'च्याम्पियन' बङ्ग्लादेशबाट नेपालले के सिक्ने ?

 असोज ५, २०७९ बुधबार १७:४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप २०२२ मा भारतको दबाब तोडिएसँगै बङ्ग्लादेश नयाँ 'च्याम्पियन' बन्यो । छैटाैँ पटक फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेको नेपाल पाँच पटक नै उपविजेतामा खुम्चिन बाध्य भयो । घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य यस संस्करण पनि नेपाललाई जुरेन । नयाँ शक्तिको रूपमा बङ्ग्लादेश उदाउँदा नेपालको स्तर कसरी नियाल्ने भन्ने जवाफ नयाँ च्याम्पियनले प्रस्टाएको छ । सँगै दक्षिण एसियामा अन्य देशले फुटबल सुधारका गतिविधिलाई चलायमान गर्दा नेपाली टोलीमा अपेक्षाअनुसारको सुधारको सङ्केत देख्न कठिन भएको छ ।

घरेलु मैदानमा दोस्रो पटक अवसर पाएको नेपाली महिला टोलीलाई सोमवार साफ महिला फुटबलको उपाधि उचाल्ने सुनौलो मौका थियो । सधैँको विजेता भारतमाथिको जितपछि उपाधि नजिक पुगेको नेपालले नयाँ प्रतिद्वन्द्वी बङ्ग्लादेशको सामना गर्नु थियो । टोली उच्च मनोबलमा पनि थियो । किनकि अघिल्ला संस्करणका भेटमा नतिजा नेपालकाे पक्षमा थियो । बङ्गलादेशमाथि जितको अपेक्षासहित १६ हजार दर्शक अगाडि खेलेको नेपालले त्याे नतिजालाई फाइनलमा भने निरन्तरता दिन सकेन । बङ्ग्लादेशले समूह चरणका खेलबाट नै उदाउँदो शक्तिको सङ्केत दिएको थियो । तर नेपाली टोलीको अवस्थामा भने शङ्का गर्ने अनेकौ पाटा रहे । फाइनलमा पराजित भएपछि नेपाली टोलीकी कप्तान एन्जिाल तुम्बापो सुब्बाले अनुभवको कमीको कारण बताएकी थिइन् । आउँदा दिनमा नेपाली महिला टोली अझै माथि पुर्‍याउनका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता, घरेलु प्रतियोगितादेखि ग्रासरुटसम्मको योजना आवश्यक रहेको औँल्याइन् ।

कप्तान एन्जिालाले भनेजस्तै नेपाली महिला टोलीका लागि अनुभव लिने घरेलु प्रतियोगिता कमैमात्र हुन्छन् । नाम मात्रको राष्ट्रिय लिग आयोजना गर्ने अखिल नेपाल फुटबल सङ्घले अन्य प्रतियोगिता आयोजना गर्न सकेको छैन । पुरुष प्रतियोगिता मोफसलमा आयोजना भए पनि महिला प्रतियोगिता हुँदैन भन्दा फरक पर्दैन । प्रतियोगिता आयोजना हुने भन्दा केही महिनाअघि मात्र महिला खेलाडीलाई डाकेर बन्द प्रशिक्षणमा राख्ने एन्फाको पुरानै चलन हो । महिला फुटबल विकास भएको ४० वर्षको इतिहास भए पनि सुधारका लागि कुनै प्रयास भइरहेको छैन । अघिल्लो वर्ष बल्लतल्ल डबल लिग सुरु भए पनि विभागीय टोलीबाहेक अन्य टोलीले प्रतिस्पर्धात्मक खेल देखाउन सकेनन् । फुटबल विश्लेषक सञ्जीव मिश्रले महिला फुटबलको विकास संस्थागत गर्न लागि घरेलु फुटबल लिग र प्रतियोगिता धेरैभन्दा धेरै आयोजना गर्नुपर्ने बताएका छन् । 

नेपाली टोलीमा अर्को समस्या भनेको प्रतियोगिता लक्षित गरेर प्रशिक्षक नियुक्त गरिनु पनि हो । केही महिना अगाडि मात्र प्रशिक्षक नियुक्त गर्दा अपेक्षाअनुसार नतिजा ननिस्किएको कतिपयको विश्लेषण छ । साथै दीर्घकालीन योजना नहुँदा महिला टोलीको मेहनत अपर्याप्त भएको हो । सोमवार नेपालसँगकाे खेलमा बङ्ग्लादेशले निकालेको सफलता त्यसै हासिल गरेको होइन । यसका लागि लामो समयदेखि मेहनत, लगानी, दीर्घकालीन योजना आदि रहेका छन् जसकाे प्रतिफल बङ्ग्लादेशले पायो ।

सन् २०१५ मा बङ्ग्लादेशले काठमाण्डाैमै सम्पन्न एएफसी यू–१४ महिला रिजनल च्याम्पियनशिपको उपाधि जितेको थियो । त्यस प्रतियोगिताका लागि बङ्ग्लादेशले देशभरबाट प्रतिभा छनोट खेलाडी उत्पादनमा ध्यान दिँदै नयाँ खेलाडीलाई राष्ट्रिय जिम्मेवारीमा लिएको थियो । यसबीचमा लाखौँ युवा खेलाडी यसमा सहभागी भए र झन्डै एक वर्षको आवासीय प्रशिक्षणबाट उत्कृष्ट खेलाडी छनोट गर्दै फुटबल विकासको गति दिएको थियो । विभिन्न प्रतियोगितामा अनुभव सङ्गाल्दै आएको बङ्ग्लादेशले सुखद नतिजा दिन थालेको थियो । जुन नेपालले अनुसरण गर्नुपर्ने देखिएको छ । बङ्ग्लादेश उदय हुँदै गर्दा भारत पनि नेपालभन्दा प्राविधिक हिसाबमा बलियो छ । साफमा भारत प्रतिद्वन्द्वी भइरहेको अवस्थामा बङ्ग्लादेश उदाउनु अन्य देशका लागि थप चुनौती बढेको हो । नेपालको स्तर बढाउनका लागि फुटबल विश्लेषक सञ्जीव मिश्रले योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने सुझाव दिए ।

बङ्गलादेशले जसरी फुटबलमा लगानी गरेको छ, त्यहीअनुसार नेपालमा पनि लगानी र ग्रासरुटबाट उकास्ने योजनाको आवश्यक छ । तर विडम्बना नेपालको अवस्था ठिक विपरीत छ । फुटबलको अभिभावक संस्थामा कुर्चीका लागि प्रतिस्पर्धा भइरहँदा फुटबल विकासका नारा ओझेलमा परेको सबैमा सर्वविदितै छ । नयाँ शक्ति उदाउँदा एन्फा नेतृत्वलाई महिला फुटबलको विकासका लागि योजना सोच्नैपर्ने अवस्था टड्कारो भएको छ । 

(न्युज एजेन्सी नेपालकाे सहयाेगमा)

अन्तिम अपडेट: असोज ८, २०७९

तपाईको प्रतिक्रिया