१४ वर्षपछि बलेको दियो...

 साउन ३१, २०७९ मंगलबार १४:१२:४ | गंगा भण्डारी
unn.prixa.net

चैत वैशाखको महिना त्यसैमाथि तराईको खपिनसक्नु गर्मी । हामी तराई मधेसमा बस्नेहरुले यस्तो गर्मी त बर्सेनि खप्नै पर्ने । गर्मीले घरबाहिर निस्की नै गाह्रो । तर के गर्नु काम गर्न बाहिर निस्कनै पर्ने । त्यसैमाथि समुदायस्तरमा काम गर्ने हामी जस्ताले त झनै फिल्डमा हिँडिरहनु पर्ने । एक दिन कामकै सिलसिलामा म बाहिर निस्किए । एक जना साथीसँगै म एउटा सुकुम्बासी बस्तीमा गए । हुन त आजभन्दा दुई वर्ष अगाडि पनि म यो बस्तीमा पुगेकी थिएँ । 

यस पटक म फेरि त्यही बस्तीमा एक जना साथीलाई आफूसँगै लिएर गएँ। किनभने यो बस्ती कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाभित्र भए पनि अलि टाढा छ । र लामो जङ्गल पार गरे पछि मात्रै बस्तीमा आइपुगिन्छ । जङ्गलको बाटो एक्लै जान पनि गाह्रो हुने । त्यही भएर म साथीसँग त्यो बस्तीमा पुगेँ । पहिले जाँदा पनि हामी पाँच, छ जनाको समूहमा गएका थियौँ । पहिले पनि हामी त्यहाँ कामकै सिलसिलामा गएका थियौँ । र अहिले पनि कामकै सिलसिलामा त्यहाँ पुग्यौँ । 

हामी बस्तीमा पुग्नै आटेका थियौँ । तीन, चार जनाको समूहमा महिलाहरु हातमा हँसिया अनि कम्मरमा दाम्लो बाँधेर हामी आइरहेकै दिशातिर आइरहेका थिए । म पहिले पनि एक पटक यो बस्तीमा आइसकेको भएर होला उनीहरुलाई बस्तीमै देखेको जस्तो लागेर म उनीहरुसँग बोलेँ । उनीहरु सबैलाई मैले अभिवादन गरेर 'नमस्कार हजुरहरु यही बस्तीको हो ?' भनेर सोधेँ । उनीहरुले पनि निकै सत्कारका साथ अभिवादन गर्दै, हो हामी यही बस्तीकै हो भनेर जवाफ दिए । मैले उनीहरुलाई 'हामी धनगढीबाट आएका हौँ र पहिले पनि तपाईँँहरुको बस्तीमा आएका थियौँ चिन्नु भयो ? भनेर सोधेँ । उनीहरुले एकअर्काको मुख हेर्दै 'खै.. मिस हामिले त ठ्याक्कै ठम्याउन सकेनौँ ' भनरे जवाफ दिए । मैले हास्दैँ उनीहरुसँग 'ठिकै छ हामीे धेरै समय अगाडि तपाईँको बस्तीको बारेमा बुझ्न भनेर आएका थियौँ । धेरै समय भइसकेकाले पनि तपाईँहरु  बिर्सिनु भयो होला,आज भने राम्रोसँग चिनजान गरौँ हुँदैन ' भनेँ ।

उनीहरुले 'भैहाल्छ नि मिस हामीले बिर्से पनि तपाईँले हामीलाई बिर्सिनु भएको रहेन छ यसैमा हामी निकै खुशी छौँ' भन्दै जवाफ दिएँ । मैले उनीहरुलाई आज पनि बस्तीको बारेमा बुझ्नका लागि भनेर आएको कुरा बताए । उनीहरु काममा जाँदै गरेको जस्तो लागेर मैले 'हजुरहरु काममा जाँदै हुनुहुन्छ जस्तो छ, हामीले बीचबाटोमै रोक्यौँ है ? हजुरहरुलाई ढिलो भयो होला' भनेर उनीहरुलाई काममा जानका लागि भनेँ । तर उनीहरुले निकै खुसी हुँदै काम त हामी सधैँ गरिरहेका हुन्छौँ, तर तपाईँहरु हामीलाई भेट्न भनेर त्यति टाढाबाट आउनुभएको छ, हामीले एकछिन समय दिन के भयो र अनि तपाईँ हामीलाई भेट्न सधैँ कहाँ आउनु हुन्छ र, भन्दै उनीहरु सबै जना काममा नगएर हामीसँगै बस्तीमा फर्किए  । हामी सबै सँगै बस्ती तिर लाग्यौँ । 

लस्करै निलो टिनले छाएका अनि ब्लकले बनेका साना दुईकोठे घरहरु । टाढैबाट देख्दै रमाइलो लाग्ने । मलाई पनि त्यो देख्दा रमाइलो लाग्यो । तर सुरुमा त्यहाँँ जाँदा बस्ती यस्तो थिएन । मैले अघि पनि भने म यो बस्तीमा आज भन्दा २ वर्ष अगाडि पनि आएकी थिए भनेर । दुई वर्ष अगाडि आउँदा यहाँ बस्ती त थियो । तर निलो छाना भएका नभएर खरले छाएका र खरले नै वरिपरि बेरेर माटोले पोतिएका कटेज जस्ता साना साना घरहरु देखिन्थे । तर त्यो बेला पनि टाढाबाट हेर्दा बस्ती रमाइलो लाग्ने थियो । यो बस्तीको नमा हो धुरजन्ना नमुना बस्ती । यो एउटा सुकुम्वासी शिविर भनौँ वा बस्ती हो । जुन कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १७ मा पर्छ । यो बस्ती २०७५ साल असार महिनामा बसेको हो । बस्तीमा ६४ घरधुरी छन् । र झण्डै ५ सयभन्दा बढी जनसङ्ख्या छ । 

टाढै बाट हेर्दा रमाइलो लाग्ने, बस्तीका प्रत्येक घरभित्र अनेकौँ पीडाहरु लुकेर बसेका छन् । प्रत्येक घरभित्र आआफ्ना छुट्टाछुट्टै कथा र पीडा छन् । तर म आज सबैको बारेमा नभएर एक जनाको बारेमा मात्रै तपाईँहरुलाई बताउने छु । बस्तीमा बस्ने १४ वर्षकी दीपा दमाईको बारेम म तपाईँहरुलाई बताउन गइरहेकी छु । 

अघि बाटोमा भेटिएका बस्तीका महिलाहरुले हामीलाई एक जना बस्तीको अगुवा महिला कोपिला बोहोराको घरमा लगेर गए । र निकै सत्कारका साथ बस्नका लागि कुर्सी खोजेर हामीलाई बस्ने व्यवस्था गरे । तर हामी कुर्सिमा नबसी 'हजुरहरुसँगै बस्छौँ' भनेर सँगै भुइँमा बस्यौँ । उनीहरु झनै खुसी भए । मैले बस्तीको बारेमा सोधेँ । सबैको बारेमा कोपिला बोहोरा अनि अरुहरुले पनि बताए । मलाई दीपाको बारेमा पनि बताए । पहिले आउँदा मैले दीपालाई भेटेकी थिइनँ । र उनको बारेमा मलाई थाहा पनि थिएनँ । मैले दीपाको आमालाई पनि बोलाउन भनेँ । र त्यही बोलाएर कुरा गरेँ । उनको बारेमा सबै बुझेँ । 

त्यसपछि म दीपालाई भेट्न उनकै घरमा गएँ । धेरै जनाको घर बनिसकेको भए पनि दीपाको घर भने बनेको थिएन । खरले छाएको सानो घर थियो । अहिले पनि उनीहरुको घर बनेको छैन । पुरानै माटोको खरले छाएको घरमा बस्छन् । मैले दीपा र उनकी आमासँग बसेर कुरा गरेँ । उनकी आमाले आफ्नोबारेमा सबैकुरा भन्नुभयाे । उहाँको पुर्ख्याैली घर भने डोटी जिल्लामा रहेको र विगत ४ वर्षदेखि यस शिविरमा बस्दै आइरहेको रहेको कुरा बताउनुभयाे । उनीहरुको पहाडको पुर्ख्यौली घर खेत पहिरोले बगाएपछि उनीहरु तराई झरेका कुरा पनि बताउनु भयाे । 

दीपा अहिले १४ वर्षकी भइन् । दुई दाइ, तीन दिदी र दुई जना भाइ गरी जम्मा ८ जना हुन् । जसमध्ये तीन दिदी र दुई दाइको विवाह भइसकेको छ । अहिले उनको परिवारमा उनी, उनकी आमा, दुई साना भाइ  गरी जम्मा चार जना छन् । विवाह गरेका उनका दुई दाइहरु आफ्नो परिवारसहित अलग्गै छुट्टिएर बसेका छन् । दाइहरुलाई आआफ्नै परिवार पाल्नमै ठिक्क छ । 

पहाडमा हुँदा पनि उनको घरबास र थोरै बारी मात्रै थियो । उनकी आमा अरुको खेतबारीमा काम गरेर मेलापात गरेर र उनका बुबा पनि अरुको खेतबारी खनजोत गर्ने काम गरेर गुजारा चलाइरहेका थिए ।  'पहिलेको जमानामा यस्तो थिएन । स्रोत साधनको पहुँच पनि थिएन । पहुँच भए पनि चेतना र आर्थिक अभाव थियो । जसका कारण परिवार नियोजनका साधनको प्रयोग नगरेकाले बर्सेनि बच्चा जन्मिए । आठ छोराछोरी त अहिले छँदैछन् । कति त खेर गए । ' उनकी आमा मनसरा दमाइले बताउनु भयाे । 

बर्सेनि बच्चा जन्मिँदा परिवारको आकार पनि ठूलो हुँदै गयो । उनीहरुलाई बेलुका बिहानको छाक टार्न मुस्किल हुनथाल्यो । गाउँमा पाइने कामले परिवार पाल्न निकै गाह्रो हुन थाल्यो । यसरी परिवार धान्न गाह्रो भएपछि आज भन्दा १२ वर्ष अगाडि उनका बुबा रोजगारीका लागि भारत तिर गए । तर अहिलेसम्म पनि फर्किएका छैनन् ।

'सबैभन्दा कान्छो छोरा पेटमा हुँदा कमाउन भनि भारततिर हिँडेका श्रीमान् अहिले छोरा १२ वर्षको भइसक्दा पनि फर्किएका छैनन् । कति त यति धेरै बच्चा जम्माउँदा गलेको मेरो शरीर त्यसैमाथि श्रीमानकाे चिन्ता र छोराछोरीहरुलाई कसरी लालनपालन गर्ने भनेर गलिसकेको छ । मेरो आँखा कहिले पनि ओभाना हुँदैनन् । रातदिन आँशु बगिरहन्छन् ।' उनकी आमाको भनाइ छ ।  

उनकी आमा फेरि थप्छिन् '८ जना छोराछोरीहरुलाई कसरी हुर्काएँ भन्ने कुरा मलाई मात्र थाहा छ, कति दिन र रात मैले सडकमा भोकै प्यासै बिताएँ, आफूले नखाएर छोराछोरीलाई हुर्काएँ, अझै सङ्घर्ष गरिरहेकै छु।' 

दीपाकी आमा बेलुका बिहानको छाक टार्न अहिले पनि अरुको खेतबारीमा ज्यालामजदुरी गर्न जानुहुन्छ । आमा दिनभरि अरुको खेतबारीमा काम गर्न जाँदा दीपा भने घरको काम अनि भाइहरुलाई खाना खुवाउने र विद्यालय पठाउने गर्छिन् । उनको यो दिनचर्या जस्तै बनेको छ । 

दीपा १४ वर्ष कि भइन् तर उनी अहिलेसम्म विद्यालय गएकी छैनन् । यो कुरा सुन्दा मलाई अचम्म लाग्यो । अहिलेको यो समयमा अनि उपमहानगरपालिका भित्रै पनि यस्तो । उनी बस्ने बस्ती नजिकै विद्यालय छ । त्यही विद्यालयमा उनका भाइहरु र बस्तीका अरु बलबालिकाहरु पनि पढ्न जान्छन् । तर दीपा भने अहिलेसम्म विद्यालय गएकी छैनन् । मलाई अझै उनीसँग कुरा गर्ने म थियो । तर त्यो दिन ढिलो भइसकेकाले हामी फर्किनु पर्ने भयो । दीपा र बस्तीका सबै जनालाई पछि भेट्न आउने बाचा गदैँ साथीसँगै म घर फर्किएँ । 

घर फर्किँदा बाटोभरि पनि म दीपाकै बारेमा सोचिरहे । दीपालाई भेटेपछि मैले आफ्नो बाल्यकाल पनि सम्झिएँ । मलाई आमाले काम परेको कुनै दिन आज विद्यालय नजानु भन्दा मेरो स्वास नै रोकिएको जस्तो हुन्थ्यो । आफू घरमा बस्दा वरपरका साथीहरु विद्यालय जाँदा कस्तो रुन मन लाग्थ्यो र म रोएर बस्थेँ । अनि कहिले त आमाको कुरै नमानेर विद्यालय जान्थेँ । तर दीपा भने यत्रौ १४ वर्षसम्म कसरी बस्न सकेकी होलिन् ? के उनलाई विद्यालय जान मन लाग्दैन होला ? यस्तै अनेकौँ प्रश्नहरु मनमा आइरहेँ । एक्लै जान अलि गाह्रो भएकाले म फेरि चाँडै त्यो बस्तीमा फर्किन सकिनँ । घर आएर मैले उनको बारेमा धेरै सोचेँ । के गरौँ कसो गरौँ भयो । फोन गरौँ भने उनीहरुसँग फोन पनि थिएन । तर बस्तीकै एक जना कोपीला बोहोराको नम्बर मैले ल्याएकी थिएँ । मैले उनलाई फोन गरे र उनको बारेमा अझै बुझेँ । उनलाई जसरी भए पनि विद्यालय पठाउनु पर्छ भनेर उनीसँग पनि कुरा गरेँ । र उनकी आमालाई पनि बोलाएर फोनमै सम्झाएँ । म फेरि त्यो बस्तीमा गएँ। बस्तीमा सबैलाई फेरि भेटेँ । दीपासँग बसेर दिनभरि उनीसँग कुरा पनि गरेँ । मैले उनलाई किन विद्यालय नगएको ? तिमीलाई विद्यालय जान मन गाग्दैन ? भनेर सोधेँ जवाफमा उनले भनिन् 'लाग्छ लाग्न त तर परिवारमा कमाउने आमा मात्रै हुनुहुन्छ, आमा बिहानै ज्याला मजदुरी गर्न अरुको खेतबारीमा जानु हुन्छ साना भाइहरुलाई मैले नै हेर्नु पर्छ, अनि मलाई पढाउन आमासँग पैसा पनि त छैन ।'

मैले उनलाई यदि तिमीलाई हामीले विद्यालयमा भर्ना गरिदियौँ भने पढछौँ त ? भनेर सोधेँ । उनले आफ्नो मलिन अनुहारमा मुस्कान छर्दै खुसीकासाथ टाउको हल्लाउँदै पढछु भनिन् । मैले उनकी आमालाई छोरीलाई विद्यालय पढाउनु पर्छ भनेर फेरि सम्झाएँ । सरकारी विद्यालयम आधारभूत तहको पढाइ निः शुल्क हुने र धेरै पैसा नलाग्ने कुरा पनि बताएँ । उनकी आमाले छोरी १४ वर्षकी भइन् साना नानीहरुसँग कसरी कक्षा १ देखि पढ्लिन् भन्ने कुरा गरि्न । तर मैले पढ्नका लागि उमेरले नछेक्ने र दीपालाई पढ्ने इच्छा भएको कुरा पनि बताएँ । र दीपालाई विद्यालय भर्ना गर्न सहयोग गर्ने कुरा पनि बताएँ । उनलाई सम्झाइ बुझाइ गर्दा उनकी आमाले पनि मान्नुभयाे । मैले उनलाई यसरी ३, ४ पटक भेटेँ । र बारम्बार कोपिला बोहोराको फोनमार्फत कुराहरु पनि गरिनै रहेँ । 

विद्यालय भर्ना गर्नका लागि भनेर युनिसेफको सहयोगमा बास नेपालद्वारा सञ्चालित बाल संरक्षण तथा लैङ्गिक हिंसा न्यूनीकरण परियोजना अन्तर्गत उनलाई आर्थिक सहयोग प्रदान गरियो । त्यही आर्थिक सहयोगको रकमबाट यसै वर्षदेखि उनी कक्षा २ मा भर्ना भएकी छिन् । १४ वर्षसम्म कहिले पनि विद्यालय नगएकी दीपा अहिले नियमित विद्यालय जाने गरेकी छिन् । अहिले उनले आफ्नो नाम समेत लेख्न सिकिसकेकी छिन् । तीन चार वर्षकै उमेरमा पाउनु पर्ने ज्ञानको दियो पाउन दीपाले १४ वर्ष कुर्नुपर्यो । १४ वर्षपछि अहिले दीपाको जीवनमा ज्ञानको दियो बलेको छ । पहिले मलिन देखिने दीपाको मुहार अहिले निकै हसिलो र खुशी देखिन्छ । उनकी आमा मनसरा दमाईले बासद्वारा प्रदान गरिएको सहयोगले अन्धकार भएको छोरीको जीवनमा ज्योती छरिदिएकोमा बास नेपाल र युनिसेफलाई निक्कै धन्यवाद दिनुभयाे । साथै आजसम्म कसैले पनि आफूलाई आर्थिक सहयोग नगरेको भन्दै बास नेपाल उहाँको जीवनमा अभिभावकका रुपमा आएको बताउनुभयाे । र उहाँलाई गरेको यो सहयोग जीवनभरि नबिर्सिने पनि बताउनुभयाे । दीपालाई विद्यालय पठाउनका लागि बस्तीका कोपिला बोहोरा र राजेश्वरी ढुङ्गाना लगाएलको निकै सहयोग मिलेको छ । उनीहरुले पनि दीपा र उनकी आमालाई सम्झाएर विद्यालय भर्ना गर्न निकै सहयोग गरेका छन् । 

दीपा त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । हाम्रो समाजमा अझै यस्ता धेरै बालबालिकाहरु छन्, जो अहिले पनि आधारभूत शिक्षाबाट वञ्चित छन् । के अझै पनि बालबालिकाहरुले सजिलै शिक्षाको पहुँच सम्म पुग्न १४ वर्ष नै कुर्नु पर्ने हो त ?

अन्तिम अपडेट: कात्तिक १४, २०७९

तपाईको प्रतिक्रिया