टाेखा नगरपालिकाले स्थानीय चाकुलाई ब्राण्डिङ गर्ने

 असार ११, २०७९ शनिबार १६:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको टोखा नगरपालिकाले यहाँकाे स्थानीय चाकुलाई ब्राण्डिङ गर्ने जनाएकाे छ । ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र टाेखा चाकुकाे लागि पनि निकै चर्चित छ । टाेखाले आगामी वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यस विषयलाई समेटेकाे हाे ।

टाेखाले आउँदाे आर्थिक वर्षकाे लागि हिजाे ११औँ नगरसभामा दुई अर्ब ११ करोड ५६ लाख सात हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । टोखाले नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको सुरक्षाका लागि मुख्य स्थानमा सिसी क्यामरा जडान गर्ने, टोलमा सुरक्षा साइरन जडान गर्ने, ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्ने, नगर प्रहरी परिचालन गर्ने जनाएको छ ।

यसैगरी ‘मेयर उज्यालो’ कार्यक्रमलाई निरन्तरता दिँदै सार्वजनिक चोक, मठमन्दिर, विद्यालय, वडालगायत सबै स्थानमा सडक बत्ती जडान गर्ने, टोखा सांस्कृतिक संरक्षित क्षेत्रभित्रका प्राचीन शैलीका घरलाई संरक्षण गर्ने, मेयर दिर्घायु कार्यक्रमलाई निरन्तरता दिने, उपमेयरसँग बालबालिका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले चालू आवमा सम्झौता भई आवको अन्त्यसम्म कार्यान्वयन हुन नसक्ने योजना तथा कार्यक्रमलाई क्रमागतरुपमा निरन्तरता दिने बताउनुभयो । 

अन्तिम अपडेट: असार १३, २०७९

तपाईको प्रतिक्रिया