कृषि उत्पादनमा बाधक बाँदर

 साउन १८, २०७९ बुधबार १३:४:४८ | रमा मगर
unn.prixa.net

फाइल फाेटाे

कामको सिलसिलामा म केही दिन अगाडि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ को खाल्ले गाउँमा पुगेँ । त्यहाँ नगरपालिका र साना सिँचाइ कार्यक्रमद्वारा सञ्चालन गरिएको “सेरा कुलो सिँचाइ आयोजना” रहेका थियोे । खाल्लेमा करिब नाै सय रोपनी खेतीयोग्य जमिन रहेको छ । त्यहाँँ उत्पादन भएको सामानलाई नजिकै रहेको सदरमुकाम दिक्तेल बजारमा लगेर बेच्न सकिन्छ तर कृषकले आफ्नाे उत्पादनलाई बजारसम्म लगेर बेच्नै पाउँदैनन् ।  

मनमा निकै हर्षित हुँदै त्यहाँ पुगेकी मैले कुलो आयोजनाका अध्यक्ष कृष्ण भट्टराईलाई भेटेँ । उहाँ पनि योजनालाई निकै मेहेनत गरेर कुलो सम्पन्न गरी रकम भुक्तानीको प्रकृयामा जाने तरखरमा हुनुहुन्थ्यो । म योजना सम्पन्न भएकोमा खुशी हुँदै थिएँ । अब योजना सकिएपछि यहाँका लाभान्वित वर्गहरुले खेतमा के–के उत्पादन गर्छन् होला, उहाँहरुले सोचे जस्तै आम्दानी गर्नको लागि अझ मैले के–के सहयोग गर्न सक्छु होला भन्ने कुरा सोच्दै मैले उहाँलाई झट्ट प्रश्न गरेँ । समुदायले माग गरेअनुसार खेतीको लागि कुलो निर्माण सम्पन्न भइसकेको छ, पानीको राम्रै सुविधा हुने भयो अब तपाईहरुले कुन–कुन बाली लगाउने योजना गर्नुभएको छ त ? तर उहाँले त मेरो प्रश्नको उत्तर नसकिँदै दिकदारको अनुहार बनाएर जवाफ दिनुभयो, ‘हाम्रो जग्गामा जुनसुकै बाली लगाए पनि राम्रो उत्पादन हुन्छ तर के गर्ने अर्को समस्या र दुःखको कुरो जँगली बाँदरले बालीनाली केही रहन दिँदैनन् ।’

खेतीको लागि माटो एकदमै उर्बर छ । खेती गरेर सबै किसानले भोक, निन्द्रा सहेर चारैतिर बाँदरको गोठालो बसेमा केही उब्जिएको बालीलाई जोगाउन सक्छन् । यहाँ एक्लो मान्छेलाई बाँदरले टेर्न छाडेकोछ । एक्लै मान्छेले बाँदरलाई खेद्न प्रयास गरियो भने उल्टै मान्छेलाई नै झम्टिने भएकोले मान्छे कै ज्यान खतरामा रहेकोछ । 

‘यो भन्दा केही वर्ष अगाडि यति धेरै बाँदरको जमातले हैकम जमाएको थिएन तर आजभोलि मान्छेको संख्याले भन्दा बाँदरको संख्याले जितिसकेछ जस्तो लाग्छ । करिब ३/४ वर्ष अगाडिसम्म यही माटोमा ढुक्क साथ बाली उत्पादन गरेर जीविकोपार्जन गरिरहेको हामी आजैबाट यही माटोमा बाँदरको हैकमले हामीलाई सताएको छ । तर पनि हामी समुदायले यो उर्वरभूमि खेतमा केही न केही उत्पादन गर्न सकिन्छ र यहीँबाट आम्दानीको स्रोत बनाउनुपर्छ भनेर सबैको सल्लाहले यो सिँचाइको योजना माग गरेका थियौँ । कुलोको समस्याको समाधान भयो तर अब अर्को समस्या नै बाँदरको रहेकोछ, गाउँभरिका मानिसहरु बाँदरदेखि दिक्क छन्, आतंकित छन्’, कुलो आयोजनाका अध्यक्ष कृष्ण भट्टराईले भन्नुभयो ।

यो त एउटा प्रत्यक्ष रुपमा उहाँले मलाई सुनाउनुभएको पीडा हो । वास्तवमा मैले पनि किसानहरुको समस्या बुझेअनुसार खोटाङ जिल्लाको १० वटै पालिकाहरुको कृषकहरुसँग भेटघाट गरेको छु । यस्तो भेटमा कृषि उत्पादनको कुरामा जति जोश जाँगरका साथ खेती गरे पनि अन्तमा उत्पादन दिने बेला बाँदरबाट जोगाउन नसकिने गुनासो सुन्न पाइन्छ । 

बाँदरको समस्याको असर

बाँदरले गर्दा लाएको बाली खान नदिनको लागि हेरालो बस्नुपर्छ । न मान्छेले समयमा खान पाउँछन् न निन्द्रा नै पर्छ । कतै बाहिर जानैपर्ने ठाउँहरुमा गएर काम गर्न पनि पाउँदैनन राम्रोसँग । बिहानको करिब ४ बजे नै उठेर खेती पुग्दा सम्म पनि कहिलेकाहीँ त बाँदरले बालीनाली सखाप पारीसकेको हुन्छ । अन्ततः न घरको काम राम्रो गर्न पाइन्छ न त अन्य ठाउँमा काम गर्न पाइन्छ ।

यस्तै–यस्तै विविध समस्याले गर्दा यहाँका किसानहरु बाँदरबाट पीडित छन् । आफूले लाएको बाली समेत जोगाएर आफ्नो जीविकोपार्जन नहुने भएकाले केही मानिसहरुले खेतबारी नै बाँझो राखेका छन् । जसमा भीमबहादुर भट्टराईको १२ रोपनी जग्गामा बाँदरको पीरले बाँझो छाडेका छन् भने उहाँ जस्तै गाउँका १० घरले बाँझो जग्गा छाडेका छन् । खाल्ले गाउँबाट करीब दुई सय घरधुरी रहेकोमा जंगलको छेउमा जग्गा हुनेहरु ११ घर र अन्य गाउँका घरहरु पनि बाँदर कै आतंकले गर्दा अन्यत्र बसाइसराई गर्न नै बाध्य छन् । 

समाधानको उपाय

बाँदरबाट अन्नबाली जोगाउन मात्र सकियो भने किसानहरुले खेतीबाटै आम्दानी गर्न सक्थे । तर यहाँ बालीनाली बाँदरले खाइदिँदा घरपरिवार धान्नै धौ धौ छ । बाँदरको समस्या नभए यहाँ खेती गर्न र उत्पादन भएको सामान दिक्तेल बजारमा बेच्न सजिलो हुने स्थानीय बताउँछन् । 

तर पछिल्लो समय बाँदरको बासस्थान उजाडिन थालेपछि मानव बस्तीमा आउन थाले । बाँदरको प्राकृतिक बासस्थान नै सुरक्षित नभएको जस्तै ठाउँठाउँमा रोड खनिएको हुँदा  बाँदरहरु घर–घरमा आएर दुःख दिने गरेको सिँचाइ इन्जिनियर कैलाश चौधरी बताउनुहुन्छ । जंगलको बाँदर आजभोलि बारीदेखि घर–घरमा आउनुको कारण उनीहरुले पनि आहारा नै खोजेको हो । वनजंगलमा फलफूलहरु नाश भएको कारणले पनि उनीहरु गाउँको खेतीको अन्न खान आउन थालेको उहाँ बताउनुहुन्छ । यस्तै नेपालमा बाघको संख्या कम भएकाले पनि बाँदर बढेको आंकलन गर्न सकिन्छ । यसरी जंगली जनावर बाँदरले समुदायमा दुःख दिँदै बर्सेनि क्षति गर्ने गरेको छ । हरेक समस्याको समाधान हुन्छ भनेझैं खोटाङमा बाँदरले बाली क्षति गरेको घटनाहरु धेरै भएकाले होला अहिलेका कतिपय नयाँ स्थानीय जनप्रतिनिधिहरुको घोषणापत्रमा नै बाँदर व्यवस्थापनको मुद्धा उल्लेख थियो । हुन त अघिल्लो वर्षहरुमा पनि यसको व्यवस्थापनमा केहि पहल नभएको भने होइन तर प्रभावकारी नभएकाले बाँदरको समस्या दीर्घकालीन समाधान हुन सकेन । उल्टै स्थानीय सरकारले बाँझो जमिन राखेमा जरिबाना तिराउने रे !

स्थानीय भीमबहादुर भट्टराई भन्नुहुन्छ, ‘कृषि उत्पादन बढाउनुपर्छ भन्छन् तर हाम्रोमा बाँदरको व्यवस्थापन गरीदिए जमिन बाँझो पनि बस्ने थिएन र कृषि उत्पादन पनि बढ्ने थियो ।’

अहिलेका स्थानीय गाउँ, समुदाय कस्तो बनाउने जनताहरुको आम्दानी कसरी बढाउने आफ्नो गाउँक्षेत्रमा सुहाउने खालका योजनाहरुको आवश्यक छ । जसको समाधानको उपाय हरेक स्थानीय तहले कृषिलाई प्राथमिकतामा राखेर कृषि उत्पादनमा जोड दिनुपर्दछ । जसमा बाँदर समस्या समाधान गर्नको लागि ठूलो आवाजमा पड्किने, तर्साउने सामाग्री लगायतका उपायहरु अपनाउन सकिन्छ । 

कृषकहरुले बाँदरले नखाने र नष्ट नगर्ने बालि जस्तो कि अदुवा, बेसार, अलैँची जस्ता बाली लगाउनु पर्ने कुरा कृषि प्राविधिकहरुको सल्लाह रहेको छ । हालको संविधान अनुसार जंगली जनावरहरुलाई मार्न नमिल्ने कानुन भएको कारणले पनि जंगली जनावर बाँदरहरुको जनसंख्या वृद्धि हुन सक्ने आंकलन गर्न सकिन्छ । यहाँ बाँदरको समस्याले गर्दा खेतीयोग्य जमिन पनि बाँझो हुने गरेको पाइन्छ । लगाउँदै गरेको बाली पनि बाँदरको गोठाला गर्न नसक्दा किसानहरुलाई जाँगर नै नआउने कृषकहरु बताउँछन् ।


 
 

अन्तिम अपडेट: कात्तिक २६, २०७९

तपाईको प्रतिक्रिया