केही खुसी दिएको परदेशले आखिरीमा रुवाइ छाड्यो !

 साउन २७, २०७९ शुक्रबार १७:२५:२६ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाण्डौको शंखमूल ओरालो कटेपछि आउँछ आयुष अस्पताल । अस्पतालको कोठा नम्बर तीन । बेडमा लमतन्न परेका आफ्ना श्रीमान् रामबहादुर तामाङको अनुहार हेर्दै टोलाइरहनुभएको छ काभ्रे रोशी गाउँपालिकाकी बसन्ती तामाङ । टेबुलमा औषधिहरु छरिएका छन् । फ्राइबिनमा झोलिलो खानेकुरा छ । रामबहादुरको नाकमा लगाइएको मसिनो पाइपबाटै झोलिलो खानेकुरा दिइन्छ । झ्यालबाट आएका घामका किरणले उहाँलाई थेरापीको काम गरेको छ । आँखा खुल्ला छन् । कतिबेला निभाउनुहुन्छ । कोही चिनेको जस्तो लागेमा हेरिरहनुहुन्छ । तर बोल्न सक्नुहुन्न । कतिबेला हातखुट्टा चलमलाउनुहुन्छ । श्रीमानले यत्तिको चलमल गर्दा बसन्तीको आशा बढेर दोब्बर हुन्छ ।

साउदीअरबको गर्मी । घर फर्किने दिन नजिकिँदै गर्दा रामबहादुरलाई लागेको थियो अब यो मरुभूमिमा फर्केर आइन्छ आइन्न । जानेबेला केही समय घुमौँ । सपिङ गरौँ । आफू परदेश आउँदा बा भन्न नसिकेको छोरा अहिले हुर्केर स्कुल जाने भइसक्यो । परदेशमा पाँच वर्ष बिताइयो । अब घर फर्किनुपर्छ । श्रीमती, छोरा र घरपरिवारको साथमै बसेर सानोतिनो व्यवसाय गर्नुपर्छ । अघिल्लो राति श्रीमती बसन्तीसँग फोनमा यस्तै कुरा गर्नुभएको थियो रामबहादुरले । बसन्तीको खुसीको सीमा थिएन । तर श्रीमानको घर फर्किने कुरा सुन्दै निदाएकी बसन्ती बिहान उठ्न नपाउँदै भाइले सुनाएको खबरले छाँगाबाट खसेझैँ हुनुभयो ।  

गएको जनवरी १३ मा रामबहादुर साउदीमा सडक दुर्घटनामा पर्नुभयो । नेपाल फर्किन एक हप्ता मात्रै बाँकी हुँदा साथीहरुसँग घुम्न निस्किनुभएको थियो । चार जना थिए कारमा । दुई जना पछाडि बसेका थिए । ड्राइभरको छेउमा रामबहादुर हुनुहुन्थ्यो । अचानक कारलाई पछाडिबाट आएको लरीले ठक्कर दियो । कारमा सवार तीन जना साथीहरुलाई खासै चोट लागेन तर कारको सीसा रामबहादुरको घाँटी र टाउकोमा गाडियो । उहाँ दुर्घटना भएको एक मिनेटमै यो खबर बसन्तीको कानमा पर्यो । 

बसन्तीका अनुसार रामबहादुरले टिकटकमा लाइभ गरिरहनुभएको थियो । दुर्घटना भएको पनि लाइभमै देखियो । रामबहादुरको टिकटक लाइभमा जोडिएका बसन्तीका भाइले तुरुन्तै फोन गरेर बसन्तीलाई यो सबै कुरा सुनाएका थिए ।

श्रीमानले बोल्ने दिन कुर्दै बसन्ती

दुर्घटना भएको साढे दुई महिनासम्म रामबहादुरको होस पनि आएन । साउदी जर्मन अस्पतालमा उपचार चलिरह्यो । तीन महिनासम्मको उपचार खर्च उहाँ कार्यरत कम्पनीले नै बेहोर्यो । तर पछि बिमाले बेहोर्ने खर्च यत्ति हो भन्दै कम्पनीले पनि वास्ता गर्न छाड्यो । त्यसपछि अस्पतालले पनि सामान्य रेखदेख बाहेक उपचार गर्न छाड्यो । नेपाल झिकाउन प्रक्रिया गर्दागर्दै तीन महिना बित्यो । बल्ल त्यहाँ रहेको नेपाली दूतावास, विभिन्न नेपाली संस्थाहरु र वैदेशिक रोजगार बोर्डको पहलमा टिकट काटेर नेपाल एअरलाइन्सको जहाजमार्फत् साउन ४ गते रामबहादुरलाई नेपाल ल्याइयो । यसरी दुर्घटना वा गम्भीर प्रकृतिका बिरामीलाई ल्याउँदा यहाँ ल्याएर राख्ने अस्पतालको स्वीकृतिपत्र पनि चाहिन्छ । त्यहीअनुरुप रामबहादुरलाई नेपाल ल्याएर एक हप्ता नर्भिक अस्पतालमा राखियो । नर्भिकमा डेढ लाख रुपैयाँ जति खर्च भयो । नर्भिकले पनि गर्नुपर्ने सबै उपचार भइसक्यो अब थेरापी गराउन लैजानु भनेपछि परिवारले रामबहादुरलाई आयुष अस्पतालमा ल्याएको हो । रामबहादुरको अहिले दिनमा दुई पटक थेरापी हुन्छ । बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म । 

‘भर्खरै थेरापी सकेर डाक्टरहरु जानुभयो, अब दिउँसो फेरि थेरापी हुन्छ’, छेउको बेडमा चिन्तित अनुहार लगाएर बसिरहनुभएका रामबहादुरका बुवा अमृतसिंहले भन्नुभयो, ‘भन्न त डाक्टरहरुले चाँडै ठीक हुन्छ पनि भन्छ, समय लाग्न सक्छ पनि भन्छ । हेरौँ अब कहिले निको हुने हो ?’ 

रामबहादुरका बुवा अमृतसिंह तामाङ

रामबहादुर दुर्घटनामा परेको दिनदेखि परिवारको खुसी फर्केको छैन । त्यही हराएको खुसी फर्काउन परिवारले लाखौँ खर्च गरिसक्यो । महिनौँ भइसक्यो । तर कहिले निको हुन्छ केही थाहा छैन । रामबहादुरले कोठाभित्र कोही आएको चाल त पाउनुहुन्छ, तर प्रतिक्रिया जनाउन सक्नुहुन्न । पहिले देखेका मान्छेलाई चिन्नुहुन्छ, तर आफू बोल्न सक्नुहुन्न । कतिबेला हाइ काढ्दै खुट्टा चलमलाउनुहुन्छ । नत्र एकोहोरो कतै टोलाइ रहनुहुन्छ । बेलाबेला बसन्ती रामबहादुरको टाउको मुसार्नुहुन्छ । रामबहादुरको निरिह अनुहार हेर्दै बसन्ती मनमनै भगवानको नाम जप्नुहुन्छ ।

‘मेरो बुडालाई सञ्चो होस् भनेर भगवानको नाम जपिराख्छु, एक दिन मेरो कुरा सुन्ला नि भगवानले’, सोझी बसन्ती सिधा कुरा गर्नुहुन्छ । तर रामबहादुरको कुरा खोतल्न लागे उहाँका आँखाबाट बर्रर आँसु खस्छन् । अनि उहाँ अवाक् हुनुहुन्छ । 

‘केही खुसी दिएको परदेशले आखिरीमा रुवाइ छाड्यो !’

चार भाइमध्ये माइलो रामबहादुर । उहाँ साउदीमा दुर्घटनामा परेपछि दाइ र साइलो भाइ पनि रोजगारीको लागि उतै गए । त्यहाँ भाइको रेखदेख पनि होला र कमाइ पनि होला भनेर गएका दुवैजनाको काम गर्ने क्षेत्र निकै टाढा हुँदा चाहेर पनि भेट्न पाएनन् रामबहादुरलाई । 

रामबहादुर पनि घरको आर्थिक समस्या पार लगाउँछु भन्दै ऋनदान गरेर पाँच वर्ष पहिले २०/२१ वर्षको कलिलो उमेरमै साउदी जानुभएको थियो । रेस्टुरेन्टमा वेटरको काम थियो । दुई वर्षको करारमा जानुभएको थियो उहाँ । करार सकिएर फर्किने समय भएको थियो । त्यहीबेला कोरोना महामारी सुरु भयो । रामबहादुर नेपाल फर्किन पाउनुभएन । घर फर्किने तयारी भइरहँदा उतै रोकिनुपर्यो । उता कम्पनीमा काम पनि चलिरह्यो । उहाँ काममै व्यस्त रहनुभयो । योबीचमा उहाँले पुनः श्रम स्वीकृति पनि लिन पाउनुभएन । करार अवधि सकिएपछि पनि काममा राख्दा कम्पनीले नयाँ करार पनि गरेन । भिसाको अवधि पनि सकियो ।

तर कोरोनाकै बेला उहाँको पद बढेर फ्लोर म्यानेजर बन्नुभयो । कमाइ पनि राम्रै थियो । नेपाली एक लाख रुपैयाँ जति । यही कमाइको भरमा थियो उहाँको परिवार । रामबहादुरले कमाउन थालेपछि घरमा खुसी छाएको थियो । घरपरिवारका आवश्यकता पूरा हुँदै थिए । बिहे भएको दुई वर्षमै श्रीमान् परदेश गए पनि अहिलेको बिछोडले भविष्य सुखमय हुने आशा पाल्दै बस्नुभयो बसन्ती । छोरालाई हुर्काउनुभयो । छोरालाई पढाउन भनेर भक्तपुरमा बस्न थाल्नुभयो । 

त्यतिबेला उहाँलाई श्रीमान् परदेश गएर ठिकै भयो लाग्थ्यो । कमाउनुभएको थियो । घरपरिवारको खर्च धान्नुभएको थियो । पाँच वर्षसम्म साउदीमा बस्दा कुनै दुःख अप्ठेरो भएन । कोरोनाको बेला पनि केही समस्या भएन । काम पनि चलिरह्यो । कमाइ पनि भइरह्यो । सबै राम्रै चलिरहेको थियो । नेपाल फर्केर सानोतिनो व्यवसाय गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो । केही समय टाढिनु परे पनि अब साथसाथै बस्न पाइन्छ भनेर खुसी हुनुहुन्थ्यो । तर खुसीलाई अँगाल्न हप्तादिन मात्रै बाँकी छँदा दुःखको बादलले ढाक्यो बसन्तीलाई । मनमा सजाएका सपनामा चट्याङ परेजस्तै भयो । रामबहादुरका पनि अनेक रहर थिए । घर गएर छोरोलाई अँगालोमा कस्न मन थियो । केही थान लुगा, मिठाइ दिएर यही हो छोरा तेरो परदेशी बुवाको कमाइ भन्न मन थियो । रामबहादुर घर त फर्किनुभयो तर कस्न सक्नुभएन छोरालाई न्यानो अँगालोमा । रामबहादुरका रहर पनि त्यही दुर्घटनामा घाइते भए । यस्तै कुरा सम्झेर भक्कानिनुहुन्छ, बसन्ती । ‘केही खुसी दिएको परदेशले आखिरीमा रुवाइ छाड्यो !’, सुँक्क सुँक्क गर्दै बरबराउनुहुन्छ, ‘बरु परदेशै नगएको भए यस्तो हुन्न थ्यो कि ?’

उपचार खर्चमा समस्या 

अहिले १० दिनकै फिजियो थेरापी गरेको ५० हजार रुपैयाँ खर्च लाग्छ । औषधि त्यति नै महंगो छ । रामबहादुरले कमाएको पैसा उपचारमै सकिसक्यो । घरपरिवारले ऋण खोजेर अब माग्न जाने ठाउँ कतै छैन । साउदीमा रहेका नेपालीहरुले चन्दा उठाएर रामबहादुर बचाउँ अभियान नै सञ्चालन गरेका थिए । त्यहीमार्फत प्राप्त भएको ६ लाख ९ हजार ३६४ रुपैयाँ रामबहादुरको परिवारलाई हस्तान्तरण गरिएको छ । तर यो रकमले अहिलेलाई केही राहत भए पनि सरकारले नहेर्दा उहाँको परिवारलाई खर्च जुटाउन समस्या परेको छ । 

वैदेशिक रोजगारीमा गएका श्रमिक करार अवधि सकिएको एक वर्षभित्र दुर्घटना वा गम्भीर बिरामी भएमा सात लाख रुपैयाँसम्म उपचार खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने व्यवस्था छ । तर उहाँको करार तथा भिसाको म्याद सकिएका कारण सरकारले उपचार खर्च तथा आर्थिक सहयोग गरेन । रामबहादुरले विदेशबाट पठाएको रेमिट्यान्स राज्यको आम्दानीमा गणना भयो तर उहाँ गम्भीर बिरामी हुँदा राज्यको सेवा पाउनुभएन । रामबहादुरका बुवा कागजात बोकेर सरकारले छोराको उपचार गरिदिने आशामा वैदेशिक रोजगार बोर्डमा धाउनुभयो । तर त्यहाँबाट पनि निराशा हात लाग्यो ।

‘सरकारले हेर्नु त पर्ने हो है, तर म्याद सक्यो भन्छ’, रामबहादुरका बुवा थकित स्वरमा भन्नुहुन्छ, ‘छोराले कमाउन सम्म त देशलाई रेमिट्यान्स पठाइरहेको थियो नि, बिरामी पर्दा किन हेर्दैन सरकार ?’

कोरोना महामारीका कारण साउदीमै अल्झिनु परेका कारण भिसा अवधि सकिएको भन्दै अपराध गरेको जस्तो सरकारले विभेद गर्न नहुने उहाँको भनाइ छ ।

के गर्छ त बोर्डले ?

वैदेशिक रोजगारीमा रहँदा नेपाली श्रमिक अनेक किसिमले दुर्घटनामा पर्छन् । गम्भीर प्रकृतिको दुर्घटनाको शिकार भइ कोही कोमामा पुग्छन् । कोही अलपत्र पर्छन् । करार अवधिभित्र वा करार अवधि नाघेको एक वर्षभित्रको समयमा यस्ता दुर्घटना वा बिरामी भएमा मात्रै वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषबाट उपचार खर्च बेहोर्ने व्यवस्था छ । त्यसको लागि पनि श्रम स्वीकृति लिएर गएको हुनुपर्छ । तर करार अवधि सकिएर पनि एक वर्ष नाघेको अवस्थामा दुर्घटना भए बोर्डबाट कोषको रकम सहयोग गर्न समस्या हुन्छ । यही समस्यालाई मध्यनजर गर्दै यस्ता पीडितले राहत तथा उपचार खर्च पाउन् भनेर श्रम मन्त्रालयले गएको असारमा एउटा कार्यदल गठन गरेको छ ।

‘यस्ता समस्या फुकाउन टास्कफोर्स जस्तो एक कार्यदल गठन भएको हो । यस्ता धेरै सवाल फुकाउनको लागि यो कार्यदलले काम गर्नेछ’, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ भन्नुहुन्छ, ‘वैदेशिक रोजगारीको क्रममा गम्भीर घाइते वा बिरामी भई अस्पतालमा सघन उपचार गराइरहेका श्रमिकहरुको उद्धार र उपचारको व्यवस्था कसरी गर्न सकिन्छ भनेर अहिले अध्ययन भइरहेको छ ।’

उहाँका अनुसार कोषको रकम अनुदानमा आधारित हो र त्यसका आफ्नै सीमा भएकाले निश्चित समय र सीमाभन्दा बाहिर रहेर खर्च गर्न मिल्दैन । तर यो कार्यदलले त्यस्तो अवस्थाका बिरामीलाई कसरी सहयोग गर्ने भनेर एउटा ठोस निर्णय निकाल्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘त्यो राज्यले जिम्मा लिनुपर्ने पनि अवस्था आउन सक्छ, वा विभिन्न संस्था अथवा अन्तरनिकाय समन्वयको आवस्यकता पर्छ, तर यो संवेदनशील समस्या हो, यसको समाधानको बाटो खोजिन्छ ।’

अन्तिम अपडेट: असोज ४, २०७९

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया