काठमाण्डौमा जारकाे सहित धेरै ठाउँकाे पानी दूषित, हैजाको महामारी फैलने जोखिम

 असार १३, २०७९ सोमबार १९:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न नागरिक नै सजग रहनुपर्ने बताउनुभएको छ । 

आज सोमवार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै महाशाखाका निर्देशक दासले हैजाबाट बच्न नागरिक र सरोकारवाला निकाय सजग रहनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिलेसम्म महाशाखाले परीक्षण गरेको तीन ठाउँको पानी प्रदूषित देखिएको बताउनुभयो । उहाँका अनुसार ललितपुरको सानेपा, काठमाण्डाैकाे बागबजार र डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको हाे । 

उहाँले भन्नुभयो, ‘तीनै ठाउँको रिपोर्टमा स्टोर गरेर राखेको पानी प्रदूषित भएको भेटिएको छ । सानेपामा ६२ प्रतिशत पानी प्रदूषित भेटिएको छ । बल्खु र कोटेश्वरको पनि नमुना लिइएको छ, रिपोर्ट आएको छैन । १० वटा नमुना केयूकेएलले लिएको छ तर ठाउँ यकिन छैन । बूढानीलकण्ठ नगरपालिकाले परीक्षण गरेकोमा जार, ढुङ्गेधाराकाे पानी प्रदूषित पाएका छौँ । त्यहाँ १५ प्रतिशत जारको पानी प्रदूषित पाइएको छ ।’

निर्देशक दासले नागरिकले पानी उमालेर तथा क्लोरिन र पियूष हालेर खाएमा पनि हैजबाट बच्न सकिने बताउनुभयो । यसका कतिपय लक्षण नदेखिने भएकाले सामान्य शङ्का लागेमा पनि स्वास्थ्य परीक्षण गराउन उहाँकाे सुझाव छ । 

निर्देशक दासले सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरूलाई तयारी अवस्थामा बस्न पनि भनेको बताउनुभयो । 

अन्तिम अपडेट: साउन २१, २०७९

तपाईको प्रतिक्रिया