कोरियाबाट फर्केर महामारीमै थालेको ‘लिटल फरेष्ट’मा मग्न मनकाजीको मन

 फागुन ५, २०७८ बिहिबार १७:३३:३३ | सन्जिता देवकोटा
unn.prixa.net

दाङ – घोराहीका मनकाजी बुढामगरको बाल्यकालदेखि १२ कक्षा पढ्दासम्म मन मस्तिष्कमा लाहुरे बन्ने हुटहुटी थियो । तर बाल्यकालदेखि साँचेको लाहुरे बन्ने सपना समयले बदल्दियो । 

बाल मनस्थितिले लाहुरे बन्ने सपना देख्थ्यो । अलिक बुझ्ने हुँदा, गाउँका अरूले रोजेको गन्तव्य अमेरिका जाने सपना बुन्नुभयो उहाँले पनि । बिहेपछि भने श्रीमान् श्रीमती दुवैको एउटै सपना अस्ट्रेलियामा सेटल हुने थियो । 

तर ‘सपना त सपना हो बिपनीमा रित्ती हाल्छ ।’ 

लता मंगेशकर र रामकृष्ण ढकालले गाएको बाचँन्जेलीलाई बोलको गीतको यो लाइनजस्तै भयो मनकजीका यी सपना पनि ।

बिपनीमा मनकाजीले कोरियामा पाँच वर्ष पसिना बगाउनुभयो । अहिले आफ्नै ठाउँ घोराहीमा लिटल फरेष्ट क्याफे खोलेर सुन्दर भविष्यको सपना बुनिरहनुभएको छ उहाँ ।

सपना – बिपना

मनकाजीले कमाउने बाटो खोजिरहेको बेला गाउँका दाइहरू अमेरिका जान थालेका थिए । लगानी निकै लाग्छ तर अमेरिका पुगेपछि आफ्नो मात्र होइन परिवारकोसमेत भविष्य बन्छ भन्ने लहर चलेको थियो गाउँमा । 

तर अमेरिकाको सपना पूरा गर्न लगानी पनि ठूलाे लगाउन पर्ने थियो । जुन कुरा मनीकाजीको परिवारको लागि आकाशको फल सरह थियो । 

‘हाम्रो परिवारले त्यति ठूलो लगानी गर्न सक्ने अवस्था थिएन, त्यसपछि मैले अमेरिकाको सपना पनि छाडेँ’ मनकाजी भन्नुहुन्छ ।

त्यसपछि मनकाजीको बाटो मोडियो कोरियातिर  ।

घोराहीकै केही साथीभाइ र दाइहरूले कोरियन भाषा पढेको थाहा पाउनुभयो मनकाजीले । पैसा तिरेर अमेरिका पुग्न नसके पनि पढेर कोरिया पुग्छु भन्ने अठोटका साथ सिक्न थालेको कोरियन भाषा परीक्षामा मनकाजी सफल पनि हुनुभयो ।

तर भाषा परीक्षामा नाम निस्किए पनि कोरिया जान समय लाग्यो । दुई वर्षसम्म यता न उताको भएर बिताउनु पर्‍यो उहाँले ।

‘दुई वर्षसम्म कुर्दा ठूलै तनाव सहन पर्‍यो, यही केही काम थालौँ भिसा आउला कि भन्ने आस, यसै बस्दा पनि तनाव मात्र हुने’ मनकाजी त्यो पर्खाइ सम्झँदा आज पनि मन खिन्न बनाउनुहुन्छ ।

दुई वर्षको पर्खाइपछि सन् २०१४ मा बल्ल कोरिया उड्नुभयो ।

कोरिया पनि नेपालमा बसेर सोच्नु र त्यहाँ गएर भोग्नुमा निकै फरक लाग्यो उहाँलाई । कम्पनीमा दुई जना मात्र थिए नेपाली । काम गर्ने समयको कुनै सीमा थिएन तर तलब भने कोरिया सरकारले तोकेको बेसिक आधारमा आउँथ्यो । अन्य कम्पनीमा त्यति नै काम गर्दा अरूको तलब मासिक लगभग २ लाख हुन्थ्यो । तर उहाँको मुस्किलले एक लाख रुपैयाँ थियो ।

एक वर्ष काम गरेपछि कम्पनीको सहमतिमा नै उहाँले कम्पनी फेर्नुभयो । परिवर्तन गरेको कम्पनीमा कामको त दुःख थियो तर तलब पनि मेहनत अनुसार आउँथ्यो ।

यही बीचमा नेपाल आउनुभयो मनकाजी । बिदामा नेपाल आएकै बखत घरजम गर्नुभयो । दुई मन एक भए पनि ज्यान भने दुई तिरै रह्यो । मनकाजी बिदा सकिएपछि कोरिया नै फर्कनुभयो । श्रीमती प्रेक्षा पुन भने अस्ट्रेलियाको तयारी गर्नु थाल्नुभयो ।

तस्बिर : लिटल फरेष्ट

दुवैको योजना बिस्तारै अस्ट्रेलियामा सेटल हुने थियो । प्रेक्षाले आईएलटीएसमा राम्रो अङ्कसहित पास गर्नुभयो । आवश्यक प्रक्रियासहित भिसाको आवेदन दिनुभयो । तर भिसा 'रिजेक्ट' भयो ।

‘नम्बर पनि राम्रै आएको थियो, भिसा लागिहाल्छ भन्नेमा हामी ढुक्क थियौँ, तर सोचेजस्तो हुन्थ्यो भने त म लाहुरे नै हुन्थेँ नि हैन’ मनकाजी ठट्टा गर्दै भन्नुहुन्छ ।

अस्ट्रेलियाको सपना टुक्रेपछि मनकाजीलाई लाग्यो ‘अब अरूको देशमा होइन आफ्नै ठाउँमा केही गर्नपर्छ ।

अनि, देशमै केही गर्ने सल्लाह भयो

अस्ट्रेलिया जाने भएपछि नेपालमा केही गर्नपर्छ भन्ने सोच नै थिएन त्यो बेला उनीहरूसँग । तर जब अन्तिम समयमा भिसा 'रिजेक्ट' भयो तब मनकाजीलाई भविष्यको चिन्ताले सताउन थाल्यो । 

अस्ट्रेलियाको भिसा लाग्नासाथ नेपाल फर्कने योजना बनाउनुभएका मनकाजी निराश पनि हुनुभयो । तर सोचेजस्तै सधैँ हुन्थ्यो भने त मानिस किन दुःखी हुन्थ्यो । मनकाजीले आफ्नो भागमा नभएको कुरा खोजेर पाइँदैन भन्ठानेर चित्त बुझाउनुभयो । 

कोरियाको रोजगारी सधैँका लागि होइन र यहाँ भएको कमाइले सिङ्गो जीवन चल्दैन भन्ने पनि थाहा थियो उहाँलाई । तर अर्काको देशमा जाने र उतै आफ्नो संसार बनाउने कुरा आफ्नो बसमा नहुने रहेछ भन्ने कुरा बुझे दम्पतीले । 

त्यसपछि मनकाजीले देशमै केही गर्ने अठोट लिनुभयो । श्रीमती प्रेक्षाले पनि मनकाजीको अठोटमा साथ दिइन् ।

पाँच वर्षको करार सक्काएर मनकाजी घर फर्कने तयारीमा हुनुहुन्थ्यो । कम्पनीमा राजीनामा बुझाएर अध्यागमनको प्रक्रिया थाल्नुभयो । अध्यागमनको प्रक्रिया एक दिन ढिलो हुँदा दुई दिन अघि नेपाल आउने जहाज छुट्यो । त्यसपछि त कोरोना महामारी रोकथामका लागि नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगायो । मनकाजी कोरियामै लगभग चार महिना रोकिनुभयो ।

‘आइतबार अध्यागमन गएर सोमबार नेपाल उड्ने योजना थियो तर त्यही बेला नेपालले उडानहरू रोक्यो, घर आउने तयारी गरेर कामसमेत छाडेको मान्छे म लगभग चार महिना त हल्लिएर बस्न पर्‍यो कोरियामा’ मनकाजी त्यो दुखद क्षण सम्झनहुन्छ ।

तस्बिर : लिटल फरेष्ट

हातमा काम छैन । साथमा भएको पैसा पनि बसेर खाँदा सकिन लाग्यो । संसारभरि कोरोनाको त्रास मात्र । त्यो बेला काम विहीन भएर चार महिना बिताउँदा मनकाजीले परिवारसँग भेट हुँदैन कि भनेर पनि निकै पटक सोच्नुभयो । 

‘घर जानै पाइँदैन कि जस्तो मात्र लाग्ने, तनाव हुने, कम्पनीले काम त गर भनेको थियो तर राजीनामा गरेको मान्छे ’मनकाजी भन्नुहुन्छ ‘त्यो क्षण सम्झँदा त अहिले पनि मन खिन्न हुन्छ ।’

धेरै पटक दूतावास धाउनुभयो । उहाँजस्तै घर आउने टिकट काटेर पनि आउन नपाएकाहरूको समूह नै थियो । लगभग चार महिनाको पर्खाइपछि विदेशमा अड्किएका नेपाली ल्याउन सरकारले उद्धार उडान सञ्चालन गर्‍यो । पहिलो उडानमार्फत मनकाजी नेपाल फर्कनुभयो ।

केही नयाँ गर्ने सोच थियो मनकाजी र प्रेक्षाको । यही गर्ने भन्ने मेसो भने प्रेक्षाको हातमा भएको सीपले दियो । 

प्रेक्षाले अस्ट्रेलियाको तयारी गर्दै गर्दा हिमालयन जाभामा इन्टर्नसीप पनि गर्नुभएको थियो । त्यहाँबाट उहाँले कफी र बेकरी सम्बन्धी सीप लिएकाले त्यही सीपको प्रयोग गर्ने निधो गरे दुवैले ।

‘चिन्ता त आफ्नो ठाउँमा थियो, तर साथ एकदम ठूलो कुरा हुँदो रहेछ, मलाई श्रीमती र परिवारको ठूलाे साथ मिल्यो’ मनकाजी मुस्कुराउँदै भन्नुहुन्छ ‘म कोरिया नगए भए पनि र उनी मेरो साथमा नभएको भए पनि यो सम्भव थिएन ।’

घोराहीमा क्याफे र बेकरी नभएको होइन । कफी र बेकरीका परिकार बेच्ने पनि थुप्रै छन् । तर ती थुप्रैमा आफ्नो पहिचान साबित गर्नु निकै चुनौतीपूर्ण थियो । 

तर उनीहरूले त्यो चुनौतीलाई पनि चिरे । 

‘मैले कोरियामा देखेको थिएँ, त्यहाँ विभिन्न ठाउँमा जाँदा नेपालमा पनि यस्तो बनाउन पाए त जस्तो लाग्थ्यो’ मनकाजी भन्नुहुन्छ ‘मैले त्यहाँ देखेको धेरै कुरालाई यहाँ उतार्ने प्रयास गरेको छु, पारिवारिक वातावरण बनाए जुन कुराको अभाव थियो यहाँ ।’

परिवार नै साथमा भएपछि अरू के चाहियो र । मनकाजीले पनि परिवारहरूलाई नै लक्षित गर्ने निधो गर्नुभयो । 

घोराहीमा क्याफे खोल्ने ठाउँ खोज्नुभयो । कोरोना सङ्क्रमण रोकथामका लागि देशमा लकडाउन भएका बेला मनकाजीले क्याफेको संरचना बनाउनुभयो । क्याफेको संरचना, कफी मेसिन लगायत आवश्यक तयारी गर्दा लगभग ६५ लाख लगानी लाग्यो । साढु दाइ (श्रीमतीको भिनाजु)ले पनि आधा लगानी लगाएका क्याफेमा ।

नाम भने ‘लिटल फरेस्ट’राख्नुभयो । 

लिटल फरेस्ट क्याफेमा रक्सीका आइटम राखिएको छैन । बेकरी र कफी यो क्याफेको विशेषता हो । एक्लै जाँदा होस् या परिवार लिएर जाँदा क्याफेमा पुगिसकेपछि पछुताउन पर्दैन । 

वातावरण शान्त छ । विभिन्न किसिमका लाइट र फूलहरूले क्याफेमा बसेर खानेलाई अझ आनन्दित तुल्याउँछ । बस्ने टेबल र अन्य सजावट त्यहाँ पुग्ने हर कोहीले आफ्नो मोबाइलमा कैद गर्छन् । 

क्याफेमा आउने ग्राहकको फोटो खिचिदिने व्यवस्था पनि छ । जन्मदिन लगायतको आफ्नो विशेष दिन मनाउन आउनेहरूका लागि त्यही अनुसारको सजावट पनि छ । समग्रमा भन्दा 

लिटल फरेस्टले कोरियाका क्याफेहरूको झल्को दिन्छ ।

गएको भदौ ४ गतेदेखि सुरु भएको लिटल फरेस्टले २९ वर्षे मनकाजीलाई उत्साहित बनाएको छ । दाङको घोराही बजारमा रहेको लिटल फरेस्ट अरूभन्दा फरक र पारिवारिक वातावरण भएको उहाँ दाबी गर्नुहुन्छ ।

६ महिनाको अवधिमा ग्राहकबाट मिलेको प्रतिक्रियाबाट सन्तुष्ट हुनुहुन्छ मनकाजी । 

‘यो छोटो समयमा सोचेभन्दा राम्रो भयो, हामीले सुरुवात गर्ने बेलामा घर भाडा र स्टाफ खर्च चाहिँ आफ्नो खल्तीबाट हाल्न नपरोस् भन्ने सोचेका थियौँ’ सन्तुष्ट मुद्रामा मनकाजी भन्नुहुन्छ ‘अहिले भएको व्यापारले साह्रै सानो पो सोचिए छ कि झैँ पनि बनाएको छ ।’

उहाँको क्याफेमा कफी खान आउनेहरू धेरैले दिने एउटा प्रतिक्रिया हो – दाङमा पनि जाभाको स्वादको कफी खान पाइयो ।

अहिले मनकाजीले ११ जनालाई रोजगारी दिनुभएको छ क्याफेमा । मनकाजी र श्रीमती प्रेक्षा पनि बिहानदेखि बेलुकासम्मै खटिनुहुन्छ । बेलुका सरसफाइ गरेर घर पुग्दा त कहिले काहीँ रातको १२ पनि बझ्छ । 

बिहान, दिउँसो र राति नभनी काममा खटिदा मनकाजीलाई कोरियाकै झल्को आउँछ । कोरियामा साहु पनि कामदारहरुसँगसँगै काम गर्थेँ । त्यती बेला मनकाजीलाई लाग्थ्यो – साहु भएर पनि किन काम गरेको होला ।

अहिले आफैँ साहु भएर काम गर्दा मनकाजीलार्ई लाग्छ – काम भनेको काम रहेछ ।

‘जसरी कोरियामा हामीलाई साहुले म तिमीहरूभन्दा फरक हुँ है भन्ने अनुभव हुन दिन्थेनन्, अहिले मसँग काम गर्नेहरूलाई त्यही अनुभव गराउने प्रयास गरिरहेको छु’ मनकाजी कोरियाको अनुभव साट्दै भन्नुहुन्छ ‘आफ्नो काममा आफैँ खट्दाको आनन्द नै छुट्टै छ ।’

तस्बिर : लिटल फरेष्ट

कोरियामा यत्ति नै मेहनत गर्दा पैसा टन्न हुन्छ । तर सन्तुष्टि हुँदैन । साथमा परिवार हुँदैन । हर सुख दुःख एक्लै भोग्नपर्छ । तर आफ्नै ठाउँमा काम गर्दा विदेशको भन्दा पैसा कम भए पनि सन्तुष्टि ज्यादा मिल्ने अनुभव छ उहाँको ।

‘परिवारको साथमा काम गर्न पाइन्छ, काममा जति व्यस्त भए पनि घरमा भएका बुवा आमालाई दिनमा एक पटक भए पनि भेट्न पाइन्छ, त्यो अवसर कहाँ कोरियामा मिल्नु’ मनकाजी भन्नुहुन्छ‘जीवनमा परिवारको ठूलाे महत्त्व हुन्छ, मानिस परिवारबिना कहिले पनि खुसी हुन्छ जस्तो लाग्दैन, म अहिले खुसी छु किनकि मसँग मेरो परिवार छ ।’

काम थालेको भर्खरै भएकाले नाफा घाटा हिसाब नगरेको बताउनुहुन्छ उहाँ । तर अहिले भएको कमाइ सोचेकोभन्दा बढी भएको बताउनुहुन्छ उहाँ ।

क्याफेमा कहिले त बस्ने ठाउँ हुँदैन । बस्ने ठाउँ नै नपाएर मानिसहरू फर्कँदा भने मन खिन्न हुन्छ । त्यसैले अब ठाउँ बढाएर क्याफेलाई अझै ठूलाे बनाउने उहाँको योजना छ ।

कोरियामा ५ वर्ष बस्ने र कमाएको रकम नेपाल फर्किएको केही समयमा सकेर फेरि परदेशीने प्रवृत्ति बढेको देख्दा मनकाजीलाई विदेशमा खुन पसिना गरेर कमाएको रकम सबैले सही ठाउँमा प्रयोग गरुन् भन्ने लाग्छ । 

विदेशमा देश र परिवारसँग टाढा बसेर काम गर्दाको तनाव झेल्नुभन्दा देशमा आफ्नो मानिसको साथमा दुःखसुख गर्नु बेस ठान्नुहुन्छ उहाँ ।

अन्तिम अपडेट: मंसिर १२, २०७९

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया