वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक बाख्रापालन, वर्षमा १२ लाख आम्दानी

 साउन १७, २०७९ मंगलबार १५:१३:५५ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – बिहानै उठेर बाख्रालाई दानापानी दिनु, अनि कामको बाँडफाँड गरेर आफू पनि घाँसको जोहो गर्नेतर्फ लाग्नु कृष्ण मल्लको दैनिकी हो । 

साउदीमा फलफूलको बगैँचा गोडमेल र पानी लगाउने तथा इराकमा हाउसकिपिङकाे काममा सुपरभाइजर भएर स्वदेश फर्कनुभएका कृष्णको दिन आजकाल बाख्रापाठाको रेखदेखमै बित्छ । 

म्याग्दीको बेनी नगरपालिका ६ अर्थुङ्गेस्थित चुत्रेनीका कृष्ण अहिले उमेरले ३० वर्ष लाग्नुभयो । करिब ६ वर्ष परदेशमा बिताउनुभयो । साउदीमा २२ महिना र इराकमा ४ वर्ष काम गरेर स्वदेश फर्किएपछि कृष्णले अस्ट्रेलियाको सपना देख्नुभएको थियो ।

तर अस्ट्रेलियाको सपना देख्नजस्तो सजिलो पूरा गर्न भएन । खर्चिलो र अनेक प्रक्रिया गर्नु पर्ने । दुई देशको अनुभव गरिसकेकाले पनि कृष्णलाई लाग्यो – ‘जहाँ गए पनि देश मात्र फरक हो, भोग्नु पर्ने दुःख त उस्तै उस्तै त हो ।’ 

बुवाले पनि कृष्णलाई परदेश जानुभन्दा स्वदेशमै गरी खान सुझाउनुभयो । 

‘लाखौँ ऋण गरेर परदेशको बाटो रोज्नुभन्दा आफ्नै देशमा अवसर खोज भन्नुभयो बुवाले पनि’ कृष्ण भन्नुहुन्छ ‘घरमा अलिअलि बाख्रा थिए, बुवाले पनि भनेपछि मलाई पनि परदेसिनुभन्दा बाख्रापालन गर्नु नै बेस लाग्यो ।’

त्यसपछि घरमा भएका १० वटा बाख्रामा थप १० वटा बाख्रा किनेर कृष्णले २०७५ सालबाट सुरु गर्नुभयो व्यवसायीक रूपमा बाख्रापालन ।

आफ्नै ठाउँमा व्यवसाय गर्ने भएपछि उहाँले ऋण लिन डराउनुभएन । सुरुमा बैङ्कबाट १४ लाख रुपैयाँ व्यवसायीक ऋण लिनुभयो । 

सिन्धुलीको दूधौंली पुगेर अस्ट्रेलियन जातको बोयर बोका पनि किनेर ल्याउनुभयो । जमुनापारी र खरी जातको स्थानीय बाख्राबाट अघि बढ्यो कृष्णको बाख्रापालन व्यवसाय । 

खोरमा ३ लाख ५५ हजारको एउटै बोको 

सुरुमा जमुनापारी र खरी जातका २० वटा बाख्राबाट व्यवसायीक रूपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएका कृष्णको खोरमा अहिले २० वटा शुद्ध बोयर जातका मात्रै बाख्रा छन् । जसमा ७ वटा माउ बाख्रा, २ वटा बोका र १० वटाभन्दा बढी पाठ पाठी छन् ।

अहिले उहाँले बिउका लागि भनेर बोयर जातको एउटा ठुलो बोको पनि पाल्नुभएको छ । बोयर जातको यो बोको उहाँले ३ लाख ५५ हजार रुपैयाँमा स्याङ्जाबाट किनेर ल्याउनुभएको हो । 

‘शुद्ध बोयर बाख्राको उत्पादन गर्छु भनेर मैले बोयर जातको छुट्टै बोको पनि पालेको हुँ ’ कृष्ण भन्नुहुन्छ ‘थोरै बाख्रा पाल्ने तर राम्रो पाल्ने र बोयर जातको बाख्रा मात्र पाल्ने मेरो उद्देश्य हो ।’

अहिले कृष्णको खोरमा भएको बोयर जातको एउटै बोकाको तौल सय किलो भन्दा माथि छ । शुद्ध बोयरको ६/७ महिनाको पाठा पाठीलाई मात्रै झण्डै डेढ लाख रुपैयाँ मूल्य पर्ने कृष्ण बताउनुहुन्छ ।

बोयर बाख्राको मासु खाँदा स्वादिलो हुने, उत्पादन पनि राम्रो हुने र देख्दा पनि अरू जातको बाख्राको तुलनामा मोटोघाटो देखिने भएकाले बोयर जातको बाख्रापालनमा आकर्षित भएको उहाँ बताउनुहुन्छ ।  

३० रोपनीको जग्गामा घाँस खेती

कृष्णले पछिल्लो समय बाख्रापालन सँगसँगै व्यावसायिक रूपमा घाँसको खेती पनि गर्नुभएको छ ।  ३० रोपनी जग्गामा बाख्राका लागि घाँस तथा घाँसको स्रोत केन्द्र समेत स्थापना गर्नुभएको हो । १० रोपनीमा बहु वर्षे घाँस लगाउनुभएको छ भने २० रोपनी जग्गामा डाले घाँस र अन्य घाँसको खेती गर्नुभएको छ । 

बाख्राबाट मात्र होइन कृष्णले घाँस बेचेर समेत आम्दानी गर्नुहुन्छ । स्रोत केन्द्रमा उत्पादित घाँस स्थानीय तह, पशु कार्यालय र किसानहरूले किन्छन् । 

‘पशुपालन गर्ने तर उपयुक्त घाँस चाहिँ नहुने समस्या धेरैतिर छ, तर म्याग्दीमा पशुपालन गर्नेहरू चाहिँ घाँस किन्न कै लागि भनेर बाहिर जानु नपरोस् भन्ने मेरो योजना हो’ कृष्ण भन्नुहुन्छ । 

पाँच वर्षको अवधिमा सबै गरेर कृष्णले ५० लाख रुपैयाँभन्दा बढी लगानी लगाउनुभएको छ व्यवसायमा । 

मासिक करिब एक लाख रुपैयाँ अर्थात् वार्षिक झण्डै १२ लाख रुपैयाँ आम्दानी हुन्छ । एक जनालाई रोजगारी पनि दिनुभएको छ । मासु बिक्रीका लागि म्याग्दी सदरमुकाम बेनीमा मासु पसल पनि खोल्नुभएको छ । आर्थिक वर्ष २०७८/७९ मा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट ९५ हजार रुपैयाँको अनुदान सहयोगमा मासु पसल खोलेको उहाँले बताउनुभयो ।

पसलमा अरू किसानहरूबाट समेत खसीहरू किनेर मासु बिक्री गर्नुहुन्छ । खसीको मासु प्रति किलो १२ सय रुपैयाँमा बिक्री गर्नुहुन्छ । 

म्याग्दीको उत्पादन खोटाङसम्म

उत्पादन गर्न सकेको खण्डमा उत्पादित बस्तु बिक्री वितरण गर्नका लागि बजारको खासै समस्या नभएको कृष्ण बताउनुहुन्छ ।

आफ्नो फर्ममा उत्पादन भएका बाख्राका पाठा पाठी, खसी, बोका र बाख्रा म्याग्दी जिल्लासहित प्रदेश १ को खोटाङसम्ममा सम्म पुग्न थालेको छ । म्याग्दीसहित पछिल्लो समय स्याङ्जा, गोरखा, धादिङ, चितवन, उदयपुर र खोटाङ जिल्लाका ग्राहक तथा व्यापारीहरूले पनि उहाँको फर्मबाट खसीहरू किनेर लग्ने गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक, भाइवर तथा ईमोको लगायतका माध्यमले पनि धेरै टाढा टाढाका व्यापारीहरूसँग सम्पर्क बढेको र यसले फाइदा भएको कृष्ण बताउनुहुन्छ ।  

सरकारी सहयोगले व्यवसायमा सहज

सरकारी निकायबाट सहयोग मिल्दा व्यवसाय सञ्चालन गर्न सहज भएको कृष्णको अनुभव छ । उहाँलाई पशु सेवा केन्द्र र स्थानीय तहबाट पनि सहयोग मिलेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीबाट बाख्रापालनका लागि मोडेल फर्म निर्माणमा साझेदारीसहित ५० प्रतिशत अनुदानमा २ लाख ५० हजार रुपैयाँ सहयोग पाउनुभएको छ ।

यसै गरी केन्द्रबाटै घाँसको स्रोत केन्द्र निर्माणमा १ लाख ५० हजार रुपैयाँ सहयोगका साथै घाँस काट्ने मेसिन पनि पाउनुभएको । बेनी नगरपालिकाले पनि बाख्रालाई आवश्यक औषधी, परामर्श लगायतको सहयोग उपलब्ध गराएको छ कृष्णलाई ।

व्यवसायीक रूपमा लागि परेका युवा किसानलाई थप अघि बढाउनका लागि सरकारले किसानहरूलाई लक्षित गरेर पर्याप्त मात्रामा सहुलियत दिएमा किसानलाई सहज हुने उहाँ बताउनुहुन्छ ।

पालिकाले पनि कृषि तथा पशुपालनलाई जोड दिने किसानमैत्री बजेट, नीति तथा कार्यक्रम ल्याएमा किसानलाई राहत हुने उहाँको भनाइ छ । पालिका र वडास्तरमै पशुपालनसम्बन्धी पशु सेवाको डाक्टर तथा प्राविधिकहरूको व्यवस्था गर्नुपर्ने उहाँले माग गर्नुभयो । 

म्याग्दीमा वैदेशिक रोजगारी छाडेर व्यवसायमा लाग्ने बढे

पछिल्लो समय म्याग्दी जिल्लामा विदेशबाट फर्किएका तथा विदेश जान छाडेर व्यावसायिक कृषि तथा पशुपालनमा लाग्ने युवाहरूको सङ्ख्या बढ्दै गएको छ ।

जिल्ला बाख्रा पालक व्यवसायी सङ्घ म्याग्दीका अनुसार जिल्लाभर १ सय जना भन्दा बढी किसानहरू व्यावसायिक बाख्रापालनमा आबद्ध छन् । तीमध्ये ५० जनाभन्दा बढीले सङ्घको सदस्यता लिएका छन् । 

अन्तिम अपडेट: भदौ २९, २०७९

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया