एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईलाई

 असार ११, २०७९ शनिबार १२:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एसीसी महिला टी–२० च्याम्पियनसिपको उपाधि यूएईले जितेको छ । मलेसियाको किनरारा मैदानमा आज भएको फाइनल खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो ।

मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य यूएईले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो । यूएईका थिर्था सतिसले ५५ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै खुसी शर्मा १३ रनमा अविजित रहिन् ।

मलेसियाका मास इलिसा, एइसा इलिसा र निक नुरले एक/एक विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको थियो । उसका एन्ना हसिमले अविजित २८ रन तथा नुर अरिनाले २५ रन जोडे ।

वान जुलियाले २० रन बनाइन् । यूएईका इन्धुजा नन्दकुमारले २ विकेट लिइन् । हिजो भएको सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसिया फाइनलमा पुगेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा यूएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

वर्षा बाधक हुँदा नेपाल बाहिरिएको थियो । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश, थाइल्यान्ड, मलेसिया र यूएई हुनेछन् । 

अन्तिम अपडेट: साउन २७, २०७९

तपाईको प्रतिक्रिया