शीर्ष नेता कोभन्दा को कम : आबेसँग उठबस, राजापाक्षेसँग हिमचिम !

 साउन २७, २०७९ शुक्रबार ८:५७:३८ | मिलन तिमिल्सिना
unn.prixa.net

जापानमा मान र अपमान दुवै पान गरेर फर्किएपछि कमरेड प्रचण्डको आँखा फेसबुकको एउटा पोस्टरमा पुगेर अडियो । त्यहाँ लेखिएको थियो, तिमीहरु जस्तालाई अब भोट नदिने हराउने ! पोस्टरमा चिनेजानेका सबैको तस्बिर छ । ऐना हेरेपछि थाहा भयो, एउटा तस्बिर त आफ्नै पनि । हैन रिस पनि कति गरेका हँ । जापानमा नभएको कुरा बोल्यो भनेर पनि गाली गरेका छन्, चुनावमा भोट दिन्नौँ भनेर पनि घुर्की लगाएका छन् । यो त अति भयो भनेर कमरेडले पोस्टरमा टाउको भएका सबै टाउकेहरुको भेला राखे । त्यसपछि टाउकेहरुबीच सुरु भयो कसको टाउको कत्रो भन्ने लेखाजोखा । 

प्रचण्ड : जापानमा पुगेपछि आबेकै त कुरा गर्नुपर्यो नि, आले र थेबेको कुरा गर्न भएन क्यारे । मने आफू यति ठूलो मान्छे, ठूलो मान्छेले सानातिना मान्छेसँग कुरा भएको थियो भन्न पनि मिलेन, ठूलैसँग कुरा भएको भन्नै पर्यो । अब जापानमा आबेभन्दा ठूलो अरु थिएनन् । मने आबैकै गफ लगाइयो । त्यसमाथि आबे नेपाल आएका थिएनन् भन्ने प्रमाण के छ ? अरुलाई सोधेर आउनुपर्ने हो र ? आएका थिए, मेरै घरमा बसेका हुन् । अलग अलग थालमा खाए पनि खान बसेको एउटै टेबलमा हो । ओहो ! अचार कति पिरो रैछ पनि भनेका थिए । मने आबेसँग मेरो घण्टौँ कुराकानी भएको हो । प्रतिगमन र प्रतिक्रान्तिको खतरा जापानमा पनि हुनसक्छ, बेलैमा होस गर्नुहोस् भनेर मैले सुझाव पनि दिएको थिएँ । तर मेरो सुझावको बेवास्ता गरियो र जापानमा त्यत्रो घटना भयो । नपत्याए आबेलाई नै भेटेर सोध्नुस् न । 

ओली : हैट ! आबे हुन् कि चाबे, सबै पृथ्वीका सन्तान, तर पृथ्वीकै आयु कम भैरहेकोमा अहिले मेरो चिन्तन केन्द्रित छ । मान्छेकै कुरा गर्ने हो भने पनि भर्खरै स्वर्गवास भएका आबेका के कुरा गरेको ? सबैलाई थाहै छ, लेनिन र म सँगै जेल बसेको । जेलमा हामी घण्टौँ ब्याडमिन्टन र क्यारिमबोर्ड खेल्थ्यौँ । कहिले उहाँले जित्नुहुन्थ्यो, कहिले मैले । धेरैपटक त मैले नै हराएको थिएँ उहाँलाई । प्रतिस्पर्धालाई उहाँले बडो हार्दिकतापूर्वक लिनुहुन्थ्यो । कहिल्यै छलकपट गर्नु हुन्नथियो । । लेनिनले त पटकपटक प्रस्तावै गर्नुभाथ्यो, ओलीजी विश्व कम्युनिस्ट आन्दोलन तपाईँकै नेतृत्वमा अघि बढ्नुपर्छ भनेर । तर मैले नै विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व तपाईंले गर्नुस्, नेपालमा म छँदैछु नि भनेर मनाएँ । जेलबाट निस्केपछि उहाँ रुस फर्कनुभयो म चाहिँ रुखको फेदमुनि बसेर चिन्तन गर्न थालेँ । म चिन्तनमा रहेकै बखत एकदिन अचानक न्युटन आइपुगे । हामी स्याउको रुखमुनि बसेर बातचित गर्दैथियौँ। त्यहीबेला उनको टाउकोमा स्याउ खस्यो । कसै कसैले त्यो स्याउ बेलायतमा रहेको उनको बगैँचामा खसेको हो भन्छन् । तर होइन, खसोखास स्याउ खसेको झापाको हाम्रै बगैँचामा हो । हामीले हेर्दाहेर्दै स्याउ जमिनतिर खस्यो, माथितिर गएन । उनी किन स्याउ माथि नगएर तलै खस्यो भनेर अचम्म मान्न थाले । उनले अचम्म मान्दा मलाई ताजुक लाग्यो । नेपालमा आएर स्याउ खसेको देख्ने मान्छे यस्तै हुन्छन् भनेर पहिले त त्यति वास्ता गरिनँ  । उनले हैन यसलाई त एउटा सिद्धान्तको रुपमा व्याख्या गर्नुपर्छ भने । मैले लौन त लौ उसो भए यो सिद्धान्तको नाम नेपाली मौलिक हुनुपर्छ भनेर गुरुत्वबल र गुरुत्वाकर्षण राख भनेँ । उनले खुरुक्क माने । गुरु भनेको नेपाली नाम हो नि । गुरु नाम जोड्ने प्रेरणा नै मैले दिएको हो न्युटनलाई ।

माधव नेपाल : हा हा घोर अपमान । मलाई यस्तो अपमान गरेर गफ दिएको मन पर्दैन भन्देको छु । लेनिन र न्युटनको धाक नलगाउनु । मैले के गरिनँ त्यो चाहिँ हेर्नु । कालमार्क्स रौतहट आउँदा मेरै घरमा बस्नुभएको थियो । उहाँले नै मलाई कम्युनिस्ट आन्दोलनमा लाग्न प्रेरणा दिनुभयो । मैले के के मात्र गरिनँ यो देश र विश्वका लागि ? माओवादीलाई मैले नै हो शान्ति प्रक्रियामा ल्याएको । उत्तर कोरिया र अमेरिकालाई शान्ति वार्तामा बस्न मैले नै भनेको । माधव नेपालको योगदानलाई कम नठानियोस् । स्याउको गफ दिने ह्याउ त हामीसँग पो छ । हामीलाई अपमान नगरियोस्, भन्देको छु मैले । 

देउवा : भनेर भन्देखिनलाई त्यस्ता नाथे स्याउ, लेनिन र मार्क्सको धाक नलगाउन न यार । तिमीहरुलाई के थाहा छ ? ठूलाबडासँगको सङ्गत कस्तो हुन्छ भन्ने हामीलाई सोध न । म लन्डनमा पढ्न बसेको बेला लङ्काबाट हनुमान टुप्लुक्क पुगेका थिए । लामो कुराकानीपछि थाहा भयो, उनी रामभक्त रहेछन् । हनुमानले मलाई छाति फोरेर देखाए, त्यहाँ त हाम्रो रामचन्द्र पो रहेछन् । हनुमानका छातिमा खुम्चिएको देखेपछि मलाई त्यसैदिन देखि रामचन्द्र मन पर्न छाडेका हुन् । 

रामचन्द्र : तिमीलाई मन नपरेर हुन्छ ? रामचन्द्र भनेका रामचन्द्र, भगवान । तिनै भगवान रामचन्द्रको स्वरुपमा मेरो जन्म भएको हो तनहुँमा । आदिकवि भानुभक्त मेरै गाउँको । हामी सँगै गोठालो जान्थ्यौँ। गुच्चा खेल्थ्यौँ । उनी घाँस काट्ने मान्छेको कविता लेखेर बस्थे । म चाहिँ वीपी जन्मने प्रतिक्षामा टोलाउँथे । आखिरमा वीपी जन्मिए । भानुभक्त घाँसीको प्रेरणाले आदिकवि भए, म वीपीको प्रेरणाले न आदि, न पूरा नेता भएँ । घाँसीले कुवा खनेर नाम कमाए । भानुभक्तले तिनै घाँसीको कुरा गरेर नाम कमाए । म चाहिँ १७ पटक लड्दा पनि प्रधानमन्त्री बन्न नसकेको बदनामी काँधमा बोकेर अझै पनि कांग्रसै भएर बसेको छु । के यो चानचुने मान्छेले गर्नसक्ने त्याग र सहनसक्ने बद्नामी हो ? 

बाबुराम : हाहा विचरा रामचन्द्रजी । हरिबिजोक भन्थे, रामबिजोक भन्नुपर्ने भयो भन्ने हामीलाई लाइराछ । तपाईँ भानुभक्तको गफ दिनुहुन्छ । मैले भारतमा पढ्दा गान्धीसँग भेट भएको कुरा उनै गान्धीबाहेक अरु कसलाई थाहा होला ? बेलुकीपख गान्धी बुढा लौरो टेकेर लखरलखर मेरो डेरामा आउँथे । हामी घण्टौँ भारतीय स्वतन्त्रताको कुरा गर्थ्याैँ । मलाई डाक्टरी गर्नुथियो, पढ्नतिर लागेँ। बुढा एक्लै अघि बढे र अहिले कहाँबाट कहाँ पुगे ।

उपेन्द्र यादव : नाथुरामले नसिध्याएको भए अझै कहाँ पुग्थे होलान् गान्धी । गान्धीलाई हत्या गर्ने नाथुराम गोडसे हाम्रा गाउँ आएका थिए, सप्तरीमा । मसँग भेट भएको थियो । गान्धीलाई सिध्याउनुपर्यो के गर्ने भनेर मलाई भने । मैले हैट त्यस्तो नि गर्नुहुन्छ, हुँदैन भनेर सम्झाइबुझाइ गरेर पठाएको थिएँ । मेरो कुरै नसुनी ठोक्देछ । विचरा गान्धी ।

वामदेव : हेर हेर यिनीहरुका फुर्ती। कामदेव र रामदेव सँगै पढेको वामदेवको अघिल्तिर गान्धी र हनुमानको फुर्ती लगाएर बसेका छन् । मेरै नामबाट प्रेरित भएर एउटाले कामदेव राखे, अर्काले रामदेव । कामदेव हिन्दु धर्मका प्रेम र कामका देवताको रुपमा कहलिए, रामदेव चाहिँ बाँदर झैँ उफ्रिएर दिन कटाउँदैछन् । म बिचरो वामदेवलाई लुरेभुरे वामपन्थीले नै मान्दैनन् त के गरौँ ।

सबै टाउकेहरुले आपसमा टाउको नै ठोकौँलाझैँ गरी दुनियाँभरका टाउकेहरु भेटेको गफ लडाएपछि महन्थले भेटघाटको बिट मार्दै भने : हो हो हामी सबै कोहीभन्दा कम छैनौँ। सबैको सबैसँग उठबस र सङ्गत राम्रो छ । तर पनि देश भनेजस्तो भएन । देशलाई भनेजस्तो बाटोमा हिँडाउन एकपटक श्रीलङ्काका राजापाक्षेहरुसँग पनि भेट गर्नुपर्ने भयो । हुन त हामी कोही राजाको पछि त कोही राजापाक्षेकै पछि लागेका छौँ क्यारे  । देश श्रीलङ्का हुन्छ भनेर मात्रै भएन, श्रीलङ्का बनाउनतिर नै लाग्नु पर्यो । हाम्रो अहिलेसम्मको कामले त ढिलोचाँडो हुने श्रीलङ्का नै हो । तर चुनावमा बुढाखाडा नेतालाई हराउने भनेर एकथरी उफ्रिरहेका छन् । तिनीहरुले पाखा लगाउन नपाउँदै राजापाक्षेलाई भेटौँ र देशलाई छिटै श्रीलङ्काकै बाटोमा हिँडाऔँ ।

हो यो हो नि कुरा । ल त्यसै गरौँ। राजापाक्षेलाई पहिले कसले भेट्ने त ?

म भेट्छु पहिले ।

हैन हैन म भेट्छु ।

महन्थले कुराको बीट मार्नु अघि पोस्टरमा भर्खरै प्रवेश पाएका अर्थमन्त्री शर्माले भने, 'मैले त भेटेर नि फर्किसकेको छु । नभेटेकाहरुले भेट्नु, भेट्न नभ्याए मलाई नै सोधे नि हुन्छ देशलाई कसरी श्रीलङ्काजस्तो बनाउने भनेर ।' 

अन्तिम अपडेट: मंसिर ११, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया