‘निःशुल्क तालिमपछि व्यक्ति आफैँले उद्योग खोल्न सक्छ’

 असार ७, २०७९ मंगलबार १७:१४:८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

देशमा बेरोजगारी समस्या व्याप्त छ । स्वदेशमा रोजगारीको अभावमा धेरै विदेश गइरहेका छन् । लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले बेरोजगारलाई लक्षित गरेर विभिन्न सीपमूलक तालिम निःशुल्क दिने गरेको छ । तर पनि यस्ता सीपमूलक तालिममा कमैको मात्र रूचि देखिन्छ । यसै सन्दर्भमा केन्द्रका निमित्त कार्यकारी अधिकृत ऋषिराम पंगेनीसँग हामीले कुरा गरेका छौँ ।

लघु घरेलु तथा साना उद्योग केन्द्रमा तालिम लिन के गर्नुपर्छ ? 

लघु घरेलु तथा साना उद्योग तालिम सञ्चालन कार्यविधि छ, त्यसअनुसार नै हामी मान्छे माग्छौँ । त्यसमा के तोकिएको छ भने पहिले त १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्‍याे । कतिपय विषयलाई भने योग्यता पनि चाहिन्छ भने कतिपय विषयलाई चाहिँदैन । जस्तो खाद्य प्रशोधनसम्बन्धी अचार बनाउनका लागि तालिम चाहिएन । 

उद्यमशीलता तालिममा पनि हामी सामान्यतयाऽ योग्यता खोज्दैनौँ । किनकि यो जसले पनि गर्नसक्छ । तर, कम्युटर मर्मत अनि गाडी मर्मत जस्ता तालिमका लागि भने योग्यता चाहिन्छ । किनकि त्यसको सामानको नाम पनि चिन्नुपर्‍याे, पढ्न जान्नुपर्‍याे । तर, योग्यताको कारण नै बाधा भने हुँदैन । यसमा हामीले त्यति ठूलो योग्यता नभएर एसएलसी पास ताेकेका छौँ । कतिपय अवस्थामा लेभल पास गरेका प्रशिक्षार्थी आउँदा अलि समस्या हुन्छ । प्रशिक्षकको समस्या होला तर प्रशिक्षार्थीको खासै समस्या देखिँदैन । 

केन्द्रमा तालिम कहिले खुल्छ ?

बजेट आइसकेपछि हामी उद्यमशीलता तालिम सुरु गर्छाैँ । साउनमा सूचना निकालेर प्रायः हामी भदौदेखि तालिम सुरु गर्छाैँ । सीप विकासको तालिम भने हामी वेबसाइटमा सूचना निकालेर गर्छाैँ । तर, यो तालिम यही समयमा भन्ने तोकिएको भने हुँदैन । तालिम खोलेर वेबसाइट, पत्रपत्रिका तथा केन्द्रमा पनि सूचना प्रकाशित गरेपछि मात्र समय तोकिन्छ । तर तालिमका लागि प्रशिक्षार्थीको सङ्ख्या पनि पुग्नुपर्ने हुन्छ ।

तालिम निःशुल्क हो कि पैसा लाग्छ ?

केन्द्रले तालिम निःशुल्क नै दिन्छ । यसमा सहभागीले एक पैसा पनि तिर्नुपर्दैन । तालिमका लागि चाहिने सामग्री पनि केन्द्रले नै उपलब्ध गराउँछ । सहभागीलाई चिया, खाजाको व्यवस्था केन्द्रले नै गर्ने गर्छ । 

तालिमका फाइदाहरू के–के छन् ?

उद्यमशीलता तालिमपछि व्यक्तिले आफैँ उद्योग खोल्न सक्छ र स्वरोजगारमात्र नभएर अरूलाई पनि रोजगार उपलब्ध गराउन सक्छ । अर्को कुरा भनेको हामीले तालिमपछि दिने प्रमाणपत्र धितो राखेर बैंकबाट २० लाख रुपैयाँसम्मको लघु उद्यम कर्जासमेत पाइन्छ ।

अहिले केन्द्रमा के–के तालिम सुरु भएका छन् ? 

हामीले पाँच किसिमका तालिम गर्छाैँ जसमा अहिले सहभागीले तीन प्रकारका तालिम गरेका छन् । पहिलो भनेको उद्यमशीलता विकास तालिम कार्यक्रम हाे । यसमा उद्यम गर्ने सोचाइ राख्छ तर उद्यम कसरी गर्ने भन्ने थाहा नपाउने मानिसलाई उद्यमशीलता विकास तालिम दिन्छौँ । यो कार्यक्रम हामी काठमाण्डौमा १० दिनको गर्छाैँ । बाहिरबाट माग भएर आउँदा भने सात दिनको गर्छाैँ ।  

उद्यम कसरी सञ्चालन गर्ने, त्यसको नाफा–घाटा कसरी राख्ने, स्रोत कसरी जुटाउने, व्यावसायिक योजना कसरी बनाउने लगायत एउटा उद्यमीका लागि आवश्यक पर्ने आधारभूत किसिमका ज्ञानहरू हामी तालिममा दिन्छौँ । 

अब उद्यमी बन्न चाहने मानिसले आफ्नो आवश्यक्ता, चाहनाअनुसार कुनै विषयको सीप आवश्यक पर्ने उद्योग खोल्न चाहेमा उसले सीपको माग गर्न सक्छ । यस आर्थिक वर्षमा १८ प्रकारका तालिम रहेका छन् । जस्तै: सिलाइ । सिलाइमा पनि दुई प्रकारको हुन्छ । एउटा सामान्य (बेसिक) र अर्को भनेको उच्च (एडभान्स) । जसले जान्दै जानेको छैन उसलाई बेसिक तालिम दिन्छौँ । सामान्य तालिम लिएर व्यवसाय वृद्धि गर्नपर्‍याे भन्नेलाई माथिल्लोस्तरको तालिम हुन्छ । यस्तै ब्युटिसियन, प्लम्बिङ, वायरिङ, कम्प्युटर मर्मत, मोबाइल मर्मत, दुई पाङ्ग्रे मर्मत, चार पाङ्ग्रे मर्मतलगायत १८ प्रकारका सीपसम्बन्धी तालिम हामी दिन्छौँ । 

त्यसबाहेक अरू सहयोगका कार्यक्रम पनि हामी गर्छाैँ । यस वर्ष भने ती कार्यक्रम सञ्चालन हुन सकेन, नयाँ कार्यक्रम भएको हुनाले कार्यविधि आउँदा आउँदै समय लाग्यो । त्योबाहेक कार्यस्थलमा आधारित रोजगारमूलक कार्यक्रम जसमा उद्यमीले आफ्नो उद्योगमा आवश्यकताअनुसार प्रशिक्षार्थीलाई बेरोजगारको रूपमा ल्याउँछन्, त्यो सम्झौता उनीहरू आफैँ गर्छन् र हामीले सरकारका तर्फबाट न्यूनतम तलब उपलब्ध गराउँछौँ । 

सरकारले तलब उपलब्ध गराएबापत उद्यमीले अहिले जुन उद्योगका लागि प्रशिक्षार्थी कामदारका रूपमा तालिम लिन आएका छन्, उनीहरूलाई दुई वर्ष रोजगारी दिन्छु भन्ने सुनिश्चितता गर्नुपर्छ । त्यो सुनिश्चितता पत्र भएपछि हामी कार्यक्रम सञ्चालन गर्छाैँ । यस आर्थिक वर्षमा सञ्चालन हुन नसके पनि आउँदाे आर्थिक वर्षका लागि बजेट आइसकेको छ । 

अघिल्लो वर्ष कतिलाई तालिम दिने लक्ष्य थियो, कतिलाई दिइयो र यस वर्षको लक्ष्य कति हो ? 

अघिल्लो वर्ष हामीले कोभिड–१९ का कारण तालिम दिएनौँ भन्दा पनि हुन्छ । जम्मा एक सय जनालाई तालिम दिइयो । दुई हजार हाराहारीमा हामीले तालिम दिनुपर्ने थियो । यसको सूचना निकाल्ने, टेन्डर आह्वान, प्रशिक्षार्थी छनाेट गर्नुपर्ने हुन्छ । कोभिडका कारण यी सबै गर्न नसकेका कारण तालिम खासै भएन । 

यस पटक १३ सय ५० जनालाई तालिम दिने लक्ष्य छ । अहिले काठमाण्डौमा दुई वटा र विराटनगर तथा चितवनमा तालिम भइरहेको छ । अहिलेको सहभागिता हेर्दा १२ सयभन्दा माथि नै छ । तर, अहिलेका तालिममा उपस्थित भएका व्यक्ति नै प्रमाणपत्र लिने बेलामा अनुपस्थित हुने समस्या छ । यसको कारण के हो भने तालिममा अनिवार्य रूपमा ९० प्रतिशत हाजिर हुनैपर्छ । त्यो भनेको १० दिनको तालिममा नाै दिन उपस्थित हुनैपर्छ । अन्यथा प्रमाणपत्र पाइँदैन । 

तालिम लिएका व्यक्तिलाई रोजगारी उपलब्ध गराउन पनि केन्द्रले केही गर्छ कि ?

हामीले तालिम दिएर हामीले नै रोजगारी दिने खालको कार्यक्रम होइन यो । यो भनेकाे तालिम दिएर सक्षम बनाउने मात्र हो । तालिम दिइसकेपछि व्यक्तिले स्वरोजगार वा रोजगारी प्राप्त गर्छ भन्ने हो । 

अर्कोतिर विदेशबाट आएका सीप लिएका मान्छेलाई पनि अझ केही प्रष्ट भएन भने तिनीहरूलाई पनि तालिम दिने हो । हाम्रो लक्षित समूह भनेको गरिब, पिछडिएको समूह, द्वन्द्व पीडित, महिला, आदिवासी जनजाति हो । यसबाहेक बेरोजगार सूचीमा नाम दर्ता भएका व्यक्तिहरू पर्छन् । यसबाहेक म उद्यम गर्न सक्छु, उद्यम चलाउन सक्छु, मलाई तालिम चाहियो भन्ने व्यक्तिहरू हुन् ।  

थोरै पुँजीले आफ्नै बलबुतामा लघु घरेलु उद्योग चलाओस् र दुई/चार जनालाई रोजगारी देओस् र आफू पनि स्वरोजगार बनोस् भन्ने हाम्रो लक्ष्य हो । 

यहाँहरूको अनुभवमा तालिम लिएकाहरूले कत्तिकाे उद्योग सञ्चालन गर्नुभएको पाउनुभएको छ ?  

धेरै छ । प्रवर्द्धन केन्द्र स्थापना भएको त भर्खर दुई वर्ष भयो । २०७७ सालमा कोभिडको कारण कार्यक्रम नै गर्न सकिएन । २०७८ सालमा पनि कोभिडका कारण थोरै मात्र कार्यक्रम चल्यो तर, लक्ष्य पूरा गर्न सकिएन । अहिले चाहिँ हामी लक्ष्य पूरा गर्ने अवस्थामा छौँ । 

यसभन्दा अगाडि यसको पूर्वज संस्था घरेलु तथा साना उद्योग विभाग, विकास समिति तथा प्रशिक्षण केन्द्रहरू थिए । यिनीहरूले तालिम सञ्चालन गर्ने गरेका थिए । तत्कालीन घरेलु उद्योगबाट तालिम लिएका व्यक्तिहरूले उद्योग सञ्चालन गरेको हामीले प्रशस्त पाएका छौँ । तर, हामीसँग यतिले तालिम लिए अनि यतिले उद्योग सञ्चालन गरे भन्ने रेकर्ड छैन ।  

हामीसँग पहिले यहीँबाट तालिम लिएको हो, अहिले उच्च खालको तालिम चाहियो भन्ने प्रशिक्षार्थीहरू हुनुहुन्छ । 

वैदेशिक रोजगारीमा जानेलाई पनि तालिम दिने गर्नुभएको छ ? 

तालिम दिएर हामी तपाईँहरू विदेश जानुस् चाहिँ भन्दैनौँ । हाम्रो पहिलो प्राथमिकता भनेको स्वदेशमा उद्योग गर्नुस्, स्वरोजगार बन्नुस्, अरूलाई पनि रोजगारी दिनुस्, यहाँको स्रोत साधनको उपयोग गर्नुस् तथा औद्योगिक क्षेत्रमा तपाईँहरूको योगदान राम्रो होस् र सकेसम्म आयातलाई पनि प्रतिस्थापन गर्नुस् भन्ने हो । 

तर, त्यति हुँदा हुँदै पनि सबै उद्यमी बन्न नसक्ने हुँदा यदि विदेश जाने हो र उतै काम गर्ने इच्छा छ भने पनि तालिम लिनुभयो भने कोरा मान्छे गएर त्यहाँ काम गर्नुभन्दा त यहाँ सीप सिकेर गएका मान्छेको तलब त पक्कै बढी हुन्छ । त्यस कारण त्यस्ता मानिसलाई पनि हामीले बेवास्ता गरेका छैनौँ । त्यो पनि लक्षित समुदाय हो ।

तालिमप्रति कत्तिको उत्साह पाउनुभएको छ ?

पहिले घरेलुको कार्यालय जिल्लाहरूमा पनि थियो । अहिले भने यो भर्खरै स्थापना भएको र कार्यालय केन्द्रमा मात्र भएको कारणले हामीलाई तालिम चाहियो भनेर माग्न आउने मान्छे छैनन् । यहीँ बसेका र यसको बारेमा थाहा भएकाहरू मात्र यहाँ आउनुहुन्छ । अहिले नगरपालिका, जिल्लाका उद्योग सङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ र उद्योग परिसङ्घबाट तालिमको माग भएर आउँछ र हामी त्यहीअनुसार जान्छौँ । 

जसले तालिम माग गर्नुभएको छ, उहाँहरू अन्तिमसम्म बस्नुभएको पनि छ, उद्योग पनि चलाउनुभएको छ । उद्यमशीलता तालिम लिनुभएको छ भने उहाँहरूले हामीलाई सीप चाहियो पनि भन्नुभएको छ । तर, जति उत्साह हुनुपर्ने हो, त्यति भने देखिँदैन । हामीले सूचना वेबसाइटमा राख्छाैँ तर कतिपयको त्यहाँसम्म पहुँच नहुन सक्छ । उत्साह नै छैनभन्दा पनि जति हुनुपर्ने हो त्यति छैन । 

हामीले सूचना निकालेपछि तालिम दिन केही समय लाग्छ, त्यो भनेको झन्डै दुई महिना जति । अब दुई महिनाको समयमा व्यक्ति कतै जागिर गर्न वा अरू केही काममा व्यस्त भइसकेको हुनसक्छ । 

अन्तिम अपडेट: भदौ २३, २०७९

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया