खाडीदेखि युरोपसम्मको त्यो कठिन यात्रा

 जेठ २९, २०७९ आइतबार ११:८:५१ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रमेश पाण्डेय/हाल, पोर्चुगल ।

खाडीबाट नेपाल फर्किएपछि  फेरि अरब जाने मन लागेन । नेपाल मै केही गरौँ भन्ने मन नभएको पनि होइन । केही समय घर तिरै केही हुन्छ कि भनेर कोसिस पनि गरेँ । तर पहिलादेखि नै परदेशी भएपछि आफ्नै ठाउँमा के गर्ने भन्ने मेसो पाउन पनि गाह्रो हुँदो रहेछ ।

खाडी जानुअघि पनि मैले भारतमा लामो समय नै बिताएको थिए । त्यसपछि खाडी गएँ । त्यसैले पनि होला मलाई समय बिताउन र यहाँको परिस्थितिसँग लड्न कठिन भयो । जति कठिन भए पनि आफ्नो जीवनको बाटो आफै कोर्नु पर्दो रहेछ । समय परिस्थितिसँग आफै लड्नु पर्दो रहेछ । खाडीबाट घर फर्किएपछि यताउता भौँतारिँदा मैले यही कुरा अनुभव गरेँ ।  

मनमा आशा भन्दा बढी निराशा छाउन थाल्यो । चाडै हिम्मत हार्नु हुन्न भन्ने त थियो मनमा । अरूले के भन्लान् भन्दा पनि आफू मनमनै धेरै कुराहरू सोच्थेँ ।  चाहेजस्तो समय र परिस्थिति नहुनु, आफ्नै ठाउँमा केही गर्छु भन्दा मेसो नै नभेटाउनुजस्ता विविध कुराले मेरो सोच फेरिन थाल्यो । नेपालमा कहाँदेखि सुरुवात गर्ने भन्ने छेउ टुप्पो नै नभेटेपछि मेरो दिमागमा पुनः वैदेशिक रोजगारीकै बारेमा सोचहरू आउन थाल्यो । 

समयसँगै मनलाई पनि बदल्न पर्दो रहेछ भन्ने भान भयो । अरब जान्न भन्ने मनमा हुँदाहुँदै पनि भोको पेटले खाना त माग्दो नै रहेछ । त्यसमाथि परिवारको जिम्मेवारी त थियो नै । जब परिवारको जिम्मेवारी काँधमा हुन्छ ।

त्यो बेला आफैँले गरेको बिचार पनि परिवर्तन गर्न गर्न बाध्य भइँदो रहेछ । मन बदलिँदै थियो । खाडीको कुन देशमा जाने भन्ने कुरा पनि सोच्दै थिएँ । यस्तो अवस्थामा एक जना साथीसँग भेटघाट भयो ।  पहिला देखि नै चिनेको हुँदा म उसलाई भरोसा गर्न सक्थेँ ।

उसको कुराहरू म राम्रोसँग सुनेँ ।  मेरा कुरा पनि सुनाएँ । उसले युरोपको कुरा सुनायो । मलाई पनि उसको कुरा चित्त बुझ्यो । खाडी नै फर्कने सोचिरहेको मेरो मनले अब युरोप कल्पन थाल्यो । तर मनमा पूर्ण रूपमा भरोसा भने थिएन ।

उसले पनि मलाई झुटो चाहिँ बोलेको थिएन । उसले म प्रयास गरिदिन्छु, ‘हुन्छ भन्ने निश्चित छैन’ भनेर भनेका थियो । म पनि अलमलमा थिएँ । फेरि पनि कसैको त भरोसा गर्नु प¥यो । म जोखिम मोल्न तयार भएँ । काम भए राम्रै भयो, भएन भने मात्र अरबतिर उड्ने सोच बनाएँ । सपना त ठुलो नै देखेँ । पूरा हुने नहुने कुरामा आफैलाई भरोसा थिएन । त्यस माथि युरोप जाने खर्च सुन्दा काम भइहाले पनि पैसाको जोहो कसरी गर्ने भनेर मनमा चिन्ता सुरु भएको थियो ।

जीवनमा उतारचढावमा पनि सम्हालिएर अघि बढ्न पर्दो रहेछ । घरतिर पनि युरोप जाने कुरोको भरोसा गर्ने कम नै थिए । गरुन् पनि कसरी, हामी जस्तो सामान्य परिवारको मान्छेको लागि युरोपको सपना कल्पना भन्दा पनि ठुलो थियो । 

समय आफ्नो गतिमा थियो । म आफ्नै समस्यामा । घडीको सुई घुम्न छोडेको थिएन । मेरो समय भने घुम्न छोडेको जस्तो लाग्थ्यो । म खुसीको प्रतीक्षामा थिएँ । रात रहे अग्राख पलाउँछ भने झैँ मेरो युरोप जाने प्रक्रिया सुरु भयो । एकैपल्ट खुसी र दुःख सामुन्ने आए । अन्तरवार्ता दिन दिल्ली पुग्नु पर्ने  भयो । म धेरै पल्ट भारत गएकाले मलाई भारत जान गाह्रो थिएन । केही पैसाको जोहो गरेर दिल्ली हानिएँ । 

मनमा खुल्दुली थियो । अन्तर्वार्ता के सोधिएला, मैले जवाफ दिन सकुँला कि नसकुँला, यो अवसर जाने पो हो कि जस्ता कुराहरूको भेल आएको थियो मनमा । 

कतिपय साथीहरू पास नभएको देख्दा म पनि नर्भस थिएँ । मनमा भने धैर्यता बनाई राखेँ । दिल्लीको माहौल एकदम फरक थियो । सबै जना सुनसान बसिरहेका थिए । पुरै सन्नाटा छाएको थियो ।

मेरो नाम बोलाए पछि म भित्र गएँ । सानदार कार्यालय रहेछ । मलाई अन्तर्वार्तामा त्यस्तो अप्ठ्यारो केही सोधिएन । सोधिएका प्रश्नको जवाफ दिएँ ।अन्तर्वार्ता सकिएपछि कार्यालय बाहिर आउँदा चिटचिट पसिना आइरहेको थियो । म रिजल्टको प्रतीक्षामा थिएँ । मेरो प्रार्थना सायद भगवानले पनि सुने । म पास भएँ । अन्तर्वार्तामा पास भएको पेपर हातमा पर्दा मनमा खुसीको कुनै सिमाना नै थिएन । 

दुनियाँ जीतेको अनुभव भयो । आँखामा हर्षका आँसु लिएर नेपाल फर्किएँ । नेपाल आउँदा मलाई हेर्ने सबैको दृष्टि फरक भएको महसुस गरेँ । यो मानवीय स्वभाव हो । जब अप्ठ्यारो पर्छ त्यो समयमा टाढा रहनेहरू पनि समस्याको हल भएपछि नजिक आउँछन् । जे होस् म आफ्नो सपनाको गन्तव्यतिर लम्किरहेको थिएँ । काम त भयो । अब आवश्यकता दामको थियो । काम भएपछि दाम त बुझाउनै प¥यो ।

सरकारको नीति जे भए पनि मोटो रकम नबुझाई युरोप जाने सक्ने अवस्था त छैन नै । मलाई पैसाभन्दा पनि युरोप पुग्ने सपना ठुलो लाग्यो त्यो बेलामा युरोप गएपछि ऋण त तिरिएला भन्ने आशामा म ऋण खोज्न थालेँ ।

यसपालि मलाई ऋण खोज्न अप्ठ्यारो भएन । सजिलै पैसाको जोहो भयो । युरोप जाने भनेपछि सबैले मलाई ऋण दिए । सबैको आशीर्वाद र माया लिएर काठमाण्डौ लागेँ । काठमाण्डौको केही दिनको बसाइपछि सुरु भयो युरोपको यात्रा । 

अनेक बाधा र अड्चन झेल्दै म युरोपियन देश पोर्चुगल पुगिसकेको थिए । अब भने राम्रो होला भन्ने आशा बढेको थियो । मेरो खुसीमा अर्को दुःख सुरु भयो । यो कुनै मानवले दिएको दुःख थिएन । महामारी थियो । जुन कोरोनाको रूपमा तीव्र गतिमा फैलँदै थियो । निराशा छाएको थियो ।

अगाडिको यात्रा कस्तो हुने हो भन्न सकिने अवस्था थिएन । परिवारको सम्झना र भविष्यको चिन्ताले सताइरहन्थ्यो । ऋण सम्झँदा निद्रा लाग्दैन थियो । बल्ल बल्ल खाने बस्नेको जोहो गर्न सकिरहेको थिएँ । 

बिस्तारै कोरोना महामारी कम हुँदै गयो । मलाई कमाउनु थियो । कतिपय साथीहरू कोरोनाको डरले काममा नजाँदा पनि मनमा हिम्मत जुटाएर  काममा गएँ । बाध्यताले  डर र त्रासको बीचमा पनि मलाई काम गर्न हौसाई रहेको थियो । समय र परिस्थितिसँग म लडिनै रहेँ । समय सधैँ एकै रहन्न ।  परिस्थितिजस्तो होस् । हरेस खान नहुने रहेछ ।

आत्मविश्वास भन्ने कुरा ठुलो रहेछ । मैले कठिन परिस्थितिमा पनि आफ्नो आत्मविश्वासलाई डगमगाउन दिइनँ । त्यसको परिणाम होला आज म खुसी छु । त्यो विगतलाई इतिहास सम्झँदै सुन्दर भविष्यको कल्पनामा म युरोपमा दुःख गर्दै छु । 

प्रस्तुति:

नारायण कोइराला/तानसेन, पाल्पा ।

अन्तिम अपडेट: साउन ११, २०७९

3 Comments

  • Ramesh pandey

    June 17, 2022, 3:20 p.m.

    Thank you Lila Raj bro

  •  0 Reply
  • Ramesh pandey

    June 15, 2022, 10:08 p.m.

    Thank you Ujyaalo Online Khabar

  •  0 Reply
  • Lila pandey

    June 15, 2022, 8:21 p.m.

    अति राम्रो जीएवन कहानीको लेख भाइ रमेशको /

  •  0 Reply

तपाईको प्रतिक्रिया