर्दा रहेछन् भनेर त्यहाँका सकारात्मक कुराहरूको उदाहरण पनि दिन सक्नुहुन्छ । 

यसो गर्दा बच्चाहरूलाई म पनि यसो गर्छु नि भन्ने धारणाहरू आउन सक्छ ।  कमाउन गाह्रो छ भनेर भन्दिने । माग्नासाथ पैसा उपलब्ध नगराउने । उनीहरूसँग आवश्यकता के हो भनेर बुझ्न पर्छ । यसो गर्दा बच्चा बिग्रनेभन्दा पनि सही बाटोमा लाग्न सक्छ ।

 दाहालसँग कार्यक्रम देश परदेशका लागि सन्जिता देवकाेटाले गर्नुभएकाे कुराकानीमा आधारित ।

अन्तिम अपडेट: पुस ३, २०७८

डा. मिनाक्षी दाहाल

डा. मिनाक्षी दाहाल प्रारम्भिक बाल विकास विज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया