नलेखिने कथा

 भदौ ४, २०७९ शनिबार १२:४६:१८ | सुषमा रिसाल सापकोटा
unn.prixa.net

“ममी ! चाउचाउ खाने ।” बच्चोले फुटपाथको नाङ्लोमा फिँजाएर बेच्न राखेको चाउचाउको प्याकेटलाई औँलाले देखाउँदै भन्यो । 

“अहिले होइन ।”

मुखमा सेताम्य पाउडर, ओठमा लाली, आँखामाथि हरियो रङ्ग दलेर, निधारमा हरियो  लाम्रेकिरोजस्तै देखिने लामो टीको टाँसेर, दुवै नारीमा अटाउञ्जेल, हरिया, पहेँला, राता चुरा उनेर झकिझकाउको सितारा भरेको सारीमाथि चस्चसी घोच्ने जरीको चोलो लाएर यति अग्लो खुर भएको जुत्ता घिसार्दै निदाएकी छोरीलाई काँधमा बोकेर, बढ्ने बच्चालाई अलि ठूलो लुगा किनिदिनुपर्छ भन्ने सिद्धान्तको अक्षरशः पालना गर्दै किनिदिएको दुई इञ्च ठूलो भएर कम्मरमा समेत नअडी झरिरहने  पाइन्टलाई स्थायी रूपले नै एक हालते तान्दै आमासँग चाउचाउको फर्माइस गर्ने यो छोरालाई बसमा उकालेर आफू पनि बल्लबल्ल माथि उक्लन सकेकी ममीले छोरालाई उसको भन्दा ठूलो डाँकोले खाँदै  भनिन् र टन्न भरिएको बसको पछाडिसम्मको सिटतिर हेरिन् । 

बच्चासहित यात्रा गर्ने महिलाले सामान्यतः महिलाका नाममा आरक्षित सिटमा बस्न पाउनुपर्ने हो । तर महिला सिट सबै भरिभराउ थिए, उनीजस्तै बालबच्चाधारी महिलाहरूद्वारा । बाबुको मुख हेर्ने औँसीको दिन, बसको सबै सिट सद्भावनापूर्वक छाडिदिँदा पनि बच्चा बोकेका महिलाले बस्ने ठाउँ पाइरहेका थिएनन् । त्यसैले बस्न पाउने आश मार्दै कसैले छोरीलाई काखमा लिइदिएकोमा नै राहत अनुभव गर्दै उनले यत्नपूर्वक सिटमुनि  मिलाएर झोला थन्क्याइन् ।  

“नाइँ, खाने ! खाने के,” छोरो किन हार मान्थ्यो र ? दायाँबायाँ जीउ नचाउँदै जिद्दी गर्न थाल्यो । ममी राम्ररी सम्हालिन पाएकै थिइनन्, छोराको जिद्दीले उनको धैर्यले सिमाना नाघ्यो । यसै पनि उनी धैर्य भन्दा चिच्याउन, कराउनमै विश्वास गर्थिन् । त्यसमाथि अहिले उनी जुन अवस्थामा छिन् नि त्यहाँ जस्तोसुकै धैर्यवानको धैर्यले पनि फेल खाने निश्चित थियो । भदौको खुर्सानी सुकाउने घाममा उनी बाबुको मुख हेर्न, हरितालिका तीज, ऋषि पञ्चमी सबै उतै माइतमा मनाएर आउन भनेर हिँडेकी । घरबाट बिदा पनि सजिलै होइन, निकै ठस्कोफस्कोसाथ पाएकी । 

उनको योजना छोरीलाई मात्रै लैजाने थियो, तर खै कसरी छोरोले सुइँको पाइगो । दुईचार दिन पढ्ने झमेलाबाट मुक्ति पाइने, उति टाढा मामाघरसम्मको सयरको मजा, ऊ यस्तो मौका किन गुमाउँदो हो ? जिद्दी गर्न थाल्यो । वास्तवमा छोरालाई लैजाने उनको इच्छा नभएको होइन, आँटमात्र नआएको हो । ए बाबा ठाकुरे, कसरी आओस् आँट ? नगरकोट जाने बाटोमा पर्ने बागिश्वरीको घरबाट तीनवटा बस बदल्दै दहचोक माइती पुग्नुपर्ने । एउटा बसको यात्रा सकेर दोस्रो बस चढेकी छन् भर्खर । 

सार्वजनिक यातायातको हालत कसले जानेको छैन र ? त्यसमाथि चाडवाडको मौका, जोरीपारी, दिदीबहिनी, साथीसङ्गातीको मुखिञ्जेल बन्नेर जानै पर्यो । तीजमा लगाउने राताहरिया लुगा, सुनभन्दा कम छैन, हराएमा डर छैन मार्काकै सही गहना भिर्नै पर्यो । बाको मुख हेर्न जाने, खानेकुरो, मिठाइ फलफूल बोक्नै पर्यो । केटाकेटीका फेरफार सबै गर्दा यामानका दुईटा झोला भैहाले । हिँड्न नसक्ने छोरी बोक्ने भार त छँदैछ, अब यो छोरो पनि पछि लाग्ने भएपछि उनको पारा नचढेर के चढोस् ? 

उनले छोरालाई फकाउने प्रयास गरिन्, स्कुल छाड्नुहुन्न, पढाइ बिग्रन्छ भनेर तर्साइन्, चकलेट ल्याइदिउँला, पैसा दिऊँला पनि भनिन् । अँहँ ऊ टसमस भएन, ‘जान्छु’ कि ‘जान्छु’ भनेर जिद्दी गर्न थाल्यो । आमाका सबै अस्त्रले फेल खाए । परिणामः छोरालाई जमेर एक बाक्लो चड्कन चिउरा दिइन्, ठुटो कपाल समातेर भुत्याइन्, झाङ्गलझुङ्गल पारिन् । ऊ लडिबुडी गर्दै रुन थाल्यो । हजुरआमाले नातिलाई प्रेमपूर्वक फकाउन खोजिन् तर नातिकेटो झन् बिच्कियो । हजुरआमालाई मुड्किले हानेर कङ्कला शब्द झिकेर रुँदै ‘ममी म पनि जान्छु नि, जान्छु नि है’ भन्दै आमाको पछिपछि लागिरह्यो । 

प्राणभन्दा प्यारो नातिको यस्तो विलाप हजुरआमाले किन सहन सक्दिहुन्, ‘एकदुई दिन पढ्न नगएर के बिग्रन्छ । आएपछि पढिहाल्छ नि, जे भयो कुटेकै छ, कसैको नभको रिस’ भन्दै बुहारीलाई मारी हप्काइन् । वास्तवमा बहिनी जन्मेपछि नाति हजुरआमाको भागमा पर्न गएको थियो । खुवाउने, सुताउने, नुहाउने सबै उनै गर्थिन् । हरहमेसाजस्तै ऊ हजुरआमासँग हुन्थ्यो । त्यसैले उनलाई ‘नातिले आमालाई भन्दा मलाई पछ्याउँछ, मलाई बढी माया गर्छ’ भन्ने गर्व थियो । आज नातिले ‘अरूको लाख, आमाको काख’ भनेझैँ माया गर्ने हजुरआमाको उपेक्षा गर्दै कुट्ने आमासँग जाने जिद्दी गर्नाले उनको गर्व चकनाचुर भयो । अहममा चोट लाग्यो । बुहारीको सातो खाएर त्यो चोटमा मलममात्र लगाएकी हुन् अन्यथा उनी बुहारीकी सासुमात्र हुन्, दुस्मन होइनन् । 

अब आमा पनि पग्लिन । छोरालाई दनक दिएको आफ्नो हात अझै दुख्दै छ, बरा त्यो बालकलाई कति दुख्यो होला ? र पनि ऊ आमाको पछिपछि लागेर फकाउँदै छ भने पछि मामाघर जान कति रुख्खिएको रहेछ बरा । केटाकेटी मावल भने पछि हत्ते हाल्छन् । त्यहाँ न गाली खानुपर्छ, न हप्कीदप्की सुन्नुपर्छ,  सबैले माया गर्छन्, पुल्पुल्याउँछन्, आउने बेलामा पैसा पनि दिन्छन् । त्यो स्वाद पाइसकेको ऊ के भनेर सम्झौता गर्दो हो । यसरी आमा छोरोलाई पनि साथ लैजान बाध्य भइन् ।      

हो यहीँ उनीबाट गल्ती भयो । ‘जाने भए यसो यसो गर्नुपर्छ, यसो यसो गर्नु हुँदैन है त’ भन्ने सर्तनामा गराएको भए, अलिअलि कुरा सिकाएर लगेको भए शायद यस्तो नहुँदो हो ? तर उनमा त्यो ज्ञान आएन । सार्वजनिक गाडीको यात्रामा अनभ्यस्त केटाकेटी लिएर हिँड्दा जति तयारी गर्नुपर्ने हो त्यति पुगेन । तर्तरी पसिना चुहाउँदै, नयाँ जुत्ता, त्यसमाथि सजिलो नाइँले खुट्टामा तीनचार ठाउँमा बनाएको घाउ सहूँ, छोरालाई अघिअघि हिँड् भन्यो, कता पुग्छ कता, उसको हात समातेर तान, एउटा होइन, दुईटा होइन, तीनतीनवटा बस फेर, निदाएकी छोरी बोक, छोराको हात समातेर घिच्याऊ, दुईवटा यामानमा झोला बोक, राम्रो ब्याग काँधमा भिर गरेर जानु के ख्यालठट्टा हो ?  

यस्तोमा छोराको चाउचाउ खाने जिद्दीले आमा रन्थनिनु स्वाभाविकै हो, दिइन् कसेर एक दनक । बच्चोले आफ्नो गल्ती जानेन क्यार, सकेसम्म मुख बाएर रुन थाल्यो । उसको रुवाइले जरी नै जरीको फेरो भएको उसैलाई पनि तीन वर्षपछि मात्र ठीक्क हुने फ्रक लगाएर चिपिच्याल्ल तेल हालेको टाउकोमा चिप्लेकिराको सिङजस्तै मसिनो कपाल बाँधेर कानसम्म तानेको गाजलको कोस लत्पत्तिएर कालो भएको पुक्के गालामाथि र्याल चुहाएर पराइको काखमा आँ मुख बाएर मस्त निदाएकी बहिनी पनि ब्युँझी । आफू पराइको काखमा भएको थाहा पाएर ऊ हात फैलाएर आमासँग जान खोजी । अब ती पराइले बच्चाकी आमालाई बस्न नदिइ सुख्खै पाएनन् । 

एकछिन परिस्थितिको अध्ययन गरेपश्चात उसले दाजु रुनाको कारण पत्ता लगाइ जुन कुरो उसलाई पनि साह्रै मन पर्यो । प्रतिपक्षमा रहेको बेला अल्पविकासित देशका राजनीतिक दलका नेताहरूमा देखिने अभूतपूर्व एकता उनीहरूमा देखियो । दाजुको मागमा ऐक्यबद्धता जनाउँदै ऊ पनि चाउचाउको माग राख्दै चालीस सिटे र असीभन्दा बढी खडे भएका त्यसै बसै थर्काएर हल्ला गर्न थाली । तिनले एकमतले माग राखेर सानोतिनो सङ्घर्ष नै गरे पछि ममीले हार्नै पर्यो । झ्यालबाटै नाङ्ले पसल्नी अन्टी लाई बोलाएर एक प्याकेट चाउचाउ किनिदिइन् । 

ममी पनि ! कस्तो नबुझ्ने ? दुईटा बच्चालाई एक प्याकेट चाउचाउ किनिदिएर आफैँ समस्या  निम्त्याइनन् ? अघिको देखिएको त्यो अनुकरणीय ऐक्यबद्धताको विपरीत ती दुईबीच सत्ता प्राप्त भए पछि राजनीतिक दलमा देखिने विभाजनको प्रवृत्ति देखा पर्यो ।  नेताले पद र कुर्सी खोसाखोस गरे झैँ दुवै चाउचाउको प्याकेट खोसाखोस गर्न थाले ।   

छोरो ठूलो पनि, बलियो पनि, कसोकसो चाउचाउ हात पारेर ममीतिर हेर्दै नहेरी प्याकेट माडेर चउचाउ धुलो बनायो । दाइको हातको प्याकेटलाई बहिनीले झम्टा हानी तर केही लागेन । दाजुले बलजफ्ती प्याकेट खोलेरै छाड्यो, ढङ्ग मरु कसो गरु पारामा । स्वाभाविकै हो प्याकेट ठाउँ कुठाउँमा च्यातियो र आधाउधी चाउचाउ पोखियो । ऊ बाल मतलब नराखि मसलाको प्याकेट दाँतले टोकेर मसला मिसाएर चाउचाउ फक्याउन थाल्यो । दाजुको यो क्रियाकलाप सकेसम्म रोक्न खोज्दाखोज्दै विफल भएकी बहिनी जीउलाई अर्धचन्द्रासन मुद्रामा ढालेर मच्चीमच्ची रुन थाली ।  

सानी भएकीले छोरीलाई ममीको बढी लाडप्यारमात्र होइन साहनुभूतिसमेत प्राप्त हुनु स्वाभाविक नै हो । उसको रुवाइले उग्ररूप लिए पछि छोराको हातबाट चाउचाउ खोसेर ममीले छोरीलाई दिइन् । ऊ रुन छाडेर खान थाली । दाजु त ऊ त्यही बहिनीको पो हो त, खासमा ऊ पनि त बच्चै हो नि । बहिनी खाने, ऊ हेरेर चित्त बुझाउने न उसको उमेर भैसकेको थियो न त्यति त्याग गर्न ऊ तयार थियो । ममीले यसो फकाएर लिएको भए पनि तै तै मान्थ्यो कि, एकदम लुछेरै लिए पछि ऊ किन सहँदो हो ? बहिनीले रोकेको रुवाइको क्षतिपूर्ति गर्दै ऊ फाँको मारेको चाउचाउ निल्नसमेत नभ्याएको अवस्थामै मुख बाएर रुन थाल्यो । ममीले ‘दाइलाई पनि देऊ त’ भनेको छोरीले टेरपुच्छर लगाइन । छोरी नदिने, छोरो रुने, ममी परिन् आपतमा । दुवैलाई न सम्हाल्न सकिन्, न फकाउन । अनि दुवैलाई गोडा चारेक चड्कन लगाएर सङ्कटमाथि सङ्कट बढाइन् । 

परिस्थिति किन सप्रदो हो ? बच्चाबच्ची एउटा एम्बुलेन्सको, अर्को दमकलको साइरन बजेसरह कर्कस आवाज झिकेर थैया थैया गर्दै रुन थाले । परिपरीका सबैले पनि ‘बच्चालाई हात छाड्ने कस्ती आमा’ भनेर उनैलाई दोष दिए । बल्ल उनले गल्ती सुधारिन्, छोरीलाई अर्को प्याकेट चाउचाउ किनिदिइन् । दुवै आआफ्ना प्याकेटबाट खान थाले । मुद्दा टुङ्गियो ।

कुरो यही टुङ्गिए त जीवन कसरी चल्छ ? जगत कसरी चल्छ ? यसपछि अर्को अध्याय कसरी बन्छ ?  खुर्सानी सुकाउने भदौरे घाम, वातावरण धपक्क बल्लाजस्तो थियो । आरिसै आरिसमा सिङ्गासिङ्गै चाउचाउमा चरक्क परेको मसला मिसाएर फुकै फाँको मारेपछि तिनको हालत के भयो होला ? ‘ममी पानी’ भनेर हल्ला मच्चाउन थाले । खचाखच भरिएको नेपालको सार्वजनिक बस, पहिले त यिनको बाललीला थोरै रमाइलो लाग्नेलाई पनि धेरै भए पछि अहिले झर्को लाग्न थालिकसेको थियो, झन्  पानीको मागसँगको हल्लाले अन्य यात्रीलाई के भयो कुन्नी ममीलाई कराउने विषय उपलब्ध भयो । आफ्नो शब्दकोशमा भएका जति शब्द प्रयोग गरेर गाली गरिन् । छोरालाई ‘नआ’ भन्दा नमानेकोमा एक घुच्चा दिइन्, तर झन् हल्ला गर्न थालेपछि हार खाएर बसको सहायकलाई फकाएर बस बिसौनीमा एक बोतल पानी किन्न लगाइन् । सहायकले अलिकति झर्को देखाएर पानी किनेर ल्याइदियो । 

अब अर्को हल्ला सुरु भयो, पहिले कसले पानी पिउने ? दुवैले ठाडो घाँटी लगाएर ‘आँ’ गरे । ममीले पहिले बहिनीलाई पानी पिलाउन लागेको देखेर दाजु बोतल खोस्न गयो । ह्वाल्ल निस्केको पानी बहिनीको अनुहारमा पोखियो । नाकबाट भित्र पसेकोले पानी सर्किएर ऊ खोक्न थाली । दाजुले मौका छोपेर आफैँ ठाडो घाँटी लगाएर पानी पिउन खोज्नु र बसमा ब्रेक लाग्नु एकैपल्ट परेछ । अनुहारमात्र हैन शरीरैभरि पानी पोखियो । ऊ पनि सर्केर खोक्न थाल्यो । खोक्दाखोक्दै दुवै उल्टी गर्न थाले । अब ती हुस्सु ममीले प्लाष्टिकको झोला बोकेकी होलिन् भनेर आश गर्नु मूर्खता हुनेछ । थिएन, त्यसैले बस फोहर भयो । बसको चालक र सहायकै दुवैबाट ममीले गाली खाइन् । पहिले त उनले चुपचाप सुनिन्, पछि ‘बच्चा यस्तै त हो नि’ भनेर चर्चरी बाझेर तिनलाई जित्ने प्रयास गरिन् । दुवैथरि निकै बेर कराएर आफ्नो पक्ष बलियो बनाउनतिर लागे । 

यति गर्दा रत्नपार्क आइपुग्यो ।  

यहाँ तेस्रो बस पक्रनु थियो । ममी छोराछोरी घिच्याउँदै बसबाट ओलिइन्, दुवैको मुख पखालिदिइन्, पुछिदिइन्, पानी पिलाइन् अनि झिटीगुण्टा र बच्चाबच्ची लिएर बस चढिन् । धन्न बस खाली रहेछ, सामान मिलाएर अगाडिको सिटमा बसिन् । बसको चालक र सहायक खाना खान गएका रहेछन् । प्यासभन्दा बढी होडबाजीमा पानी पिएका केटाकेटी केही बेरमै ‘ममी सु आयो’ भनेर पिर्न थाले । ‘एकछिन बस रोकिहाल्ला नि’ भन्ने अन्दाज गरेर ममीले तिनलाई सार्वजनिक शौचालय नामक नर्कमा लिएर गइन् । ‘पहिले म’ भन्ने विवादबीच ममीले दुवैलाई सु गराएर त्यहाँबाट निस्कँदा बसको सहायक रिसाएर ‘यो सामान कस्को ?’ भन्दै उनका झोलाझाम्टा हुर्याइदिन ठीक्क परेको देखिन् । ‘लौ बित्यास पर्यो’ भन्दै लालाबाला घिच्याउँदै बेपत्ता दौडँदा उनको देब्रे खुट्टा फर्लक्कै फर्कियो । मर्लान्त दुखेको भए पनि उनीसँग ‘ऐया’ भन्ने मौका थिएन । सकिनसकी खुट्टा खोच्याउँदै बस चढिन्, छोराछोरीलाई चढाइन् । यत्रो बेर कुराएको बस के के न बितेको झैँ हुत्याउन थाल्यो । 

अब ढुक्क भयो, छोराछोरीले खाए, पानी पिए, सुसु पनि गरे, भन्ने गर्ने कुरो केही छैन, आनन्दले पुगिने भइयो भन्ठान्नु ममीको भ्रम थियो । झ्यालमा को बस्ने भन्नेमै एकछिन लडन्त भयो । एउटा झ्यालमा ममीले कसलाई बस्न दिऊन, कसलाई हेर्न दिऊन् । त्यहाँ पनि सानी भएकी नाताले छोरीले बाजी मारी, छोरो ठसठसाउन थाल्यो । धन्न अर्को यात्रीले छोरालाई आफूतिर तानेर झ्यालबाट हेर्ने सुविधा दिलाइदिएको कारण ममीलाई राहत भयो । 

तर बच्चो न हो, केही न केही नगरि कसरी बस्न सक्थ्यो र । झ्यालबाहिर सिङ्गै टाउको झिकेर हेर्न थाल्यो । चालकले देखेछन्, ‘ए ए के गरेको त्यो, कस्तो बच्चा रहेछ’, भनेर कराउन थाले । झ्यालबाहिर टाउको निकाल्दा चलेको सररर्र हावाले उसलाई ख्याल मजा आइरहेको थियो, आफूलाई राजेश हमाल नै ठानेको थियो । अरू भने देखि सहन्नन् ।  किन ? किन टाउको बाहिर झिक्न नहुने ? यस्तो रमाइलो काम किन गर्न नहुने ? ऊ जान्दैन र कसैले उसलाई बताएका पनि छैनन् । ‘हुन्न भन्या सुनिनस्’ भन्दै आमाले हाल लम्काएर टाउकोमा प्याट्ट हानिन् । किन हुँदैन ? बताइदिए पो ऊ जान्ला, अनि नगर्ला, तर कारण कोही बताउँदैन, एकनास नगर भन्छन् । किन नगर्ने ? गरेर के हुन्छ ?   

हो, यही हो समस्या । हामीकहाँ बालमैत्री परिवेश छैन, न हामी बालमित्र नै छौँ । आफ्नो सोचको ढाँचामा सबै ढलून् भन्ने चाहन्छौँ, अरू त ढल्दैनन्, छोराछोरीमाथि त्यसलाई लाद्न खोज्छौँ । उनीहरूले हाम्रो सोच बुझुन्, त्यसैलाई पूर्णरूपेण आत्मसाथ गरून् भन्ने अपेक्षा गछौँ । हो छोराछोरी आमाबाबुका सपनाका अङ्ग हुन्, तर उनीहरू अर्को एउटा पूर्ण अस्तित्व पनि त हुन् नि । तिनको जीवन आमाबाबुको सपना पूरा गर्नमै बित्यो भने आफ्ना सपना ती कहिले पूरा गर्लान् । हाम्रा सन्तानको रूपमा जन्मनुको अर्थ उनीहरू सपना नै नदेखून् त ? आमाबाबुको सपना पूरा गर्न अभिशप्त भएर बाँचून् त ? 

बालबालिका जान्दैनन् भन्ने हामी कति जान्दछौँ ? उनीहरू हाम्रो कुरा बुझ्दैनन् भन्ने हामी उनीहरूलाई कति बुझ्छौँ ? तिनका भावना, रुची के हो हामीले थाहा पाएका छौँ ? ठूलाको योजनामा, ढाँचामा, परिवेशमा बच्चा ढलोस्, रमाओस् भन्ने ठान्छौँ नि जुन सर्वथा गलत मानसिकता हो । पढेलेखेका, परिपक्व, अनुभवी मान्ने हामी आफैँ त यति अबुझ छौँ भने त्यो बालख बबुरो के बुझोस् ।  

ठूला मानिसको परिवेश बालबालिकालाई रुचिकर लाग्दैन भन्ने सत्य हामी किन बुझ्दैनौँ ? किन स्वीकार्दैनौँ ? हामी रमाउने ठाउँमा तिनीहरू रमाउँदैनन्, हामीलाई मीठो लाग्ने परिकार तिनलाई लाग्दैन, हामीले गर्ने वातचितमा तिनको ध्यान जाँदैन । उनीहरूको अर्कै रुची, खानपान, क्रियाकलाप हुन्छ, जुन हामी तिनलाई उपलब्ध गराउँदैनौँ, उल्टो हाम्रो परिवेशमा रमाएन भनेर तिनैलाई दोष दिन्छौँ, बच्चाले दुःख दिएको भन्छौँ, ‘ज्ञानी छैन’ भन्छौँ । ठूल्ठूला मान्छेका ठूल्ठूला कुरा, ठूलैलाई मन पर्ने खानापिनमा तिनले रमाउनुपर्ने । चल्यो, खेल्यो भने बदमासी गरेको भन्ने, केही नगरि हात बाँधेर चुपचाप बस्नुपर्ने तिनले । बच्चा स्थिर, शान्त, चुपचाप बस्नु, ज्ञानी हुनु होइन, बरु उसमा समस्या हुनु हो । ऊ जति चकचके, चञ्चल भयो उति शारीरिक विकास हुन्छ, जति जिज्ञासु, प्रश्नकर्ता भयो उति मानसिक विकास हुन्छ । फस्टाउन, फक्रन, सिक्न सक्छ । 

अब माथिको प्रसङ्गको बिट मारौँ । जब ती मैतालु अन्तिम बसबाट ओलिन्, मुसलधारे वर्षा भैरहेको थियो । उनले एउटा छाता त बोकेकी थिइन्, तर छाताले धान्नसक्ने न पानी थियो, न छोप्नसक्ने क्षेत्रफल । साँझ पर्न लागिसकेकोले ओत लागेर बस्ने समय पनि थिएन । त्यही टपरीजत्रो छातामा तीनैजनाको टाउकोसम्म छोप्ने प्रयास गर्दै तिनी अघि बढिन् । अब छोरालाई डोहोर्याउने जगेडा हातसमेत उनीसँग भएन, किनभने निचोर्न मिल्ने गरी भिजेको सारी समाउने काम थपियो ।  फुक्का भएँ भनेर मात्तिँदै हिँडेको छोरा रातोमाटो, चिप्लो बाटोमा माछै मार्न पुग्यो । उसलाई उठाउन लम्कँदा अघि दुखेको खुट्टाले भर दिएनछ, उनले पनि बडेमानको माछो मारिन् भने उनले बोकेकी छोरीले पनि सानो माछो मार्ने नै भइ । भयो अब ?  

अन्त्यमा, भदौरे झरीले चुटिएर मुसोमात्रै हैन लडेर हिलेमाछाजस्ता भएका छोराछोरीलाई अघि लगाइ देब्रे खुुट्टा खोच्याउँदै, दुवै हातमा झोला झुन्ड्याएर, पानी पुछ्दा श्रृङ्गारपटार लतपतिएर अमूर्त कलाको क्यानभासजस्तो देखिएको अनुहार बोकेर उनी माइतीको आँगनमा टेक्न पुग्दा सानो साँझ परिसकेको थियो । पानीले भिजेका केटाकेटी साँक्कसुक्क, छिउँछाउँ गर्न थालेका थिए । 

यो सम्पूर्णताभित्र उनलाई हर्क या बिस्मात के भइरहेको थियो, उनै जान्लिन । 

यदि यो घटनाक्रमाथि विचार गर्नैपर्ने हो भने कसलाई दोष दिन मिल्छ त ? सरकारले सार्वजनिक यातायातलाई अलि व्यवस्थित र सुविधायुक्त बनाउन सक्दैन ? सरकारजस्तो शक्तिशाली निकायको लागि के यो असम्भव कुरा हो ? यातायात व्यवसायीले नाफामात्र नहेरी आफूले दिने सेवालाई स्तरीय, मर्यादित र आकर्षक बनाउन सक्दैनन् ? अनि परिवार नि ? के बालबालिका पूर्णतः आमाकै दायित्वभित्र पर्छन् ? एउटी आमाको साथ दुईदुई बच्चा पठाउनु अघि केही परसम्म भए पनि साथी जान सम्भव थिएन ? अनि आमा ? आमा भैसके पछि चाहे कर्तव्य सम्झेर होस् वा बाध्यता ठानेर होस् केही वर्ष बच्चाकै तालमा नाच्नैपर्ने हुन्छ । उनले तिनको खानपिनका साथै उत्सर्गको समेत तालमेल मिलाएर यात्राको योजना बनाउनै पर्छ । तिनलाई ‘भनेको नमन्ने’ भन्दै चड्कन हान्दै गर्नुभन्दा एक्लै राखेर सही र गतल सिकाएको छ भने थोरै भए पनि तिनीहरू नियन्त्रणमा रहन्थे कि ? यति ज्ञान प्राप्त गर्न उनले ढिलाइ गरेकी हुन् वा त्यो उमेर पुग्नु अघि नै उनी आमा बनेकी हुन् ? 

एक दिनको वर्णन त यस्तो छ भने सार्वजनिक गाडीको नियमित उपभोक्ताको दिनकै हालत कस्तो होला त ? त्यहाँ जहिल्यै यस्तै हुन्छ हो ? लगभग सम्पूर्णले नै यसको जवाफमा ‘हो’ भन्छन्, तर केही छन् जसले यसभित्रै आनन्द पाइरहेका हुन्छन् । पहिले कुरो त आफू बाँच्नुपर्ने जीवनभित्र मज्जा लिएर बाँच्न सिक्ने हो, न कि दुःखी भएर । वास्तवमा सुख र आनन्दको स्रोत बाहिर होइन, आफैँमा निहित हुन्छ भन्छन्, योग गुरुहरू, दाशर्निकहरू । सुखदुःख, आनन्दपीडाको परिभाषा पनि सापेक्षतामा नै हुने हो र यो व्यक्तिको सोच, मनोविज्ञान, संस्कार र भावनामा भर पर्ने कुरा हो । 

सार्वजनिक यातायातमा यात्रा गर्नबाट सबै बच्न चाहन्छन् भन्ने अकाट्य सत्य हो तर यसमा रमाउने वर्ग पनि त छ यो समाजमा । त्यो वर्गमा पहिलो नाम त यातायात व्यवसायीकै आउने भयो, दोस्रो वा पूरक वर्गमा पर्छ पाकेटमारा । बाँकी त कसलाई मजा आउला र खै ? हैन है हैन । अर्को एउटा वर्ग छ जो सार्वजनिक जीवनमा रस पाउँछ : त्यो हो लेखक, रचनाकार । सार्वजनिक जीवन लेखनको अजस्र स्रोत हो र सर्वजनिक यातायातमा सार्वजनिक जीवनको हरेक नमुना उपलब्ध हुन्छ ।  

सार्वजनिक यातायातमा सामान्यतः एक खालको नियमितता हुन्छ, अर्थात् जागिरे, विद्यार्थीजस्ता निश्चित ठाउँबाट चढ्ने, निश्चित ठाउँमा ओर्लनेको सङ्ख्या नै धेरै हुन्छ । आफ्नो निजी गाडीको व्यवस्था गर्न नसकुञ्जेल यसको नियमित यात्री बन्न बाध्य जागिरे वर्गबाट बसभाडा बढेको बेलामा बसको सहायकसँग ‘मान्छे चिनेर कुरा गर्’ पाराको विवाद चल्नुभन्दा बढी रोचकताको आशा गर्न सकिन्न । यद्यपि यसभित्र निहाल्ने हो भने त के के भेटिएला के के तथापि निम्न वा मध्यम आर्थिक वर्गीय यस्ता जागिरेको भिडभित्र पनि सामर्थ्य हुनेले कविता कोर्न सक्ने मौनता व्याप्त रहन्छ । 

सार्वजनिक गाडी प्रयोग गर्ने अर्को ठूलो वर्ग हो विद्यार्थी । पढाइ नसकुन्जेलका नियमित यात्रु यो वर्ग हास्य रसले निथ्रुक्क भिजेर आते न पाते पनि खिँखीँखाँखाँ गर्ने सामर्थ्य राख्छन् । कुराको न सिङ हुन्छ, न पुच्छर, न विषय न वस्तु, हाँस्न पाए पुग्यो । अझ विपरीत लिङ्गी साथी साथै छन् भने त यिनको खिँखीँखाँखाँको मात्रा धेरै भएपछिको चिनीजस्तै हुन्छ । सुरिलो स्वरले धोत्रो स्वरलाई मात गर्छ । त्यहाँ यसो भैरा भन्या, खिँखिँखिँखीँ, फलानोले यसो भनिरा भन्या, खितितितित्त । 

यिनका कुरा ध्यान दिन लायक त हुँदैनन्, तर दिइहालियो भने निकै रोचकता भेट्न सकिन्छ । भाषाको मानक ध्वनि बहिष्कार गरी नयाँ आविष्कार गरिरहेका यिनले ‘छ’ वर्णको उच्चारण ‘स’ गर्छन् । जस्तै : ‘हुन्छ’लाई ‘हुन्स’, ‘छ’लाई ‘स’, ‘छैन’लाई ‘सैन’ । तिनले सबैभन्दा बढी भन्ने शब्द हो ‘स्या’ अर्थात् ‘छ्या’ । ‘कस्तो राम्रो ! स्या’ ! सुन्दा श्रोतालाई बयान हो कि निन्दा पत्ता लगाउने हम्मे पर्छ । कोही ‘र’को ‘ए‘ वा ’य’ उच्चारण गर्ने योगेश भट्टराई फ्यान निस्कन्छन्, : ‘गरेर’को ‘गयय’, ‘गर्यौँ’लाई ‘गयौ’, ‘सररफरर’ लाई ‘सययफयय‘, ‘सरकार’लाई ‘सयकार’ । वस्त्र र परिचय पत्रले विद्यार्थी देखिए पनि पढाइसढाइमा नभएर ब्रह्माजीको ‘वर्जित फल’ खानमा ध्यान केन्द्रित भएको यो वर्गको सौजन्यमा श्रृङ्गार प्रधान रस भएको नाटक दैनिक मञ्चन भएकै हुन्छ । 

यस्ता नियमिततालाई चिर्दै आकस्मिकता ल्याउँछ नेपाली नारी केन्द्रित महान चाडपर्व साउनको सोमवार, एकादशी, कृष्णजन्माष्टमी, हरितालिका तीज, ऋषि पञ्चमी आदिले । राता, पहेँला, हरिया रङ्गमा रङ्गिएर ५/१० वर्ष अघिदेखि मात्र कतैबाट आयात भएर चल्न थालेको चलनलाई संस्कृतिको नाम दिँदै त्यसको जगेर्ना गर्न कम्मर कसेर लागेको यो वर्गको इलम भन्नु नै वस्त्र, आभूषण र फेसनप्रति पूर्ण सचेतना हो । आवश्यकताभन्दा बढी सजिएधजिएका बथानका बथान यिनका चहलपहलले सार्वजनिक जीवनमा हचलच ल्याइदिने मात्र होइन हल्लाखल्लाले सार्वजनिक यातायातको मर्यादित नियमितता जोगिन नै हम्मेहम्मे पर्छ । दिनको २४ घण्टामा लगभग १६ घण्टा फुर्सदमै रहने यो वर्ग एक्लै दुक्लै हिँड्दैनन्, जहाँ जान्छन् हुल बाँधेर जान्छन् । गाडीमा यसरी कुरा गर्छन् मानौँ त्यो तिनले रिजर्भ नै गरेका हुन् र त्यहाँ तिनीहरूबाहेक कोही छैन । तिनको वार्तालापमा व्रत, पूजा, लुगा, गहना, फेसनभन्दा माथि केही आइहालेछ रे भने जीवनभर हेर्दा पनि नसकिने हिन्दी सिरिलयसम्म हो, त्यो भन्दा पर आशै नगरौँ । सासु भए बुहारीको, बुहारी भए सासुको, नन्द भए भाउजुको, भाउजु भए नन्दको, देउरानीजेठानीको नभए चिनेजानेका जो कोहीको कुरा काट्न भने तिनलाई कसैले उछिन्न सक्दैन । तर अनजानमै तिनले आख्यानकारिताका नव रसकै सामग्री उपलब्ध गराइरहेका हुन्छन् । 

कर्मशील तर साधारणलाई तिनीहरू हेय भाव राख्छन् । 

अतः सार्वजनिक जीवन आफैँमा एउटा खुला पुस्तक हो । त्यहाँ प्रत्येक दिन कविता कोरिन्छ, तर त्यसले मूर्तता भने विरलै पाउँछ । हरेक यात्रामा नाटक मञ्चन हुन्छ, तर त्यो मनमै रहन्छ । प्रत्येक यात्रुको कथा कथिन्छ, तर त्यो कहिल्यै लेखिँदैन।  

अन्तिम अपडेट: कात्तिक २५, २०७९

सुषमा रिसाल सापकोटा

दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेसामा आबद्ध सापकोटा ख्वप मावि भक्तपुरमा अध्यापनरत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया