जय नेपाल हलमा प्रदर्शन भएको टुकुचाको पटकथा

 असोज २, २०७९ आइतबार ८:४५:२२ | मिलन तिमिल्सिना
unn.prixa.net

पहिले हात्तीको हौदा कस्ने ठाउँ, त्यसैले हात्तीसार कहलियो । राणा र राजाहरुसँगै हात्ती पनि सहरबाट विलुप्त हुँदै गए । त्यसपछि हात्तीसार वरपर ठडिए भव्य भवनहरु । भव्य भवनहरुको बीचमा बन्यो चिटिक्कको सिनेमा हल । सिनेमा हल बनेपछि हात्तीसार हराएर जयनेपाल सुप्रसिद्ध भयो । त्यो हल पहिले खुब चल्यो, तर हलको ठूलो र फराकिलो भित्तामा हिजोआज चलचित्र चल्दैनन् । 

जयनेपाल सिनेमाघरको पर्दामा सिनेमा चल्छन् कि चल्दैनन् भन्ने कौतहुलले सहर छपक्क ढाकिएको बेला एक दिन जयनेपाल सिनेमाघरको आँगनमा एकाएक बालेनको डोजर चल्यो । सिनेमा चल्दा देखे/नदेखेझैँ गरेर हिँड्ने मान्छेहरु डोजर चलेको हेर्न झुम्मिए । 

डोजरले खन्दै गयो, मान्छेले एकटकले हेरिरहे । झण्डै १५ फिट खनेपछि इँटाको तहतह मिलाएर बनाइएको सुरुङजस्तो संरचना भेटियो । पाइपको आकारजस्तो बनाइएको इँटाको तहलाई खोतलेपछि धरानको सर्दू खोलामा भन्दा धेरै पानी भूमिगत इच्छुमतीमा देखियो ।

धरानमा मेयरले खोलाबाट पानी ल्याएका थिए, यताका मेयरले सिनेमा हलको आँगन खनेर सहरको बीचमा छङछङ बगिरहेको खोलै पो निकालेर देखाइदिए । रमिता हेर्न बसेका मान्छेले सिट्टी फुके, ताली बजाए । कसैले भने, ‘बीच सहरमा मूल फुट्यो ।’ कसैले भने ‘इनार निस्कियो ।’ कोहीकोहीले फिल्मको समीक्षा गर्न भ्याए, ‘खोलामाथि हल रैछ र पो सिनेमा डुबेको ।’  

मान्छेहरुको होहल्लाको बीच मसिनो स्वरमा कोही बोल्यो, ‘म भर्खरै निस्कँदै गरेको पानीको मूल पनि होइन, अहिले जम्मा भएर भरिँदै गएको इनार पनि होइन । अनि म सिनेमा डुबाउने खालको खोला पनि होइन, आफैँ डुबेकोले अरुलाई कसरी डुबाउन सक्छ र ?’ 

‘तिमी को हौ त ?’ भिडबाट कसैले सोध्यो ।

‘मेरो खास नाम इच्छुमति हो, तर म आफ्नो इच्छाअनुसार कहिल्यै चल्न पाइनँ । उल्टै मान्छेहरुको इच्छाअनुसार चल्नुपर्यो । अहिले मैले आफूलाई इच्छुमति भन्दा कसैले चिन्दैनन्, टुकुचा भनेर चिनाउँदा पनि कसै कसैले मात्र चिन्छन् । मलाई लाग्छ कसैले मलाई देखेका भए पो चिनुन् । कतैकतै यसो मुन्टो उठाउन खोज्छु, तर सक्दिनँ । अलिअलि पानी पर्न थालेपछि सडकमा निस्कन्छु । मान्छेहरुले मलाई भेलबाढी भन्छन् । पानी पर्न रोकिएपछि फेरि म पुरानै हालतमा फर्किन्छु । मेरो हिँड्ने बाटो नै छेकेर, ममाथि ठूल्ठूला कङ्क्रिट बिच्छ्याएर मान्छेले मलाई हल न चलको अवस्थामा पुर्याए । सकिनसकी चल्दैछु । मेरो हालत कस्तो छ एकपटक आफैँ हेर्नु ।’

इच्छुमतिको नाम र उनको हाल सुनेर मान्छेहरुले जिब्रो टोके । त्यसपछि इच्छुमतिले फेरि आफ्नो शिरदेखि पाउसम्मको अवस्था वर्णन गरिन् ।
........

नेपालका अन्तिम राजा ज्ञानेन्द्रको निर्मल निवास हुँदै बालुवाटार, भाटभटेनी हुँदै उहिले राजा बस्ने नारायणहिटी, अहिलेका राजाहरु हिँड्ने हात्तीसार, बागबजार, प्रदर्शनी मार्ग, भद्रकाली जस्ता सहरका मुख्य मार्गका सडक मुनिमुनि चेपिँदै गएर थापाथलीको वाग्मतीमा गएर मिसिन्छु । मेरो यात्रा बुढानीलकण्ठबाट सुरु हुन्छ भन्ने कुरा त्यहाँ लमतन्न परेर सुतेका बुढानीलकण्ठ देउतालाई त थाहा होला, तर त्यहीँ घर भएका देशका मुली देउवालाई चाहिँ पत्तो छैन कि जस्तो लाग्छ ।

बुढानीलकण्ठबाट नारायणहिटी दरबारभित्रको बाँस झाङसम्म मेरो बाटो अलिअलि भए पनि बाँकी छ । त्यहाँसम्म जसोतसो अलिअलि मुन्टो उठाएर बहन्छु । बाँसको झाङदेखि प्लाजासम्म मलाई हिँड्न भनेर इँटाको फराकिलो आर्क बनाइएको छ । त्यसभन्दा माथिको भाग माटोले पुरेर भूमाफियाले मेरो बाटोलाई निजी नाममा दर्ता गरेका छन् । 

म हिँड्ने बाटोमा पर्ने भाटभटेनीमा रहेको टुँडालदेवी मन्दिरबाट चिनियाँ दूतावाससम्म दायाँतर्फ ६ मिटर फराकिलो बाटो छ भने बायाँतर्फ घरहरू छन् । यहाँ घर र बाटोले दुवैतिरबाट मलाई च्यापेर साँघुरो बनाइएको छ । माथिबाट कङ्क्रिटको स्ल्याब हालिएको छ र त्यो स्ल्याबमा मान्छे हिँड्ने बाटो छ । 

चिनियाँ दूतावासदेखि नारायणहिटी दरबार सङ्ग्रहालयको उत्तरसम्म देब्रेतर्फ ६ मिटर फराकिलो सडक छ । दायाँतर्फको भाग भने पूरै मिचिएको छ । कतिपय ठाउँमा स्ल्याब राखेर मलाई छोपिएको छ । केही ठाउँमा त दुवै किनारमा पर्खाल लगाएर नाली जस्तो बनाइएको छ । म त खोला पो हुँ, नालीमा कसरी हिँड्न सक्छु । तर पनि सकीनसकी निसासिँदै हिँड्ने गर्छु ।

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र हुँदै तीनधारा मार्गसम्म मलाई माटो मुनि पुरिएको छ । अहिले डोजरले खोतलेर मेरो असली स्वरुप सबैलाई देखाइएको ठाउँ पनि यही क्षेत्रमा पर्छ । फराकिलो बाटोमा कलकल हुँदै बहनुपर्ने मलाई सानो पाइप आकारको सुरुङभित्र खुम्चिनुपर्दा कति सास्ती भएको होला ? यहाँ एकछिन बयान गरेर कहाँ सकिन्छ र ?

त्यसपछि तीनधारा मार्ग हुँदै बागबजारको सडकसम्म धेरैजसो ठाउँमा अलिअलि भए पनि मेरो अस्तित्व देखिन्छ । कतिपय ठाउँमा भने ठूला घरहरूका पर्खालले मलाई सिध्याउँला नै झैँ गरेर च्यापेका छन् । 

बागबजार सडकदेखि अद्वैत मार्गसम्मको खण्डमा पनि मेरो अस्तित्व अलिअलि बाँकी छ । तर यहाँ पनि मेरो लागि चार मिटर छाड्नुपर्ने नियम उल्लङ्घन गर्दै साँध मिचेर घरहरू बनेका छन् । त्यसैमाथि मेरो थाप्लोमा फोहर र ढल पनि मिसाइदिएकाे छ ।

फोहर र ढलको भारी बोक्दै मेरै नामको इच्छुमती तरकारी बजार क्षेत्र हुँदै म तलतिर घस्रन्छुु । त्यहाँबाट अलिअलि टाउको उठाउन खोज्दै र धेरै ठाउँमा निहुरिँदै, घस्रँदै भृकुटीमण्डप र त्यसपछि भद्रकाली क्षेत्रको पूर्वतिर लाग्छु । सेनाको मुख्यालय क्षेत्र छिरेपछि अलिअलि सास फेर्न पाउँछु । यहाँ थोरै टाउको उठाएर हिँड्ने बाटो छ । त्यसपछि भद्रकालीदेखि वाग्मतीसम्मको बाटो पनि उस्तै सकसपूर्ण छ । थापाथलीदेखि त्रिपुरेश्वर सडकसम्म वरिपरि घना बस्ती छ भने थापाथली क्याम्पसको भागमा अलिकति खुला ठाउँ बाँकी छ । त्योभन्दा अगाडि त्रिपुरेश्वरको कालमोचन महादेव मन्दिरमा पुगेर वाग्मतीमा मिसिएपछि लामो सास फेर्छु । यहाँ पनि फोहर र ढलले सास फेर्न त सजिलो कहाँ छ र ? तै पनि वाग्मतीसँगको भेटले डर, चिन्ता हराउँछ ।

म हिँड्ने बाटो नजिक झण्डा हल्लाउँदै ओहोरदोहोर गर्ने सबैलाई मेरो हालत राम्रोसँग थाहा छ । मजस्तै हालतमा पुगेका नातेदार खोलानदीजस्तै मेरो मिचिएको बाटो खाली गर्न भनेर धेरैले पटकपटक भाषण गरे । ठूलाठूला योजना बनाए । नापजाँच र नक्सा कोरे । तर मलाई घोक्राएर जमिनमुनि गाड्नेहरुसँग उनीहरु आफैँ झुके । मलाई मिच्नेहरुले मलाई पनि झुकाए, झण्डा हल्लाउनेहरुलाई पनि झुकाए । देशको र नागरिकको अवस्था फेर्छौँ भन्नेहरुले म जाबो खोलाकोसमेत अवस्था फेर्न सकेनन् । सबै मिलेर मलाई मरेको हालत बनाए । नामोनिशान मेटाउन खोजे । यसैगरी खोतल्ने हो भने मेरोजस्तै हालत भएका धेरैको व्यथा भेटिन्छ । माटो मुनि छोपिएका यस्ता कथाव्यथा कति छन् कति ? 

सधैँका लागि माटोमुनिको बास हुने कि भन्ने चिन्ता लागिरहँदा बल्ल बाँचिएला र पहिलेकै जस्तो जुनी फेर्न पाइएला कि भन्ने आश त लागेको छ । तर मान्छे हिँड्ने फुटपाथ कब्जा गर्न पाउनुपर्छ भनेर नारा लगाउनेहरुले खोलामाथि पोखरीजस्ता सडकमा उभिएर खोला मिच्न पाउनैपर्छ भनेर बुरुकबुरुक उफ्रने हो कि भन्ने डर हटेको छैन । 
.....................
टुकुचा भनेर चिनिने इच्छुमतिको झिनो आशासँगैको डरमिश्रित आकृति देखेपछि दर्शकहरु वाल्लजिल्ल परे । अनि डोजरले खनेको अर्को ठाउँ हेर्न दौडिए । अहिलेसम्म अड्डी कसेर बसेको अल्फाबिटा पछारियो । फनपार्कले फनफनिँदै भए पनि कर तिर्यो । भाटभटेनीले भटाभट अन्डरपार्क खाली गर्यो । नर्भिक अस्पताल निन्याउरो भएर गल्यो । टुकुचा खोला भेटियो । 

आज जमिनमुनि गाडेको र हराएको खोला भेटियो । जमिनमुनि गाडेको खोला त भेटिन्छ भने खोलामा बगेको र बगाएको हतियार र गाडधनमा लुकाएको अवैध सम्पत्ति चाहिँ कसो नभेटिएला त ?

अन्तिम अपडेट: असोज ९, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया