‘मसँग पढेका कति साथी अझै जागिर खोज्दैछन्, गरी खान के को लाज !’

 असार ४, २०७९ शनिबार १३:४२:१६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

भक्तपुरको सृजना नगर बस्दै आउनुभएकी दोलखाकी ३० वर्षीया मुना श्रेष्ठले सफा टेम्पो चलाउन थालेको १२ वर्ष भयो । १२ कक्षासम्म पढ्नुभएकी मुनालाई आफ्ना साथीभाइ, इष्टमित्र कसैले टेम्पो चलाएको देख्ला र केही भन्ला भन्ने कुनै अप्ठ्यारो छैन । उहाँ भन्नुहुन्छ, ‘मसँग पढेका कतिपय अझै जागिर खोज्दैछन् । पढेर मात्रै मान्छेले काम नै पाएका छैनन् । काम गरेर खान मलाई कुनै लाज पनि छैन अप्ठेरो पनि छैन ।’

बिहान पुरानो बानेश्वर ग्यारेजबाट टेम्पो लिएर निस्केपछि उहाँको कहाँ खाने, के गर्ने भन्ने कुराको कुनै टुङ्गो छैन । अनामनगर, पुरानो बानेश्वर, गौशाला रुटमा टेम्पो चलाउने उहाँको दैनिकी बिहान ७ बजे सुरु भएर बेलुका पनि ७ बजेतिर नै टुङ्गिन्छ । 

उहाँको बिहानको खाना खाने कुनै निश्चित समय छैन । समय हेरेर भन्दा पनि रोक्न अलि उपयुक्त ठाउँ लागे त्यहीँ खानुहुन्छ । तर, उहाँको खाना खाने ठाउँ भनेको प्रायः पुरानो बानेश्वर नै हो । श्रेष्ठ भन्नुहुन्छ, ‘ठाउँ नभएर बाटोमै रोकेर खाने हो । कहिले खान खाएर आउँदा ट्राफिकले व्हिल लक लाइसक्या हुन्छ के गर्नु ।’

पेट्रोलको यो महँगीबाट जोगिँदै आउनुभएकी उहाँ टेम्पो ग्यारेजमा चार्जमा राखेर कोठा जानुहुन्छ । टेम्पो रातभरि चार्ज हुन्छ । चार्ज गरेको पाँच सय रुपैयाँ लाग्छ । टेम्पोले पनि रातभरि आराम पाउँछ अनि उहाँले पनि । 

चालकहरूको समस्या भनेकै बिसौनी नहुनु हो । कहाँ रोक्ने, के गर्ने भन्ने कुनै ठेगान छैन । पहिले–पहिले सुन्धारामा रोक्न दिए पनि अहिले बसपार्कमा काठमाण्डौ महानगरपालिकाले 'भ्यु टावर' बनाउन थालेपछि कुन गाडी कहाँ रोक्ने भन्ने टुङ्गो छैन । उहाँ भन्नुहुन्छ, ‘बसपार्क ओर्लिने मान्छेलाई न्यु प्लाजा पुर्‍याइदिएर त भएन । अनि यस्तैमा रोक्यो भनेर ट्राफिकले चिट काट्ने धेरै भैराछ अहिले ।’

एक पटक चिट काटेको पाँच सयदेखि एक हजार रुपैयाँसम्म तिर्नुपर्छ । ‘रोक्ने ठाउँ छैन अनि रोक्यो भनेर चिट काट्छन् । यसरी चिट काटेपछि के कमाउनु’, श्रेष्ठ गुनासाे सुनाउनुहुन्छ, ‘गल्ती भन्दा पनि उनीहरूको के मनस्थिति भइरहेको हुन्छ त्यहीअनुसार पाँच सय, एक हजारको चिट काट्छन् ।’

उहाँको अहिलेको बिसौनी भनेको महाङ्काल मन्दिरको आडमा हो । त्यहाँ पनि रोकिनेभन्दा पनि अर्को टेम्पो आएपछि हिँडिहाल्नुपर्छ । ‘उता पुरानो बानेश्वरको अवस्था पनि यस्तै हो’, मुना भन्नुहुन्छ । 

जेसीआई नेपाल नामक संस्थाले महिलाहरूलाई निःशुल्क टेम्पो चालक तालिम दिएका बेला उहाँले टेम्पो चलाउन सिक्नुभएको हो । त्यस बेला लाइसेन्स लिन पनि खासै अप्ठेरो थिएन । मुना भन्नुहुन्छ, ‘अहिले त एक वर्षमा खुल्ने । छ/सात महिनामा खुल्ने । लिखित दिन पनि झ्याउ छ । त्यस बेला लाइसेन्स लिन गाह्रो थिएन । अहिले धेरै झन्झट छ । त्यो बेला आज फेल भए भोलि फेरि ट्रायल दिन पाइन्थ्यो । कुर्नु पर्थेन ।’

कोठा भाडा ५५ सय रुपैयाँ तिर्ने मुनाकाे अरू यस्तै खर्च गर्दा २०/२५ हजार रुपैयाँ त केही नगरे पनि खर्च हुन्छ । आम्दानी भने हेरी–हेरी दैनिक तीन/चार हजार रुपैयाँ हुन्छ ।  

बिदाको समयमा एक छिन रोकिन पाए पनि अरू बेलामा भने टेम्पो रोकिन नपाएकोमा उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ, ‘यसो एक छिन रोकिएर पेसेन्जर हाल्न पाए पो हुन्थ्यो । खाली कुदेको कुद्यै गर्नुपर्छ । पहिले सुन्धारमा रोक्न दिए पनि अहिले न्युरोड गेटमा सारेको छ । यहाँ पनि ट्राफिकले हजार, हजारको चिट काटिराछ के गर्नु ।’

यस क्षेत्रमा रोक्ने व्यवस्था अनि शौचालयको पनि व्यवस्था भएर टेम्पो चलाउन पाए महिलाहरूलाई सजिलाे हुने मुनाकाे विचार छ । उहाँ भन्नुहुन्छ, ‘महिलाले कमसेकम गरिखान पाउँथे ।’

दिउँसो चिया पानी खान मन लागे पनि पिसाब फेर्न समस्या हुने कारणले पनि उहाँ पानी खानमा त्यति जोड दिनुहुन्न । ‘शौचालयको अभाव नै छ । ठाउँ–ठाउँमा सरकारले व्यवस्था गरे राम्रो हुन्थ्यो’, महानगरको नयाँ नेतृत्वप्रति आशावादी हुँदै उहाँ भन्नुहुन्छ, ‘केही गर्नुहोला । तर, हाम्रो त गाडी रोक्ने ठाउँ नै हुँदैन कहाँ जाने र !’

अहिले धेरै महिलाले टेम्पो चलाउने भएका कारण त्यति अनौठो नलागे पनि कोही–कोही यात्रुले भने महिलाले पनि गाडी चलाउँछन् र भनेर अचम्म मानेको उहाँको अनुभव छ । धेरैजसोले भने महिला भएर टेम्पो चलाएर गरिखाएकोमा धन्यवाद नै दिने गरेको मिठो अनुभव पनि छ मुनासँग । 

केटी मान्छे देखेर जिस्क्याउने भन्दा पनि यात्रुसँग भाडामा विवाद परेको तlतो अनुभव पनि छ उहाँको । पहिले चानचुन पैसा साट्न पाइए पनि अहिले नपाइने कारणले यात्रुलाई फिर्ता दिन नसक्दा विवाद पर्ने गरेको उहाँको भनाइ छ । मुना भन्नुहुन्छ, ‘यति पैसा हैन भनेर कहिलेकाहीँ पेसेन्जरले झगडा गर्छन् । त्यस्तो बेला चुप लागेर हिँड्यो ।’

एक पटक चार्ज गर्दा उहाँको टेम्पोको ब्याट्रीले आठ ट्रिप गर्न पुग्छ । कोही–कोही टेम्पोको भने १० ट्रिपवाला ब्याट्री पनि हुन्छ । ब्याट्रीका बारेमा उहाँलाई खासै थाहा छैन । ‘ब्याट्रीकाे कति पैसा भन्ने पनि थाहा छैन । भ्याट बिल पनि हुँदैन । व्यक्तिले ल्याएर दिने हो । चार/पाँच लाख रुपैयाँ जति भन्छन्, दिनै पर्छ’, उहाँ भन्नुहुन्छ, ‘अब बार्गेनिङ गर्ने कुरा भएन गाडी गुडाउनै पर्छ के गर्नु ।’

विवाहित मुनाले एसएलसी दिएपछि २०६७ सालदेखि नै टेम्पो चलाउन थाल्नुभएको हो । उहाँका श्रीमान् नेपाली सेनामा कार्यरत हुनुहुन्छ । अनि टेम्पो चलाएकोमा श्रीमानको केही गुनासो छ कि भन्दा मुना भन्नुहुन्छ, ‘उहाँको सहयोग छ । काम गर्नुपर्छ भन्नुहुन्छ ।’

उहाँले टेम्पो १५ लाख रुपैयाँमा किन्नुभएको हो । जसमा अग्रिम भुक्तानी भने पाँच लाख गर्नुभएको हो । मुहारमा खुसी अनि गर्वको भावक साथ मुना भन्नुहुन्छ, ‘धेरै तिरिसकेँ । अब केही बाँकी छ । बिस्तारै तिरिन्छ ।’ 

अन्तिम अपडेट: असार १२, २०७९

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • PP Tamu

    June 18, 2022, 9:54 p.m.

    नेपाल मा केही गरिखान पनि गाह्रै छ । यो बैनी ले नहुने काम गरेकै होइननी ! आफुले जानेको-सकेको काम गरि खायकि मा, मलाइ त एक्दमै खुशी लाग्छ । तर पार्किङ र खाने-पिउने र दिशा-पिसाब को कुरा ले अल्लि दुख लाग्यो । हाम्रो देश मा मानव अधिकार भन्ने कुरो, कुन चरा को नाम हो, थाहै छैन र भय पनि नभय जस्तो गर्नी अनि एस्सो कता बाट पोइसो आउँछ, तेतै लागि पर्ने त होनि ! बज्जिया हरु ले महिनावरि तलब र भत्ता पाउदा पनि एति साह्रो लोभी-पापी ! जेहोस, यो बैनी लाई धेरै२ शुभकामना छ । ढुक्क ले गरिखाने हो बैनी ! बिग स्याबास ।

  •  0 Reply

तपाईको प्रतिक्रिया