अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्थाले श्रमिकले कार्यालय धाउन पर्ने बाध्यताको अन्त्य गरेको छ

 जेठ ६, २०७९ शुक्रबार १६:१२:३५ | रमेश अर्याल
unn.prixa.net

आज अर्थात् जेठ ६ गतेदेखि सबै खाले श्रम स्वीकृति पूर्ण रूपमा अनलाइन प्रदान गर्न थालिएको छ । यसअघि गएको माघदेखि पुनः श्रम स्वीकृति र वैशाखदेखि संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाटै प्रदान गर्न थालिसकिएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी हामीले जुन कार्यालयमा धाउन पर्ने, लाइन बस्न पर्ने बाध्यताको अन्त्य गरेका हौँ । अबदेखि व्यक्तिले आफू रहेकै ठाउँबाट श्रम स्वीकृति लिन सक्नुहुन्छ । 

यसरी अनलाइनबाटै सेवा प्रभाव गर्दा कार्यसम्पादन पनि छिटो र सरल रूपमा भएको हामीले अनुभव गरेका छौँ । 

माघभन्दा अघिसम्म बिहान ७ बजेदेखि सेवाग्राहीहरू कार्यालयमा आएर लाइन लाग्नुहुन्थ्यो । त्यो लाइन बेलुका ६/७ बजेसम्म पनि रहिरहन्थ्यो । भिड व्यवस्थापन र लाइन मिलाउनकै लागि ६/७ जना प्रहरी खटिनु पर्ने अवस्था थियो । यस्तो हुँदा कार्यालयको बारेमा पनि विभिन्न किसिमका गुनासाहरू आइरहन्थे । 

यता कर्मचारीलाई पनि तनाव हुन्थ्यो । काम गरौँ सेवाग्राहीलाई बेवास्ता गरेको जस्तो अनि सेवाग्राहीको कुरा सुनौँ काम नहुने समस्या थियो । तर माघ पछाडि जब पुनः श्रम स्वीकृति पूर्ण रूपमा अनलाइनबाट मात्र गर्न थालियो त्यसले पनि केही भिड व्यवस्थापन गर्‍याे ।

त्यसपछि गएको वैशाखदेखि संस्थागत श्रम स्वीकृति पूर्णरूपमा अनलाइनबाट गरियो । र अहिले नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि पूर्ण रूपमा अनलाइनबाट नै भएपछि अब कोही पनि व्यक्तिले श्रम स्वीकृतिको कामका लागि कार्यालयमा धाउनु पर्ने, लाइन लाग्नु पर्ने अवस्था छैन । कार्यालयमा कर्मचारीहरूले पनि शान्त वातावरणमा काम गरिरहनुभएको छ ।

हाम्रो भनाइ चाहिँ तपाईँहरू नठगिनुहोस् भन्ने नै हो । कागजात पुर्‍याएर आवेदन दिनुहोस् । श्रम स्वीकृति लिएपछि मात्र विदेश जाने जहाजको टिकट काट्नुहोस् ।

सेवाग्राही पनि श्रम स्वीकृतिकै लागि भने ताप्लेजुङबाट बस चढेर काठमाण्डौ आउने, होटलमा बस्नु पर्ने, एक दुई दिनमा काम नभए उहाँहरूको खर्च झन् लम्बिने अवस्था थियो ।

तर अहिले बस चढेर काठमाण्डौ आउनुको साटो आफ्नै घरबाट, आफ्नै मोबाइलबाट पनि आवेदन दिन मिल्ने भएको छ । यदि जान्नुभएन भने नजिकको साइबरमा गएर २ ४ सय दिएर काम लगाउँदा उहाँहरूको खर्च र समय दुवैको बचत हुन्छ । 

तर पनि सेवाग्राही अलिकति चनाखो चाहिँ हुनु पर्ने छ । बिमा गर्दा कति रकम लाग्छ, कल्याणकारी कोषमा कति बुझाउन पर्ने हो भन्ने कुरामा चाहिँ जानकार हुन पर्छ नत्र फेरि पनि ठगीमा पर्ने सम्भावना हुन्छ । सहयोगमा नाममा कसैले ठगी गर्न सक्छ भन्ने कुरामा चनाखो हुन आवश्यक छ ।

हाम्रो उद्देश्य भनेको छिटो, छरितो र गुनासोरहित सेवा प्रदान गरौँ भन्ने हो । हामीले कार्यालयबाट अझै सुधार गर्नु पर्ने कुराहरू केही छन् भने सुझाव दिँदा पनि हुन्छ । हाम्रो भनाइ चाहिँ तपाईँहरू नठगिनुहोस् भन्ने नै हो । कागजात पुर्‍याएर आवेदन दिनुहोस् । श्रम स्वीकृति लिएपछि मात्र विदेश जाने जहाजको टिकट काट्नुहोस् ।

आवश्यक कागजात 

अनलाइनमार्फत श्रम स्वीकृति लिनका लागि सबैभन्दा पहिला त वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा जानुपर्छ । त्यहीबाट नै सम्पूर्ण प्रक्रिया अघि बढाउने हो । विभिन्न जानकारी, विवरण र कागजातहरू त्यहाँ अपलोड गर्न पर्छ ।

जसमा अति आवश्यक भनेको राहदानी, भिसा, करार सम्झौता, स्वास्थ्य परीक्षणको प्रमाण, अभिमुखीकरण तालिम लिएको हुनुपर्ने लगायत रहेका छन् । बिमा र कल्याणकारी कोषको रकम जम्मा गरेको हुनुपर्छ । यस्तो रकम पनि अनलाइनबाटै जम्मा गर्न सकिन्छ ।

अब नयाँ व्यक्तिगत श्रम स्वीकृतिकै प्रक्रिया अनुसार श्रम स्वीकृति पाइने भएकाले अबदेखि अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण भने गर्न पर्छ । बाँकी प्रक्रिया नयाँ श्रम स्वीकृति लिँदा जे हुन्छ सबै त्यही नै हुन्छ । 

यसका साथै स्वघोषणा फारम पनि भर्नुपर्छ । म कसैको प्रलोभनमा नपरी, ठगीमा परेको छैन र मैले यहाँ पेस गरेको विवरण सही छन् भन्ने खालको एउटा स्वघोषणा फारम पनि भर्नुपर्छ । घरेलु कामदारको हकमा चाहिँ विदेशमा उहाँले काम गर्ने देशमा रहेको नेपाली दूतावासले कानुन अनुसार गरेको सिफारिसको प्रमाणपत्र पनि हुनुपर्छ । 

यसअघि व्यक्तिगत नयाँ श्रम स्वीकृति लिन वा वैधानिकीकरण गर्न दूतावासबाट र सम्बन्धित कम्पनीबाट भिसा, करार सम्झौता लगायतका कागजात श्रम कार्यालय ताहाचलमा सिधै पठाउँदै आएकोमा अब भने यस्ता कागजात श्रमिकलाई पठाउन पर्ने छ । श्रमिकले नै सिस्टममा अपलोड गर्न सक्नेछन् । 

अब वैधानिकीकरणमार्फत श्रम स्वीकृति भन्ने शब्द हटाइन्छ

यसअघि विभिन्न भिसामा अर्थात् श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा गएका र स्वदेश फर्किएपछि फेरि त्यही देशमा त्यही कम्पनीमा काम गर्न जान चाहनेहरूले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिँदै आउनुभएको थियो । तर श्रम मन्त्रालयको वैशाख ७ गतेको निर्णय अनुसार भने अबदेखि वैधानिकीकरण भन्ने शब्द श्रम स्वीकृति लिँदा रहने छैन ।

उहाँहरूले पनि व्यक्तिगत रूपमा नै श्रम स्वीकृति पाउनुहुन्छ । पहिले वैधानिकीकरणमार्फत श्रम स्वीकृति लिँदा उहाँहरूले स्वास्थ्य परीक्षण र अभिमुखीकरण तालिम लिन पर्दैन थियो । तर अब नयाँ व्यक्तिगत श्रम स्वीकृतिकै प्रक्रिया अनुसार श्रम स्वीकृति पाइने भएकाले अबदेखि अभिमुखीकरण तालिम र स्वास्थ्य परीक्षण भने गर्न पर्छ । बाँकी प्रक्रिया नयाँ श्रम स्वीकृति लिँदा जे हुन्छ सबै त्यही नै हुन्छ । 

बायोमेट्रिक अब अभिमुखीकरण सेन्टरमै 

सन् २०१८ भन्दा अघि श्रम स्वीकृति लिएर जानुभएका कतिपयको बायोमेट्रिक छुटेको हुने रहेछ । उहाँहरूले अहिले पुनः श्रम स्वीकृति लिँदा भने कार्यालयमै आएर बायोमेट्रिक गरिरहनुभएको छ ।

यो सङ्ख्या एकदमै थोरै छ । तर अब नयाँ श्रम स्वीकृति लिँदा भने अभिमुखीकरण तालिम लिने ठाउँमा नै उहाँहरूको बायोमेट्रिक हुन्छ । अहिले त ई पासपोर्ट आइसकेको छ । त्यसमा पनि बायोमेट्रिक हुन्छ । अनि राष्ट्रिय परिचयपत्रमा पनि बायोमेट्रिक हुने हुँदा पछि गएर यो सिस्टम एकीकृत हुँदै जाँदा वैदेशिक रोजगारीमा जानेहरूको बायोमेट्रिक फेरि लिनु पर्ने अवस्था नरहन पनि सक्ला ।

तर अहिलेको हकमा भने पुनः श्रम स्वीकृति लिनेहरूले पहिले बायोमेट्रिक भएको छैन भने कार्यालयमा आउन पर्‍यो र नयाँ लिनुहुनेहरुको अब अभिमुखीकरण तालिम लिने ठाउँमा नै हुन्छ । 

कागजात अपलोड गर्दा ध्यान दिनुहोस्

दिनमा सरदर एक हजार जनाले अहिले पुनः श्रम स्वीकृति लिइरहनुभएको छ । तर कतिपयको कागजात मिल्दैन । कतिपय कागजात नक्कली पनि हुन्छ । यस्तो बेलामा आवेदन अस्वीकृति हुन्छ र सेवाग्राहीले झन्झट खेप्न पर्छ । 

हामी यो यो कागजात नमिलेर तपाईँको निवेदन अस्वीकृति भयो भनेर भन्छौँ तर कतिपयले कारण नै नहेरी फेरि रि–सवमीट मात्र गर्नुहुन्छ । अहिले चाहिँ हामीले यस्तो जसले गर्नुहुन्छ उहाँलाई फोन गरेर वा एसएमएसमार्फत पनि जानकारी दिने गरेका छौँ ।

त्यसैले चाहिने कागजात के हुन् भनेर ध्यान दिन पर्‍यो । कतिपय कागजातहरू दूतावासबाट पनि प्रमाणीकरण गर्नु पर्ने हुन्छ । करार सम्झौतादेखि अन्य कतिपय कागजात कम्पनीबाट इमेल आउनु पर्ने हुन्छ । प्रक्रियागत रूपमा नभएमा आवेदन अस्वीकृति हुन्छ ।

संस्थागत श्रम स्वीकृतिको हकमा म्यानपावर कम्पनीबाट सबै कुरा मिलेर आएको छ भने बढीमा दुई दिन नभए उसै दिन काम सक्ने गरेका छौँ । तर कागजात नै पुगेन र पुर्‍याउन पनि सक्नुभएन भने त चार पाँच दिन पनि लाग्छ सक्छ । 

अर्को कुरा चाहिँ कतिपयले आजै टिकट हुन्छ र आजै मेरो त भरेको उडान छ भनेर आउनुहुन्छ । उहाँहरूको समस्या हामी बुझ्छौँ । तर अनलाइन सिस्टममा उहाँलाई हतार छ भनेर गर्न नमिल्ने अवस्था छ । उदाहरणका लागि उहाँको एक हजार नम्बर हो भने ९ सय ९९ नम्बर नसकी उहाँको काम गर्न सिस्टमले दिँदैन । यस्तो बेलामा समस्या हुन्छ ।

त्यही भएर हामीले भन्ने पनि गरेका छौँ कि कम्तीमा ३ कार्य दिन अघि नै आवेदन दिनुहोस् । कागजात पुगेको छ भने त त्यसै दिन काम भइहाल्छ तर यदि केही पुगेन भने पनि अघि नै आवेदन दिएमा सजिलो हुन्छ ।

 अहिले भनेको हामीले सरदर ३ कार्य दिनमा सबैजसो काम सक्ने नै गरेका छौँ । दैनिक १०/११ सयले त पुनः श्रम स्वीकृति मात्र लिइरहनुभएको छ ।  सबै प्रक्रिया मिलेमा पुनः आजको आजै धेरैको काम हुन्छ । तर कतिपयको कागजातहरू पुगेन भने आजको चाहिँ भोलिसम्म हुनसक्ने भयो ।

संस्थागत श्रम स्वीकृतिको हकमा म्यानपावर कम्पनीबाट सबै कुरा मिलेर आएको छ भने बढीमा दुई दिन नभए उसै दिन काम सक्ने गरेका छौँ । तर कागजात नै पुगेन र पुर्‍याउन पनि सक्नुभएन भने त चार पाँच दिन पनि लाग्छ सक्छ । 

टोकन सिस्टम

टोकन सिस्टम अहिले पनि छ । तर अहिलेको कुरा अलिक फरक छ । पहिले भौतिक रूपमा उपस्थित भएर काम गर्दा चाहिँ जुन दिनको मिति थियो त्यस दिनको लागि मात्र हुन्थ्यो ।

तर अहिलेको अनलाइन प्रविधिमा चाहिँ त्यस्तो हुँदैन । आजको मिति छ र भएन भने त्यसमा भोलि पनि हुन सक्ने भयो । भोलिको काम गर्दा आजको सकिएपछि मात्र भोलिको काम हुन्छ ।

दैनिक लगभग ११ सयको टोकन खुल्छ । तर कहिले काहीँ कतिपयको टिकट नै छुट्ने अवस्था छ भने त रातिसम्म बसेरै भए पनि काम गरिरहेको अवस्था छ । 

टोकन नै नराख्दा पनि हुने हो तर टोकन नराख्दा के बेथिति हुँदो रहेछ भने कहिले एकै दिन एकदमै धेरै मानिसले भरिदिने र कुनै दिन कम हुने हुँदो रहेछ । यस्तो बेला एक महिनापछि उडान भएको मानिसको त ठिकै होला तर कतिपय त भोलि नै उड्न पर्ने पनि हुन्छ यस्तो बेलामा चाहिँ समस्या हुने रहेछ ।

त्यस कारण हामीले टोकन सिस्टम चाहिँ राखेका हौँ । संस्थागत श्रम स्वीकृतिको हकमा टोकनमा कुनै लिमिट छैन । पहिले व्यक्तिगतको हकमा १५० हाराहारी र लिगलाइजेसनको ५० हाराहारी हुन्थ्यो । त्यो टे«न्ड हेर्ने हो भने व्यक्तिगतमा चाहिँ साढे दुई सय जतिको टोकन छ दैनिक अहिले ।

पुनः श्रम स्वीकृतिको चाहिँ सङ्ख्या पनि धेरै भएको हुँदा त्यसमा चाहिँ लिमिट गरिएको छ । दैनिक लगभग ११ सयको टोकन खुल्छ । तर कहिले काहीँ कतिपयको टिकट नै छुट्ने अवस्था छ भने त रातिसम्म बसेरै भए पनि काम गरिरहेको अवस्था छ । 

(कार्यालय प्रमुख अर्यालसँग गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: साउन २२, २०७९

रमेश अर्याल

रमेश अर्याल वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौका कार्यालय प्रमुख हुनुहुन्छ ।

5 Comments

  • BISHNU

    May 21, 2022, 2:01 p.m.

    गर्न त ठीकै गर्नु भएको हो , तर बाहिर नागरिकका समस्या कसले कसरी बुझ्ने ? एक दिनमा कुनै श्रम पनि हुँदैन/कतिजना टिकट अनुसार जान पाएका छैनन् श्रम नभएर ...यस्तो समस्या कसलाई राख्ने हो अनि युरोप जस्तो देशको श्रम किन रोकेको बुझ्न सकिएन ...अब यो कुरा कसलाई सोध्ने? कसरी बुझ्ने ???

  •  0 Reply
  • Anil chhetri

    May 21, 2022, 12:29 p.m.

    मेरो पोल्याण्डको भिसा लागेको १ महिना भैसक्यो / अहिलेसम्म बाहिर सोध्दा व्यत्तिगतको लागि श्रम खुलेको छैन भन्छ , पोल्याण्डको खबर पनि दिनुस न ....पोल्याण्डको व्यत्तिगत श्रम खुल्ली कि बन्द नै छ ??

  •  0 Reply
  • Megh natha bhusal

    May 21, 2022, 9:40 a.m.

    We highly appreciate to you Ramesh Aryal jee You are good sample for organization , you did very very nice work for public .

  •  0 Reply
  • हरि विष्ट

    May 21, 2022, 8:19 a.m.

    उत्कृष्ट कार्य

  •  0 Reply
  • खेमलाल श्रेष्ठ

    May 20, 2022, 5:07 p.m.

    स्वघोषणा फारमको नमुना राख्देको भए अझ उत्तम हुने थियो |

  •  0 Reply

तपाईको प्रतिक्रिया