संसदमा प्रमुख प्रतिपक्षीले अर्काको कुरा नसुनेकाे भन्दै सांसद म...
जेठ १४, २०७९ शनिबार
सुर्खेत – कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सार्वजनिक ठाउँलगायतका ठाउँमा धेरैले मास्क नलगाएको पाइए पछि जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को आयोजनामा शनिबार ‘तपाईको मास्क खोई ?’ अभियान सुरु गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा अभियान सुरु गरिएको छ । मुख्यमन्त्री शाहीले नागरिकहरुलाई कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन आग्रह गर्नुभयो । साथै उहाँले खोप केन्द्रहरुमा गएर खोप लगाउन पनि आग्रह गर्नुभयो ।
कोरोना तेस्रो लहर सुरु भएसँगै सुर्खेतमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ । सुर्खेतमा पाँच सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो तीनचार दिनमा कोरोना संक्रमण दर उच्च देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अनुगमनका क्रममा मास्क नलगाएको पाइए पछि ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरिएको बताउनुभयो । उहाँले कोरोनाको जोखिम उच्च रहेकाले सर्तकता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कोरोना संक्रमण तीव्र फैलिएको छ । तर जनस्वास्थ्यका मापदण्ड पालना गरेको देखिएन । मास्न नलगाउने, दुरी कायम नगर्ने र भिड गर्ने देखिएपछि हामीले यो अभियान सुरु गरेका हौँ ।’ उहाँले आज मात्रै निःशुल्क मास्क वितरण गर्नुका साथै सूचना गरे पनि भोलिदेखि मास्क नलगाउनेलाई कार्बाही गरिने जानकारी दिनुभयो । उहाँले प्रशासनले जनस्वास्थ्यका मापदण्ड पालना गर्न सूचना प्रकाशित गरेर आग्रह गरिएको बताउनुभयो ।