परदेशी श्रीमानलाई स्वदेश फर्काउने लक्ष्य पछ्याइरहेकी शोभा

 साउन १२, २०७९ बिहिबार १७:३३:६ | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ – इलामको गोलाखर्ककी शोभा चौहानलाई कुनै बेला घर व्यवहार धानेर दुई चार वटा कुखुरा बाख्रा पाल्नु र बालबच्चाको हेरचाह गर्नु नै ठुलो काम हो जस्तो लाग्थ्यो ।

एक्लैले घर व्यवहार धान्दै कमाउन पनि सक्छन् भन्ने कुरा उहाँको कल्पनाभन्दा पनि बाहिरको थियो । कमाई गर्न कि त परदेश कि त ठूलो सहर नै पुग्नुपर्छ भन्ने सोच्नुहुन्थ्यो । यसरी नै चलेको पनि थियो जिन्दगी ।

तर पैसा कमाउने उपायहरू थाहा पाएपछि भने उहाँको सोच फेरियो । पैसा त जताततै रहेछ, टिप्न पो नजानिएको रहेछ भन्ने भान भयो शोभालाई । मनमा कमाउने हुटहुटी चल्यो ।

भन्नुहुन्छ ‘विदेशको कमाइ मोज मस्तीमा रमाएर होइन रहेछ नि, नेपालमै पनि हामीले गर्न सकिने ठाउँहरू त कति रहेछ, कति ।’

पाँचथरमा खेतीपाती गरेर बिहान बेलुकाको छाक टार्नै धौ धौ भएपछि शोभा र उहाँको श्रीमान् २०६९ सालमा इलाम झर्नुभयो । इलाममा पनि घर व्यवहार धान्न पुग्ने इलम केही नभेटेपछि शोभाले श्रीमानलाई २०७० सालमा रोजगारीकै लागि भनेर यूएई पठाउनुभयो । श्रीमान् परदेश लाग्दा जेठी छोरी ३ महिनाकी थिइन् । इलाम बजार नजिकै गोलाखर्कमा एउटा कोठा भाडामा लिएर बस्नुहुन्थ्यो उहाँ । 

कोठा भाडामा बसेर सबै कुरा किनेरै खाए पनि श्रीमानले परदेशमा कमाएको पैसा बचत गर्न हरदम प्रयास गर्नुभयो शोभाले । श्रीमानकै कमाइबाट नै इलाममा जग्गा किन्नुभयो । बस्ने घर पनि बनाउनुभयो । तर यो आर्जन परदेशीमा बगाएको पसिनाको थियो ।

‘विदेशबाट उहाँले ४० हजार पठाउनुभयो भने १० हजारले घर खर्च पुर्‍याएर ३० हजार चाहिँ बचत गर्थेँ तर बैङ्कमा बचत गरेर मात्र पनि नहुने रहेछ, त्यो पैसा त लगानी गर्नुपर्ने रहेछ, यो कुरा वित्तीय कक्षामा बसेपछि मात्र थाहा भयो’ शोभा वित्तीय साक्षरता कक्षामा बसेपछिको अनुभव साट्नुहुन्छ । 

शोभाको गाउँमा परदेशीका परिवारलाई नै लक्षित गरेर २०७७ सालमा सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत वित्तीय साक्षरता कक्षा सञ्चालन भयो । श्रीमान् परदेशमा भएकाले के चाहिँ सिक्न पाइएला त भन्ने जिज्ञासासहित शोभा पनि कक्षामा सहभागी हुनुभयो । 

कक्षामा बस्न थालेपछि शोभालाई लाग्यो ‘घर व्यवहार चलाउने यो व्यवहारिक कुरा त मैले एसएलसी पढ्दासम्म पनि जानेको थिइनँ ।’

भन्छन् मौसम र मन उस्तै हो । कति बेला बद्लिन्छ पत्तो हुँदैन । वित्तीय साक्षरता कक्षाले शोभाको मन पनि बदलिदियो । शोभालाई एक्लै भए पनि गर्न सक्छु भन्ने मनमा लाग्यो । आफ्नो मनले ठानेपछि असम्भव के नै हुन्छ र । शोभाले मनले ठानेको कुरा गर्नुभयो । 

घरायसी कामबाट व्यवसायतिर

शोभाले घर व्यवहार धान्दै के काम गर्न सकिएला त भनेर मनमनै गम्नुभयो । दिमागमा अनेक ‘आइडिया’हरू आए । तर त्यो बेला शोभाको मनले भनेको एउटै कुरो थियो ‘जे गरे पनि गर्नु तर फाइदा हुने र अरूले भन्दा केही फरक काम गर्नु ।’

पसल त उहाँको गाउँमा जति पनि थिए । चटपटे बेच्नेहरूको पनि कमी थिए । आफ्नो ठाउँमा के कुराको चाहिँ असुविधा छ त भनेर सोच्दै जाँदा दिमागमा कुट्ने पिस्ने मिल नभएको कुराले छोयो । 

‘हाम्रो गाउँमा मिल थिएन, माथि लैजानु पथ्र्यों, अनि मलाई लाग्यो मैले मिल राखे भने त गाउँलेलाई पनि सजिलो हुने, मेरो काम पनि हुने’ शोभा भन्नुहुन्छ ‘मैले त्यसपछि मिल राख्ने निधो गरेँ ।’

परदेशमा श्रीमानसँग सल्लाह गर्नुभयो । शोभाको योजनामा साथ दिनुभयो श्रीमानले पनि । ६५ हजार रुपैयाँ लगानी गरेर शोभाले २०७८ असारदेखि कुट्ने पिस्ने मिल राख्नुभयो । मिलबाट शोभाले सोचेजस्तै भयो । दैनिक ५ देखि ६ सय रुपैयाँ आम्दानी हुन थाल्यो मिलबाट । 

यो कामले शोभालाई आँट र हौसला दियो । गर्यो भने त असम्भव केही पनि रहेनछ भन्ने सोच्नले थप व्यवसाय गर्ने मार्ग देखायो । 

त्यसपछि घिउ र चियापत्त पनि बेच्न थाल्नुभयो । तर पसल राखेर होइन । केही चिनजानका मानिसलाई त्यसअघि पनि शोभाले अलिअलि बेच्नुहुन्थ्यो । त्यही चिनजानलाई बढाउँदै लग्नुभयो । पाँचथरबाट शुद्ध घिउ ल्याउन फुपूका छोराले सहयोग गरे । 

म एक्लै यसरी खट्न सक्दिन भनेर पछि हट्नुभएन । बरु परदेशी श्रीमानलाई जतिसक्दो छिटो आफ्नो साथमा बोलाउँछु भन्ने अठोट लिएर निरन्तर खटिरहनुभयो । 

एक कान दुई कान मैदान भनेजस्तै किन्नेहरूले ‘माउथ पब्लिसिटी’ गरिदिए । उहाँको व्यवसाय फस्टाउँदै गयो ।

‘किन्नेहरूले त्यहाँबाट त राम्रो घिउ पाइन्छ भनेर भनिदिनुहुँदो रहेछ, बिस्तारै मसँग घिउ किन्न आउनेहरू पनि बढ्नुभयो’ शोभा भन्नुहुन्छ ‘गाउँबाट दाइले घिउ पठाइदिनुहुन्थ्यो, मलाई त फोन फोनमै कुरा गरेर घरैमा बसी बसी राम्रो आम्दानी हुन थाल्यो त्यसबाट ।’

शोभाको काम र कमाइको कुरा सुन्दा उता यूएईमा रहेका श्रीमान् पनि हौसिए । आफ्नो मेहनतले परदेशी श्रीमानलाई मिलेको खुसी देख्दा शोभालाई काम गर्ने जाँगर बढ्दै गयो । 

‘तिमीले त्यहाँ त्यसरी काम गरेर कमाउन थाल्यौँ भने त म यहाँ बस्न पर्दैन, म साह्रै खुसी छु, अब यसरी नै म स्वदेश फर्किने बाटो बनाउ भन्न थाल्नुभयो उहाँले पनि, मलाई त मेरो श्रीमानको खुसीभन्दा ठुलो कमाइ के चाहिन्थ्यो र’ शोभा मुस्कुराउँदै भन्नुहुन्छ । 

आँट गरेपछि पुग्छ भन्ने भनाइ छ । शोभाको हकमा पनि यही लागू भयो । शोभाले काममा खट्दा काखे छोरी छ भनेर कुनै सम्झौता गर्नुभएन । म एक्लै यसरी खट्न सक्दिन भनेर पछि हट्नुभएन । बरु परदेशी श्रीमानलाई जतिसक्दो छिटो आफ्नो साथमा बोलाउँछु भन्ने अठोट लिएर निरन्तर खटिरहनुभयो । 

खोरमा कुखुरा र बाख्रा बढाउनुभयो । बारीमा खानलाई मात्र पुग्ने गरी लगाउने गरेको तरकारी खेती बेच्ने गरी रोप्नुभयो । एक मात्र होइन सम्भव भएसम्म आम्दानी गर्ने हर प्रयास गर्नुभयो शोभाले ।

यी सबै काम एक्लैले गर्न सजिलो छैन । तर शोभासँग दुःख नगरी सुखैसँग बस्दा भोग्न परेका अभाव र हैरानीको अनुभव छ । त्यसैले पनि उहाँलाई लाग्छ ‘कामको दुःख होस् तर दुई चार रुपैयाँका लागि तड्पिन नपरोस् ।’

यी सबैबाट शोभाले मासिक १५ हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ ।

शोभा बिहान ३ बजे नै उठ्नुहुन्छ । उज्यालो हुँदा अघिल्लो दिन साँझ मिलमा आएको सबै अन्न कुट्ने पिस्ने काम सक्काउनुहुन्छ । त्यसपछि कुखुरा, बाख्रालाई दानापानी दिनुहुन्छ ।

अनि बल्ल आफ्नो र छोरीहरूका लागि खाजा खानाको व्यवस्था गर्नुहुन्छ । जेठी छोरी स्कुल पठाएपछि अर्को कामको मेलो बल्ल सुरु हुन्छ । अहिले चार वर्ष लागेकी कान्छी छोरी साथैमा बोकेर काममा खटिनुहुन्छ । 

‘बेलुका सुत्ने बेला दिनभरि आफूले गरेका कामबारे यसो सोच्छु, ओहो यत्रो काम कसरी गरेँ हुला जस्तो लाग्छ, तर मनदेखि नै गर्छु भनेर लागेको काम जति नै गाह्रो भए पनि सकिँदो रहेछ’ शोभा आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ ‘सबैभन्दा ठुलो कुरा त रोजगारी रहेछ ।’

अहिले ३५ वटा कुखुरा र ५ वटा बाख्रा छन् शोभाको खोरमा । सिजन अनुसारका तरकारी लगाएर पनि बेच्नुहुन्छ । माग अनुसार चिया र घिउ काठमाण्डौदेखि, ताप्लेजुङ र धरान बजारसम्म पुग्छ । मिलमा पनि दिनमा करिब १० बोरा जति आउँछ कुट्ने पिस्ने अन्न ।

यी सबैबाट शोभाले मासिक १५ हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । 

श्रीमानलाई स्वदेश फर्काउने लक्ष्य

अब शोभाको लक्ष्य परदेशी श्रीमानलाई स्वदेश फर्काउने र दुवै जना मिलेर घरैमा केही व्यवसाय गर्ने छ । 

‘९ वर्ष भयो हामी छुट्टिएर बसेको, पहिलो पटक उहाँ विदेश जाँदा जेठी छोरी तीन महिनाकी थिई, कान्छी छोरीले त जन्मेपछि आफ्नो बुवाको अनुहारसमेत देख्न पाएकी छैन ’ शोभा भन्नुहुन्छ ‘अब मलाई आफैँले यहाँ केही गर्ने बाटो दिएर उहाँलाई स्वदेश बोलाउन मन छ ।’

अबको दुई वर्षभन्दा श्रीमानलाई परदेशमा नराख्ने योजना छ शोभाको । यो दुई वर्षमा घरजग्गा किन्दा लागेको ऋण तिर्ने र श्रीमानका लागि पनि केही व्यवसाय खडा गर्ने सोच बनाइसक्नुभएको छ ।

श्रीमानको कमाइमा मात्र भर पर्दा श्रीमान् स्वदेश फर्किए भने के गरौँला भन्ने डरले डगमगाउने शोभाको आत्मविश्वास आफैँले कमाई गर्न थालेपछि बलियो भएको छ । 

‘अहिले त एउटा अटो किनेर चलाउनुभयो भने पनि उहाँलाई हुन्छ, मेरो आफ्नै व्यवसाय छ जस्तो लाग्छ डर लाग्दैन’ शोभाको बोलीमा आत्मविश्वास झल्किन्छ ।

भन्नुहुन्छ ‘पैसा सजिलो ठाउँमा छैन तर छन् चाहिँ स्वदेश होस् या विदेश जहाँ पनि छ, त्यसलाई टिप्न मेहनत भने गर्नुपर्छ ।’

शोभाले दुई छोरी एक्लै हुर्काउनुभयो । जेठी ९ वर्षकी भइन । सानी छोरी चार वर्षकी छन् । दुई छोरीको ख्याल राख्दै सबै काम भ्याउन हम्मे हम्मे नै पर्छ । मिल चलाउन पनि सजिलो छैन । ठुलो बोराहरू उचालेर मिलमा घान हाल्नुपर्छ । कहिलेकाहीँ त हातखुट्टा फतक्कै गल्छन् । एक्लो मानिसलाई बिरामी हुँदा अझ गाह्रो हुन्छ । एक्लै हर कुरा गर्न पर्दा श्रीमानको अभाव पलपलमा खट्किन्छ ।

तर शोभालाई भोलिका लागि देखेको सुन्दर सपनाले गल्न दिँदैन । उहाँलाई थाहा छ विदेशको कमाइ आज छ भोलि छैन । सधैँ विदेश बसेर पनि पुग्दैन । एक दिन स्वदेश नफर्की हुँदैन । त्यसैले पनि उहाँ श्रीमान् स्वदेश फर्कँदा टेक्ने जग बनाउन प्रयासरत हुनुहुन्छ । 

अनावश्यक खर्च गर्नुहुन्न । नभई नहुने अति आवश्यक कुरा बाहेक अन्य सामान किनेर फजुल खर्च गर्नुहुन्न । पैसा जोगाउन लाखौँ कमाउन पर्छ भन्ने पनि छैन । जति कमाइन्छ त्यसको केही मात्र मात्रै बचत गर्न सके पनि भोलि अप्ठेरो परेका बेलामा काम लाग्छ भन्नुहुन्छ शोभा । 

घरैमा बसेर आफैँले आम्दानी गर्न थालेपछि आजकाल शोभाको सोच फेरिएको छ । पैसा कमाउन जागिर नै खानुपर्छ वा परदेश नै उड्नुपर्छ जस्तो लाग्दैन उहाँलाई । भन्नुहुन्छ ‘पैसा सजिलो ठाउँमा छैन तर छन चाहिँ स्वदेश होस् या विदेश जहाँ पनि छ, त्यसलाई टिप्न मेहनत भने गर्नुपर्छ ।’

अन्तिम अपडेट: असोज ७, २०७९

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • इश्वरी तामाङ्ग

    July 29, 2022, 7:37 p.m.

    धन्यवाद ! उज्यालो अनलाइन र मेहेनत साथ सामाग्री तयार पार्नु हुने सन्चिता देवकोटा जि ।

  •  0 Reply

तपाईको प्रतिक्रिया