‘दुबई घुम्न गएको थिएँ, आफ्नै ठाउँका युवा अलपत्र भेटेपछि उद्धार गरेँ’

 मंसिर ९, २०७८ बिहिबार ११:४५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

नितेन्द्र प्रसाद साह/ मेयर, बहुदरमाई नगरपालिका, पर्सा ।

यसपालिको दसैँमा साथीहरूले दुबई घुम्न जाऊँ भने । साथीहरूको आग्रह अनुसार म पनि दुबई घुम्न गएँ ।

जाने बेलामा मेरो एक जना साथीले ‘ट्राभलिङ टू दुबई’ लेखेर फेसबुकमा मसहितको फोटो हालेको रहेछ । त्यो फेसबुक पोस्ट मेरो वडाका केही युवाहरूले देखेछन् । 

यूएईको भोलिपल्ट त ह्वाट्सएपमा लगातार म्यासेज आउन थाल्यो । ‘हाम्रो छोराछोरी त्यहाँ अलपत्र छन् मेयरसाब लिएर आइदिनुस्’ भन्दै मेरो गाउँका मानिसहरूले रुँदै गुहार गरेको भिडियो पनि मलाई पठाए । 

फेसबुक पोस्ट देखेपछि उनीहरूले मलाई म्यासेज गरेका रहेछन् । मैले पनि हुन्छ तपाईँहरूको मानिसलाई जसरी पनि म यहाँ भेट्छु मलाई सबै विवरणहरू दिनुहोस् भनेँ ।

गाउँबाट मलाई दुबईमा अलपत्र परेका युवाहरूको नम्बर उपलब्ध गराए । मैले उनीहरूलाई सम्पर्क गरेर लोकेसन मगाएर र हामी सँगै घुम्न गएका अरू दुई तीन जना साथी र म उनीहरूलाई भेट्न गयौँ । 

त्यहाँ उनीहरू बसेको ठाउँमा पुग्दा त अवस्था यस्तो दर्दनाक रहेछ कि ​मनै दुख्ने खालको । 

खान पनि नदिने रहेछ । धेरै जना एकै ठाउँमा बस्दा रहेछन् । ज्यान चाहिँ जोगाएका तर अरू त बिजोग रहेछ । मैले सबै कुरा सोधपुछ गरेर उनीहरूलाई चिन्ता नलिन भनेँ । तर उनीहरू त रोएर हामीलाई पनि तपाईँसँगै नेपाल लैजानुस्, हामी पनि तपाईँसँगै नेपाल जाने भन्न थाले । 

अब यो काठमाण्डौ हैन, जान मिल्दैन । सबै प्रक्रिया मिलाउन पर्छ भनेर उनीहरूलाई सम्झाएँ । उनीहरू सात जानको म जसरी पनि उद्धार गर्छु भनेर आश्वासन दिएँ । यता उनीहरूका घरका मानिसले पनि मलाई लगातार म्यासेज गरिरहेका थिएँ । मैले उनीहरूको परिवारलाई पनि फोटो पठाएँ र तपाईँहरूको मानिसको उद्धार गर्छु भनेर विश्वस्त पारेँ ।

तर साथमा पासपोर्ट पनि छैन । भिसा पनि सकिएको छ भन्ने कुरा गरे युवाहरूले । मैले त्यहाँ घुम्नका लागि लगेको एक हजार यूएई दिर्हाम पनि उनीहरूलाई नै दिएँ । यही पैसाले यसो खाने व्यवस्था गर्दै गर्नु म तिमीहरूको उद्धारको प्रक्रिया गर्छु भनेर त्यहाँबाट फर्किएँ ।

साथमा पासपोर्ट नै नभए नभएपछि कसरी उद्धार गर्ने भन्ने भयो । मेरो एक जना साथी दुबई मै इन्जिनियर थिए । मैले त्यो साथीको पनि सहयोग लिएँ र बङ्गलादेशी एजेण्टबाट पासपोर्ट फिर्ता लिएँ । 

म त नेपाल फर्किएँ । थप प्रक्रियाको लागि ती साथी म जुन ट्राभलबाट घुम्न गएको थिएँ त्यो ट्राभलको पनि सहयोग लिएँ । 

टिकट काट्नदेखि त्यहाँ तिर्न पर्ने जरिवानाको लागि पनि मैले यताबाट पैसा पठाइदिएँ । सबैको सहयोगमा उहाँहरू दसैँपछि घर फर्कन्न सफल हुनुभयो । 

उहाँहरूको उद्धारमा लागेको खर्चको विवरण मैले नगरपालिकाको कार्यालयमा बुझाएको छु । नगरपालिकाले नै त्यो खर्चको व्यवस्थापन गर्नेछ । 

उहाँहरूलाई पठाउने सिराहाको एजेण्ट रहेछन् । उनीसँग पनि मैले रकम फिर्ता गरिदिन भनेर भनेको छु । उनले रकम फिर्ता नगरे थप कारबाहीका लागि पनि प्रक्रिया अघि बढाउन युवाहरूलाई सहयोग गर्नेछु ।

(मेयर साहसँग कार्यक्रम देश परदेशका लागि गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत ४, २०७८

तपाईको प्रतिक्रिया