अबको बाटो देखाउने 'डिजिटल साक्षरता' र इतिहासलाई स्मरण गराउने 'उहिलेको पत्रकारिता' सार्वजनिक

 साउन १५, २०७९ आइतबार १९:१८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले डिजिटल साक्षरताले अबको मार्ग प्रशस्त गरेको र उहिलेको पत्रकारिताले इतिहासलाई स्मरण गराएको बताउनुभएको छ । सञ्चार रजिस्ट्रारकाे कार्यालय बाग्मती प्रदेशद्वारा प्रकाशित पुस्तक आज आइतवार हेटौँडामा विमोचन गर्दै मन्त्री खनालले यी दुवै पुस्तकले बाग्मती प्रदेश र आफ्नो मन्त्रालयको साख बढाएको बताउनुभयो । 

‘अब प्रविधिसँग जोडिएन भने पछाडि परिन्छ, डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोड्न मद्दत पुर्‍याउनेछ’, मन्त्री खनालले भन्नुभयो । सञ्चार रजिस्ट्रारकाे रूपमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिँदा यी सफलता प्राप्त भएको पनि मन्त्री उहाँले बताउनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिस्ट्रार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताउनुभयो ।  

उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रूपमा भैरव रिसाल, मोफसलको धरोहरका रूपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीका रूपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई र रामकृष्ण रेग्मीका अनुभव समेटिएको छ । ‘पत्रकारिता इतिहासको अभिलेख पनि हो । इतिहासका प्रामाणिक सूचना त्यस्ता व्यक्तिहरूसँग हुन्छन् जसले आफनो जीवनको उर्बरशील समय सूचना सङ्कलन, प्रशोधन र सम्पादनमा खर्चेका हुन्छन्’, सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले भन्नुभयो, ‘सत्तापक्ष, प्रतिपक्ष, प्रशासनिक संरचना र नागरिक सबैतिरका सूचना सङ्कलन, प्रशोधन र सम्पादन गरेको अनुभव सङ्गालेका जेष्ठ पत्रकार आफैँमा जिउँदा इतिहास हुन् । ज्येष्ठ पत्रकारसँग रहेका सूचना इतिहासका साक्षी प्रमाण हुन् ।’ 

पुस्तकमा समेटिएका ज्येष्ठ पत्रकार भैरव रिसाल ९४ वर्ष, नारायण शर्मा ९१ वर्ष, लालध्वज देउसा राई ८९ वर्ष, कृष्णा ताम्राकार ८२ वर्ष र रामकृष्ण रेग्मी ७५ वर्षको हुनुहुन्छ । पत्रकारितामा उहाँहरूका भोगाइ, उहाँहरूले गरेको पत्रकारिताको अभ्यास, भोग्नुपरेका चुनौती र सङ्घर्षका कथा पुस्तकमा समेटिएको छ । प्रतिनिधि पात्रका रूपमा नेपालको इतिहासमा पहिलो पटक सरकारी तहबाट ज्येष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको छ । उहाँहरूको दृष्टिकोणमा अबको पत्रकारिताको दिशाका बारेमा पनि पुस्तकमा पढ्न पाइनेछ । 

‘उहिलेको पत्रकारितामा समेटिएका ज्येष्ठ पत्रकारका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताका पत्रकार र इतिहासका विद्यार्थीका लागि खोज र अनुसन्धान गर्ने विषय हुनेछन्’, सञ्चार रजिस्ट्रार सापकोटाले भन्नुभयो, ‘नेपाली पत्रकारिताको इतिहासको उत्खनन गर्ने र ती तथ्य र प्रमाणलाई पुस्तान्तरण गर्ने अभियानको सुरुवात हो उहिलेको पत्रकारिता । अन्तरपुस्ता ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्नु इतिहासको गौरवगाथाको संरक्षण पनि हो ।'

निश्चित पेस वा क्षेत्रका लागि मात्रै नभएर डिजिटल प्रविधिमा रूचि राख्ने सबै खालका नेपाली पाठकलाई ध्यानमा राखेर डिजिटल साक्षरता पुस्तक तयार पारिएको सापकोटाले बताउनुभयो । ‘सूचना प्रविधिको आधारभूत ज्ञान हासिल गर्न चाहनेका लागि यो पुस्तक महत्त्वपूर्ण खुराक हुनेछ । विशिष्ट अध्ययन गर्न चाहनेहरूका लागि यो पुस्तक प्रस्थान विन्दु हुन सक्छ । विद्यालय र विश्वविद्यालयहरूमा डिजिटल प्रविधिसँग सम्बन्धित विषयवस्तुको पठनपाठनका लागि समेत उपयोगी हुने हाम्रो विश्वास छ’ उहाँले भन्नुभयो, ‘आम नागरिकलाई आधुनिक सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा निपुण बनाएर मात्र हामी आधुनिक युगका जटिलताहरूको सामना गर्न सक्छौँ । त्यस कार्यमा यो पुस्तकले अवधारणा स्पष्टता प्रदान गर्दै विस्तृत अध्ययनका लागि आधार तयार पार्छ ।’ 

डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाइस, हार्डवेयर र सफ्टवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम, राउटर र स्विच, थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने छ । यस पुस्तकमा वेबसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भियोडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्र्याकिङका बारेमा जानकारी उपलब्ध छन् । भाइरस र स्पाइवेयर, एन्टिभाइरस, सुरक्षा फायरवाल, भीपीएन, इन्टरनेट अफ थिङ्ग्स (आईओटी), आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम, मेशिन लर्निङ, बिग डाटा, क्लाउड कम्प्युटिङ र क्लाउड स्टोरेजका बारेमा पुस्तकले जानकारी दिनेछ । पुस्तकमा ई गभरमेन्ट र इन्टरनेट कभरनेन्स, इन्टरनेट अधिकार, डिजिटल डिभाईड, इन्टरनेट र कानुन, इन्टरनेट र बौद्धिक सम्पत्ति, प्रतिलिपि अधिकार, पब्लिक डोमेन, ओपन सोर्स, इन्टरनेट र गोपनीयता, फेक न्युज र डिजिटल साक्षरताका बारेमा पुस्तकमा जानकारीमूलक सामग्री समेटिएको छ । 

डिजिटल साक्षरता पुस्तकका सामग्री डिजिटल मिडिया फाउन्डेशनले तयार गरेको हो भने उहिलेको पत्रकारिता पुस्तकमा समेटिएका सामग्री मिडिया आउटरिचले तयार पारेको हो । 

अन्तिम अपडेट: असोज १४, २०७९

तपाईको प्रतिक्रिया