‘भनाइ पो काठमाण्डौ, बसाइ त कर्णालीमै छ नि !’

 भदौ ३०, २०७९ बिहिबार १२:२६:६ | सुजता सुनुवार
unn.prixa.net

काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ एकता बस्तीकी लक्ष्मी बोगटी उमेरले ६६ पुग्नुभयो । हेर्दाहेर्दै पातलो बस्ती बाक्ला भए । बत्ती अनि सडकका सुविधा थपिए । तर खानेपानीको सुविधा भने कहिल्यै थपिएन । सेताम्मे फुलेका कपाल सुम्सुम्याउँदै लक्ष्मीले भन्नुभयो, ‘भनाइ पो काठमाण्डौ त बसाइ त कर्णालीमै छ नि ! नुहाउनलाई एक मुठी पानी हालुँ भन्यो छैन । पानी नपरेका दिन के गर्ने भनेर आपत् पर्छ ।’

पोहोर मंसिरको कुरा हो, पानी ल्याएर चिया बनाउँछु भन्दै घरदेखि हिँड्नुभएकी उहाँ होस आउँदा अस्पतालमा हुनुहुन्थ्यो । गाग्री बोकेर हिँड्दै गर्दा उहाँ अचानक लड्नु भएछ । बेहोसमै लक्ष्मीलाई काठमाण्डौको शिक्षण अस्पतालमा भर्ना गरियो । टाउकोको शल्यक्रिया नै गर्नुपर्यो । पछि होसमा आउँदा मात्रै उहाँले आफू लडेको र अस्पतालको बेडमा आइपुगेको थाहा पाउनुभयो । 

पोहोरसम्म पानी बोकेर घरधन्दा गर्दै आउनुभएकी उहाँ अहिले अरुको भर पर्नु परेको छ । धारासम्म जाने आँटै आउँदैन । टाउकोको शल्यक्रिया गरेपछि लक्ष्मीले गह्रुङ्गो सामान बोक्न सक्नुहुन्न । लक्ष्मीको घरदेखि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ कार्कीटोलको धारासम्म पुग्न १५ मिनेट लाग्छ । बर्खाको बेला यही धाराका पानीले प्यास मेटिन्छ । अरु काम भने आकाशे पानी जम्मा गरेरै टर्छ । टाउकोको शल्यक्रियामा धेरै पैसा खर्च भएकाले बाेरिङ खन्ने पैसा छैन । घरमा राखिएका पाँच सय लिटरका दुई वटा ड्रम आकाशबाट परेकै पानीले भरियो भने लक्ष्मीलाई रातभर आनन्दको निन्द्रा लाग्छ । पानी परेन ड्रम भरिएन भने के गर्ने होला भनेर सोच्दासोच्दै आधा रात कट्छ । 

लक्ष्मीकी ७६ वर्षका श्रीमान् भोला बोगटीको पनि १६ वर्षअघि मुटुको शल्यक्रिया गर्नुपर्यो । श्रीमान् स्वस्थ भएको भए आफूले नसक्दा श्रीमानकाे भरथेग हुन्थ्यो । आफू जस्तै श्रीमान् पनि गह्रुङ्गो सामान बोक्न नसक्ने भएकाले कामको भरथेग छैन । ‘पानी खुवाउँछु भन्ने जीवित मान्छे यो बस्तीमा आएकै छैनन्, कोही जीवित छन् भने आउलान् कि भन्ने आश छ’ भोलाले भन्नुभयो ।

खानेपानीको अभाव हुँदा उहाँलाई मात्रै होइन, उहाँकै छिमेकी रामकाजी खत्रीलाई पनि उस्तै समस्या छ । बर्खामा आकाशे पानीको भर छ भने हिउँदमा किनेर पिउनुपर्छ । खानेपानीको लागि मात्रै वर्षायाममा ३ हजार र हिउँदयाममा १० हजार रुपैयाँ खर्च हुन्छ । 

उहाँको परिवारमा चार जना छन् । चिया  र फर्निचर पसल पनि छ । यी सबैमा गरेर दिनमा पाँच वटा जारको पानी सकिन्छ । एउटा जारलाई ५० रुपैयाँ तिरेर किन्नु पर्छ । उहाँलाई ८ देखि २० जनासम्मको लाइनमा बसेर धाराको पानी ओसार्ने फुर्सद मिल्दैन । बाेरिङको पानीमा भर परौँ भने बाेरिङ छैन । 

तामाकोशी गाउँपालिका वडानम्बर ३ ओखरबोटे दोलखा घर भएका रामकाजी छोरोलाई राम्रो स्कुल पढाउन भन्दै २३ वर्ष अगाडि काठमाण्डौ आउनुभएको हो । जग्गा भाडामा लिएर फर्निचर पसल सञ्चालन गरेको ८ वर्ष भयो । कमाइको आधा खर्च त पानी किन्दैमा सकिन्छ । ‘कमाएको पैसा पानी किन्नमा खर्च नहुँदो हो त भाडा तिर्न केही होलो हुन्थ्यो नि ।’ उहाँले भन्नुभयो । जग्गाको भाडाको लागि वर्षमा २ लाख ६४ हजार रुपैयाँ तिर्नुपर्छ ।

पानी नभएकै ठाउँमा बस्नै पर्ने उहाँको आफ्नै बाध्यता छ । जग्गा लिजमा लिएर टहरो र फर्निचर उद्योग बनाउँदा लाखौँ रुपैयाँ लगानी लागेको छ । पक्की सडकले छोएकै जग्गा छ तर अन्य ठाउँमा भन्दा अलि कम नै जग्गा भाडा तिर्नुपर्छ । उहाँ भन्नुहुन्छ, ‘बसेको ठाउँ छोडुँ लगानी डुब्छ, गाउँ जाऊँ लगाएको खेती बाँदर र दुम्सीले सबै खाइदिन्छ, अनि विदेश जाऊँ मसँग सिप छैन, पढाइ छैन ।’ अहिले भने उहाँलाई यो बसाइ निल्नु न ओकल्नु भएको छ । रामकाजी भन्नुहुन्छ, ‘खानेपानीको अभाव टर्ने भए, पैसा भए पैसा श्रमदान भए श्रमदान नै गर्न पनि राजी छु, तर काम चाँहि हुनुपर्छ ।’

घर र बाेरिङ नहुनेलाई मात्रै होइन बाेरिङ हुनेलाई पनि खानेपानी नहुँदा उस्तै छ पिर । एकता बस्तीका ५० घरधुरीमध्ये धेरैमा बाेरिङ खनिएका छन् । 

एकता बस्ती उपभोक्ता समितिका अध्यक्ष महेश्वर पाठक भन्नुहुन्छ, ‘बाेरिङको पानी तत्कालै चलाए कपडामै दाग लाग्छ । पाँच सय मिटर गहिरो खनेको बाेरिङले पनि बढीमा छ वर्ष मात्रै थेग्छ ।’ उहाँ आफैँले आफ्नो घरमा दुई वटा बाेरिङ खनिसक्नु भएको छ । एक वटा बाेरिङ पूर्ण रुपमा सक्न डेढ लाखदेखि झण्डै तीन लाख रुपैयाँसम्मको खर्च हुन्छ । 

बाेरिङ भएका घरमा पनि एक दिनमा एक वटा जारको पानी सकिँदै आएको एकता बस्तीका बासिन्दाको भनाइ छ । जारको ५० रुपैयाँ, पानी भएको जार बोकेको भाडा ३० देखि ४० रुपैयाँ गरी दिनमा ९० रुपैयाँ सकिन्छ । महिनामा २ हजार ८ सय ८० रुपैयाँ त पानीमै खर्च हुन्छ । वडामा यस्ता समस्या भन्नका लागि पटक–पटक समितिको चिठी लगेर गएको बताउँदै समिति अध्यक्ष पाठक भन्नु हुन्छ, ‘कराउने हामीले वडामै हो तर समाधान गर्ने ठोस योजना अहिलेसम्म केही बनेको छैन ।’

वडा नम्बर ७ कै केशव प्रसाद लामिछानेले पनि बाेरिङ खन्नु भएको दुई पटक नै भयो । उहाँ प्रश्न गर्नुुहुन्छ, ‘तपाईँ नै भन्नुस् न, त्यसै खान पाइने खानेपानी किनेर खानुपर्दा पिर लाग्दैन होला त ? लाग्छ नि कति हो कति ।’ उहाँ अगाडि थप्नुहुन्छ, ‘वडालाई, नगरपालिकालाई भन्यो पञ्चवर्षीय योजना छ रे । रे, रे भन्नेमै सीमित छ, थाहा छैन रेले कहिले पूर्णता पाउँछ ?’

बर्खाका बेला आकाशको पानी सङ्कलन गरेर चलाउन पाउँदा एकता बस्तीकालाई मात्रै होइन गोदारगाउँ, चापाटोल, बाबाचोक, लक्ष्मीनारायणचोकका बासिन्दाको खानेपानीको समस्या जेनतेन टर्ने गरेको छ । लुगा धुन, नुहाउन सङ्कलन गरिएका आकाशे पानीले पुग्छ । खानेपानी भने कार्कीगाउँमा रहेको धाराको पानीले टर्छ । यसैगरी वर्षको आठ महिना कट्छ । बाँकी चार महिना भने न आकाशको पानी सङ्कलन गर्न पाइन्छ न त धाराको पानी नै । 

बर्खाको महिनामा पनि बिहान पाँच बजेदेखि बेलुकी आठ बजेसम्मै धारामा पानी लिन आउनेहरु भेटिन्छन् । वडा नम्बर ७ को मात्रै होइन वडा नम्बर ६ को पनि कार्कीटोलमा रहेको पानीकै भरमा बर्खा टर्छ । 

खानेपानीको समस्या टार्न नगरपालिकाको ८ करोड बजेट

नगरपालिकाले यस आर्थिक वर्षमा खानेपानीका लागि आठ करोड रुपैयाँ छुट्याएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेकाअनुसार यो रकमले तीन वटा खानेपानी आयोजनामा काम हुनेछ । गोठाटार भैमाल खानेपानी आयोजना, काँडाघारी खानेपानी आयोजना र डाँछी खानेपानी आयोजना गरी तीन आयोजनामा काम हुनेछ । केहीमा भने काम पनि सुरु भएको छ । गोठाटारमा नयाँ पाइपलाइन विस्तारको काम भइरहेको छ । यस्तै काँडाघारीमा भने खानेपानीको ट्याङ्की निर्माणको काम भइरहेको छ । डाँछी खानेपानी आयोजनामा भने सह–लगानीबाट काम हुने भएकाले लगानी सङ्कलनको काम भइरहेको घिमिरेले जानकारी दिनुभयो । यस आयोजनामा भने पाँच प्रतिशत लगानी उपभोक्ताको रहनेछ । 

यसैगरी वडा कार्यालयमा आएका समस्याका गुनासा नगरपालिकामा पुर्याउने र निरन्तर छलफल गर्ने कार्य गरिरहेको वडा नम्बर ७ का वडाध्यक्ष भीमसेन थापाले बताउनु भयो । उहाँका अनुसार यो आर्थिक वर्षमा ‘एक घर एक धारा’ को अवधारणा अनुसार नगरपालिकाले गुरु योजना बनाएको छ । तीन वर्षसम्ममा प्रतिघरधुरी पानी पुर्याउने योजनासहितको ऐन समेत नगरपालिकाले बनाएको उहाँले बताउनु भयो । 

यस्तै वडा नम्बर ६ मा पनि खानेपानी समस्या समाधानका लागि मुख्य एजेण्डा नै तयार पारेर लागि परेको वडाध्यक्ष प्रकाश अर्यालले बताउनु भयो । ‘बाेरिङ पनि सुक्यो अब के गर्ने भन्दै वडावासीहरु वडा कार्यालयमा आइरहेका छन्,’ उहाँ भन्नुहुन्छ, ‘यस्ता घरपरिवार वडामा दुई सय घरधुरी छन् । समस्या समाधानको लागि नगरपालिकासँग निरन्तर छलफलमा छौँ ।’

अन्तिम अपडेट: कात्तिक २, २०७९

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया